+

च्याम्पियन्स लिग: उमटिटी र रोबर्टो नहुँदा समस्यामा बार्सिलोना

२०७५ असोज  १५ गते १९:१५ २०७५ असोज १५ गते १९:१५
च्याम्पियन्स लिग: उमटिटी र रोबर्टो नहुँदा समस्यामा बार्सिलोना

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्यामुअल उमटिटी र सर्जियो रोबर्टोले च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब टोटनहृयामसँगको खेल गुमाउने भएका छन् ।

एक खेलको प्रतिबन्धमा रहेका उमटिटी अहिले घाइते पनि रहेका छन् । रोबर्टो पनि घाइते भएर टिममा पर्न सकेका छैनन् । साथै मालकोम पनि प्रशिक्षक एर्नेस्टो भालभर्देले छानेको २० खेलाडीमा परेका छैनन् ।

यो सिजन बार्सिलोनामा आएसँगै मालकोमले खेलमा समय पाएकै छैनन् । ला लिगाका दुई खेलमा सब्सिच्युड भएर आएका उनले च्याम्पियन्स लिगमा डेब्यू नै गरेका छैनन् ।

इंग्ल्याण्डको वेम्ले रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहीबार राति पौने १ बजे हुनेछ ।

च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोनाले पीएसभीलाई ४-० ले हराएको थियो भने टोटनहृयाम इन्टर मिलानसँग २-१ ले हारेको थियो ।

पछिल्ला केही खेलमा डिफेन्डर जेरार्ड पिकेले गरेका गल्ती र उमटीटी प्रतिबन्धमा रहेकै बेला रोबर्टो घाइते हुनुले बार्सिलोनाको डिफेन्स लाइनमा चुनौती बढेको छ ।मिडफिल्डबाट बुस्केट्सले डिफेन्समा पनि राम्रो साथ दिइरहेकाले प्रशिक्षक भालभर्दे आशावादी छन् ।

ला लिगाको पछिल्लो खेलमा कप्तान लियोनल मेस्सीसँगै बुस्केट्स पनि ढिलो गरी मैदान छिरेका थिए । एथ्लेटिको बिलबाओसँगको खेलमा मेस्सी र बुस्केट्सलाई आराम दिने सोचमा प्रशिक्षक देखिए पनि खेल नै गुमाउनुपर्ने स्थिति देखिएपछि उनीहरुलाई मैदान प्रवेश गराइएको थियो ।

कोको परे बार्सिलोना टिममा ?

मार्क आन्द्रे टेर स्टेगेन, नेल्सन सेमेडो, जेरार्ड पिके, इभान र्‍याकिटिक, सर्जियो बुस्केट्स, डेनिस स्वारेज, फिलिप कोटिन्हो, आर्थर मेलो, लुइस स्वारेज, लियोनल मेस्सी, उसमान डेम्बेले, राफिन्हा, जेसपर चिलेसेन, क्लेमेन्ट लेङलेट, जोर्डि अल्बा, मुनिर एल हदादी, आर्टुरो भिडाल, थोमस भर्माइलिन, जुआन मिरान्डा र इनाकी पेना ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय