Comments Add Comment

दशैं सकिनासाथ सेलायो फलफूल बजार, तिहारको पर्खाइमा व्यापारी

८ कात्तिक, काठमाडौं । बिहीबार बिहान फलफूल तथा तरकारी बजार कालिमाटी पुग्दा खासै चहलपहल थिएन । खासगरी फलफूल ब्यापारीहरु फुर्सदले हाई काढिरहेका देखिन्थे ।

दशैं सकिएपछि फलफुल किन्न आउने ग्राहक स्वाट्टै घटेका छन् । अब फलफल व्यापारीलाई तिहारको प्रतिक्षा छ । सामान्यतया दशैंमा भन्दा तिहारमा फलफूलको अत्यधिक व्यापार हुन्छ ।

विगत ३५ वर्षदेखि कालिमाटी बजारमा फलफूल बेच्दै आएका किरण शाहीले भने, ‘यसपालि दशैंमा सोचेजस्तो भएन, अब तिहारमा चाहिँ राम्रै होला ।’

केरा र भुइँकटहरको व्यापार गर्दै आएका शाही यस वर्ष फलफूलको मूल्य खासै नबढेका कारण पनि व्यापार बढ्नेमा आशावादी छन् । उनले बिक्री गर्ने गरेको केरा र भुइँकटहर भने भारतबाट आउने गरेको छ ।

स्वदेशमै उत्पादन भएको केरा तथा भुइँकटहर खरिद गर्न केही झन्झटिलो हुने र सबै सिजनमा नपाइने भएकाले भारतकै उत्पादन बिक्री गर्नुपरेको उनी बताउँछन् ।

नरिवलको थुप्रो मिलाउँदै गरेका एक व्यापारी तिहारलाई सम्झेर निकै उत्साहित छन् ।

‘दिपावली आउँदा बहुत खुसी लाग्छ’ व्यापारी भन्छन्, ‘दिपावलीमा धेरै विक्री हुने भनेको नै नरिवल हो, त्यसैले मैले थुप्रै नरिवल मगाइसकेको छु, अझै मगाउँदैछु ।’

अन्य व्यापारीको भन्दा नरिवल व्यापारीको उत्साह अलि बढी देखिन्छ । भाइटीकाका दिन चेलीहरुले माइतीलाई दिन फलफूलका आइटमहरुमा नरिवल त अनिवार्यजसो नै छ । जसका कारण पनि नरिवल व्यापारीहरु राम्रो व्यापार हुनेमा ढुक्क छन् ।

कालिमाटीमै भेटिएका एक मेवा व्यापारीलाई भने तिहारको खासै मतलब छैन । तिहारमा नरिवल, स्याउ लगायत फलफूल धेरै बिक्री भए पनि मेवाको बिक्री भने खासै नबढ्ने उनको अनुभव छ ।

उनी भन्छन्, ‘अघिपछिभन्दा अलि बढी व्यापार त हुन्छ, तर धेरै फरक हुँदैन ।’

ठेला व्यापारी बिन्दास

त्यसो त काठमाडौंमा फलफूल किन्न पसलै धाउनुपर्ने बाध्यता पनि छैन, साइकलमा फलफूल बोकेर डुलिरहेका ब्यापारी गल्लीगल्लीमा भेटिन्छन् । ईशारा गरेपछि उनीहरु घरको गेटमै आइपुग्छन् ।

यस्ता व्यापारीलाई पनि तिहारकै पर्खाई छ । बुद्धनगरमा भेटिएका सोमेश्वर शाह मुख मिठ्याउँदै भन्छन्, ‘दिपावलीमा त बहुत बिक्री हुन्छ ।’

साइकल ठेलेर फलफूल बेच्ने व्यापारीलाई दुईवटा चिन्ताले हुने गर्छः एउटा महानगरपालिकाले लखेट्ने र अर्को फलफूल कुहिने । महानगरपालिकाका प्रहरीले बाटामा भेट्नेवित्तिकै नियन्त्रणमा लिने र जरिवानासमेत लिने भएकाले उनीहरुलाई त्यसबाट जोगिनुपर्ने बाध्यता छ ।

अर्को भनेको किनेको फलफूल समयमा नै बिक्री नभए कुहिने डर हुन्छ । तर, तिहारका बेलामा भने यी दुईवटै चिन्ताबाट आफूहरु मुक्त हुने सोमेश्वर बताउँछन् । उनी भन्छन्, ‘दिपावलीको समयमा नगरपालिका पनि आउँदैन, धेरै बिक्री हुने भएकाले कुहिने डर पनि छैन । त्यसैले बिन्दास व्यापार हुन्छ ।’

तरकारी छाडेर फलफूलको व्यापार

चाडवाडको मौसममा तरकारी पसलेले पनि फलफूल बेच्ने गरेका छन् । ललितपुरको कुपण्डोलमा सटर लिएर तरकारी व्यापार गर्दै आएका भारत मोतिहारीका राजकुमार गुप्ताले विगतदेखि नै तिहारमा फलफूल बेच्ने गरेको बताए ।

‘दिपावलीमा फलफूलको बिजनेस राम्रो हुन्छ, यसपालि पनि बेच्छु,’ उनले भने ।

अहिलेसम्म तरकारी बेच्दै आएका कतिपय ठेला व्यापारीहरुले त फलफूलको व्यापार शुरु नै गरिसके । कुपण्डोल चोकमा साइकलको डालाभरी नरिवल लिएर बसेका एक व्यापारीले दशैंदेखि तरकारीको साटो नरिवल बेच्न थालेको बताए । पहिले तरकारी मात्रै बेच्दै आए पनि दशैं-तिहारका बेला फलफूल व्यापारतिर लागेको उनको भनाइ छ ।

‘छठसम्म फलफूल बेच्छु, त्यसपछि फेरि तरकारीमै फर्किनेछु,’ उनले भने ।

चाडबाडमा किराना पसलेहरुले समेत फलफूल बिक्री गर्ने गरेका छन् । स्याउ, नरिवल जस्ता लामो समयसम्म नकुहिने फलफूलहरु किराना पसलहरुमा देख्न सकिन्छ ।

कर र डलरको पिरलो

सरकारको कर र डलरको भाउ वृद्धिको असर फलफूलको मूल्यमा समेत परेको नेपाल फलफूल व्यवसायी संघका कोषाध्यक्ष काशीराम सापकोटाले अनलाइनखबरलाई बताए । यसअघि फलफूल आयातकर्तासँग ५ प्रतिशत लिँदै आएको कर बढाएर १० प्रतिशत बनाइएको उनको भनाइ छ ।

‘सरकारले ५ बाट १० प्रतिशत कर लिन थालेको छ, अर्कोतिर डलरको भाउ बढेको बढ्यै छ’ उनी भन्छन्, ‘यसले गर्दा विदेशबाट ल्याइने फलफूलको मूल्यमा असर गरेको छ ।’

यसको मारमा उपभोक्ता परेको भए पनि व्यापारीलाई समेत असर गर्ने सापकोटा बताउँछन् । ‘मूल्य बढ्दा हिजो ५ किलो लैजाने ग्राहकले आज ३ किलो मात्रै लैजान्छ, यसबाट व्यवसायीलाई घाटा हुन्छ,’ उनले भने । यद्यपि, दशैं सकिएलगत्तै फलफूलको मूल्य सेलाएको उनको भनाइ छ ।

सरकारी चिस्यान केन्द्र नहुँदा थप समस्या झेल्नुपरेको सापकोटा बताउछन् । निजी चिस्यान केन्द्रमा जति धेरै राख्यो, त्यति धेरै लागत बढ्ने र फलफूलको गुणस्तर घट्दै जाने हुँदा समस्या परेको उनको भनाइ छ ।

फलफूलमा नेपाल कति आत्मनिर्भर ?

धेरैजसो फलफूल नेपालमै उत्पादन हुन्छन् । तर, तिहारका बेला स्वदेशी उत्पादनले नपुग्ने हुँदा विदेशबाट आयात गर्नुपर्छ । तिहारमा मात्रै ४० देखि ५० टनसम्म फलफूल खपत हुने संघका कोषाध्यक्ष सापकोटाको अनुमान छ ।

सरकारले बढाएको करले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने भए पनि विदेशबाट आयात गर्दा मर्का पर्ने गरेको उनी बताउँछन् ।

सापकोटाका अनुसार सिजनमा आँपको बजार ८० प्रतिशत आन्तरिक उत्पादनले धान्ने गरेको छ । तर, स्याउ ८५ प्रतिशत विदेशबाट आयात गर्नुपर्छ । यसैगरी केरा ६० प्रतिशत स्वदेशमा उत्पादन हुन्छ । पहिले ४० प्रतिशत आन्तरिक उत्पादन रहेकोमा पछिल्लो समय २० प्रतिशतले बढेर ६० पुगेको छ । त्यसैगरी सुन्तलाको मागको आधा हिस्सा स्वदेशी उत्पादनले धानिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment