+
+
Shares
सप्तरी-२ :

पूर्वसहकर्मीहरूको चुनौतीले घेरिएका सिके राउत

राउतलाई आफ्नै पूर्वसहकर्मीहरूले फरक पार्टीबाट दबाब दिएपछि त्यसको लाभ आफूलाई हुने जसपाले ठानिरहेको छ ।

दुर्गा खनाल कृष्ण ज्ञवाली शैलेन्द्र महतो दुर्गा खनाल, कृष्ण ज्ञवाली, शैलेन्द्र महतो
२०८२ फागुन १२ गते २१:५२

१२ फागुन, राजविराज (सप्तरी) । सदरमुकाम राजविराजको नागेश्वर चोकबाट उत्तरतिर जनमत पार्टीका अध्यक्ष समेत रहेका उम्मेदवार सिके राउतको सम्पर्क कार्यालय छ । त्यो कार्यालय वरपर मानिसहरूको बाक्लो चहलपल हुन्छ । उम्मेदवारका पोस्टर, पम्पलेटहरू टाँगिएका छन् । ती पम्पलेटहरूको रंग छ- गुलागवी । कार्यालयमै सहयोग गर्ने केही कार्यकर्ताहरू पनि गुलावी रंगकै टिसर्ट लगाएका भेटिन्छन् ।

गत निर्वाचनमा जनमत पार्टीले यस्ता सामग्रीहरूमा रातो रंग प्रयोग गर्‍थ्यो । जसरी अहिले पार्टीको ब्राण्ड रंग रातोबाट फिक्का भएर गुलावी बनेको छ, त्यसैगरी मधेशमा यो दलको चर्चा पनि गत चुनावको भन्दा केही फिक्का छ ।

सप्तरी-२ का उम्मेदवार राउतका अनुसार पार्टीको ब्राण्ड रंग बदल्नुको चाहिँ सैद्धान्तिक कारण छ । ‘सुरुमा हामीले ‘सामुदायिक समाजवाद’ को वकालत गरेका थियौँ । तर पछि हामीले एउटा नयाँ राजनीतिक प्रस्ताव पारित गर्‍यौँ— त्यो हो ‘सामाजिक लोकतन्त्र’ । अन्तर्राष्ट्रिय रूपमै सामाजिक लोकतन्त्रलाई अलि गाढा गुलावी रङ्गले प्रतिनिधित्व गर्ने गरिन्छ। त्यसैले हाम्रो नयाँ विचार र दर्शनलाई झल्काउन हामीले यो रङ्ग प्रयोग गरेका हौँ’ अध्यक्ष राउत भन्छन् ।

पार्टीको ब्रान्ड रंग बदल्नुको सैद्धान्तिक कारण भएपनि मधेशमा यसको चर्चा गत चुनाव भन्दा केही फिक्का हुनुको कारण चाहिँ अर्कै छ । जसलाई पछिल्लो करिब तीन वर्षको जनमतको गतिविधि नियाल्नुपर्छ ।

०००

२०७९ सालको चुनावमा संघीय संसद्मा तीनवटा नयाँ पार्टीको उदय भयो- रास्वपा, जनमत र नागरिक उन्मक्ति पार्टी । ती मध्ये रास्वपा र जनमत राष्ट्रिय पार्टी बने ।

राष्ट्रिय रुपमा वैकल्पिक शक्तिको रुपमा रास्वपाको उदय भयो । तराई क्षेत्रको उदीयमान शक्तिको रुपमा जनमत पार्टी देखापर्‍यो ।

तीन वर्षपछि अहिले देशभर रास्वपाको चुनावी लहर चलिरहेका बेला सँगै उदाएको जनमत पार्टीको भने अघिल्लो चुनाव जत्ति पनि रापताप मधेशमा देखिन्न ।

यसको कारण के हो त ? राजविराजका स्थानीय शिवशंकरलाल दास भन्छन्,’ ‘खेतमे धान लगाकर मेहनत नै करवै त केना फरतै ? नेता सबके खेती जनताके सेवा है, इहे बात नेता सब नई बुझै छै ।’ अर्थात खेतमा धान लगाएर त्यसको स्याहारसुधार गरेन भने फल्दैन । नेताहरूको खेती भनेकै जनताको सेवा हो, त्यो उनीहरूले बुझेनन् ।’

२०७९ को चुनावमा जनमत पार्टीले संघीय संसद्‌मा ६ सिट जितेको थियो । ती मध्ये ५ सिट समानुपातिकबाट आएको थियो । एक सिट सप्तरी-२ बाट सिके राउतले विजयी भएका थिए ।

२०६४ सालको संविधान सभा चुनावपछि निरन्तर जित्दै आएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव राउले १८ हजार ६३ मतको अन्तरमा हराएका थिए । यादवले पाएको कुल मत १६ हजार ९ सय ७९ थियो । राउतले यादवले पाएको भन्दा बढी त मतान्तर नै कायम गरेर जितेका थिए ।

मधेश आन्दोलनबाट उदाएका नेता यादवलाई भारी मत अन्तरमा हराएर जित हासिल गरेका कारण सिकेलाई मधेशको वैकल्पिक शक्ति ठानिएको थियो ।

उनले मधेश केन्द्रित अन्य दलहरूले गरेका गतिविधिहरूमाथि प्रश्न गरेका थिए । मधेश खास तल्लो तह किसान वर्गका मुद्दा बोकेका थिए । उनले किसान आन्दोलन नै सुरु गरेका थिए । तर जुन तहमा क्रान्तिकारी काम गर्ने एजेण्डा अघि सारियो त्यो तहको काम चाहिँ यो अवधिमा भएन । त्यसले पनि स्थानीयहरूलाई सिके पनि अन्य भन्दा फरक लागिरहेको छैन ।

राजविराजका सञ्जयकुमार यादवका अनुसार राजविराजकै विकासनिर्माण गर्नुपर्ने कामहरु थुप्रै छन्, शिक्षाको अवस्था खस्किएको छ । जताततै फोहोर र अस्तव्यस्त छ । सडक सुधार, सरसफाई र नगर चुस्तदुरुस्त बनाउने काम हुन सकेको छैन । उनलाई लागेको छ, ‘तराईको संवेदनशिलता र महत्व नबुझ्दा यस्ता काममा सुधार हुन सकेको छैन ।’

स्थानीय नागरिकहरूले यस्तो भनेपनि संघीय संसदमा सानो उपस्थितिमा पनि आफूहरुले धेरै काम गरेको सिकेको दाबी छ । उनले अहिले आफ्नो कार्यकालमा सप्तरी-२ मा गरेका र आफ्नो पहलमा ल्याएका विकास योजनाहरूको सूची बाँडि रहेका छन् । मतदातालाई विश्वासमा लिन खोजिरहेका छन् ।

०००

मधेशको वैकल्पिक शक्तिको रुपमा उदाएको भनिएको दलका अध्यक्ष सिके राउतलाई अहिले सप्तरी-२ मा आफ्नै विश्वास पात्र पूर्वसहकर्मीहरूसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ । ती दुई पूर्वसहकर्मी हुन्- स्वाभिमान पार्टीका अध्यक्ष सतिशकुमार सिंह र जनधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादव । दुवै अहिले सिकेसँगै सप्तरी-२ मा उम्मेदवार छन् ।

२०७९ को चुनावमा संघीय सांसदको रुपमा सिके राउतले उम्मेदवारी दिँदा त्यही अन्तर्गतका प्रदेश सभाका दुई क्षेत्रमा सतिश सिंह र महेशप्रसाद यादव उम्मेदवार थिए ।

राउतले संघमा जित्दा सिंह र यादवले प्रदेशमा हार्ने कुरै भएन । उनीहरू दुवै राउतका निकट र विश्वासप्राप्त थिए । त्यही विश्वासको बलमा सिकेले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाए भने यादवलाई मधेश संसदीय दलको नेता ।

पार्टीमा उनीहरू भन्दा माथिल्लो तहका अरु नेता हुँदा हुँदै पनि उनले आफ्नै निर्वाचन क्षेत्रबाट निर्वाचितलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाए ।

सिंह मुख्यमन्त्री बनेको एक वर्षभित्र जनमत पार्टीमा विग्रह आयो । राउतसँग असन्तुष्टि जनाउँदै आएका सतिश सिंह अहिले प्रदेश सभा छोडेर राउतसँगै संघीय निर्वाचन लड्न आएका छन् । महेशप्रसाद यादव चाहिँ राउतसँगै छन् । उनी अहिले मधेश प्रदेशका अर्थमन्त्री पनि हुन् ।

डा. शरदसिंह यादव पनि राउतका विश्वासप्राप्त व्यक्ति थिए । उनलाई राउतले पार्टीको प्रवक्ता नै बनाएका थिए । अहिले शरदसिंह यादव पनि पार्टी छोडेर राउतसँगै भिड्न आएका छन् ।

उनीहरू दुवै जना पार्टीबाट बाहिरिनु पर्नाको दोष राउतलाई दिन्छन् । ‘हामी सरकारमा गएपछि मधेश प्रदेशमा विकास निर्माणका कामहरु गरेका थियौं । तर त्यहाँ जति काम गर्नुपर्ने थियो, पार्टीको सहयोग नहुँदा काम गर्न सकिएन । अन्ततः केही सिप नलागेर त्यो पार्टी छाड्नुपरेको हो’ पूर्वमुख्यमन्त्री सिंहले अनलाइनखबरसँग भने । सिंहको प्रदेश सभामा अझै २ वर्ष कार्यकाल बाँकी थियो । तर त्यहाँ बसेर अल्मलिएको भए राजनीति समाप्त हुने ठानेर कार्यकाल बाँकी छँदै जनतामाझ आएको उनी बताउँछन् ।

राउतको नजरमा सिंहको यो कदम जनताप्रतिको प्रतिबद्धतामाथि धोका हो । ‘पाँच वर्षका लागि चुनिएको मान्छे बीचमै बाटो छुट्याएर प्रतिस्पर्धामा आउनुभयो । यो स्पष्ट रूपमा जनताको अभिमतको अपमान हो । उहाँसँग कुनै वैचारिक एजेन्डा छैन’ राउतले भने ।

कुनै बेला आफैंले विश्वास गरेका नेता सिंहलाई अहिले ‘सामन्तवाद लाद्ने, सप्तरीका विकास योजनाहरू अलपत्र पार्ने र गरिब निमुखा जनतामाथि झुटा मुद्दा लगाएर दमन गर्ने व्यक्ति’ भन्दै राउतले आरोप लगाइरहेका छन् । ‘उहाँको उम्मेदवारीले हामीलाई केही फरक पर्दैन’ राउत भन्छन् ।

सिंहको नजरमा सिके भन्छन् एउटा, गर्छन् अर्कै । प्रविधिमा अब्बल छन् । सामाजिक सञ्जालमा सक्रिय छ्न् । तर आफ्नो योजनाहरूका व्यवहारिक कार्यान्वयन गर्ने कुनै खाका नभएको सिंहको आरोप छ ।’

हाम्रो मुलभूत मुद्दा सुशासन र किसानहरुको हक अधिकारसँग सम्बन्धित छ । उहाँले १० लाखको रोजगारी भन्नुभएको छ, तर व्यवहारतः त्यो कसरी हुन्छ बताउन सक्नुहुन्न’ सिंह भन्छन्,’जेनजी आन्दोलनपछि ३० हजार जेनजीहरुलाई प्रदेश प्रहरीमा भर्ना गर्नुपर्छ भन्नुभयो । देशभर ७० हजार प्रहरी छ, ३० हजार प्रदेशमा राखेर कहाँ थेगिन्छ ? प्रदेशको सबै बजेट त्यसमा सकिन्छ । उहाँको सोच व्यवहारिक र यथार्थपरक भन्दा पनि सस्तो लोकप्रियतामूखी र फेसबुक केन्द्रित भयो ।’

नागरिकहरूलाई कसरी विश्वासमा लिने भन्दा पनि भ्रमित पार्न राउत सक्रिय रहेको उनको आरोप छ । ‘उहाँ सानासाना उद्योग खोल्ने भन्नुहुन्छ, एकातिर बहुराष्ट्रिय उद्योग खुलेका छन्, त्यसको छेउमा घरेलु उद्योग चल्छ ? व्यवहारिक हुनु पर्दैन ?’ सिंह भन्छन् ।

राउतप्रति करिब सिंहकै जस्तो धारणा डा. शरदसिंह यादवको पनि छ । ‘उपेन्द्र यादवको विकल्पमा जसरी सीके राउतलाई भारी मतले सप्तरीको जनताले डा.सीके राउतलाई जिताए । उहाँले जुन कुरा पूरा गर्छु भन्ने प्रतिबद्धता जनाउनु भयो र जसको विरुद्धमा भोट लिनुभयो । हामी लगायतका नेता कार्यकर्ताले त्यो कुराहरु सीके राउतबाट पाएनौं । उहाँले जनतालाई पनि छल गर्नुभयो । ढाँट्नुभयो’ जनअधिकार पार्टीका अध्यक्ष यादवले भने ।

सिंह र यादव मात्र होइन यो करिब तीनवर्षको अवधिमा अरु नेताहरुले पनि पार्टी छोडेका छन् । संघीय सरकारमा मन्त्री समेत बनेका उपाध्यक्ष अब्दुल खान जनमत छोडेर अहिले नागरिक उन्मुक्ति पार्टीमा पुगेका छन् । अर्का उपाध्यक्ष दिपक साहलाई पार्टीले कारबाही गरेपछि अहिले रास्वपा प्रवेश गरेका छन् ।

प्रतिनिधि सभाका समानुपातिक सांसद लाभलाई हटाउन सिके राउतले सकेको सबै प्रयत्न गरेका थिए । कयौंपटक पार्टीले सांसदबाट हटाएको निर्णय संसद् सचिवालयलाई बुझायो । तर सिके राउतको निर्णयलाई सर्वोच्च अदालत र संसद् सचिवालयले साथ दिएन । गोभा लाभलाई सांसदबाट हटाउने निर्णय सभामुख देवराज घिमिरे र संसद सचिवालयबाट बदर भएपछि सिके राउत आरोपमै उत्रिए । उनको आरोपलाई सभामुखको सचिवालयले प्रेस नोट जारी गरेरै खण्डन नै गरेको थियो ।

तीन वर्षमै पार्टी विभाजन भयो र नेताहरू छिन्नभिन्न छन् । राउत भने पार्टी छोड्नेहरूलाई अवसरवादी ठान्छन् । राउतको उनीहरूको बहिर्गमनले पार्टीलाई कुनै असर परेको छैन भन्ने दाबी गर्छन् ।

सतिश सिंहको उम्मेदवारी त करिब सिके राउतलाई कमजोर पार्ने तर्फ नै लक्षित छ । उनले आफ्नो स्वाभिमान पार्टीबाट प्रत्यक्षमा जम्मा दुई जनाको उम्मेदवारी दिएका छन् ।

सप्तरी-२ मा राउतसँग सिंह आफैं भिडेका छन् । सप्तरी-१ मा सिकेकै दाजु जयकान्त राउत उम्मेदवार छन् । उनीसँग भिड्न सिंहले सुमित कुमारलाई उम्मेदवार बनाएका छन् । ‘बाली बोकेको महिलाको आकृति’ चुनाव चिन्ह रहेको स्वाभिमान पार्टीको प्रचार प्रसार यीनै दुई क्षेत्रमा केन्द्रित छ ।

‘सतिश सिंहको मुख्य उद्देश्य भनेकै सिके राउत हराउने हो त्यसैले उनले कतै उम्मेदवारी नदिई सप्तरीमै मात्र केन्द्रित भएका हुन्’ जनमतकै एक केन्द्रीय नेताले सप्तरीको अवस्था विष्लेषण गर्दै भने ।

सिके राउतमाथि उनका आलोचकहरूले लगाउने अर्को आरोप हो- परिवारवाद । उनका दाजु जयकान्त राउतलाई जे काममा पनि अघि सार्ने र अवसर दिने गरेको आरोप छ । त्यस्तै मधेश प्रदेशका उपसभामुख पनि उनले आफन्त वविताकुमार राउतलाई बनाएको भन्दै कुरा काट्नेहरू छन् ।

यता राउत भने सबै आरोपको खण्डन गर्छन् । उनी कुनै कुराले आफ्नो जितलाई नरोक्ने र आफ्नो प्रतिस्पर्धी आफैं भएको दाबी गर्छन् ।

‘यसपालिको चुनावमा हाम्रो प्रतिस्पर्धा अरू कोहीसँग होइन, आफैँसँग छ। यहाँ कुनै ठूला प्रतिस्पर्धी उम्मेदवारहरू छैनन् । अघिल्लो पटक हामीले ३६ हजार मत ल्याएका थियौँ भने यसपालि ५० देखि ५५ हजारको लक्ष्य राखेर अगाडि बढेका छौँ। हाम्रो मुख्य चुनौती आफ्नै लक्ष्य भेट्टाउनु हो ‘ राउतले भने ।

२०७९ सालमा राउतले ३५ हजार ४२ मत सहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मतमात्रै पाएका थिए । उनीहरु दुवैजनाको मतान्तर १८ हजार ६३ थियो । त्यहाँ लोसपाका जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत पाएका थिए ।

राउतले यसपटक कांग्रेसका रामकुमार यादव, एमालेका मोहम्वद जियाउल रहमान, रास्वपाका रामजी यादव, जसपाका उमेश कुमार यादव, स्वाभिमान पार्टीका सतिशकुमार सिंह लगायतको सामना गर्नुपर्नेछ । एक लाख ६ हजार मतदाता रहेको त्यो ठाँउमा अघिल्लोपटक ६७ प्रतिशत मत खसेको थियो भने ६१ हजार मतमात्रै सदर भएको थियो । समानूपातिकमा त्यहा जनमत पार्टीले करिव ३० हजार मत पाएको थियो जुन करिब आधाआधी हो ।

त्यहाँ जसपा नेपालले १४ हजार भोट पाएको थियो । लोसपाको ५१ सय र माओवादी केन्द्रको ४४ सय भोट थियो । पाँचौ स्थानमा रहेको कांग्रेसले २६ सय मतमात्रै पाएको थियो ।

यसपटकको चुनावमा माओवादी छोडेर जसपा नेपाल प्रवेश गरेका पूर्वमन्त्री समेत रहेका उमेश यादवको उम्मेदवारीले भने केही रोचक मोड लिने विश्वास गर्नेहरू पनि छन् । उमेश यादव विगतमा निर्वाचित भएका व्यक्ति हुन् । उनी अहिले माओवादी छोडेर जसपा नेपालमा जाँदा जसपाको विगतको भन्दा बढी भोट बढाउन सक्ने आंकलन गर्नेहरू पनि छन् । राउतलाई आफ्नै पूर्वसहकर्मीहरूले फरक पार्टीबाट दबाब दिएपछि त्यसको लाभ आफूहरुलाई हुने जसपाले ठानिरहेको छ ।

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?