Comments Add Comment

बार्सिलोना र आर्सनलका स्टार हेनरीले के गर्लान् मोनाकोमा ?

काठमाडौं । बार्सिलोना र आर्सनलमा स्टार खेलाडीका रुपमा चिनिएका हेनरी अहिले त्यहीँ पुगेका छन्, जहाँबाट सुरु भएको थियो । हेनरीले १९९४ मा सिनियर क्लब फुटबल मोनाकोबाट नै सुरु गरेका थिए ।
फ्रान्सबाट १९९८ को विश्वकप जितेका हेनरीले १९९९ देखि २००७ सम्म आर्सनल र २००७ देखि २०१० सम्म बार्सिलोनाबाट खेलेका थिए । आर्सनल आउनुअघि मोनाकोबाट केही समय लोनमा उनी युभेन्टस पनि गएका थिए ।

मोनाकोमा रहँदा उनले १९९६-०९७ को सिजन लिग जितेका थिए । उही मोनाको अहिले लिगमा ९ खेल हुँदासम्म १८ औं स्थानमा पुगेपछि प्रशिक्षक लियोनार्दो जर्दिमलाई बर्खास्त गरेर हेनरीलाई जिम्मेवारी दिइएको हो । २०१७ मा भने मोनाकोले जर्दिमकै प्रशिक्षणमा उपाधि जितेको थियो ।

यसअघि हेनरीले बेल्जियम राष्ट्रिय टिमका प्रशिक्षक रोबर्टो मार्टिनेजसँग रहेर सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए । विश्वकपमा बेल्जियम टिमसँग रहेर राम्रो अनुभव गरेका उनले त्यसलाई मोनाकोमा उपयोग गर्ने विश्वास गरिएको छ ।

फ्रेन्च फुटबल पत्रकार जुलियन लरेन्स भन्छन्, ‘हेनरीले धेरै नै उपाय अपनाएर डिएरीया र डिएरिया बाहिर पनि फोकस गर्ने छन् ।’

मोनाकोलाई अहिले फुटबल प्रशिक्षणसँगै एउटा राम्रो छवीको पनि खाँचो थियो । मोनाकोमा रहँदा मात्रै होइन, बार्सिलोना, आर्सनल र प|mान्स टिममा पनि हेनरीले बनाएको छापले अहिले मोनाकोमा बाटो बनेको हो ।

एन्जर्स, सेन्ट इटेनी र रेनर्ससँग लगातार हारेको मोनाकोमा अहिले त मानिसहरुको चासो पनि घट्न थालेको थियो । लिग जितेको, च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको मोनाकोमा अहिले खेलअघिको पत्रकार सम्मेलनमा त १० जना पत्रकार पनि उपस्थित हुन छाडेका थिए ।

आफ्नो पहिलो प्रशिक्षक र घरेलु क्लब भएकाले पनि हेनरीमा अरु धेरै खाले चुनौतीसँगै अवसर पनि छ । उनले त्यसलाई सहज रुपमा लिने छन् ।

अहिले एस्टोन भिलाबाट पनि हेनरीलाई अवसर आइरहेको थियो तर पनि प्रशिक्षण देखाउने युवा समूह र पूर्व क्लबजस्तो मोनाकोभन्दा अरु उनका लागि हुनै सक्दैन ।

खेलाडीका रुपमा आर्सनलबाट इंग्ल्याण्डमा र बार्सिलोनाबाट स्पेनमा लिग जितेका हेनरीलाई मोनाकोमा प्रशिक्षण सोचेजस्तो सहज र सोचेजस्तो कठीन दुवै छैन । हुन त खेलाडी जीवनमा उनले च्याम्पियन्स लिग, विश्वकप, युरोपियन च्याम्पियनसिप, कन्फेडेरेसन कप सबै जितेका थिए । त्यो अनुभवले पनि उनलाई प्रशिक्षणमा सहयोग गर्ने नै छ ।

हेनरी त्यस्ता फुटबलर हुन् जसले पुरानो फुटबल कला र आधुनिक फुटबल कला दुवैमा खेल्ने र बुझ्ने अवसर पाएका छन् । जिनेदिने जिदान, लियोनल मेस्सी र डेनिस बर्गक्यापजस्ता खेलाडीसँगै खेलेका हेनरीले आर्सेन वेंगर र पेप गार्डिओला जस्ता प्रशिक्षसँग सिक्ने अवसर पनि पाएका छन् ।

हेनरीलाई धेरै वास्ता हुने एउटा विषय भनेको सम्मान हो । जुन मोनाकोमा पनि उनको अपेक्षामा रहन्छ । आफूभन्दा कम उमेरका र आफूलाई मान्नुपर्ने सबैले सम्मानको नजरले हेरुन र त्यस्तै व्यवहार गरुन भन्ने हेनरीको चाहना रहन्छ ।

बार्सिलोनामा खेलिरहेका बेला हेनरी एकपटक मोनाको एकेडेमीमा आएका थिए । त्यसअघि उनको फोटो मात्र देखेका एकेडेमीका युवा खेलाडीले उनलाई देख्नासाथै हेनरी, हेनरी भन्दै कराएका थिए ।
हेनरी फरक्क फर्किए र भने, ‘को हेनरी ? तिमीहरु मसँगै हुर्केका साथी होइनौं । मसँगै फुटबल खेलेका खेलाडी होइनौ । अलिकति आदर गर्न पनि सिक ।’

मोनाकोमा अहिले रहेका युवा खेलाडीबाट पनि त्यो आदर र सम्मानको आश हेनरीमा रहन्छ । मोनाकोमा अहिले रहेका कतिपय खेलाडी त उनले १९९८ मा विश्वकप जित्दा जन्मिएका पनि थिएनन् ।
अब उनले कुन फर्मेसनमा खेलाउँछन् ? योजना कस्तो रहन्छ भन्ने पक्का छैन । पेप गार्डिओलालाई पछ्याउलान् या आर्सेन वेंगर जस्तो गर्लान् कि त हेनरीको आˆनै छुट्टै तरिकाको विकास होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment