Comments Add Comment

कैलाली भन्सार नाकामा अब सशस्त्रको गुल्म

२५ असोज, कैलाली । कैलाली भन्सार नाकामा रहेको बोर्डर आउट फोर्स (विओपी)लाई गुल्म बनाइएको छ ।

नम्बर ५३ गुल्मको बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ र नम्बर ७ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नेपाल सरकार गृह मन्त्रालयको २०७५ जेष्ठ २७ गतेको निर्णय अनुसार सशस्त्र प्रहरीको संरचनामा फेरबदल गरिएको थियो ।

प्रहरी निरीक्षकको कमाण्डमा रहने गरी ५५ जनाको दरबन्दी रहेकोे विओपीलाई अहिले १६० जना प्रहरी नायब उपरीक्षकको कमाण्डमा रहने गरी गुल्म बनाइएको छ ।

गुल्मको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भन्सार सुरक्षा, चोरी तस्करी नियन्त्रणका साथै सीमा सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे ।

उनले अहिले जिल्लामा रहेका सुरक्षा निकायहरुको बीचमा तालमेल मिलेका कारण अपराध र चोरी तस्करीका घटनामा कमी आएको बताए ।

विकासोन्मुख अवस्थामा रहेकेा सुदूरपश्चिम प्रदेशको प्रमुख ब्यापारिक नाका धनगढीमा रहेको मुख्य भन्सारनाकामा सशस्त्र प्रहरीको गुल्म स्थापना भएपछि शान्ती सुरक्षाका साथै चोरी तस्करी नियन्त्रण र भन्सार राजश्वमा समेत बढोत्तरी हुने विश्वास लिएको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए ।

सुदूरपश्चिम प्रदेशमा आएदेखि नै भन्सार चोरी तस्करीलाई शून्यमा झार्ने रणनीति अनुरुप काम गर्न निर्देशन दिएको बताउँदै नम्बर ७ बाहिनीका प्रमुख शसस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापाले बताए ।

उनले भन्सार कर्मचारी र जनतासंगको सहकार्यमा काम गर्न निर्देशन दिदै चोरी तस्करीलाई शून्यमा झार्न सशस्त्र प्रहरीले प्रमुख भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।

अघिल्ला वर्षको तुलनामा यो वर्ष भन्सार राजश्वमा तेब्बर वृद्धि गर्न सफल भएकोमा सम्पूर्ण सशस्त्र प्रहरीलाई धन्यबाद दिदै सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले सीमामा हुने भन्सार छली र सीमानाकाको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment