Comments Add Comment

विप्लव समूहसँग गोप्य वार्तामा को–को खटिए ?

३० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग अनौपचारिक वार्ताको पहल थालेको छ ।

नेकपा महासचिव विष्णु पौडेलसहितका नेताहरु विप्लव समूहसँग अनौपचारिक सम्पर्कमा पुगेको नेकपा स्रोतले जनाएको छ । पौडेलले जेलमा रहेका विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसँग पनि भेटेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नै महासचिव पौडेललाई विप्लव समूहसँग वार्ताका लागि खटाएको स्रोतले जनाएको छ । यसअघि सिके राउतलाई मूलधारमा ल्याउने निर्णायक वार्तामा पनि पौडेल नै खटिएका थिए ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डनिकट स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा पनि विप्लव समूहसँग अनौपचारिक सम्पर्कमा रहेको बताइएको छ ।

नेकपाकै अर्का नेता तथा तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे पनि विप्लव समूहसँग सम्पर्कमा छन् । पाण्डेको टोलीले अनौपचारिक वार्ता प्रयास गरिरहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेपछि सम्पर्क टुटेको थियो ।

सरकारले विभिन्न समूहसँग वार्ता गर्न गत वर्ष पाण्डेको नेतृत्वका वार्ता टोली गठन गरेको थियो । सो टोलीसँग वार्तापछि पूर्व र मधेसका कतिपय हतियारधारी समूह सहमतिमा आएर राज्यलाई हतियारसमेत बुझाएका थिए ।

विप्लव समूहसँग भएका अनौपचारिक वार्ताबारे सोमबार बिहान नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच भएको भेटवार्तामा समेत छलफल भएको बताइएको छ ।

तर विप्लव समूहले हिंसा त्यागेर हतियार नबुझाएसम्म बन्दी रिहाई र मुद्दा फिर्ता लगायतका माग पुरा गर्न नगर्ने सरकारले बतँएको छ । विप्लव समूहको रणनीति पक्राउ परेका नेता कार्यकर्ता छुटाउने र खुला गतिविधि गरेर शक्ति आर्जन गर्ने हुन सक्ने भन्दै यसमा फस्न नहुने सुझाव आएको स्रोतले जनाएको छ ।

सरकारले २८ फागुनमा विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता १२ फागुनमा काठमाडौंमा श्रृखलावद्ध बम विस्फोटमा ४ जनाको मृत्यु भएको थियो । यस्तै ५ असारमा सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा कुमार पौडेल मारिए भने भोजपुरमा प्रहरी र विप्लव समूहका नेता मारिए ।

विपक्षी नेपाली कांग्रेस लगायतले विप्लव समूहसँग वार्ताबाट सहमति खोज्न सरकारलाई दबाव दिँदै आएका छन् ।

तर, विप्लव समूहका राजनीतिक माग सम्बोधन गर्न नसकिने भएकाले वार्ता परिणाममुखी नहुने सरकारी अधिकारीहरु बताउँछन् । ‘विप्लव समूह अहिलेको राजनीतिक व्यवस्था नै मान्दिन भन्छ । यो संविधान नै मान्दैन’ एक मन्त्रीले भने, ‘वार्ताका लागि वार्ता गर्ने हो भने ठिकै छ तर, उसको रणनीति प्रतिबन्ध फुकुवा गराएर हतियार र पैसा संकलन गर्ने र राज्य विरुद्ध शक्ति सञ्चय गर्ने हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment