Comments Add Comment

काठमाडौं महानगरपालिकाले भन्यो- ‘बाहिर फोहोर नफालौं, घरमै आउँछ गाडी’

५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा रोकेको फोहोर उठाउने काम फेरि सुरु गरेको छ । दशैंको फूलपातीदेखि फोहोर उठाउन काम रोकेकोमा आईतबारदेखि पुनः थालिएको महानगरपालिकाका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार आईतबार मात्रै साढे ४ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइट पुर्‍याइएको छ । महानगरभित्रबाट फोहोर उठाउने काम भने दशैंको टीकाका दिन पनि नरोकिएको उनको दाबी छ ।  ‘दशैंका बेला फोहोर व्यवस्थापनमा खटिने कर्मचारी विदामा जाने भएकाले अन्तिम व्यवस्थापनको काम रोकिएको हो’, उनले भने ।

फोहोर उठाउन काम रोकिँदा थप दुर्गन्ध हुन नदिन महानगरले घरभित्रका फोहोर सडकमा ल्याएर नफाल्न आग्रह गरेको थियो । महानगरपालिकाको आग्रह अनुसार तुलानात्मक रुपमा सडकमा कम फोहोर आएको उनको भनाइ छ ।
‘सार्वजनिकस्थल हुँदै गाडी पठाएर घर घरमा भएको सबै फोहोर संकलन गर्छौं’, उनले भने ।

निजी कम्पनीका सबै कर्मचारी दशैं मनाएर फर्किनसकेकाले पूर्णरुपमा फोहोर उठाउन केही समय लाग्ने उनले जानकारी दिए ।

सिसडोलको समस्या उस्तै

तर, काठमाडौं महानगरपालिकाले फोहोर बिसर्जन गर्दै आएको नुवाकोटको सिसडोल समेत भरिएपछि थप फोहोर व्यवस्थापन हुन सकेको छैन । सडक छेउ र गल्लीमा थुपि्रएको फोहोर गत साउनबाट नै नियमित रुपमा उठ्न सकेको छैन ।

कामपाले १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न सिसडोल लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएको भन्दै नुवाकोट, सिसडोलका बासिन्दाले सो स्थानमा अब फोहर नराख्न आग्रह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment