+
एनपीएल २०२६ :

ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?

२०८३ कात्तिक  २७ गते २२:५९ २०८३ कात्तिक २७ गते २२:५९

शुक्रबार भएका दुवै खेलमा बनेका कम योगफल र त्यसलाई पछ्याउने क्रममा देखिएको संघर्षले प्रतियोगिताको पिचबारे प्रश्न उठाएको छ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएलमा पछिल्ला खेलहरू लो स्कोरिङ बन्दा ब्याटरलाई रन बनाउन कठिन भएको र पिच चुनौतीपूर्ण देखिएको छ।
  • शुक्रबार सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई सात रनले हरायो भने चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ६ विकेटले जित्यो।
  • जनकपुर बोल्ट्सले २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनायो, जुन यस सिजन पूरा २० ओभर ब्याटिङ गरेको टोलीको सबैभन्दा कम योगफल हो।

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला खेलहरूमा रन बनाउनै मुस्किल भइरहेको देखिन्छ । ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन्।

शुक्रबार भएका दुवै खेलमा बनेका कम योगफल र त्यसलाई पछ्याउने क्रममा देखिएको संघर्षले प्रतियोगिताको पिचबारे प्रश्न उठाएको छ।

दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको थियो। सुरुवातमै आठ रन जोड्दा चार विकेट गुमाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो। दीपेन्द्रले ६०, थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन जोडे।

जवाफमा काठमान्डुले २० ओभरमा सात विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमले सात रनको जित निकाल्यो। खेलपछि सुदूरपश्चिमका बलर हेमन्त धामीले बल घुमिरहेको र त्यसले बलरलाई फाइदा पुगिरहेको बताएका थिए। उनका अनुसार विकेट चुनौतीपूर्ण हुँदा ब्याटरलाई रन बनाउन कठिन भइरहेको छ।

दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्सले २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्र बनायो। यो यस सिजन पूरा २० ओभर ब्याटिङ गरेको टोलीले बनाएको सबैभन्दा कम योगफल हो। यसअघि पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सविरुद्ध ९७ रन बनाएको थियो।

८९ रनको सामान्य लक्ष्य पछ्याएको चितवन राइनोजका लागि पनि जित सहज भएन। पावरप्लेभित्रै पाँच विकेट गुमाएको चितवन दबाबमा परेको थियो। तर डाविड मलानले अविजित ३५ रन बनाएपछि टोलीले ६ विकेटको जित निकाल्यो। मलानले ३९ बल खेलेर बनाएको इनिङ्समा एउटा छक्का मात्र प्रहार गरे, त्यो पनि विजयी छक्का। कमलसिंह ऐरीसँगको साझेदारीले चितवनलाई जितसम्म पुर्‍यायो।

यसअघि पनि कम योगफलका खेलमा लक्ष्य पछ्याउने टोलीले संघर्ष गर्नुपरेको थियो। बुधबार लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १०५ रनमा रोकेको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले पनि छ विकेट गुमाएको थियो। त्यस्तै, सुदूरपश्चिम रोयल्सले १२० रनको लक्ष्य जनकपुर बोल्ट्सलाई पूरा गर्न नदिँदा जनकपुर ९३ रनमै समेटिएको थियो।

यी नतिजाले एनपीएलमा ब्याटिङका लागि पिच सहज नरहेको देखाउँछन्। कम योगफलका खेल रोमाञ्चक बन्न सक्छन्, तर लगातारजसो ब्याटरले रन बनाउन कठिनाइ भोग्नु र सामान्य लक्ष्य पछ्याउँदा पनि टोली दबाबमा पर्नुले पिचको अवस्थाबारे थप बहस आवश्यक देखिएको छ।

यसअघि काठमान्डु गोर्खाजका टेक्निकल डिरेक्टर शरद भेषावकर, विराटनगर किङ्सका प्रशिक्षक धम्मिका प्रसाद, लुम्बिनी लायन्सका कन्सलटेन्ट प्रशिक्षक शक्ति गौचनले पनि पिच च्यालेन्जिङ रहेको प्रतिक्रिया दिएका छन् ।

यसबारेमा नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले एनपीएल सुरु हुनुअघि नै पिचको व्यवहार कस्तो हुन्छ भनेर अनुमान गर्न कठिन हुने बताए। पिचले कस्तो व्यवहार गर्छ भन्ने कुरा त्यसलाई कसरी तयार गरिन्छ, कसरी पढिन्छ र त्यसको हेरचाह कसरी हुन्छ भन्नेमा निर्भर रहने उनको भनाइ छ।

उनका अनुसार क्यानका सचिव पारस खड्काले पनि क्युरेटरसँग यस विषयमा छलफल गरेका छन्। आगामी खेलमा पिचको अवस्था राम्रो हुने अपेक्षा उनले व्यक्त गरेका छन्।

एनपीएलको जारी सिजनमा आज र हिजोका चारवटै खेल लो स्कोरिङ बनेका थिए । २५ खेल सकिँदासम्म ९ खेलमा मात्रै पहिले ब्याटिङ गर्दा १५० भन्दा माथिको स्कोर बनेका छन् । ४ खेलमा पहिले ब्याटिङ गर्ने टिमले १०० रन पनि बनाउन सकेको छैन ।

लो स्कोर चेज गर्दा पनि संघर्षपूर्ण ब्याटिङ देखिइरहेको छ । सुरुवाती खेलमा पिचलाई मात्र दोष दिन नमिल्ने भन्ने खालका टिप्पणी आइरहँदा अहिले भने पिचको अवस्था के छ भनेर बुझ्नै मुस्किल हुने अवस्था सिर्जना भएको छ ।

