Comments Add Comment

माधव नेपालले अस्वीकार गरेको नेकपाको त्यो बैठकमा के भएको थियो ?

१६ असोज, काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएको सचिवालय बैठकको निर्णय दुई अध्यक्षको चाहनाभन्दा पनि अन्य नेताहरुको जोडबलमा भएको खुलेको छ । नेपाल र श्रेष्ठ विदेशमा रहेका बेला नेकपा सचिवालय बैठकले ७ प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो ।

सचिवालय बैठकको निर्णय कार्यन्वनयका लागि परिपत्र जारी भएपछि बरिष्ठ नेता नेपालले सो निर्णय अश्वीकार्य हुने भन्दै स्थायी कमिटी सदस्यहरुको भेला समेत गरिसकेका छन् । परिपत्र फिर्ता लिएर स्थायी कमिटीबाट निर्णय गर्नु पर्ने नेता नेपालको माग छ ।

प्रवक्ताबाट राजीनामा दिएका नेता श्रेष्ठले औपचारिक रुपमा विरोध नगरेपनि असन्तुष्टि जनाएका छन् ।

नेताहरुले भने अध्यक्षद्वय ओली र प्रचण्ड भन्दा बामदेव गौतमले तत्काल निर्णय गर्न दबाव दिएको दाबी गरेका छन् । गौतमलाई ईश्वर पोखरेलले साथ दिएका थिए भने झलनाथ खनाल र रामवहादुर थापा बादलले पनि समर्थन गरेको एक सचिवालय सदस्यले बताए ।

बैठकको दृष्य सुनाउँदै एक नेताले भने, ‘महासचिव बिष्णु पौडेलले कार्यदलले काम गर्न नसकेको भन्दै तीनै कार्यदललाई जिल्ला भन्दा तलका कमिटीहरुको एकीकरण गर्न जिम्मा दिने र मापदण्ड थपेर पठाउने खालको प्रस्ताव पेश गरेपछि बामदेव गौतम पड्किए । उनले पार्टी बिघटन गर्न खोज्ने ? भन्दै आजै दुईजना अध्यक्षले सल्लाह गरेर प्रदेश कमिटी गठनको प्रस्ताव ल्याउनुस भने । ईश्वर पोखरेलले दुई अध्यक्षले जस्तो प्रस्ताव ल्याए पनि समर्थन गर्छौर्र्ं तर अब पार्टीलाई भ्याकुममा नराखौं भने । ‘

गौतमले ओली र प्रचण्डलाई अर्को कोठामा गएर प्रदेश कमिटीको खाका बनाएर ल्याउन आग्रह गरेका थिए । पोखरेलले ‘प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम प्रस्ताव गर्नुस् । कुनकुन प्रदेश कसरी बाँड्ने तपाईहरु धार्नी बिसौली मिलाउनुस् । बरु महासचिवलाई पनि राखेर प्रस्ताव ल्याउनुस्’ भन्ने सुझाव दिएका थिए ।

गौतम र पोखरेलले कडिकडाउ अडान लिएपछि झलनाथ खनालले पनि साथ दिएका थिए । पार्टीलाई सँधै तदर्थ ढंगले चलाउन नहुने भन्दै खनालले प्रस्ताव ल्याउन सुझाव दिएका थिए । बैठकमा सहभागी अर्का सदस्य बादलले पनि त्यसमा सहमति जनाएपछि दुवैजना अध्यक्ष ठीकै छ भन्दै अर्को कोठामा गएको बैठकका सहभागीले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारकै एउटा कोठामा करीव ३ घण्टा छलफलपछि अध्यक्षद्धय ओली र प्रचण्डको सुझाव अनुसार महासचिव बिष्णु पौडेलले सात प्रदेशका २८ पदाधिकारीको नाम प्रस्ताव गरे, जुन सर्वसम्मत रुपमा पारित भएको थियो ।

