२० असोज, काठमाडौं । मधेस आन्दोलनका बेला निकै नै प्रयोगमा आएको शब्दावली हो- महेन्द्रपथ । मधेस केन्द्रित दलका नेता-कार्यकर्ताले राजा महेन्द्रको नीतिलाई आलोचना गर्ने सिलसिलामा ‘महेन्द्रपथीय राष्ट्रवाद’ भन्ने गरेका थिए/छन् । अहिले पनि कतिपयले ‘महेन्द्रपथ’ को आलोचना गर्दै आइरहेकै छन् ।
मधेस अधिकारको पक्षमा रहेका राजनीतिक पार्टीले ‘महेन्द्रीय राष्ट्रवाद’ को आलोचना गरिरहँदा देश नै अलग्गै बनाउनुपर्न भन्ने सिके राउतले त झन राजा महेन्द्रको नामै सुन्न नचाहनुपर्ने हो । तर, उनले मधेसमा जतिसुकै चर्का कुरा गरे पनि काठमाडौंमा तत्कालीन राजा ज्ञानेन्द्रलाई निवेदन हालेको र उनैबाट महेन्द्र विद्याभुषण पदक थापेको घटना भने धेरैलाई थाहा नहुन सक्छ ।
सिके राउतले लेखेका आफ्ना किताबहरुमा बायोग्राफी प्रकाशित गर्दा ‘महेन्द्र विद्याभुषणजस्तो सम्मानबाट विभुषित भएको’ भन्ने वाक्यांश छुटाउने गरेका छैनन् ।
नेपाल आमालाई आमाचकारी गाली गरेवापत विगतमा पक्राउसमेत परेका राउतले महेन्द्र राजाका नाममा निवेदन हालेर पाएको पदकको भने अहिलेसम्म लोभ गरिरहेको उनका पुस्तकहरुमा हुने त्यसको चर्चाले स्पष्ट पार्छ ।
राउतले राजा ज्ञानेन्द्रको शासनकालमा निवेदन हालेर महेन्द्र विद्याभुषण थापेका थिए । ‘मधेस स्वराज’ नामको कितावको कभरमा उनले ‘महेन्द्र विद्याभुषणजस्तो सम्मानबाट विभुषित भएको’ गर्वका साथ उल्लेख गरेका छन् ।
सिके राउतले ‘महेन्द्र विद्याभुषणजस्तो सम्मानबाट विभुषित भएको’ भनेर आफूलाई प्रस्तुत गरे पनि यो विभुषण उनले नेपाल सरकारसमक्ष निवेदन हालेर प्राप्त गरेका हुन् । नेपाल सरकारसमक्ष निवेदन हालेर पदक थापेका राउतले अहिलेसम्म यो पदकलाई भँजाइरहेकै छन् ।
राजतन्त्र रहुञ्जेलसम्म महेन्द्र विद्याभुषण भनिने यो विभुषणलाई अहिले गणतन्त्र कालमा ‘नेपाल विद्याभुषण’ भनिन्छ । पीएचडी उत्तीर्ण हुनुपर्ने योग्यता पूरा राउतले यो पदक ज्ञानेन्द्रको शासनकालमा शिक्षा मन्त्रालयमा निवेदन हालेर लिएका हुन् ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा दिइने यो विभुषण प्राप्त गर्न चाहने व्यक्तिले १० रुपैयाँको टिकट टाँसेर नेपाल सरकारले तोकेको ढाँचामा निवेदन दिनुपर्छ । राउतले यही विधि पुर्याएर निवेदन दिएपछि विभुषण पाएका हुन् । यद्यपि उनले पदक लिन जाँदा धोती लगाएर जान चाहेको तर अनुमति नपाएपछि दौरा सुरुवाल र टोपी लगाएर पदक थाप्न गएको आफ्नो संस्मरणमा उल्लेख गरेका छन् ।
राउतले मधेसी युवालाई आफ्नो प्रभावमा पार्नका लागि के भन्ने गरेका छन् भने यो विभुषण थाप्दा उनलाई ज्यादै नै अपमानवोध भएको थियो । यद्यपि उनले अहिलेसम्म त्यो विभुषण फिर्ता गरेका छैनन्, बरु हरेक कितावमा गर्वका साथ ‘महेन्द्र विद्याभुषणजस्तो सम्मानबाट विभुषित भएको’ बताउने गरेका छन् । उनले निवेदन हालेर विभुषण लिएको वास्तविक तथ्यलाई भने मधेसी जनतासामु लुकाउने गरेका छन् ।
महेन्द्र विद्या भुषणबारे सिके राउतको भनाइ
सिके राउतले आफ्नो पुस्तक ‘वैरागदेखि वचावसम्म’ महेन्द्र विद्याभुषण कसरी थापियो भन्ने चर्चा गरेका छन् । विद्याभुषणका लागि निवेदन दिएको प्रशंग उल्लेख नगरी राउतले भनेका छन्-
‘त्यसवर्ष शिक्षा दिवसका अवसरमा तत्कालीन राजा ज्ञानेन्द्रबाट म महेन्द्र विद्याभुषण पाउनेवाला थिएँ । बुबाको सम्मानमा मैले त्यो पदक धोती-कुर्तामा लिने ठूलो इच्छा थियो । अरूबेला जे लाए पनि विशेष अवसरहरूमा कम्तीमा धोती-कुर्ता लाउने हाम्रो संस्कार थियो र त्यही भएर त्यो चाहना जागृत भएको थियो । यसबारेमा म घरमा पनि कुरा गरेको थिएँ, र गाउँलेहरूलाई पनि जानकारी गराएको थिएँ ।
तर, प्राप्त जानकारी अनुसार त्यो पदक थाप्न पहाडीहरूको भेष दौरा-सुरुवाल र टोपी लाउनु अनिवार्य थियो, त्यही टोपी जुन नलाइकन नेपाली नागरिकता प्राप्त हुन्नथ्यो ।
म मन्त्रालय गएर सचिवसमक्ष आफ्नो कुरा बारबार राखें । उनले मन्त्रीलाई पनि सोधे र भने – ‘दौरा-सुरूवाल-टोपी नलाइकन देखिनुभयो भने त्यहाँको हाताभित्र छिर्न पनि दिइने छैन ।’ मलाई दुःख लाग्यो । आफ्नो घरमा र गाउँलेहरूसमक्ष गरेको कुरा सम्झेर झन बिझ्यो ।
मैले राजा ज्ञानेन्द्रका नाममा एउटा खुलापत्र लेखें । कम्प्युटर त मसँग थिएन, कुपन्डोलको एउटा साइबर क्याफेमा गएर प्रतिपेज १० रूपैयाँका दरले टाइप गराएँ र प्रमुख दैनिक समाचारपत्रहरू र मन्त्रालय लगायतका ठाउँहरूमा पठाएँ । कुनै पनि पत्रिकाले त्यसलाई स्थान दिएन । न त कुनै निकायबाट नै मैले त्यसको कुनै उत्तर नै पाएँ ।
कतैबाट कुनै प्रतिक्रिया नआउँदा सोचें, शायद यी कुराहरूमाथि बहस गर्नका लागि समय अपुग भएछ र यसपालि एकपटक दौरा-सुरुवालमै राजालाई भेटौं । म दुई-तीन दिनमै दौरा-सुरुवाल बनाउन लगाएँ र त्यही लाएर राजालाई भेटन गएँ ।
मैले राजाबाट पदक ग्रहण गरें र कोठा फर्कें । त्यो दिन म ज्यादै अपमानित भएको महसुस गरें । मेरो आत्मसम्मान बलात्कारित भएको महसुस गरें ।
जब सिके राउतले संविधान दिवस मनाए !
नेपाल नै टुक्र्याउनुपर्छ भन्ने विखण्डनकारी अभियानमा लागेका राउतलाई राज्यले दिएको सम्मान अहिलेसम्म नेपाल सरकारले खारेज गरेको छैन । यसले गर्दा पनि राउतको ‘महेन्द्रपथीय प्रेम’ अझैसम्म जीवितै छ । र, उही प्रेमले उनी सच्चिएर राज्यको मूलधारमा आउने आशासमेत गर्न सकिने कतिपयको विश्लेषणसमेत सुन्न थालिएको छ ।
विगतमा मधेसी समुदायमाथि हुने विभेद र अन्यायको शिकार बनेर बैरागी बनेका डा. राउत नेपाली नागरिक हुन् । देश अलग गर्नुपर्छ भनेर जति नै चर्का कुरा गरे पनि उनी अहिलेसम्म नेपाली नागरिक हुनुमै गर्व गरिरहेका छन् । यसका साथै उनले गत असोज ३ गते जनकपुरमा संविधान दिवसका दिन कार्यक्रमै आयोजना गरेर आफूलाई मधेसकेन्द्रित दलकै लाइनमा प्रस्तुत गरेका छन् । किनभने, देशै नमान्नेले संविधान दिवसलाई चिन्दैन । संविधान दिवसका दिन त्यसको विरोध त प्रदेश सरकारमै रहेकाहरुले पनि गरिरहेका थिए, यसमा सिके राउतको संलग्नता भनेको उनी पनि यो संविधानकै दायरामा आएको प्रमाण हो ।
संविधान दिवसकै दिन सिके राउतले जनकपुरमा कार्यक्रम आयोजना उनी पनि विस्तारै मधेसकेन्द्रित दलहरुकै लाइनमा आउन थालेको विश्लेषण कतिपय विश्लेषकले गरेका छन् ।
‘महेन्द्र विद्याभुषणप्रेमी सिके राउत अब विस्तारै संविधान र वैधानिक राजनीतिको मार्गमा आउँछन्,’ मधेस मामिलामा जानकारी राख्ने स्रोतले भन्यो, ‘राउतले उठाएको विखण्डनको नारा मधेसमा बिक्दैन, विगतमा ज्वालासिंहले पनि त्यस्तो नारा उठाएकै हुन्, तर उनी कहाँ हराए ?’