बलरलाई साथ दिनु राम्रो, तर सन्तुलन आवश्यक

चितवनका ब्याटर डाविड मलानले जनकपुरविरुद्धको खेलपछि पिच निकै चुनौतीपूर्ण रहेको बताए। उनका अनुसार बलरले राम्रो प्रदर्शन गरेका थिए भने दोस्रो इनिङमा पिचको व्यवहार केही सहज भए पनि ब्याटिङ गर्न कठिन थियो।

‘पिच एकदमै ट्रिकी थियो। बलरहरूले राम्रो गरेका थिए। यही पिचमा १२० रनको लक्ष्य पछ्याउनुपरेको भए हामी छुट्टै किसिमको दबाबमा हुने थियौँ,’ मलानले भने।

पावरप्लेमा पाँच विकेट गुमाए पनि बीचमा बनाएको साझेदारीले बलिङ टोलीलाई दबाबमा राख्न र खेलमा फर्किन मद्दत गरेको उनले बताए। टस जितेको भए पनि आफूहरूले पहिले ब्याटिङ नै गर्ने उनको भनाइ थियो।

मलानले पिचको अवस्थाबारे एउटा महत्त्वपूर्ण पक्ष पनि उठाए। विश्वका धेरै ठाउँमा टी–२० क्रिकेटका लागि ब्याटरले रन बनाउन सक्ने पिच तयार गरिने भए पनि एनपीएलमा अहिले बलरलाई बढी साथ मिलिरहेको उनको बुझाइ छ।

‘बलरलाई फेभर हुनु राम्रो कुरा हो, तर अहिले यहाँ बलरलाई अलि धेरै नै फेभर गरिरहेको जस्तो देखिएको छ,’ उनले भने।

उनका अनुसार १५० देखि १६० रनसम्मका योगफलमा पनि खेल प्रतिस्पर्धात्मक हुन सक्छन्। तर आगामी दिनमा पिचको अवस्था अझ राम्रो हुँदै जाने र त्यस्ता योगफल नियमित रूपमा बन्ने अपेक्षा उनले राखेका छन्।

जनकपुरका प्रशिक्षक शिवनराइन चन्द्रपलले पनि ब्याटिङका लागि विकेट सहज नरहेको बताए। पहिलो खेलदेखि नै विकेटको अवस्था देखिरहेको उल्लेख गर्दै उनले टोलीले त्यसअनुसार अझ राम्रो प्रदर्शन गर्न सक्ने भए पनि सफल नभएको स्वीकार गरे।

पिच कन्डिशनमा सुधार आवश्यक

विराटनगर किङ्सका मालिक पारस लुनियाले पनि पिचको व्यवहार स्थिर नभएको भन्दै सुधारको आवश्यकता औंल्याएका छन्। अनलाइनखबरसँगको अन्तर्वार्तामा उनले आजको क्रिकेटमा चौका र छक्का महत्त्वपूर्ण हुने उल्लेख गर्दै पिचको व्यवहारबारे टोलीलाई नै अनुमान गर्न कठिन भइरहेको बताएका थिए।

‘पिचको व्यवहार निरन्तर एउटै किसिमको छैन। आज पिच कस्तो हुन्छ भन्ने नै हामीलाई थाहा भइरहेको छैन। यसमा सुधार गर्नुपर्छ,’ उनको भनाइ थियो।

यस्तै पूर्वक्रिकेटर पृथु बास्कोटाले कम स्कोरका खेल पनि रोमाञ्चक हुने भए पनि ब्याटरले बनाउन सक्ने रन केही बढ्नुपर्ने बताएका छन्।

यता जनकपुर बोल्ट्सका विदेशी खेलाडी जिमी नीशमले पनि पिचप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नेपाल र एनपीएल खेल्न आउन निकै मन पराउँछु। तर यी पिचबारे गम्भीर रूपमा केही गर्न आवश्यक छ। पूरै प्रतियोगितामा १२० रन नै जितका लागि पर्याप्त हुने अवस्था हुन सक्दैन।’

एनपीएलमा कम योगफलका खेलमा बलरले प्रभावशाली प्रदर्शन गरिरहेका छन्। १०० वा १२० रनको लक्ष्य पछ्याउँदा पनि अर्को टोलीले सहजै रन बनाउन नसक्नुले बलरको प्रभाव देखाउँछ। तर पिचले बलरलाई साथ दिनु र ब्याटरका लागि खेल नै कठिन बनाइदिनु फरक विषय हुन्।

टी–२० क्रिकेटमा ब्याटर र बलर दुवैको भूमिका महत्त्वपूर्ण हुन्छ। बलरले विकेट लिन सक्ने र ब्याटरले पनि आफ्नो क्षमता देखाउन सक्ने अवस्था हुनुपर्छ। पिचको व्यवहारमा एकरूपता नहुँदा टोलीलाई खेलअघि रणनीति बनाउनसमेत कठिन हुन्छ।

एनपीएलका पछिल्ला खेलहरूले पिचको अवस्था र त्यसले ब्याटिङमा पारेको प्रभावबारे गम्भीर समीक्षा गर्नुपर्ने देखाएका छन्। कम स्कोरका खेल रोमाञ्चक हुनु सकारात्मक पक्ष भए पनि प्रतियोगिताभरि प्रतिस्पर्धात्मक र तुलनात्मक रूपमा सन्तुलित पिच उपलब्ध गराउनु आयोजकका लागि चुनौती बनेको छ।

एनपीएल २०२६ एनपीएलमा पिचको चुनौती कठिन पिच

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय