Comments Add Comment

बागलुङमा दशैँका लागि भित्रियो एक अर्ब रेमिट्यान्स

३० असोज, बागलुङ । नवरात्री शुरु भएसँगै बागलुङका रेमिट्यान्स (विप्रेषण) केन्द्रमा मानिसको भीडभाड लाग्न थालेको छ । वैदेशिक रोजगारीमा गएकाले दशैँखर्च पठाउने र आफू घर फर्किंदा रेमिट्यान्समार्फत पैसा पठाएर आउने भएकाले केन्द्रमा भीड लागेको हो ।

रेमिट्यान्स केन्द्रमा लागेको भीडसँगै दशैँतिहारका लागि बागलुङमा झण्डै रु एक अर्ब रेमिट्यान्स भित्रिएको छ । बागलुङ मनिट्रान्सफरका सञ्चालक दुर्गा कुँवरले अहिलेसम्म आफूले मात्र रु छ करोड भन्दा बढी रेमिट्यान्स वितरण गरिसकेको बताए ।

कुँवरले आफ्नो मनिट्रान्सफरमा अघिपछि भन्दा यस बेला दैनिक  ४० लाखदेखि  ५० लाखसम्म हाराहारीमा कारोबार हुनेगरेको बताए ।

बागलुङ सदरमुकामका सयपत्री, कालिका, क्वीक, बागलुङ कालिका मनिट्रान्सफर, गलकोट, बूर्तिवाङ, कुश्मीसेरा, खर्वाङलगायतका ठाउँमा दर्जनांै मनिट्रान्सफरबाट दशैंका बेला दैनिक रु छ करोड भन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ ।

कालिका मनिट्रान्सफर बागलुङका सञ्चालक अनुप रिजालले दशैँको मौकामा रेमिट्यान्स रकम बढ्ने गरेको बताउनुभयो । सयपत्री मनिट्रान्सफरका देबु पौडेलले अन्य समयमा रु ८–१० लाख रेमिट्यान्स कारोवार हुने गरेकोमा यो समयमा दिनहुँ रु २५ देखि रु ३० लाखको हाराहारीमा कारोबार हुने गरेको बताए ।

लाहुरेको जिल्लाका रुपमा परिचित बागलुङमा दशैँका बेला अन्य समयमा भन्दा धेरै रेमिट्यान्स भित्रिने गरेको व्यवसायीको अनुभव छ । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अत्याधिक भएकाले दशैँका बेला करोडौँं रुपैयाँ रेमिट्यान्स भित्रने गरेको रेमिट्यान्स व्यवसायी बताउछन् । रेमिट्यान्स (विप्रेषण) भुक्तानी केन्द्रका अलावा बैंक तथा अन्य वित्तीय संस्थामार्फत समेत भित्रिइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment