Comments Add Comment

कथाः साथीकी बैनी

‘के छ बैनी हालखबर ?’ मैले पहिलोपटक च्याटमा सोधेको थिएँ । उसैले च्याटमा ‘वेब’ गरेर बोलाएपछि बोल्नै पर्‍याे । नत्र सुरुमा आफैँले बोलाउन त अप्ठ्यारै थियो नि ! नाताले साथीकी बैनी । यसर्थ मनले पनि ‘बैनी’ सम्बोधन नै ठीक मानेको थियो ।

‘बैनी ?’ उसले प्रश्नवाचक चिन्ह पनि चारपाँचओटा ठड्याइदिएकी थिई । म आश्चर्यचकित भएको थिएँ ।

‘किन ? बैनी भन्न नहुने हो र ?’ म सिरियस भएको थिएँ ।

‘भन्नुस् । तपाईको मर्जी । तर म तपाईलाई दाइ भन्दिन ।’

छट्टु थियो साथी । तर बैनी झन् चण्डाल रै’छ । फेसबुकका फोटाहरूबाट भर उड्यो । सोझी लागेर हिजो मात्र फेसबुकमा ‘एड’ गरेको । आफ्नै बैनीजस्तो मानेर च्याटमा बोलेको थिएँ । चिनजान बढाउन मात्र मन थियो । मनमा पाप रत्तिभर थिएन । तर उसैले ‘दाइ’ भन्न इन्कार गर्दा भने मनमा कौतुहलको पोखरी जमेको थियो ।

पोखरीको निकास खोल्दै सोधें, ‘दाइचाहिँ किन नभन्ने नि ?’

‘हजुरजस्तो ह्याण्डसम मान्छेलाई दाइ भन्न मनले मानेन क्या !’

कति सजिलै भनिदिई । म तीनछक परें । असिनपसिन भएँ । साथीले थाहा पाए के भन्ला ? यही डरको बीचमा पनि खुशीको सानो टुसा उम्रियो । उसले लेखेको ‘ह्याण्डसम’शब्दले मन चुलबुलायो । ‘बैनी’को जिस्कने मुड देखेर आफू पनि थोरै सहज मान्दै बोल्न थालेँ ।

‘ह्याण्डसम रे ?’

‘हो त । हजुर कस्तो ह्याण्डसम लाग्छ मलाई ।’

कस्ती फरवार्ड केटि रै’छे । पहिलो च्याटमै कति निर्धक्क जिस्किएकी । त्यो पनि आफ्नै दाइको साथीसँग । डर, भर, लाज, सरम केही नलागेको !

‘थ्यांक यु ।’ तारिफको जवाफमा मैले यत्ति भन्न सकें ।

अघि च्याटमा बोलाउनु अगाडि मलाई ऊ आफ्नै बैनीझैँ लागेकी थिई । अब भने उसलाई बैनी देख्ने मेरो नजरको पर्दा उध्रिएको थियो । मनमा काउकुती जाग्न थाल्यो । रंगीचंगी सोचहरू आउन थाले । आखिर दाइ नभन्नेले के भन्ने सोच राखेकी होली त ?

‘हजुरले माइन्ड गर्नुभाको हो ?’ उसले सोधी ।

‘हैन । किन माइन्ड गर्नु र ?’

बरु मलाई त मज्जा लाग्दै थियो । भलै ऊ मेरो साथीकी बैनी थिई । थिई त एउटी केटी । त्यसमाथि सुन्दर । एउटी केटीले दाइ भन्दिन भनेर ह्याण्डसम घोषणा गर्दा माइन्ड गर्नु त पाप हो नि बरु !

म ऊसँग ‘कम्फर्ट जोन’मा बसेर च्याट गर्न थालेँ । अब मलाई ऊ बैनीजस्ती लागिन । अघिसम्म उसको दाइ, जो मेरो साथी हो, उसलाई घात होला कि भन्ने पीर थियो । त्यो पनि कुहिरो हटेजसरी हटेर गएको थियो । मेरो मन सपाट डाँडाझैँ हरियो भयो । मलाई बेला बेलामा सोझो भनेर उडाउने मेरो साथी, आज उसैको बैनी मसँग पट्टिन लागेकी छ । प्रतिशोध लिने मौका पनि जुरेको थियो ।

‘दाइ नभने के भन्छौ त ?’

‘के भनौँ ?’ यति लेखेपछि उसले हिहि गरेर हाँसेको विवरण जोडी ।

‘तिमीलाई के भन्ने इच्छा छ ?’ यति लेखेर व्यग्रताका साथ उसको जवाफ कुरें ।

मेरो कौतुहलको पोखरी फेरि भरिएर आयो । उसले अब त्यस्तै केही भन्नेछे । मलाई यकिन भयो केही प्रेमिल संकेत दिनेछे उसले । मुटु ढोल पिटेझैँ जोडले धड्किन थाल्यो । आँखाभरि पानका पातहरू राता भएर नाच्न थाले ।

‘भनौं ?’ उसले मलाई उत्सुकताको शिखरमा लगेर उभ्याइदिई ।

‘भन न।’ बेचैनीमा सास रोकेर सोधेँ ।

‘दादा ।’

‘हँ ?’ अत्तास्सिएर लेखें ।

‘यस् । मेरो ह्याण्डसम दादा हो हजुर । दाइ हैन दादा भन्छु हुन्छ ?’

उसले मेरो चित्त दुखाई । आँखाका राता पानहरू भुइँभरि खसेर पतकर बने । मेरो मन दुख्यो । निन्याउरो भयो अनुहार । औंलाहरू गह्रुँगा भए । केही लेख्नै सकेनन् ।

‘हेल्लो । आर यु दियर ?’ मेसेन्जरको लामो सन्नाटा चिरेर उसले लेखी ।

मैले बूढी औंलाको रिसउठ्दो ठेंगा चिह्न थिचेर पठाएँ । जवाफमा उसले रिसले चुर भएको इमोजिको रातो अनुहार पठाई ।

उसले मलाई रोटेपिङको टुप्पोमा पुर्‍याएकी थिई । अनि एकैपटक तल्तिर हुत्याएकी थिई । म पिङबाट खसेझै अत्तालिएको थिएँ ।

‘म के भनौं भन्नु न ?’ उसले अझै सोधी ।

‘जे मन लाग्छ त्यही भन ।’ झर्को लागेर भनें।

‘रिसाउनुभो ?’

‘हैन ।’

‘अनि राम्रोसँग भन्नु न त ।’

‘तिमीलाई जे भन्न सजिलो लाग्छ मलाई त्यहि भन बैनी ।’

‘मलाई बैनी नभन्नु न ।’ उसले लेखी । अब फेरि के मजाक हो यो ?मलाई दिक्क लाग्न थाल्यो ।

‘के भनौं त ?’

‘जे भने नि भन्नु तर बिर्सेर पनि बैनी नभन्नु । यति राम्री मान्छेलाई त्यति ह्याण्डसम मान्छेले बैनी भन्ने हो त ?’ उसले आँखा झिम्क्याएको इमोजी टाँसी ।

‘तिमीले दादा भनेपछि मैले के भनौं ?’

‘यसो गरौँ ।’ उसले लेखी।

‘कसो ?’

‘मैले दादा फिर्ता लिएँ ।’ ऊ फेरि हिहि गरेर च्याटमा हाँसिदिई ।

म पंगु भइरहेको आफैँलाई भान हुँदै आयो । अलिअलि जिस्कने खालको थियो साथी । तर बैनीचाहिँ कस्ती उत्ताउली ! एक मन त बेस्सरी रिस उठ्यो । अर्को मन भने नौनीझैँ गल्थ्यो । सोच्थें, आखिर जे भए पनि राम्री केटी हो ।

‘ल अब मलाई के भन्नुहुन्छ ?’ उसले सोधी ।

‘था’छैन ।’

‘रिसाउनुभाको हो ?’

‘हैन । झर्को लाग्यो । अरु नै कुरा गरौँ न है ? यो नातावाला टपिक क्लोज गरौँ ।’ मैले लेखें ।

‘अहँ । पहिला नाता नै फिक्स गर्नुपर्छ । नाताअनुसारको पो कुरा हुन्छ त ।’ उसले लेखी । म चुप भएँ ।

उसले लेखेकी ‘नाताअनुसारको कुरा’ निकै रहस्यमयी थियो । मलाई त्यो रहस्यमयी कुराले पनि काउकुती लगायो । आखिर के कुरा गर्न चाहन्छे ऊ ? यतिचाहिँ म निश्चिन्त भएँ कि अब साथीकी बैनीलाई मैले बैनीचाहिँ भन्दिन ।

‘यसो गरौँ ।’ मैले लेखें ।

‘कसो ?’

‘मलाई साथी मात्र बनाऊ । हुन्छ ?’

‘एकजना ह्याण्डसम केटा र एउटी राम्री केटी कहिल्यै साथी मात्र हुँदैनन् भन्ने था’छैन तपाईंलाई ?’

‘हुँदैनन् होला अरू । हामी बनेर देखाइदिऊँ न हुन्न ?’

‘हुन्न । मलाई त साथीभन्दा अझै माथि हुने मन छ ।’ उसले लेखी ।

मेरो चुलबुले हुन थालेको मन थिरमा रहेन । अब म पनि ऊझैँ जिस्कन थालिसकेको थिएँ । हामी यस्तै यस्तै कुरा गरिरह्यौं । ऊ मलाई प्रेमको उत्कर्षमा पुर्‍याउँथी अनि फुत्त खसालीदिन्थी । प्रेमीजस्तो बनाएर उचाल्थी । घचेटेर फेरि दाइको साथी नै बनाइदिन्थी । म रिसाउन, झर्किन, तर्किन थालेको महसुस हुनासाथ मायालु बोलीले फकाइहाल्थी ।

साढे आठ बजेबाट जिस्कन थालेका थियौं हामी । लगभग बाह्र बज्न लागेपछि उसले फ्याट्ट सोधी,

‘लास्टचोटि भन्नुस् अब । हामी कस्तो नातामा बस्ने ?’

प्रेमको भावनाले लुछुप्पै भिजिसकेको थिएँ । आँखामा उसलाई आफ्नी प्रेमिका बनाएर राखिसकेको थिएँ । अब त हिम्मत पनि पहाड बनेर उभिसकेको थियो । मलाई सधैँ सोझो भनेर हेप्ने साथीलाई जेठान बनाउने मौका आएको थियो । फ्याट्ट भन्दिएँ, ‘आई लभ यु ।’

‘हजुर ?’ उसले नबुझेझैँ गरी ।

‘आई लभ यु प्यारी !’ म उसको प्रेमको नशामा मात्तिसकेको थिएँ ।

‘यसरी लेखेर हैन । भिडियो अन गर्नुस् अनि भन्नुस् ।’

‘नाइँ अप्ठ्यारो लाग्छ भिडियो अन गर्दा त ।’ मैले लेखेँ ।

‘अब के डर । स्पेसल फिल गराउनु हुन्न ?आफ्नी प्यारीलाई ?’ उसले इमोसनल ब्ल्याकमेल गरी ।

‘हस् ’भनेर भिडियो कल गरें ।

टुँ टुँ गरेर कलर टोन गयो । उसले कल उठाई । उसको अनुहार देखिनुअघि नै आँखा चिम्म गरेर जोडले चिच्याएँ,

‘आई लभ यु प्यारी । माई बेबी । म्मुवाँँ ।’

चुप्प गरेको चोसे ओठ र चिम्म भएको आँखाच् यातेर मोबाइल हेरेँ । मलाई भाउन्न भएर आयो । मुटु भुक्लुक्क उम्लिएर मुखमा आयो । घाँटी किक्लिक्क भयो । निधारमा पसिनाका थोपा टिल्पिलाए ।

मेरो हरामी साथी मोबाइलको स्क्रिनबाट आँखा ठूला बनाएर खाउँलाझैँ गरेर हेरिरहेको थियो ।

कालोनिलो भएर मोबाइल फुत्त ओछ्यानमा फ्याँकेँ ।

उताबाट बेस्सरी हाँसेको आवाज आउँदै थियो । लेन्समा आफ्नो अनुहार नपर्ने गरी यसो नियालेर हेरेँ । दाजुबैनी मरीमरी हाँस्दै थिए ।

‘ओई। कता हराइस् ? प्य्राङ्क गरेको तँलाई । ओई । हेल्लो हेल्लो ।’ साथी बोल्दै थियो । बैनीचाहिँ हिहि गर्दै खित्खिताउँदै थिई । मलाई लाजले अनुहार देखाउनै मन लागेन ।

‘साह्रै लल्लुराम नै रै’छ त तेरो साथी ।’ साथीकी बैनी सुनाउँदै थिई ।

साथी मुर्दार पनि ‘हो हो’ भनेर मेरो बिल्ला उडाउँदै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment