+
+
Shares
स्थलगत :

काठमाडौं–२ : जसले सम्पदा र सपना बुझ्छ, उसैलाई भोट

साँखु नहुँदो हो त काठमाडौंले आफ्नो ठूलो सम्पदाको वैभव गुमाउँदो हो । वरपर पुराना शैलीका घरहरू अझै जीवित छन् । छेवैमा राजकुलो बगिरहेको छ । यही राजकुलोले साँखुका धर्तीहरू उब्जाउ बनाएका छन् । यी घरहरू, मन्दिरहरू, राजकुलोहरू केवल विकासका साधन मात्र होइनन् । यी पुराना इतिहासका साक्षी पनि हुन् । ‘पानी विना शहर मर्छ,’ प्रकाशमान भन्छन् ।

कौशल काफ्ले कञ्चन कुमार बस्नेत कौशल काफ्ले, कञ्चन कुमार बस्नेत
२०८२ फागुन १२ गते ८:४८

१२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा पर्छ पुरानो बजार साँखु । चुनावले छपक्कै छोपिसक्दा पनि आइतबार दिउँसो साँखु बजार शान्त नै देखिन्थ्यो ।

दलका झन्डा फहराउँदै ओहोरदोहोर गरिरहेका गाडीले मतदातालाई कुनै आकर्षण दिन सकिरहेका थिएनन् । विभिन्न दलका उम्मेदवारहरू घरदैलो अभियान त चलाइरहेका थिए, तर युवा मतदाताको उपस्थिति न्यून थियो ।

साँखुको शान्त चुनाव माहोल नियालिरहेका थिए, ७९ वर्षीय दुर्गाप्रसाद श्रेष्ठ । उनी कुनै बेला गणेशमान सिंहको कट्टर समर्थक भएर हिँडे । कालान्तरमा राप्रपालाई पनि भोट हाले । यस पटक भने इतिहासका लयहरू भत्काउने सुरमा छन् । अनलाइनखबरसँग आफ्ना भनाइ राख्न उत्साहित श्रेष्ठले भने, ‘जीवनमा राणादेखि पञ्चायत, प्रजातन्त्र, गणतन्त्र सबै देखियो, भोगियो । प्रजातन्त्र बहालीपछिको ३५ वर्ष पनि जनताले चाहेअनुसार परिवर्तन भएन । अब एकपटक नयाँ पार्टीको सरकार हेर्ने मन छ ।’

पुराना दलहरूको कामप्रति असन्तुष्ट श्रेष्ठ बालेन शाहले काठमाडौं महानगरमा गरेको कामको भने खुलेर प्रशंसा गरे । उनले पहिले र अहिलेको काठमाडौंको तुलना गर्दै भने, ‘म कुनै बेला गाडीमा सहचालक थिएँ । त्यो बेला काठमाडौंको बसपार्क कस्तो थियो, अहिले कस्तो भयो । म अस्ति माइक्रोमा काठमाडौंमा घुमेँ । ठाउँठाउँमा गमला राखेको रहेछ । सडक कति सफा भएछ । बसन्तपुर कति सफा भएछ ।’

अहिलेको काठमाडौं–२ यही क्षेत्र हो, जहाँ नेपाली कांग्रेसका कार्यवाहक सभापति एवं तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई दुई पटक पराजित भएका थिए । जनआन्दोलनपछिको पहिलो आमनिर्वाचन २०४८ मा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले भट्टराईलाई हराएका थिए । त्यतिबेला साँखुको भूगोल काठमाडौं क्षेत्र नम्बर १ मा पर्थ्यो ।

सम्पदा संरक्षणको सपना

भाग्योदय माध्यमिक विद्यालय अगाडि एउटा ढुङ्गेधारा छ । अनलाइनखबरको जिज्ञासा मेटाउँदै स्थानीय प्रकाशमान श्रेष्ठ ढुंगेधाराको बयान गर्छन्, ‘ढुङ्गेधारा सोज आकृतिको छ । सोजको अर्थ हो सुँढ भएको गोही । प्राचीनकालमा मन्जुश्रीले काठमाडौं खाल्डोलाई काटेपश्चात् जलचर प्राणी सोज अत्यन्त क्रुद्ध भयो । सोज पानीलाई सफा गर्ने प्राणीको रूपमा चिनिन्थ्यो । तर काठमाडौंमा मानव बस्ती बसेदेखि पेयजललाई शुद्ध बनाउने प्रतीकको रूपमा सोजलाई धाराहरूमा जडान गर्न थालियो ।’

प्रकाशमान श्रेष्ठ

साँखुमा ढुङ्गेधारा मात्र होइन सानासाना कुराहरू पनि ऐतिहासिक महत्त्व बोकेका छन् । तर प्रकाशमानका गुनासाहरू भने अन्य मानिसको जस्तो छैन ।

उनले आफ्नो जीवनका अधिकांश आयु आफ्ना सम्पदा र संस्कृतिको अध्ययनमा बिताएका छन् । नयाँ पुस्ता आफ्नो माटोदेखि छुट्टिएर नजाओस् भनेर इतिहास र संस्कृतिको बारेमा किताबहरू पनि लेखेका छन् । र, ती कामहरूमा सफलता पनि पाएका छन् ।

उनले पनि दुर्गा प्रसादलेझैँ धेरै चुनाव देखेका छन् । तर अनेकन पार्टीहरूले सम्पदा र संस्कृतिको कुरालाई भने कम महत्त्व दिएको उनको अनुभव छ ।

हरेक नेताहरू जनतालाई भोट बैंक नै सम्झेर होला कि त, विकास कि त रोजगारीका कुरा उठाउने गरेका छन् । तर आफ्नो इतिहास, सम्पदा र संस्कृतिको कुराप्रति प्रमुख चासोका साथ आउने उम्मेदवार भने उनले कमै देखेका छन् ।

उनी भन्छन्, ‘सम्पदाको संरक्षण नै नभएको भने होइन । तर जुन गतिमा हुनुपर्थ्यो, त्यो गतिमा भएन । अलिक पछाडि नै परियो ।’

एकफेर वरपर हेर्दा लाग्छ, यदि साँखु नहुँदो हो त काठमाडौंले आफ्नो ठूलो सम्पदाको वैभव गुमाउँदो हो । वरपर पुराना शैलीका घरहरू अझै जीवित छन् । छेवैमा राजकुलो बगिरहेको छ । यही राजकुलोले साँखुका धर्तीहरू उब्जाउ बनाएका छन् । यी घरहरू, मन्दिरहरू, राजकुलोहरू केवल विकासका साधन मात्र होइनन् । यी पुराना इतिहासका साक्षी पनि हुन् । ‘पानी विना शहर मर्छ,’ प्रकाशमान भन्छन् ।

सन् २००८ मा यस ठाउँलाई शंखरापुर नगरपालिका नामकरण गर्न प्रकाशमान लागिपरेका थिए । यस ठाउँको नामले ठाउँको ऐतिहासिक पक्षलाई देखाउनुपर्छ भन्ने उनको मान्यता थियो ।

साथै, यस ठाउँका बज्रयोगिनी लगायतका अन्य महत्त्वपूर्ण धार्मिक स्थलहरूलाई विश्वसम्पदा सूचीमा राख्न उनीहरूले पहल गरेका थिए । तत्कालीन सरकारले मध्यावधि चुनावको चटारोमा उनका फाइलहरूलाई गृह मन्त्रालयमै अड्काएर राख्यो ।

यसभन्दा अघि २०७९ सालको निर्वाचनमा यी विषय नउठेका होइनन् । तात्कालीन माओवादीकी उम्मेदवार ओनसरी घर्ती मगरले त बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्ने स्थानीय एजेन्डा नै बोक्न भ्याइन् । तर यस क्षेत्रले उनलाई पत्याएन ।

