Comments Add Comment

बार्सिलोना बन्यो ‘मिनी नेपाल’

५ कात्तिक, बार्सिलोना। विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर सग्रादा फैमिलिया हेर्न बर्सेनि लाखौं पर्यटकहरुको भीड लाग्ने गर्छ। १ सय ३६ वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको गिरजाघर स्पेनको मात्र होइन, युरोपकै उत्कृष्ट गन्तव्य मानिन्छ।

पर्यटकीय शहर बार्सिलोनाको मुटुमा नै रहेको उक्त गिर्जाघर हेर्न आएका पर्यटकहरु शनिबार नेपाली पञ्चेबाजासँगै रमाए।

चर्चको अगाडि नै नेपाली झण्डाहरुले सजिएको नेपाल चिनाउने स्टल। नेपाली पोशाक सहित ढाका टोपीमा सजिएका सहभागीहरु । नेपाली कला र संस्कृतिको झझल्को दिएको उक्त कार्यक्रमले बार्सिलोनालाई मिनी नेपालको रुपमा चिनायो।

सामुदायिक विकास योजना (प्ला कमुन्तारी) साग्रदा फैमिलियाको अन्तर साँस्कृतिक कार्यक्रमअन्तर्गत एनआरएनए स्पेनले आफ्नो देशको चिनारीसहित कार्यक्रम गर्ने मौका पाएको हो।


पञ्चेबाजासहित पर्यटन प्रबद्र्धनको कार्यक्रमले सबैको मन तानिरहेका बेला नेपालीहरुको महान पर्व दशैं सामूहिक रुपमा मनाउने अवसर पनि जुर्यो । कामको थकानसँगै घर परिवार सम्झिएर अमिलो मन गरेका नेपालीहरुले सामूहिक टीका र जमारा लगाउँदै खुल्ला रुपमा दशैं मनाए। यसपटक नेपालीहरुको निधारमा मात्र टीका परेन, केही स्पेनिस तथा घुम्न आएका विदेशीहरुले समेत निधार रंगाए। उनीहरुले नेपाली संस्कृति, रीतिरिवाज र चाडपर्बबारे चासो ब्यक्त गरेका थिए।

एनआरएनए स्पेनले आयोजन गरेको यो एउटा नमूना कार्यक्रम त बन्यो नै। डायस्फोराको नेपाली समुदायलाई नेपाल यस्तै गतिविधि गर्न प्रेरित पनि गरेको छ।

यसै वर्ष म्याड्रिडमा नेपाली दूतावास स्थापना भएसँगै प्रथम राजदूत बनेर आएका भरतबहादुर रायमाझी भने कार्यक्रममा सहभागी बनेनन्। नेपाल चिनाउने यति ठूलो कार्यक्रममा राजदूत नआउँदा धेरैले चासोसँगै खल्लो महसुस गरे।

तर कार्यक्रममा प्रमुख अतिथिको रुपमा दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेल सहभागी बने। नेपाल पुग्ने पर्यटकहरु मध्ये बर्सेनि स्पेनिसहरु ठूलो संख्यामा पुगेको चर्चा गर्दै दूतावासले थप गृहकार्य गरिरहेको उनले बताए।

पौडेलले भने,‘अघिल्लो बर्ष करिव १६ हजार स्पेनिसहरु नेपाल घुम्न गएको तथ्यांक छ।

यो वर्ष २० हजारभन्दा पनि कम पठायौं भने दूतावास स्थापना गरेको कुनै औचित्य हुँदैन। त्यसैले हामीले गम्भीरताका साथ होमवर्क गरिरहेका छौं।’

उनले दूतावास र नेपाल सरकारको तर्फबाट शुभकामाना दिँदै आँफूले जीवनमै देखेको उत्कृष्ट कार्यक्रम भन्दै एनआरएनलाई बधाइ दिए।

संघका अध्यक्ष चिन्तामणि सापकोटाले खुल्ला रुपमा दशैंसहित नेपाल चिनाउने कार्यक्रम सम्पन्न भएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘यति धेरै पर्यटकहरु घुम्न आउने चर्च अगाडि पञ्चेबाजासहित नेपाली गीत–संगीतमा रमाउँदा नेपाली समुदाय नै गदगद छ । हामी यसलाई निरन्तरता दिन्छौ। सबैको साथ र सहयोग प्रति आभारी छौ।’

संघले यसअघि नेपाल लोकदोहोरी प्रतिष्ठान युरोप शाखासँग संयुक्त कार्यक्रम गर्दै पञ्चेबाजा खरिदका लागि आर्थिक सहयोग गरेको थियो। प्रतिष्ठानका कलाकारहरु सहित बाजाको उदघाटन पनि सोही अवसरमा गरिएको थियो। बाजा बजाउनकै लागि पोर्चुगलबाट ५ जना कलाकारको टोलीसमेत आएको थियो।

कार्यक्रमको अर्को आकर्षण दोहोरी प्रस्तुतिले नेपालीहरुलाई मात्र होइन, विदेशीलाई समेत नचायो।

नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुतिहरु राखे। सधैँ हलभित्र आसन र भाषणमा सीमित रहनुभन्दा नेपाल चिनाउने यस्ता गतिविधिले नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्श्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment