Comments Add Comment

गौतमबुद्ध विमानस्थलको रनवे पिच गर्न सुरु, ६ महिनाभित्रै उडान सुरु हुने मन्त्रीको दाबी

१३ कात्तिक, बुटवल । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच गर्न सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले मंगलबार त्यसको उद्घाटन गरे । उनले विमानस्थल निर्माण सम्पन्न गरेर ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने दाबी गरे । अप्ठ्यारा र धेरै जनशक्ति लाग्ने अधिकांश काम अन्तिम चरणमा पुगेको र पछिल्लो समय कामले राम्रो गति लिएको भन्दै उनले तोकिएकै समयमा विमानस्थल बन्ने दाबी गरे ।

अहिलेसम्म पाँच वटा विमान पार्क गर्न मिल्ने गरी पार्किङ्ग एरियाको काम सम्पन्न भइसकेको छ । ओभरहेड ट्याङ्की, प्रशासनिक भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन लगायतको काम पनि अन्तिम चरणमा छ ।

तर, विमानस्थल निर्माण गर्दा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ढिलाई भइरहेको छ । पर्यटनमन्त्री अधिकारीले स्थानीयको भावनाअनुसारै यसै वर्ष ९ अर्ब मुआब्जा वितरण गर्ने आश्वासन दिएका छन् ।

फाेटाेः मन्त्री अधिकारीकाे ट्वीटर ह्याण्डिलबाट ।

मन्त्री अधिकारीले हवाई रुटका लागि भारतसँग छलफल भइरहेको बताए । साथै हवाई रुट नभएर विमानस्थल सञ्चालनमा आउन्न कि भन्ने आशंका हटाउन आग्रह गरे ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी २०१५ मा विमानस्थलको स्तरोन्नती थालिएको थियो । तर, समयमा काम हुन सकेन । पछिल्लो समय चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले काम गरिरहेको छ । एसियाली विकास बैंकको अनुदान र ऋण सहयोग गरी कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतमा विमानस्थल निर्माण भइरहेको छ ।

विमानस्थल निर्माणमा हालसम्म २ अर्ब ६ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ ।

फाेटाेः मन्त्री अधिकारीकाे ट्वीटर ह्याण्डिलबाट ।
फाेटाेः मन्त्री अधिकारीकाे ट्वीटर ह्याण्डिलबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment