Comments Add Comment

‘लेक नलाग्ने औषधि खाँदा बेहोस भएँ, अस्पतालले पासपोर्ट खोस्यो’

१३ कात्तिक, काठमाडौं । रसियन नागरिक पावेल छेपेलेन ९ असोजमा पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरे । नेपालका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने योजना बुनेर आएका उनी मनाङ हुँदै अन्नपूर्ण बेस क्याम्पसम्म यात्रा गर्न चाहन्थे ।

एक्लै पदयात्रामा हिँडेका उनी २४ असोजमा मनाङको नगवाल गाउँमा पुगे । साँझ परिसकेकाले एउटा पसलमा छिरेर थुक्पा खाए । पावेल भन्छन्, ‘त्यहाँ लेक लाग्छ भन्ने पनि सुनेको थिएँ, त्यसैले साहुनीलाई औषधि पाइन्छ कि भनेर सोधेँ ।’

महिलाले आफूसँग औषधि नभएको तर, व्यवस्था गरिदिने आश्वासन दिइन् । साथै, वास बस्नलाई सस्तोमा होटल मिलाइदिने बताइन् । पावेलले सहजै सहमति जनाए ।

केहीवेरमै महिलाले लेकको औषधि भन्दै पाउडर दिइन्, जसलाई पानीमा घोलेर उनले खाए । उनले औषधिको पैसा पनि लिइनन् तर, औषधि खाएको केहीवेरमै एकाएक असजिलो महसुस भयो ।

‘त्यसपछि महिलाले मिलाइदिएको होटलमा गएर पल्टिएँ’, उनी भन्छन्, ‘त्यहाँ सुतेको ३ दिनपछि एकैपटक आफूलाई नर्भिक हस्पिटलको बेडमा पाएँ ।’

होस आउँदा एकाएक हस्पिटलको बेडमा पाएपछि उनले चिकित्सकहरुलाई सोधे । ‘त्यहाँ सोध्दा पो थाहा भयो मलाई त मनाङबाट उद्दार गरेर ल्याइएको रहेछ’, राहदानी नं. ७५५५८८३७४ बाहक रसियन नागरिक पावेलले अनलाइनखबरसँग भने ।

रकम तिर्न नसकेपछि पासपोर्ट खोसियो

उद्दार गरेर ल्याएको पावेल खुसी हुनु पर्ने हो । तर, उनी आफू ठगिएको महसुस गरिरहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान जारी राखेकै वेला पनि ‘फेक रेस्क्यू’ को धन्दा निर्वाद रुपमा चलिरहेको पावेल प्रकरणले प्रष्ट भएको छ

अझ अपचार खर्च तिर्न नसक्दा हस्पिटलले पासपोर्ट नै खोसेपछि संकटमा परेका छन् । अस्पतालका अनुसार उद्दार र उपचार खर्च गरेर चार लाखको बिल बनेको छ ।

यो रकम तिर्न उनी सक्षम छैनन् । रकम बुझाउन नसकेपछि अस्पतालले पासपोर्ट खोसेर राखेको छ ।

पासपोर्ट नभएपछि पावेल काठमाडौंस्थित रुसी दूतावासको शरणमा पुगेका थिए । दूतावासका अधिकारीहरु नर्भिक हस्पिटलमा पुग्दा थाहा भयो, उनलाई फिस्टेल एयरको हेलिकोप्टरमार्फत उद्दार गरिएको रहेछ ।

३ दिन उपचार गरेपछि मात्रै उनको होस खुलेको अस्पतालले दूतावासका अधिकारीहरुलाई जानकारी दियो ।

‘पासपोर्ट राख्ने सरकारको अधिकार हो, हस्पिटलको होइन’ भन्दै दूतावासका एक अधिकारीले अस्पतालका अधिकारीहरुलाई फिर्ता दिन आग्रह गरे । तर, अस्पतालका प्रशासन विभागका रवि शर्माले उल्टै गालीगलौज गरेको दूतावासका एक अधिकारी बताउँछन् ।

दूतावासका ती अधिकारी पदमार्गमा हिँडेको स्वस्थ व्यक्ति औषधि खाएपछि एक्कासि दिशा, पिसाब समेत एकैठाउँमा हुने गरी बिरामी हुनु रहस्यमय भएको बताउँछन् ।

फेक रेस्क्यूको शिकार

सामान्य आर्थिक स्थितिका पावेल आफ्नो पासपोर्ट खोसिएपछि संकटमा परेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले आफूले गल्ती गरेको भए जेल जान तयार रहेको बताउँदै अनाधिकृत रुपमा पासपोर्ट नखोस्न हस्पिटल प्रशासनसँग आग्रह गरे ।

उनले आफू ‘फेक रेक्यू’ को शिकार भएको बताउँदै प्रश्न गरे, ‘नर्भिकमा सामान्य अपरेशन गर्दा त पहिले पैसा तिर्नु पर्दोरहेछ तर, मेरो चाहिँ के आधारमा त्यतिकै उपचार गर्‍यो ? कसले मेरो जिम्मेवारी लियो ?’

उद्दार गरेर ल्याएको भनिएको फिस्टेल एयरलाई पनि कसले खबर गरेको थियो भन्दै जिज्ञासा राखे ।

यो पनि पढ्नुहोस ‘फेक रेस्क्यु’ प्रकरणः उद्धारको जिम्मा प्रहरीलाई दिन सुझाव

‘हेलिकोप्टरलाई कसले खबर गर्‍यो ? मेरो जिम्मा कसले लियो ?’, उनले भने, ‘अहिले मसँग भएको सबै कुरा बेच्दा पनि ५० हजार मात्र हुन्छ । त्यत्रो पैसा कसरी तिर्नु ? ३० नोभेम्बरमा फर्किने टिकट छ । तर, अस्पतालले पासपोर्ट खोसेपछि म अहिले इलिगल भएको छु ।’

उनी आफूलाई ठग्ने उद्देश्यले ‘फेक रेक्यू’ गरिएको दाबी गर्दै प्रहरीको विभिन्न निकाय गुहारिरहेका छन् । तर, उनको उजुरी अझैसम्म प्रहरी कहाँ दर्ता भएको छैन ।

पर्यटन विभागमा पहिले उजुरी दिन सुझाव दिएकाले उनी त्यहाँ निवेदन दिने तयारी गरेका छन् ।

पासपोर्ट उनलै राख्नु भनेका हुन्ः जीएम

नर्भिक हस्पिटलका जीएम रवि शर्माले पनि पावेलको पासपोर्ट राखिएको स्वीकार गरे ।

‘उपचारपछि उनले एक जनाले पैसा पठाइदिनुहुन्छ, त्यसपछि हस्पिटलमा दिन्छु भनेको थियो’, उनले अनलाइनखबरसँग भने, ‘डिस्चार्ज गरिदिनु बरु रकम नदिउञ्जेलसम्म पासपोर्ट राख्नु भनेर आफैंले भनेको हो ।’

पावेललाई उद्दार गर्दा स्थिति एकदमै खराब रहेको बताउँदै शर्माले रसियन नागरिकले नयाँ जीवन पाएको दाबी गरे ।

तर, रसियन दूताबासले उल्टै बार्गेनिङ गर्न खोजेको भन्दै उनले भने, ‘पछि आएर पासपोर्ट नदिए उल्टै अर्को डकुमेन्ट बनाएर भए पनि विदेश पठाउँछौं भनेको थियो ।’

बिमा रकम कुम्ल्याउने धन्दा

नेपालमा अहिले विदेशी पर्यटकको बीमा रकम हात पार्न‘फेक रेस्क्यू’को धन्दा चलिरहेको छ । यसमा बिचौलिया, ट्रेकिङ एजेन्ट, ट्राभल एजेन्सी, हेलिकोप्टर र अस्पताल संलग्न हुने गरेको सरकारी छानबिन समितिले पनि निष्कर्ष निकालेको थियो ।

यसबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान जारी राखेकै वेला पनि ‘फेक रेस्क्यू’ को धन्दा निर्वाद रुपमा चलिरहेको पावेल प्रकरणले प्रष्ट भएको छ ।

दूतावास स्रोतका अनुसार ३ महिनाअघि पनि एक जना रसियन नागरिक पावेलको जस्तै समस्याबाट पीडित भएका थिए । तर, पर्यटक प्रहरीको समन्वयपछि ठमेलस्थित एक हस्पिटलले उनको पासपोर्ट फिर्ता गरेको थियो ।

यो पनि पढ्नुहोस फेक रेस्क्युको असरः धमाधम बुकिङ रद्द गर्दै पर्यटक

‘फेक रेक्यू गरेर पैसा तान्न उनीहरुले त्यसो गरेका थिए’, दूतावासका एक अधिकारीले भन्छन्, ‘उनको इन्स्यूरेन्स भएकाले केही रकम समेत हस्पिटललाई दिइएको थियो ।’

तर, पावेलको हकमा भने उनका बिमा छैन, जसका कारण हस्पिटलले रकम पाएको छैन ।

‘इन्स्यूरेन्स भएको थुप्रै घटनाहरु भित्रभित्रै हल हुने गरेका छन्’, अनुसन्धानमा संलग्न अधिकारीले भन्छन्, ‘तर, उनको इन्स्यूरेन्स नभएपछि समस्या भएको हो । कतिपय घटनामा पर्यटक आफैं पनि लाभ लिने प्रलोभनमा ‘फेक रेस्क्यू’ धन्दाको जालोमा सामेल हुने गरेको भेटिएको छ ।’

ठगी मुद्दा अन्तरगत कारबाही हुन्छः प्रहरी

‘फेक रेस्क्यू’बारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्यस्तो गतिविधिमा संलग्नमाथि ठगी मुद्दा अन्तरगत कारबाही गरिने जनाएको छ ।

ब्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक (डिआईजी) निरजबहादुर शाहीले अनलाइनखबरसँग कुरा गर्दै फेक रेक्यूको श्रृङ्खलामाथि अनुसन्धान जारी रहेको बताए ।

पावेलको हकमा भने पर्यटन विभागमा निवेदन दर्तापछि पनि सीआईबीले अनुुसन्धान गर्न सक्ने शाहीले बताए ।

‘सरकारी कार्यदलको सुझाव अनुरूप फेक रेस्क्युबारे हामीले अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘यसमा पनि अनुसन्धान गर्छौं र दोषी देखिएकाहरुमाथि ठगी मुद्दा अन्तरगत कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment