Comments Add Comment

चोटलाई जित्दै भलिबलमा छाएकी अरुणा

२३ असोज, काठमाडौं । राष्ट्रिय खेलको राष्ट्रिय खेलाडी हुनु सानो गौरवको कुरा होइन । यही गौरवको मालामा उनिएको छ अरुणा शाहीको भलिबल करिअर ।

खेलेर के हुन्छ र ? भन्ने परिवारको प्रश्नको सामना गर्दै हुर्किएको खेलाडी पुस्ताकी प्रतिनिधि हुन् उनी । कठोर मिहिनेत र समर्पणका साथ आफूलाई निखार्दै लगिन् र देशकै उत्कृष्ट महिला भलिबल खेलाडीको रुपमा चिनिन सफल भइन् ।

पछिल्लो समय महिला भलिबलमा वार्षिक १५ वटासम्म घरेलु प्रतियोगिता भइरहेका छन्  र हरेकजसो प्रतियोगितामा देखिने अनुहार मध्ये एक हुन् अरुणा । उनले पछिल्ला वर्षहरुमा भएका कुनै पनि ठूला प्रतियोगिता छुटाएकी छैनन् ।

अँ, यो यात्रामा उनलाई शारीरिक चोटले भने पिरोलिरह्यो । भलिबल अलराउण्डरका रुपमा स्कुलदेखि राष्ट्रिय टिमसम्म अब्बल देखिएकी अरुणाले चोटकै कारण भूमिका परिवर्तन गर्नुपरेको छ । उनी अहिले ‘सेटर’ का रुपमा खेल्छिन् ।

तर, नयाँ भूमिकामा पनि उनी अब्बल देखिएकी छन् । चोटलाई बिर्सिदै अरुणाले उत्कृष्ट प्रदर्शन गर्दा चितवन टाइगर्सले शक्तिशाली एपीएफ टिमलाई पराजित गर्न सफल भयो । त्यो पनि २५–२०, २५–१७ र २५–११ को सोझो सेटमा ।

नेपाल भलिबल संघ र भारतको आदिआवादी फाउण्डेसनको संयुक्त आयोजनामा काठमाडौंमा भएको सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगितामा उनै अरुणा सर्वोत्कृष्ट खेलाडी चुनिइन् । ‘धेरै खेल खेलिरहँदा आराम नपाएर गत वर्ष म चोटग्रस्त भएँ । उपचार पनि गराएको हो तर खेल्ने बेला चसक्क चस्किन्छ’ उनले भनिन् ।

त्यसैले स्पाइकमा कठीन भएर नै उनले सेटरमा खेल्ने सोच बनाएकी थिइन् ।

गत बर्ष ढोरपाटन महिला डबल लिग भलिबलमा पश्चिमाञ्चलको टप्सबाट खेल्दा उनले चोट बोकेकी हुन् । उनको पाखुरा सड्किएको थियो । तर, चोटले उनको यात्रा रोकेन । न्यु डायमण्डबाट पाँचौ प्रधानमन्त्री कप महिला भलिबल खेल्न नेपालगञ्ज गइन् । चोट ताजा रहेकाले त्यहाँ उनी ब्लक र डिफेन्समा सिमित भइन् । त्यसबेला नै हो उनले सेटरको भूमिकामा खेल्ने सोचेको ।

ज्ञानुबाबाले दिएको अवसर

त्यसो त सानो छँदा खेलाडी बन्ने, भलिबल खेल्ने सोच उनमा थिएन । घरमा दाइ, भाइहरुसँग खेल्दा आफूले पनि राम्रै खेल्न सक्ने अनुभूति भने हुन्थ्यो ।

१४ वर्षकी हुँदा आफू पढ्ने स्कुलमा उनले भलिबल प्रतियोगिता खेल्न सुरु गरेकी हुन् । पहिलोपटक वीरेन्द्र शिल्ड भलिबल प्रतियोगितामा खेल्दा पोखराको ज्ञानुबाबा स्कूलका प्रशिक्षकको आँखामा उनी परेकी थिइन् । त्यसैले ज्ञानुबाबामै १२ कक्षासम्म छात्रवृत्तिमा पढ्ने र त्यहीँ भलिबल खेल्ने अवसर मिल्यो ।

‘ममा केही देखेर नै ज्ञानुबाबाले छात्रवृत्ति दिएर पढाउने र भलिबल पनि खेलाउने अवसर दिएको होला । त्यहिँबाट मेरो खेल जीवन सुरु भयो,’ अरुणाले सम्झिइन् ।

म्याग्दीको पिप्ले गाउँ छाडेर पोखरा आएपछि केही समय अरुणाका लागि सहज भएन । ज्ञानुबाबामा पढ्ने र खेल्ने वातावरण राम्रो थियो । तर, सानो उमेरमा परिवारदेखि टाढा हुनुपर्दा कसलाई पो गाह्रो नहोला र । तर, विस्तारै उनी अभ्यस्त हुँदै गइन् ।

पोखरा आएपछि उत्कृष्ट खेलाडीहरु भएको ज्ञानुबाबा जस्तो टिममा पनि उनी छिटै सेटमा परिन् । ‘सेटमा परेपछि खेल्ने मौका पाइरहेँ । त्यसपछि त दिमागमा भलिबल मात्रै आउन थाल्यो । यसमै केही गर्नुपर्छ भन्ने भावना प्रबल भयो,’ उनले भनिन् ।

त्यो पहिलो कमाई

ज्ञानुबाबाले लैजानुअघि पनि अरुणाको भलिबलले मेसो ल्याइसकेको थियो । पहिलोपटक स्कूलबाट छानिएर जिल्लाको टिममा परेकी थिइन् । त्यहाँबाट छानिएर क्षेत्रीय टिममा पनि परिन् ।

२०६४ सालमा विरेन्द्र शिल्ड खेल्न काठमाडौं आएको बेला उनी बेस्ट प्लेयर भएकी थिइन् । पहिलोपटक बेस्ट प्लेयर भएर पाएको १५ सय रुपैयाँ उनले घर पुगेर आमालाई दिइन् । आमा कमला शाही छोरीले पाएको सफलताले खुसी नहुने कुरै भएन ।

अरुणाले पछिल्लो पटक आदिआवादीमा उत्कृष्ट भएर ५० हजार रुपैयाँ र स्कुटर पुरस्कार पाएकी छन् । १५ सयदेखि ५० हजारसम्मको यात्रामा अरुणाले ११ वर्ष बिताइसकेकी छन् ।

अरुणा सन् २०१४ मा माल्दिभ्स र भारतसँग भएको मैत्रीपूर्ण खेलमा पहिलोपटक राष्ट्रिय टिममा परेकी हुन् ।

त्यो उनको जीवनकै खुशीको क्षण थियो । साथी खेलाडीहरुसँग मिलेर खुशीयाली मनाएकी पनि थिइन् । त्यसपछि नेपालमै भएको दक्षिण एसियाली आमन्त्रण भलिबलमा राष्ट्रिय टिमबाट पहिलो प्रतियोगिता खेलिन् । अनि, २०१६ मा साफ र २०१७ मा सेन्ट्रल जोन भलिबल । राष्ट्रिय टिमबाट उनले जम्माजम्मी खेलेका प्रतियोगिता यिनै हुन् ।

निराशाको क्षण

अन्तर्राष्ट्रिय खेलले अभ्यास र स्तर सुधारमा पनि अहम् भूमिका खेल्छ । तर महिला भलिबलमा नेपालको अन्तर्राष्ट्रिय सहभागिता निकै कम छ ।

गएको एसियाली खेलकुदमा सहभागी हुन पाइने ठूलो आश लिएर बसेको महिला भलिबल टोलीलाई बजेट अभाव देखाएर लगिएन । त्यसले अरु खेलाडीसँगै अरुणाको मन दुख्यो ।

‘क्लब र राष्ट्रिय टिममा खेल्ने खेल त उस्तै हो । तर, राष्ट्रको प्रतिनिधित्व गरेर खेलिरहँदा गर्व लाग्छ’ अरुणा भन्छिन्, ‘एसियाली खेलकुदमा सहभागी हुन धेरै मन थियो तर हामीलाई लगिएन ।’

अरुणामा बाँकी भएको खेल चाहना पनि एसियाली खेलकुद नै हो । ‘अझै चार वर्ष राम्ररी खेल्न सक्छु, अर्कोपटक हुने एसियाली खेलकुदमा खेल्न पाउने आश छ,’ उनले भनिन् ।

उनी थप्छिन्, ‘पछिल्लो केही वर्ष हामीले धेरै राम्रो गरेका छौं । पुरुष भलिबलमा भन्दा महिला भलिबलमा नतिजा राम्रो आइरहेको छ । तैपनि एसियाली खेलकुदमा किन सहभागी गराइएन हामीले बुझेका छैनौं,’ उनले दुःखेसो गरिन् ।

२०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएदेखि महिला टिमले एउटै अन्तर्राष्ट्रिय सहभागिता जनाउन पाएको छैन । राष्ट्रिय टिमको अभ्यास प्रतियोगिता आएपछि मात्रै हुन्छ । यसैले अहिले अभ्यास पनि छैन ।

अरुणा सहभागी हुने पश्चिमाञ्चल टिममा पनि खेलाडीहरु छरिएका छन् । फरकफरक जिल्लाका खेलाडीलाई भेला गरेर नियमित अभ्यास गराउन पश्चिमाञ्चल टिममा पनि बजेटकै अभाव छ ।

त्यसैले प्रतियोगिताहरुमा हुने बाहेकको अभ्यासमा आफूहरुलाई सहज नभएको अरुणा बताउँछिन् ।

त्यसैले गएको वर्ष त अर्को क्लबमा गएर भए पनि उनी भलिबलमा लागिरहिन् । नखेली बस्दा खेल बिंग्रदै जाने डरले जहाँबाट मिल्छ त्यहीँबाट खेलेको उनी बताउँछिन् ।

उही ज्ञानुबाबाको याद

ज्ञानुबाबा, टप्स, पश्चिमाञ्चल, न्यु डायमण्ड र पछिल्लो पटक चितवन टाइगर्सबाट खेलिसक्दा पनि अरुणालाई धेरै याद भइरहने ज्ञानुबाबाकै साथीहरु हुन् ।

‘ज्ञानुबाबाको टिम असाध्यै मिस हुन्छ । खेलमा मात्रै नभएर बाहिर पनि खुब मिल्थ्यौं । सेट टिम धेरै नै राम्रो थियो । अरु क्लबमा खेल्दा र राष्ट्रिय टिममा खेल्दा पनि ज्ञानुबाबाको याद आइरहन्छ,’ उनले भनिन् ।

ज्ञानुबाबाले कुनै समय महिला भलिबलमा एकछत्र राज गरेको थियो । पछिल्लो समय पश्चिमाञ्चलबाट खेल्दा भने उपाधिको खडेरी लाग्यो । यसपटक चितवन टाइगर्सले उनलाई साथ दियो ।

चितवन टिममा तीन अमेरिकी खेलाडीसहित अमेरिकी प्रशिक्षक पनि ल्याइएको थियो । त्यसले गर्दा पनि आफूहरुको खेल अझै राम्रो भएको अरुणाले सुनाइन् ।

‘पहिले ६ वर्षजति त जहाँ जाँदा पनि ज्ञानुबाबाबाट प्रतियोगिता जितियो । तर, २०७० पछि उपाधि उचाल्न पाएको थिइनँ । यसपालीको जित केही विशेष लाग्यो,’ उनले भनिन् ।

विभागीय टिममा अरुचि

हुन त अरुणालाई भलिबलमा चिनिन थालेदेखि नै विभागीय टिमले नबोलाएको होइन । तर, अरुणाको मन त्यता कहिल्यै गएन । ‘परिवारले पनि जाउ त भन्नुभएको हो, तर मन लागेन,’ उनले भनिन्, ‘मलाई कहिल्यै पनि प्रहरीको जागिर खाने रहर थिएन ।’

बीबीएस अन्तिम वर्षमा पढिरहेकी उनले अहिले त नेशनल रेफ्रीको ट्रेनिङ पनि लिइसकेकी छिन् । रेफ्रिकै भूमिकामा उनले जुनियर खेलहरु खेलाएकी पनि छिन् ।

‘आफूले खेलाउँदा पनि धेरै कुरा देखिन्छ । सानो–सानो गल्ती थाहा हुन्छ । कसैको हाइट र मुभमेन्ट हेरेर यो पछि राम्रो खेलाडी बन्छ भन्ने अनुमान गर्न सकिन्छ’ उनको अनुभव छ ।

नेपाली टिमका दुःख

हङकङ, माल्दिभ्स र भारतमा खेलेको अनुभवका आधारमा अरुणालाई नेपाली खेलाडीको प्राविधिक पक्ष अलि कमजोर भएको लाग्छ ।

उनले भनिन्, ‘बाहिरको टिमलाई हेर्दा यसले यहाँबाट मात्रै हान्छ भन्ने अनुमान नै हुँदैन । सबैले सबैतिर पुगेर हानिरहेका हुन्छन् । हाम्रो खेल हेर्दा त विपक्षीले अब के गर्छन् भनेर अनुमान नै गर्न सक्छन् ।’

अभ्यासमा प्रयोग हुने सामग्री पनि नेपालमा न्यून रहेको उनको गुनासो छ । ‘बाहिर अभ्यासमा प्रयोग हुने सामग्रीहरु धेरै हुन्छन् र स्तरीय पनि । हाम्रोमा त बल र नेट मात्रै हो’ उनले समस्या बताइन् ।

परिस्थिति जेजस्तो भए पनि अरुणाले अब भलिबलबाहेक अरु केही सोच्न छाडिसकेकी छन् । केही दिन भलिबल छुन पाइनन् भने पनि उनलाई गाह्रो हून्छ । आफ्नो खेल नहुँदा अरुको हेर्न जान्छिन् ।

खेलाडी नभएको भए के हुन्थें भन्ने उनको दिमागमा कहिल्यै आएकै छैन । अहिले भलिबलकी अरुणा भनेर चिनिँदा उनलाई खुसी लाग्छ । त्यसैमा सबैको माया पनि पाएकी छिन् । खेल भइरहँदा दर्शकले गरेको हुटिङ उनको कानमा गुञ्जिरहन्छ । त्यसले नै थप मेहनत गरेर अघि बढ्न प्रेरणा मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment