Comments Add Comment

मिडियामा आउन लजाउने रहस्यमयी धनाढ्य याङ हुइयान

काठमाडौं । एसियाकै सबैभन्दा धनी महिला याङ हुइयानबारे धेरैलाई थाहा नहुन पनि सक्छ किनभने उनी त्यतिसारो मिडियामा छाँउदिनन् । उनको कुल सम्पत्ति २५ बिलियन डलर अर्थात २८ खर्ब नेपाली रुपैयाँ भन्दा धेरै छ र उनी फोब्र्सको धनाढ्य सूचीमा ४३ औं स्थानमा छिन् ।

भर्खरै ३७ वर्ष भएकी उनी चीनको ठूलो मध्येको एक रियलस्टेट कम्पनी कन्ट्री गार्डेनकी उपाध्यक्ष हुन् । चिनियाँ धनाढ्यहरुमध्ये छैठौं स्थानमा रहेकी उनको कन्ट्रगार्डेन होल्डिङ्समा ५७ प्रतिशत सेयर छ ।

धेरैले चासो राख्ने गरे पनि उनी खासै मिडियामा आउँदिनन् । उनका बारेमा थोरै जानकारी मात्रै सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका छन् । चाइना डेलीका अनुसार उनी मिडियामा आउन लजाउँछिन् ।

को हुन् हुइयान ?

हुइयानको जन्म सन् १९८१ मा चीनको सुन्डेमा ग्वाङडोङमा भएको थियो । उनी अत्यन्तै सुन्दर र आकर्षक छिन् । उनका केही तस्वीरहरु मात्रै सार्वजनिक भएका छन् ।

उनी सकेसम्म लो प्रोफाइलमा रहन चाहन्छिन् । उनले अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीबाट सन् २००३ मा ग्रयाजुएट गरेकी थिइन् । उनको २००६ विवाह भएको थियो । चीनकै एक उच्च सरकारी कर्मचारीका छोरा चेन छोङसँग उनको विवाह भएको हो । उनीहरु दुवैको भेट एक ब्लाइन्ड डेटमा भएको थियो । तर, उनीहरुको सन्तान भए नभएको केही जानकारी सार्वजनिक भएको छैन ।

याङलाई रियलस्टेट बाहेक शिक्षा क्षेत्रमा पनि रुची छ र उनी ब्राइट स्कलर्स एजुकेसन होल्डिङसको पनि अध्यक्ष हुन्, जसले चीनमा अन्तराष्ट्रिय के १२ विद्यालयहरु सञ्चालन गरिरहेको छ ।

कसरी बनिन् एसियाकै धनाढ्य ?

उमेरले भर्खर ३७ वर्ष भएकी उनले कसरी यति धेरै पैसा कमाउन सफल भइन् भन्ने जिज्ञासा तपाईंमा उत्पन्न भएको हुन सक्छ ।

खासमा याङ चीनका धनाढ्य याङ क्यो क्वाङकी छोरी हुन् । उनको पिताले सन् १९९७ मा आफ्नो कम्पनी कन्ट्री गार्डेन स्थापना गरेका थिए । रियल स्टेटमा लगानी गर्ने उक्त कम्पनी व्यावसायिक रुपमा धेरै सफल भयो ।

सन् २००७ मा कम्पनीको आइपीओ आउनुअघि यनले कन्ट्री गार्डेनको ७० प्रतिशत सेयर छोरी याङको नाममा सारिदिएका थिए ।

कन्ट्री गार्डेन चीनको सबैभन्दा ठूलो रियलस्टेट कम्पनीमध्ये एक हो । यो कम्पनी गोन्जाओमा मुख्य कार्यालय रहेको छ र याङ गुओक्वाङ परिवारमा यसको स्वामित्व छ । कम्पनीलाई फोब्र्स एसियाले उच्च ५० कम्पनीको रुपमा पनि सूचीकृत गरेको छ ।

यो कम्पनी हङ्कङ स्टक एक्सचेन्जमा सूचीकृत छ । कम्पनीले चीनमा मात्रै २०० भन्दा धेरै प्रोजेक्ट गरिरहेको छ भने मलेसिया र अष्ट्रेलियामा पनि प्रोपर्टी डेभलपमेन्टको काम गरिरहेको छ ।

कन्ट्री गार्डेनले १५ लाखभन्दा धेरै घरहरु बनाइसकेको छ भने कम्पनीमा ७० हजारभन्दा धेरै कर्मचारीहरु छन् । याङले अहिले उपाध्यक्षको रुपमा आफ्नो सबै उर्जा र ज्ञान लगाएर कम्पनीलाई अझै सफल बनाउँदै लगेकी छिन् ।

कन्ट्री गार्डेनको सेयर दिनदिनै बढीरहेको छ र याङ दिनदिनै अझै धनी भइरहेकी छिन् । यसै वर्षको जनवरीमा कन्ट्रीगार्डेनको सेयर एकै पटक उच्च अंकले बढेको थियो । त्यसबेला चार दिनमै याङको सम्पत्ति २ अर्ब डलरभन्दा धेरैले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment