+
+

सहकारीको नयाँ सुरुआतः कार्यक्रममा छिटो आउनेलाई सम्मान र पुरस्कार !

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते १६:०६

१६ असोज, सिन्धुपाल्चोक । जिल्लामा हुने केही कार्यक्रम बाहेक अरु कुनै पनि कार्यक्रम निर्धारित समयमा हुने गरेको छैन ।

कतै आयोजको ढिलाइ त कतै प्रमुख अतिथिको अवागमनमा ढिलाइ हुँदा सार्वजनिक कार्यक्रमम मात्रै होइन भेला बैठकसमेत निर्धारित समयमा हुने गरेको छैन ।

प्रायः सबै कार्यक्रमहरु बिहान ११ बजेका लागि तय गरिएको हुन्छ तर कहिले काँही त यति ढिला हुन्छ कि २ बजेसम्म पनि कार्यक्रम सुरु हुदैन ।

केही समयअघि लिसंखुपाखर गाउँपालिकाले बिहान ११ बजे राखेको कार्यक्रम प्रमुख अतिथिको ढिलाइले गर्दा २ बजे मात्रै सुरु भएको थियो । भलै त्यो सडक समस्याको कारण प्रमुख अतिथि आउँदा ढिलाइ भएको थियो ।

जिल्लामा मात्रै होइन नेपालमा नै प्रचलन भइसक्यो कि ‘नेपाली टाइम हो’ भनेकै समयमा त के कार्यक्रमम सुरु होला र भनेर सबैले समयको ख्याल गर्नै गरेका छैनन् ।

तर, सुनकोशी गाउँपालिका-६ थुम्पाखरमा रहेको आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाले भने आयोजकले तोकिएको समयमा आउने सहकारीका समुहहरुलाई सम्मान र पुरस्कार दिने प्रचलनको सुरुआत गरेको छ ।

आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाले गत वर्षदेखि आयोजकले निर्धारण गरेको समयभित्र आउने सहकारीको समुहहरुलाई कार्यक्रममा सम्मान र पुरस्कार दिने व्यवस्थाको सुरुआत गरेको सहकारीका अध्यक्ष चक्रबहादुर बस्नेतले जानकारी दिए ।

शनिबार सहकारीको २१ औ साधरण सभामा सहभागीता हुनु पर्ने समय थियो बिहान १० बजे ।

आयोजकले तोकीएको समय भित्रै आइपुगे गोल्मादेवी बचत समुह र क्षमादेवी बचत समूह । दुवै समूहका सम्पूर्ण सदस्यहरु बिहान १० बजे नै कार्यक्रममा सहभागी भएका थिए ।

निर्धारित समय भित्रै कार्यक्रममा सहभागी भएपछि ति समुहहरुलाई सहकारीले २ थान शेयर निःशुल्क प्रद्यान गरेको थियो भने कार्यक्रममै भव्य सम्मान गरिएको थियो ।

सार्वजनिक कार्यक्रममा समयको महत्व बुझाउन र तोकिएको समयमा नै कार्यक्रम सुरु गर्ने संस्कारको विकास गर्न आफुहरुले यस्तो अभियान सुरु गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

सहकारीले सहभागीहरुलाई १० बजे र कार्यक्रममा आउने प्रमुख अतिथिलगायत अन्य अतिथिहरुका लागि साढे १० बजेको समय दिएको थियो ।

सहभागी आएपछि अतिथिहरु प्नि तोकिएको समयमा नै सहभागी भए,यसले गर्दा कार्यक्रम पनि तोकिएकै समयमा सुरु भयो र अन्त पनि भयो सहकारीका व्यवस्थापक विचारीप्रसाद प्याकुरेलले भने ।

आगामी वर्षदेखि प्रमुखसहभागीसँगै अतिथीहरुलाई पनि आयोजकले तोकिएकै समयमा आउनेलाई सम्मानको व्यवस्था गर्न लागेको सहकारीका अध्यक्ष बस्नेतले जानकारी दिए ।

कहिले सहभागी समयमा नै नआएर घण्टौ कुर्नु पर्छ त कहिले अतिथीहरु नआएर,त्यसैले सबैलाई समयको महत्व दिलाउन अफुहरुले अन्यत्रपनि सुरुवात गरेको अध्यक्ष बस्नेतले बताए ।

कार्यक्रमका प्रमुख अतिथि सुनकोशी गाउँपालिका-६ का वडा अध्यक्ष रामकुमार थापा पनि आयोजकले बोलाएको साढे १० बजे नै कार्यक्रम स्थलमा पुगेका थिए ।

सहकारीले सुरुवात गरेको यो अभियान विशेषत राजनीतिक कार्यक्रमहरुमा पनि यस्तै गर्नु पर्ने थापाको भनाइ थियो ।

अबदेखि आफू सहभागी हुने हरेक कार्यक्रमहरुमा समयमा नै पुग्ने पनि थापाले प्रतिबद्धता व्यक्त गरे ।

गाउँमै रेमिटेन्स सेवा, स्थानीयले पाए सुविधा

सुनकोशी गाउँपालिका-६ थुम्पाखरमा रहेको आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाले वडा नम्बर ६ बाहेक,५ र ७ लाई समेत समेटेको छ । त्यस्तै लिसंखुपाखर गाउँपालिकाको पनि केही वडा सहकारीको सेवा क्षेत्र रहेको छ ।

सहकारीले केही महिना अघिदेखि रेमिट्यान्स सेवासमेत सहकारीमा नै उपलब्ध गराएपछि विदेशमा रहेका आफन्तले पठाएका पैसा गाउँमा नै निकाल्न पाएका छन् ।

मलेसियामा रहेको छोराले पठाएको पैसा निकाल्न दिन माया मारेरै खाडिचौरसम्म जाने गरेका थिए स्थानीय कर्णबहादुर थापा । तर, अहिले उनी दिन माया मारेर खाडिचौर जानु पर्देन घर छेउमा नै रहेको सहकारीबाट उनले छोराले पठाएको पैसा निकाल्ने गरेका छन् ।

रेमिटेयान्स मात्रै होइन भुकम्पले घर भत्किएका शेयर सदस्यहरुलाई सहुलियत दरमा सहकारीले ऋण समेत उपलब्ध गराएको सहकारीका अध्यक्ष चक्रबहादुर बस्नेतले जानकारी दिए ।

स्थानीयलाई स्थानीयस्तरमा नै साना व्यावासाय गरेर उपार्जनका लागि समेत सहकारीले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

२३ सय सदस्य रहेको सहकारीले बाषिर्क १० करोढ बढीको कारोबार गर्दे आएको छ । सहकारीको साधारण सभामा सहकारीलाई विभिन्न क्षेत्रबाट सहयोग गर्नै,उत्कृष्ट बचतकर्ता, लगायतलाई कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष रामकुमार थापाले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?