महासचिवको प्रस्तावमा कुनै पनि नेताले विमति राखेनन् । यसअघि प्रचण्डले बादलसँग अलग्गै छलफल गरेका थिए । पूर्वमाओवादीमा प्रचण्ड र बादलको छलफल भएपछि विवाद भएन । पूर्व एमालेबाट ओलीले ६ इन्चार्जमध्ये ३ जना माधव नेपाल र झलनाथ खनाल पक्षका राखेपछि झलनाथ खनालले पनि सहमति जनाइहाले ।

अध्यक्ष, सहइन्चार्ज र सचिवमा प्रस्तावित नाममा खासै विमति भएन । बामदेवले भने  किरण गुरुङवलाई गण्डकी प्रदेशको इन्चार्जबाट हटाइएकोमा असन्तुष्टि जनाएका थिए ।

अध्यक्षद्धय ओली र प्रचण्डको समदूरीमा रहेर काम गरिरहेका महासचिव पौडेलले त्यस दिन प्रदेश पदाधिकारी चयनको प्रस्ताव ल्याएका थिएनन् । अध्यक्षद्धयको मूड पनि सम्भवतः थिएन । तर, बैठकमा सहभागी अन्य चार नेताले एक स्वरमा आजै गर्नुपर्छ भनेपछि बैठककै म्याण्डेट लिएर २८ जनाको नाम पेश भएको स्रोतको दाबी छ ।

माधव नेपालको असन्तुष्टि के मा ?

तत्कालिन एमालेले पाएका ६ जना इन्चार्जमध्ये गण्डकी र प्रदेश ५ बाहेक अरुमा पूरानैले जिम्मेवारी पाए । माधव नेपाल पक्षका भीम आचार्य, अष्टलक्ष्मी शाक्य र भीम रावल इन्चार्ज भए । ओली पक्षले पाएका ३ इन्चार्जमध्ये प्रदेश २ मा सत्यनारायण मण्डल यथावत रहे । गण्डकी प्रदेशमा किरण गुरुङको ठाउँमा मुख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङलाई ओलीले प्रस्ताव गरे । त्यस्तै प्रदेश ५ मा तत्कालिन इन्चार्ज बिष्णु पौडेल महासचिव भएकाले ओलीले मुख्यमन्त्री समेत रहेका शंकर पोखरेललाई सफारिस गरे । मुख्यमन्त्रीलाई इन्चार्ज बनाइएकोमा नेपालको आपत्ति छ ।

त्यस्तै प्रदेश १ का इन्चार्ज भीम आचार्य पछिल्लो समय ओली पक्षसँग मिलेर काम गरेको आरोप छ । नेपाल प्रदेश १ को अध्यक्ष जगन्नाथ खतिवडालाई बनाउन चाहन्थे । तर त्यसमा आचार्य बाधक भए । प्रदेश ६ मा प्रकाश ज्वाला अध्यक्ष बनाउन नेपाल चाहन्थे ।

साथै जिल्ला अध्यक्ष र सचिवमा ओली पक्षमा आएका छन् । प्रदेशको कार्यकारी भूमिका हुने पदमा आफ्नो पक्षका नेताहरुलाई बाइपास गरेपछि नेता नेपाल रुष्ट बनेको बताइएको छ ।

त्यसो त यसपटक ओली र प्रचण्डले सल्लाह गरेरै आफूलाई कार्यवाहक अध्यक्ष नदिएको आशंका पनि नेपालमा परेको छ । यसअघि दुवै नेता विदेश जाँदा नेपालले कार्यवाहक अध्यक्ष पाएका थिए । एकपछि अर्को असन्तुष्टि भएपछि उनले स्थायी कमिटी सदस्यहरुको भेला गरेका हुन् ।

नेता नेपालले प्रदेश पदाधिकारी चयनसम्बन्धी बैठकका निर्णय अवीकार गरेपनि उनी निकटकै नेताबाट कार्यन्वयनमा गइसकेको छ । भीम रावल इन्चार्ज रहेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्ला कमिटी एकीकरण प्रक्रिया थाल्नुको साथै प्रशिक्षण भेला थालेको छ । प्रदेश ३ मा पनि अष्टलक्ष्मी शाकये बैठक बोलाएर निर्णय गरिसकेकी छन् ।

नेपाल आफैं भने चीनतर्फ गएका छन् । उनी आएपछि थप छलफल हुने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment