२६ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाललाई अस्थिर राख्न चाहनेहरुले फेरि खेल्न खोजिरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने ‘हिजोका पराजित तत्वहरु फेरि द्वन्द्व फैलाउन खोजिरहेका छन् । हिंसा फैलाउन खोजिरहेका छन्, नेपाललाई टुक्र्याउन खोज्ने तत्वहरु छन् ।’
उनले नेपाललाई समृद्ध हुनबाट रोक्ने तत्व र दुखका कारण चिनेर तिनीहरुलाई निषेध गरेपछिमात्र नेपालीहरु खुशी र सुखी हुने बताए ।
७० प्रतिशत महिलाको कारण हिंसा मदिरा
नेपालमा महिला हिंसा हुनुको मुख्य कारण मदिरा रहेको गृहमन्त्री थापाले बताए । ७० प्रतिशत महिला हिंसाका घटना मदिराका कारण हुने गरेको भन्दै उनले त्यसका लागि मदिरा नियन्त्रण गर्नुपर्छ निश्कर्षमा गृहमन्त्रालय पुगेको बताए ।
‘७० प्रतिशत महिला हिंसा मदिराका कारण भएका छन् । त्यसकारण मदिरा नियन्त्रण गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेका छौं’, मन्त्री थापाले भने, गृह मन्त्रालय यसतर्फ लागिरहेको छ ।’
मदिरा नियन्त्रण र हिंसा न्यूनीकरण गर्नका लागि युवाहरूलाई परिचालन गर्नुपर्ने भन्दै उनले हिंसा न्यूनीकरण र समाजवादको यात्रालाई आन्दोलनकै रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
‘जनता र सरकारको संयुक्त पहलमा मदिरा नियन्त्रण गर्नुपर्ने हुन्छ । यसलाई आन्दोलनकै रुपमा अगाडि बढाउनुपर्ने हुन्छ’, उनी भन्छन्, ‘लाखौं जनतालाई सहभागी गराएर सडक र सदनमा आन्दोलन गर्नुपर्ने हुन्छ ।’
मन्त्री थापाले अहिले ९५ प्रतिशत नेपालीहरु दुखी रहेको भन्दै उनीहरु खुसी हुनका लागि समाजवाद आउनुपर्ने बताए । ‘९५ प्रतिशत नेपालीहरु दुखी छन् । दरिऽ छन् । मुठीभर धनी पनि छन्’, उनले भने, ‘समाजवादमा जादा मात्रै दुखित जनतालाई सुखी र खुसी बनाउन सकिन्छ ।’
संविधानले धेरै अधिकार दिए पनि जनताको दैनिकीमा खास परिवर्तनको अनुभूति भइनसकेको भन्दै उनले जनता र सरकार मिलेर जाँदा मात्रै मुलुक समृद्ध बन्ने बताए ।
प्रतिक्रिया 4