Comments Add Comment

कर्मचारी सरुवामा ‘मनपरी’, प्रदेश ७ मा सुत्केरी गराउने मान्छे भएनन्

२१ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहत कर्मचारीहरु सरुवा गर्ने क्रममा स्वास्थ्य मन्त्रालयले डेढ महिनाअघिको आफ्नै निर्देशनलाई अवज्ञा गरेको छ ।

स्वास्थ्य विभागले मंगलबार मातहतका कार्यालयका १६ सय भन्दा बढी स्वास्थ्यकर्मीहरुको एकमुष्ट सरुवा गरेको छ । सरुवा गर्ने क्रममा प्रदेश ७ का कतिपय स्वास्थ्य संस्था नै रित्तो भएका छन् ।

गत असार २८ गते मन्त्रालयले निर्देशनात्मक आदेश जारी गरेर वर्षायाममा प्राकृतिक प्रकोप र रोगको संक्रमणको खतरा हुने भन्दै कुनै पनि कर्मचारीहरुलाई कार्यालय नछाड्न भनेको थियो ।

तर, भदौ १९ गते स्वास्थ्य संस्था नै रित्तो हुने गरी स्वास्थ्यकर्मीहरुको सरुवा गरिएको छ ।

असारको निर्देशनात्मक आदेशमा लेखिएको थियो- ‘यो मौसममा प्राकृतिक प्रकोप, बाढी पहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित गर्ने भएको हुँदा देशभरिको सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नियमितरुपमा कामकाज गर्न, विदामा नछोड्न, बिना अनुमति स्वास्थ्य संस्थामा अनुपस्थित नहुन र कुनै पनि किसिमका बन्द हड्ताल, घेराउ, प्रदर्शन जस्ता कार्य नगर्न/नगराउनसमेत अनुरोध छ ।’

सरुवामा प्रदेश ७ को आपत्ति 

स्वास्थ्य सेवा विभागबाट सरुवा गरिएका कर्मचारीहरुलाई प्रदेश ७ सरकारले रमाना नदिने भएको छ । प्रदेश ७ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालय डोटीले रमाना नदिने स्पष्ट पारेको हो ।

प्रदेश ७ स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा. गुणराज अवस्थीले स्वास्थ्य सेवा विभाग टेकुलाई पत्र नै लेखेर सरुवाको निर्णय कार्यान्वयन गर्न नसकिने जवाफ पठाएका छन् ।

पत्रको बोधार्थ स्वास्थ्य मन्त्रालय, प्रदेश ७ को सामाजिक विकास मन्त्रालय, सम्पूर्ण पालिका कार्यालयहरु र जिल्ला जनस्वास्थ्य कार्यालयहरुमा दिइएको छ ।

अवस्थीका अनुसार हाल प्रदेश ७ अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा चौथो तहदेखि एघारौं तहसम्म एक सयभन्दा बढी दरबन्दी रिक्त छन् । कर्मचारी अभावमा समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या भइरहेका बेला अवस्थामा विभिन्न तह र पदका धेरै स्वास्थ्यकर्मीहरुको प्रदेश ७ बाहिर सरुवा गरिएको छ ।

रमाना नदिने प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको पत्र र कर्मचारी सरूवा नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ।

प्रदेश ७ भित्र नगण्य स्वास्थ्यकर्मीहरु पठाइएकाले स्वास्थ्य सेवा सञ्चालनमा बाधा पर्ने अवस्था आएको अवस्थीले बताए ।

उनले भने, ‘एउटा स्वास्थ्य चौकीमा दुईजना अनमीको दरबन्दी हुन्छ, दुबैजनाको सरुवा गरिएको छ, दुईजना अहेब हुन्छन्, दुवैको सरुवा गरिएको छ । उनीहरु गए र अर्को कर्मचारीको व्यवस्था भएन भने त सुत्केरी गराउन पनि सक्ने अवस्था छैन ।’

डा. अवस्थीले भने, ‘सरुवा भएका हरेक पदमा ती पदहरु पूर्ति नहुँदासम्म हाल सरुवा गरिएका स्वास्थ्यकर्मीहरुलाई यस प्रदेशबाट रमाना गरी पठाउन सकिँदैन ।’

उनले सरुवा गरिएका कर्मचारीको स्थानमा अर्को कर्मचारी पठाउन वा करारमा नियुक्तिको अधिकार दिन सरकारसँग माग गरे । ‘मन्त्रिपरिषदले निर्णय गरेर हुन्छ कि मन्त्रिस्तरीय निर्णय गरेर हुन्छ कर्मचारीको व्यवस्थापन हुनुपर्‍यो,’ उनले भने ।

सरुवामा ‘मनपरी’

प्रदेश ७ का नौ जिल्लाअन्तर्गतका स्वास्थ्य संस्थामा चौथो तह (अनमी) देखि एघारौं तह (विशेषज्ञ डाक्टर) सम्मको दरबन्दी छ । हाल सबै तहका गरी १५० भन्दा बढी दरबन्दी रिक्त छन् । दुर्गम मानिने त्यही प्रदेश ७ मा सबैभन्दा बढी स्वास्थ्यकर्मीहरु सरुवा भएका छन् ।

कतिसम्म भने जागिर खाएको सात महिनामै कर्मचारीहरुको सरुवा गरिएको छ । जबकि नियुक्ति भएको दुई वर्ष नपुग्दै कुनै पनि कर्मचारीहरुको सरुवा गर्न नियमले मिल्दैन ।

स्रोतका अनुसार स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिव भारत भ्रमणमा जानुअघि स्वास्थ्यकर्मीहरुको सरुवा सूची विभागमा पठाएका थिए । सरुवा सूची तयार पार्ने क्रममा मनपरी गरिएको असन्तुष्ट कर्मचारीहरु बताउँछन् ।

हेर्नुस् सरूवाको सूची 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment