११ असोज, काठमाडौं । एसिया कपमा बंगलादेशसँग पराजित भएर बाहिरिएपछि पाकिस्तानका कप्तान सर्फराज अहमदले प्रतियोगिताभर आफू रातमा समेत निदाउन नसकेको बताएका छन् ।
सर्फराजले आफूमा परेको दबाब बताएसँगै गएको चार वर्षदेखि भइरहेको कामको तनावबाट उनलाई आउँदा प्रतियोगितामा आराम दिन ब्यवस्थापन र छनोटकर्ताहरुले सोच्न थालेका छन् ।
एसिया कपमा पाकिस्तानले दुई खेल मात्रै जितेको थियो । भारतसँग दुई खेल हारेको पाकिस्तान निणर्ायक खेलमा बंगलादेशसँग पनि हारेर बाहिरियो ।
२०१६ ताका आफ्ना ब्याटिङको उचाइमा रहेका सर्फराज अहिले निकै खस्किएका छन् । २०१७ को च्याम्पियन्स ट्रफी जित्दा श्रीलंकाविरुद्ध खेल जिताउन महत्वपूर्ण सावित भएको अर्धशतक बनाएपछि उनको ब्याटिङ एभरेज १७.२ मात्रै रहेको छ ।
अहिले त उनको ब्याटिङ पोजिसन पनि फिक्स भएको छैन । ५ नम्बरको पोजिसनमा राम्रो गरिरहेका उनी अहिले एसिया कपमा कहिले ४ नम्बर, कहिले ५ नम्बर र कहिले ६ नम्बरमा खेले । कुनैमा राम्रो हुन सकेन ।
‘कप्तान हुँदाको तनाब सधैं रहन्छ । पाकिस्तानी टिमको कप्तान जोसुकै होस् उसलाई प्रेसर त रहन्छ नै’ बंगलादेशसँगको हारपछि पत्रकारसँग उनले भने, ‘अझ जब टिमले हारिरहेको बेला तपाइँकै खेल राम्रो हुन सकेन भने त प्रेसर दोहोरो हुन्छ ।’
‘यदि म ६ रातदेखि सुतेको छैन भनें भने कसैलाई विश्वास हुँदैन । तर, वास्तविकता त्यही हो । म निदाउन सकेको छैन । मेरो जीवन यस्तै चलिरहेको छ । लाग्छ अगाडि पनि यसरी नै गइरहने छ ।’
२०१६ को अप्रिलमा टी ट्वान्टी, २०१७ को फेब्रुअरीमा एकदिवसीय र २०१७ को सेप्टेम्बरमा टेस्टमा कप्तान बनेका सर्फराजले त्यसपछि लगातार पाकिस्तान टिमको कप्तानी गरिरहेका छन् ।
सेप्टेम्बर २०१४ पछि जोय रुट र विराट कोहलीले मात्रै उनले भन्दा धेरै खेल खेलेका छन् । कतिसम्म भने विकेटकिपरको विकल्प नहुँदा उनी वार्मअप खेलमा पनि खेल्नुपर्ने बाध्यतामा रहन्छन् ।
अब मोहम्मद रिजवान र मोहम्मद हसनलाई सर्फराजलाई आराम दिन आउँदो प्रतियोगितामा अगाडि ल्याउने सम्भावना बढेको छ । जसले सर्फराजले आराम पाउने छन् र आफ्नो खेल सुधार गर्न सक्नेछन् ।
प्रतिक्रिया 4