+
+
Shares

छठ पर्वका लागि वीरगञ्जका पोखरीहरुको सरसफाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १६:१३

११ कात्तिक, वीरगञ्ज । छठपर्व नजिकिएसँगै वीरगञ्ज र आसपासका क्षेत्रमा नदी तथा पोखरी सरसफाइ गर्ने क्रम सुरु भएको छ । वीरगञ्जको मुर्ली, नगवा, छपकैया स्थित पोखरीहरुको सरसफाई गर्ने क्रम सुरु भएको हो ।

स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा स्थानीय टोल विकास संस्था, छठ पूजा व्यवस्थापन समितिहरु मिलेर नदी तथा पोखरीहरुको सरसफाई गरिरहेका छन् ।

कतिपय पोखरीहरु वर्षभरी सफा नगरिएका कारण झारहरुले पुरै ढाकिएको छ । भने कतिपय पोखरीहरुमा जथाभावी फोहोर फालिएकाले दुर्गन्धित छ ।

छठ पर्वमा नदी, पोखरीहरुको किनारमा टेन्ट गाडेर, रंगीचंगी बत्ति लगाएर दुलही झै सिंगार्ने गरिन्छ ।

अघिल्लो दिन अस्ताउँदो सुर्यलाई पुजा गरेर भोलिपल्ट उदाउँदो सुर्यको पुजा गरिने छठ पर्वमा नदी तलाउ एवं पोखरीहरुमा गएर नै अर्घ दिने चलन छ ।
वर्षभरी पोखरीमा जथाभावी फोहोर गरिए पनि छठमा पोखरीको विशेष सरसफाइ हुने गरेको छ ।

व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले अभियान अन्र्तगत छठ पर्वलाई मध्य नजर गरेर सार्वजनिक पोखरी सरसफाई गर्ने अभियान शुरु गरिएको बताए ।

सेना, प्रहरीको सहयोगमा वीरगञ्ज महानगरपालिका वडा नं ११ तेजारथ टोलमा रहेको पोखरीको सरसफाई गरिएको उनले बताए । ‘दिपावली र छठमा हामी घरको सफाइ गर्छौ, अब घर मात्रै होइन, टोल सफा राखौं भन्ने नारा हामीले लिएका छौं,’ उनले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण र सफाइमा स्थानीयलाई जागरुक बनाउन सरोकारवालाहरुसँग मिलेर पोखरीहरुको सरसफाइ पनि गरिरहेका छौं ।’

पोखरी सफाई अभियानले छठ पर्व अझै पवित्र र मर्यादित ढंगले मनाउन लाभदायक हुने उनको विश्वास छ । विगत ६ हप्तादेखि वीरगञ्जको नगवामा रहेको पोखरीको सरसफाई स्थानीय सामाजिक अभियन्ताहरुले गरिरहेका छन् ।

जनकपुर सफाइका अभियन्ता एवं प्रदेश सभासद रामाशिष यादवले आएर नगवा पोखरीको सरसफाई गरेर गएदेखि नै पोखरीको सफाइलाई सामाजिक अभियन्ताहरुले निरन्तरता दिईरहेका छन् ।

आफूहरुले सातामा एकदिन गएर नगवा पोखरीको सरसफाइ गरिरहेको सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन् । ‘पोखरी सरसफाईका लागि स्थानीय बासिन्दाले चासो दिएका छैनन्,’ उनले भने, ‘तरपनि हामीले निरन्तर गएर सफाइ गरिरहेका छौं ।’ नगवा पोखरीमा पनि भव्य रुपमा छठ मनाइन्छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी लोक नाथ पौडेलले शहरका सम्पूर्ण पोखरी सफा गर्ने लक्ष्य लिएर काम अघि बढाइएको बताए । ‘तराईमा छठलाई महत्वपूर्ण चाडको रुपमा मनाइन्छ, आम सर्वसाधरणहरुले स्वतः स्फूर्त रुपमा छठपर्वलाई राम्रोसँग मनाउन सकुन भन्ने हाम्रो अभिप्राय हो,’ उनले भने, ‘त्यसैकारण स्थानीय प्रशासनले जनशक्ति परिचालन गरेर महत्वपूर्ण सार्वजनिक पोखरी सरसफाइ गरिरहेका छौं ।’

वीरगञ्ज महानगरपालिका र स्थानीय संघ संस्थाले समेत अभियानमा सहयोग गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?