+
+
Shares

हरेक वर्ष बढ्दैछन् क्यान्सरका नयाँ बिरामी, कुन धेरै ?

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने क्यान्सरका बिरामीको सङ्ख्या वर्षेनि बढ्दै गएको छ। अस्पतालले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार अस्पताल आउने नयाँ बिरामीमध्ये क्यान्सर प्रमाणित हुने दर बढ्दै गएको हो।  

सुवास पण्डित सुवास पण्डित
२०८३ असोज २६ गते १०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् २०२५ मा आएका २७ हजार २४३ नयाँ बिरामीमध्ये ६ हजार ८५८ जनामा क्यान्सर पुष्टि भएको छ।
  • अस्पतालका अनुसार सन् २०२५ मा नयाँ बिरामीमध्ये २५.१७ प्रतिशतमा क्यान्सर देखिएको छ, जुन सन् २०२४ को २२.२० प्रतिशतभन्दा बढी हो।
  • गत वर्ष अस्पतालमा सबैभन्दा धेरै फोक्सो, स्तन र पाठेघरको मुखको क्यान्सरका बिरामी उपचारका लागि आएका थिए।

२५ असोज, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको देखिएको छ। अस्पतालले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार अस्पतालमा आउने नयाँ बिरामीहरूमध्ये क्यान्सर रोग प्रमाणित हुने दर बढ्दै गएको देखिन्छ।

अस्पतालका डा. सुशील अधिकारीका अनुसार सन् २०२५ मा अस्पतालको बहिरङ्ग विभाग (ओपीडी) मा आएका २७ हजार २४३ जना नयाँ बिरामीमध्ये ६ हजार ८५८ जनामा क्यान्सर रोग लागेको पुष्टि भएको थियो। सन् २०२४ मा आएका ३१ हजार ५६० नयाँ बिरामीमध्ये ७ हजार ९ जनामा क्यान्सर रोग लागेको देखिएको थियो।

सन् २०२४ मा नयाँ बिरामीमध्ये २२.२० प्रतिशतमा क्यान्सर प्रमाणित भएको देखिएकोमा सन् २०२५ मा २५.१७ प्रतिशतमा क्यान्सर रोग लागेको प्रमाणित भएको थियो। अस्पताल आएका नयाँ बिरामीको सङ्ख्या र तीमध्ये क्यान्सर प्रमाणित हुने बिरामीको प्रतिशत निकाल्दा सन् २०२५ मा आउने नयाँ बिरामीमध्ये बढीमा क्यान्सर रोग लागेको देखिएको हो।

अस्पतालका अनुसार सन् २०२५ मा बहिरङ्ग विभाग (ओपीडी) बाट २ लाख १२ हजार ९७७ जनालाई सेवा दिइएको छ। ती बिरामीमध्ये २७ हजार २४३ जना नयाँ बिरामी हुन् भने बाँकी पुनः परीक्षणका लागि आएका बिरामी हुन्।

सन् २०२४ मा २ लाख ४ हजार ९७१ जना बिरामीले बहिरङ्ग सेवा लिएका थिए।

अस्पतालको पछिल्लो ५ वर्षको तथ्याङ्क

क्यान्सर रोग पहिचान हुनेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ। अस्पतालका अनुसार सन् २०२५ मा ३ हजार ८४ जना पुरुष र ३ हजार ७७४ जना महिलामा क्यान्सर रोग पुष्टि भएको थियो।

पछिल्लो १२ वर्षको अवधिलाई हेर्ने हो भने ओपीडीमा झन्डै १ लाख १७ हजार ६१५ जना बिरामी बढी आएको देखिन्छ। सन् २०१३ मा ९५ हजार ३६२ जना बिरामीले ओपीडी सेवा लिएका थिए।

विश्वभर क्यान्सरका बिरामीहरूको तथ्याङ्क राख्ने एक संस्थाले गरेको अनुमानलाई आधार मान्ने हो भने नेपालमा बर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन्। तीमध्ये ३५ प्रतिशत मात्रै अस्पतालमा आउने गरेका छन्।

अस्पतालमा दर्ता भएका बिरामीहरूको सङ्ख्याका आधारमा नेपालमा तीव्र रूपमा क्यान्सर रोगी बढिरहेको चिकित्सकहरूको भनाइ छ।

गत वर्ष (सन् २०२५ मा) अस्पताल आएका नयाँ बिरामीमध्ये सबैभन्दा बढी नाक, कान, घाँटीको समस्या भएका ५ हजार ४४२ जना, प्रसूतिसम्बन्धी समस्या भएका ४ हजार ४०९ जना, स्तनसम्बन्धी समस्या भएका ४ हजार १२६ जना, छाती तथा फोक्सोसम्बन्धी समस्या भएका ३ हजार १६९ जना, पेटसम्बन्धी समस्या भएका ३ हजार ६७ जना र हाडजोर्नीसम्बन्धी समस्या भएका २ हजार ४६२ जनाले ओपीडीबाट सेवा लिएका छन्।

अस्पतालमा सन् २०२५ मा ठूला ३ हजार ९१ शल्यक्रिया गरिएको छ। सन् २०२४ मा ३ हजार १६९ ठूला शल्यक्रिया गरिएको थियो। अस्पताल सञ्चालन भएको दिन दैनिक २० देखि २५ वटासम्म अप्रेसन हुने गरेको छ।

अस्पतालमा बिरामीको औसत बसाइ ७ दिन छ। केमोथेरापी लगाउनुपर्ने बिरामीको औसत साइकल २१ दिनको हुने गरेको छ। बिरामीको अकुपेन्सी दर ८० प्रतिशतभन्दा माथि छ। अस्पतालमा मृत्युदर ३.६४ प्रतिशत छ।

क्यान्सर अस्पतालमा दैनिक २२० देखि २४० जना बिरामीलाई रेडियोथेरापी सेवा दिइन्छ। क्यान्सर पत्ता लागेका ६० देखि ७५ प्रतिशत बिरामीलाई रेडियोथेरापी उपचार सेवा दिनुपरेको तथ्याङ्कमा उल्लेख छ। सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएको जानकारी दिँदै डा. अधिकारीले ११ हजार ५५९ जना बिरामीले अन्तरङ्ग (भर्ना भएर) सेवा लिएको बताए।

सन् २०२५ मा अस्पतालमा विकिरण प्रविधिबाट उपचार गराउनेको सङ्ख्या २ हजार ९७० रहेको छ भने डे केयरमा भर्ना भएर केमोथेरापी लिने बिरामीको सङ्ख्या २६ हजार ४७२ रहेको डा. अधिकारीले जानकारी दिए।

अस्पतालले सन् २०२५ मा १० हजार ९२० जना विपन्न बिरामीको निःशुल्क उपचार गरेको छ। विपन्नको उपचारबापत ४३ करोड १२ लाख १४ हजार १६१ रुपैयाँ बराबरको छुट बिरामीले पाएको देखिन्छ।

फोक्सो, स्तन र पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै

नयाँ क्यान्सरका बिरामीमध्ये सबैभन्दा बढी फोक्सोका क्यान्सरका बिरामी छन्। गत वर्ष अस्पतालमा थपिएका ६ हजार ८५८ नयाँ क्यान्सरका बिरामीमध्ये सबैभन्दा बढी फोक्सोका क्यान्सरका बिरामी छन्।

फोक्सोका ३८० पुरुष र ३७९ जना महिला गरी ७५९ जनामा फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो। पुरुष र महिलामा झन्डै बराबरजस्तो सङ्ख्यामा फोक्सोको क्यान्सर भएको पत्ता लागेको छ।

दोस्रोमा स्तनको क्यान्सर छ। गत वर्ष ७११ जना महिला र २० पुरुषमा स्तनको क्यान्सर भएर उपचार गरिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ। २० देखि ६० वर्ष र ६० देखि ७० वर्ष उमेर समूहका महिला र पुरुषमा यो क्यान्सर अधिक देखिएको छ।

तेस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर पर्दछ। गत वर्ष ६२२ जना महिलाले पाठेघरको मुखको क्यान्सर भएर अस्पतालमा उपचार गराएका छन्।

चौथो नम्बरमा पित्तथैली तथा पित्तनलीमा क्यान्सर भएका ३७७ जना बिरामी नयाँ थपिएका छन्। पाँचौँ नम्बरमा आमाशयको क्यान्सर पुष्टि भएका बिरामीको सङ्ख्या ३५६ रहेको थियो।

छैटौँ नम्बरमा रक्त तथा बोनम्यारोको क्यान्सर रहेको देखिन्छ। गत वर्ष ३५३ जना यस्ता नयाँ बिरामीमा यो रोग पत्ता लागेको थियो। अस्पतालका अनुसार गत वर्ष ५१ थरी क्यान्सरका बिरामी उपचारका लागि आएका थिए।

अस्पतालमा आउने ‘टप १०’ क्यान्सर रोगमा फोक्सोको क्यान्सर, स्तनको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, रगत तथा बोनम्यारो, आमाशय, जिब्रो, हड्डी, मलाशय, थाइराइड ग्रन्थि, पित्तथैली र पिसाबथैली परेका छन्। पाठेघर र स्तनको क्यान्सरबाहेक अधिकांश क्यान्सरमा महिलाको भन्दा पुरुषको सङ्ख्या बढी छ।

पुरुषमा पनि स्तन क्यान्सर भएको पाइएको छ। गत वर्षको तथ्याङ्कमा २० जना पुरुषलाई स्तनको क्यान्सर भएको पुष्टि भएको थियो। यस्तो सङ्ख्या सन् २०२३ मा १० रहेको थियो।

सहरिया जीवनशैली र खानपानका कारणले क्यान्सरका रोगीहरू बढिरहेको चिकित्सकहरू बताउँछन्। सुर्तीजन्य पदार्थको प्रयोग, रासायनिक मल र कीटनाशक विषादीको प्रयोग गरिएका खाना, मिसावटयुक्त खाना र प्रदूषणका कारण क्यान्सरका रोगी बढिरहेको उनीहरूको भनाइ छ। सुर्तीजन्य सामग्रीको प्रयोग क्यान्सर लाग्ने ३० प्रतिशत कारक बन्ने गरेको तथ्याङ्कले देखाउँछ।

सबैभन्दा बढी बिरामी चितवनका

भरतपुरको क्यान्सर अस्पतालमा देशका ७७ वटै जिल्ला र भारतका विभिन्न ठाउँबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन्। अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये अधिकांश चितवनका छन्।

सन् २०२५ मा अस्पताल आएका नयाँ बिरामीमध्ये ४ हजार ४१५ जना चितवनका, १ हजार ३७३ जना रुपन्देहीका, १ हजार २४४ जना नवलपुरका, १ हजार १८६ जना बाराका, १ हजार १०७ जना दाङका, १ हजार १७७ जना सर्लाहीका, ९९३ जना मकवानपुरका, ९०८ जना धनुषाका, ७६८ जना कास्कीका र ९२२ जना तनहुँका छन्।

क्यान्सर रोग पुष्टि हुनेमा सबैभन्दा बढी चितवनका ५६५, रुपन्देहीका ४६३, नवलपुरका २५६, दाङका २५५, धनुषाका २४१ र सर्लाहीका २१५ जना छन्। सबैभन्दा कम ओखलढुङ्गा, मुस्ताङ, काभ्रेपलाञ्चोक र सोलुखुम्बुका १-१ जनामा क्यान्सर रोग पुष्टि भएको थियो। भारतबाट उपचार गर्न आएकामध्ये १९५ जनामा क्यान्सर देखिएको थियो।

देशभर हुने क्यान्सरका बिरामीमध्ये ५० देखि ६० प्रतिशत बिरामीहरू उपचारका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने गरेको अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए।

उनका अनुसार ५० देखि ६० प्रतिशत भरतपुर क्यान्सर अस्पतालमा, २० प्रतिशत देशका अन्य भागका अस्पतालमा र २० प्रतिशत भारतसहितका तेस्रो देशमा उपचार गराउन पुग्ने गरेको पाइन्छ।

देशका अन्य अस्पतालभन्दा एकीकृत विशिष्ट सेवा यस अस्पतालले प्रदान गर्ने भएकाले बिरामीहरू टाढा-टाढाबाट ‘रिफर’ भएर आउने गरेका छन्। अस्पतालमा क्यान्सरको पहिलो स्टेजमा आएमा ८० प्रतिशत, दोस्रो स्टेजमा आएका बिरामी ६० प्रतिशतसम्म र तेस्रो स्टेजका बिरामी २५ देखि ३० प्रतिशतसम्म निको हुने गरेको अस्पतालका चिकित्सकहरूको भनाइ छ।

बिरामीलाई बेड, खाना, नास्ता निःशुल्क

५०० शय्याको अस्पतालमा आईसीयू, एचडीयू र क्याबिनबाहेकका सम्पूर्ण जनरल बेडहरू निःशुल्क दिँदै आइएको छ। अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीलाई दुई छाक खाना र एक छाक नास्ता अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले जानकारी दिए।

चीन सरकारको पूर्ण लगानीमा अस्पतालभित्र बोनम्यारो प्रत्यारोपण परियोजना सुरु गर्ने तयारी अगाडि बढेको छ। अस्पतालमा स्तनको क्यान्सर स्क्रिनिङ तथा डायग्नोसिस सेवा दिने मेमोग्राफी मेसिनसमेत सञ्चालनमा छ।

क्यान्सर अस्पतालले बिरामीहरूको उपचार मात्रै नभई क्यान्सरसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ। देशका विभिन्न जिल्लामा फरक-फरक समुदायमा क्यान्सर स्क्रिनिङ सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ।

क्यान्सर अस्पतालले स्तनको क्यान्सर, व्यक्तिगत सरसफाइ र क्यान्सरबाट जोगिने उपायका बारेमा जनचेतना फैलाउने काम पनि गर्दै आएको छ।

अस्पतालमा ७१८ कर्मचारी कार्यरत छन्। तीमध्ये १०० जना चिकित्सक हुन् भने २९५ जना नर्स कार्यरत छन्। सरकारबाट स्वायत्त संस्थाका रूपमा वि.सं. २०५३ मा ऐनमार्फत उपचार, अनुसन्धान र रोकथामको उद्देश्यले अस्पताल स्थापना भएको हो। चीन सरकारले निर्माण गरेको यस अस्पताल सुरुमा १०० शय्याको थियो भने पछि विस्तार गरेर ५०० शय्याको बनाइएको हो।

लेखक
सुवास पण्डित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?