सभामुख बनिसकेकी तत्कालीन माओवादी केन्द्रकी ओनसरी घर्तीले पनि ९ हजार ४५९ मत ल्याएकी थिइन् । भर्खरै राजनीतिमा प्रवेश गरेकी सोवितालाई जिताउँदा हेभिवेट भनिएकी घर्तीलाई भने काठमाडौं–२ ले चौथोमा सीमित गरिदियो । त्यही माओवादी मिसिएर अहिले नेकपाबाट नितेश पौडेल उम्मेदवार बनेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसबाट कबिर शर्मा, नेकपा एमालेबाट मणिराम फुयाल, रास्वपाबाट सुनिल केसी, राप्रपाबाट कुन्तीदेवी पोखरेल, उज्यालो नेपाल पार्टीका पवन पोखरेल, श्रमसंस्कृति पार्टीका मुकुन्द कार्कीसहित दलीय उम्मेदवार १६ जना छन् । यसैगरी स्वतन्त्र रुपमा रुपक सिम्खडा, त्रिलोकबहादुर चन्दसहित १४ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसरी प्रतिस्पर्धामा रहेका कूल २८ उम्मेदवारहरुमध्ये जसले चुनाव जिते पनि ती शंखरापुरका सम्पदाहरूलाई विश्वसम्पदा सूचीमा राखिदिए खुसी हुने प्रकाशमान बताउँछन् । एउटा भृकुटीको मूर्ति स्थापना गरिदियोस् भन्ने पनि उनको ठूलो चाहना छ ।

अशोक श्रेष्ठ

४० वर्षीय अशोक श्रेष्ठलाई भने सम्पदाको संरक्षणको पनि चिन्ता छ । सँगसँगै रोजगारीको सवाल पनि उत्तिकै महत्वपूर्ण लाग्छ । सम्पदा वरिपरि घेरिएर बस्दा, सम्पदाको कुराहरू धेरै गरे पनि उनले भने युवाहरूमा रोजगारको प्रश्न भने अधिक महत्वपूर्ण भएको बताए ।

‘पुराना मानिसहरूलाई सम्पदा र धार्मिक कार्यहरूमा रुचि  हुन्छ । तर हामीलाई भने रोजगारी नै चाहिएको छ,’ उनले भने । जतिसुकै नयाँ लहर आएको भनिए पनि उनले भने आफूले कुनै निर्णय लिन नसकेको बताए ।

रोजगारीका सवाल व्यक्तिगत आवश्यकताभन्दा पनि काठमाडौं–२ का ८८ हजार ७०८ मतदाता केन्द्रित हुनुपर्नेमा श्रेष्ठ जोड दिन्छन् । यो क्षेत्रमा प्रतिस्पर्धामा रहेका २८ जना उम्मेदवारकै प्राथमिकतामा परिदिए खुसी हुने उनी बताउँछन् ।

‘जग्गा चलान, घर ढलान’

सुनदेवी शाही

६३ वर्षीया सुनदेवी शाहीमा पुराना दलहरूप्रतिको आक्रोश अझै मरेको छैन । आश्वासन मात्र दिने तर फर्केर नआएका पुराना नेता र दलहरूप्रतिको विकर्षण उनको मुहारमा प्रष्ट देखिन्छ ।

उनलाई स्थानीय समस्याबारे राम्रो शब्दमा भन्न आउँदैन । वरिपरि भर्खर–भर्खर ठडिन लागेको कुमारीघरले उनको मस्तिष्कमा २०७२ सालको भूकम्पलाई जगाइदिन्छ ।

‘सरकारले घर बनाउने भनेर राहत दिने आशा मात्रै देखायो । आखिरमा घर बनाउन जग्गा नै बेच्नुपर्ने भन्यो,’ उनको अनुहारमा नमिल्दो हाँसो कोरियो, ‘के गर्नु ! जग्गा चलान, घर ढलान ।’

भूकम्पपछि दुई वर्ष पालमुनि ओतिनु परेको तितो अनुभूति सुनदेवीको मनमा अझै छ । आफ्नो निकटका मानिसहरूलाई बिना कुनै अवरोध पाल दिने नेताहरूको अनुहार पनि अझै मेटिएको छैन । तर आम मानिसले भने एउटा पाल पाउन कति हारगुहार गर्नुपरेको थियो !

दुई पटकसम्म प्रधानमन्त्री (मनमोहन अधिकारी र माधवकुमार नेपाल) जिताएको यस क्षेत्रमा नयाँ भनिएकाले पनि केही गरेनन् भने के होला ? अनलाइनखबरको प्रश्नमा उनले हाँस्दै भनिन्, ‘अर्को चोटी जवाफ फर्काउँला ।’

शान्ति सुरक्षा भए अरू केही चाहिँदैन

करिब एक हजार परिवार (८ टोल) रहेको साँखुको कोर एरिया छिरेपछि हामी काठमाडौं–२ को अन्यत्र पनि पुग्यौँ । कोटेश्वरबाट पेप्सिकोलातिर लाग्नासाथ एउटा टोल छ, जहाँ महिलाहरू घाम तापेर बसिरहेका थिए ।

स्थानीय अमृता प्रसाईंका अनुसार त्यहाँका स्थानीयले यसपटक परिवर्तन चाहेका छन् । मतसँगै देश परिवर्तनको अपेक्षा लिएका यी महिला यसअघिका नेतृत्वले धोका दिएको बताउँछिन् ।

काठमाडौं–२ कि प्रसाईं जस्ता पेप्सिकोला आसपासका धेरै मतदाता पुराना दलहरूप्रति असन्तुष्ट भेटिए । ‘अब देशलाई हेर्ने नेता चाहियो । अहिलेसम्म परिवर्तनलाई हेर्ने भन्ने छ । अन्तिम दिनसम्म के हुन्छ, यसै भन्न त सकिँदैन,’ प्रसाईंले भनिन् ।

उनलाई धेरै ठूला कुरा पनि चाहिएको छैन । वरपरको वातावरण सफा र राम्रो होस्, समाजमा झैझगडा नहोस् र ढुक्कसँग हिँड्न पाइयोस्, खानेपानीको सहज आपूर्ति र अन्य आधारभूत सुविधाहरूको सुनिश्चितता भइदिए पर्याप्त हुने उनले बताइन् ।

अलि पर घाम तापेर बसिरहेका थिए, ४८ वर्षीया मेनुका खड्का र उनका केही साथीहरू । उनीहरूले पनि यस निर्वाचनबाट मुख्यतया परिवर्तन, रोजगारी र आधारभूत सुविधाको चाहना राखेका छन् ।

युवा पलायन रोकिदिए हुन्थ्यो भन्ने खड्काको अपेक्षा छ । यसका अलावा देशमै उद्योग र व्यवसायहरू खुलेर रोजगारीको व्यवस्था भएको देख्ने उनको चाहना छ । ताकि, छोराछोरीहरूले बुढेसकालमा आमाबुबालाई पानी खुवाउन पाउन् ।

त्यस्तै, जितेर गएपछि नेताहरूले भ्रष्टाचार नगरुन् र सबैको हकहितका लागि काम गरुन् भन्ने मतदाताको अपेक्षा छ । उनीहरूले आफ्नो क्षेत्रमा स्वच्छ वातावरण, शान्ति सुरक्षा र खानेपानीको सहज सुविधा खोजेका छन् ।

जिताएर पठाएकाहरू नफर्किएको गुनासो

ठुली बोहोरा

मतदाताहरू उम्मेदवारले जितेपछि आफ्नो क्षेत्र नछोडुन् भन्ने चाहन्छन् । यसअघि काठमाडौं–२ बाट चुनाव जितेकी सोविता गौतम चितवन गएकोमा उनीहरूको गुनासो छ । ‘यद्यपि, पुरानालाई धेरै पटक हेरेकाले यस पटक नयाँ अनुहारलाई अन्तिम मौका दिने मेरो सोच छ,’ खड्काले भनिन् ।

८१ वर्षीया ठुली बोहोरालाई भदौ २३ को घटनाले चिन्तित बनाएको छ । काठमाडौँ–२ को चुनावी सरगर्मी बुझ्दै जाँदा उनको आवाज अन्य मतदाताको भन्दा फरक र मर्मस्पर्शी सुनियो । उनमा पुराना राजनीतिक नेतृत्वप्रति आक्रोश र चित्तदुखाइ छ ।

जीवनमा पटकपटक भोट हालिन्, जिताएर पठाएकाहरू भेट्न फर्किएनन् । व्यक्तिगत हालखबर त परको कुरा समुदायको हालखबर बुझ्न आएको अनुभूति पनि उनमा छैन । अझ भदौ २३ गते जेनजी आन्दोलनका क्रममा युवाहरू मारिएको कुराले पिरोलेको बोहोराले बताइन् ।

यो उमेरमा आइपुग्दा बोहोरामा ठूलो अपेक्षा केही छैन । यत्रा वर्षदेखि चुनावमा मत दिएका दलहरू हिसाबकिताब गर्न कहिल्यै फर्किएनन् । त्यसैले यसपटक एकतर्फी हिसाब–किताब आफूहरूले सुनाइदिने उनको भनाइ छ ।

मेलम्चीको पानी दिए हुन्थ्यो

तारा श्रेष्ठ

कागेश्वरी मनोहरा नगरपालिका–८ आसपास पुग्दा ५८ वर्षीया मतदाता तारा श्रेष्ठ एउटा किराना पसल बाहिर आफ्नी आमासँग बसिरहेकी थिइन् । उनका अनुसार यो क्षेत्रमा खानेपानीको ठूलो समस्या छ ।

‘मेलम्चीको पानी ल्याउने गफ सुनिएको हो, काम भएको छैन,’ उनले भनिन्, ‘मेलम्चीको पानी हामीलाई पनि दिए हुन्थ्यो। अरू धेरै हामीले मागेका छैनौं ।’

यसअघि नेताहरूले पटकपटक पानी ल्याइदिने आश्वासन दिएर भोट मागे पनि अहिलेसम्म धारामा पानी नझरेकोमा उनले गुनासो गरिन् । यद्यपि, यसपटक कसलाई भोट दिने भन्ने विषयमा टुङ्गोमा नपुगेको उनले बताइन् ।

‘म छोराछोरीले जे भन्छन्, त्यही गर्छु । अहिलेसम्म घरमा सल्लाह भएको छैन । पहिला नेताहरूका कुरा सुनौँ, त्यसपछि भोट हाल्ने पार्टी छान्नुपर्छ,’ ताराले भनिन् ।

आशा न उत्साह

कागेश्वरी–४ मा आइपुग्दा अनलाइनखबरको टिमले एक फन्का मारिसकेको थियो । त्यहीँ भेटिएका स्थानीय हरिप्रसाद कुइँकेलले आफूलाई चुनावले खासै छुन नसकेको बताए ।

छेवैबाट एमालेको चुनावी प्रचार गीत बजाउँदै हिँडिरहेको गाडीतर्फ हेर्दै उनले भने, ‘यसरी गाडीमा गीत मात्रै बजाउँदै जान्छन् । उत्रिएर भोट माग्न आएको देखेको छैन ।’

कुइँकेल जति नै नयाँ दल आए पनि देशको उद्धार गर्न नसक्ने बताउँछन् । व्यवस्था नै अनुपयुक्त भएपछि माथि पुग्ने जोकोहीले पनि राम्रो गर्न नसक्ने उनको बुझाइ छ ।

उनले भने, ‘गाडी नै बिग्रिसकेको छ, चालक फेरेर के गर्ने ?’

 

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

कञ्चन कुमार बस्नेत

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?