Comments Add Comment

पाँच पोखरीः आँखामा ताल, पैतालामा हिमाल

काठमाडौं । सिन्धुपाल्चोक पुगेपछि एकपटक पाँचपोखरी ताल पुग्ने रहर धेरैको हुन्छ । प्रकृतिको अनुपम उपहार पाँचपोखरी ताल पुगेपछि जो कोही मोहित नहुने कुरै हुँदैन । हरियो दुबोले घेरिएको चौरको बीचमा रहेको निलो तालले लठ्ठै बनाउँछ ।

त्यहाँ एउटा मात्रै ताल छैन । एउटा ठूलो र बाँकी स-साना तालहरुको संगम हो पाँचपोखरी ।

सिन्धुपाल्चोक भोटाङमा अवस्थित समुद्री सतहबाट करीव ४ हजार ६० मिटरमा उचाइमा रहको छ यो ताल ।

पाँचपोखरी ताल सुन्दरताका हिसाबले मात्रै नभएर धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात छ । जनै पूर्णिमाका दिन यो ताल आसपासमा ठुलो मेला लाग्ने गर्छ ।

मेलम्ची बजारदेखि तीन दिनको पैदल यात्रा गरेपछि पाँचपोखरी पुग्न सकिन्छ ।

काठमाडौंबाट जानेहरु मेलम्चीसम्म बस वा अन्य सवारी साधनका माध्यमले जान सक्छन् । मेलम्ची पुगेपछि पैदल यात्रा गरेर पहिलो दिन भोटाङ पुगेर बास बस्न सकिन्छ । भोटाङ सम्म बाटो र खानपिनका लागि होटलहरुको राम्रै व्यवस्था छ ।

तर, दोस्रो दिन भोटाङदेखि अगाडि जान जंगलको बाटो पर्ने भएकाले केही असहज पर्न सक्छ । ठाउँ ठाउँमा गोठ तथा छाप्राहरु भेटिन्छन् ।

समुद्री सतहबाट ३२ सय मिटरमा अवस्थित टपखर्कमा बास बस्ने सामान्य व्यवस्था छ ।

यात्राको तेस्रो दिन पाँचपोखरी पुग्न सकिन्छ । पाँचपोखरीमा बास बस्नका लागि सामान्य होटल पाइन्छ । ५ दिनको पैदल यात्रा गरेर पाँच पोखेरी पुग्न सकिन्छ ।

पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइधुवाइ गरेर पाँच वटा पोखरी परिक्रमा गरेमा पापमोचन हुने र मनले चिताएको पुरा हुने जनविश्वास रहेको पाइन्छ ।

पाँचपोखरी रहेको स्थलबाट करिव एक घण्टाको उकालो यात्रा गरेपछि त्यो क्षेत्रको अग्लो डाँडामा पुगिन्छ । सो डाँडाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

उचित प्रचार प्रसार नभएका कारण यो क्षेत्र पर्यटकीय गन्तब्यस्थल बन्न नसक्नुका साथै भौतिक पूर्वाधारको विकास समेत हुन सकेको छैन । विशेष गरी पाँचपोखरीमा जनै पूर्णिमाको अघिल्लो दिन र मंसिर पूर्णिमाका दिन विशेष मेला लाग्छ ।

पाँचपोखरी हुँदै तिलमान पास पनि गर्न सकिन्छ । तर यो पास निकै गाह्रो छ । यसको उचाई ५ हजार मिटर भन्दा पनी बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment