+

क्यान्सरबारे सुनिने १० भ्रम र त्यसको सत्य

२०८३ असोज  १२ गते १७:३० २०८३ असोज १२ गते १७:३०
Shares
क्यान्सरबारे सुनिने १० भ्रम र त्यसको सत्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यान्सर संक्रामक रोग होइन र परिवारमा इतिहास नहुँदैमा क्यान्सर हुँदैन भन्ने पनि हुँदैन ।
  • क्यान्सरको प्रकार, अवस्था र समयमै पत्ता लागेअनुसार धेरै क्यान्सरको प्रभावकारी उपचार सम्भव छ ।
  • मोबाइल फोन प्रयोगले क्यान्सर गराउँछ भन्ने ठोस प्रमाण अहिलेसम्म स्थापित भएको छैन ।

‘क्यान्सर भयो ।’

यो सुन्नेबित्तिकै धेरैको मनमा पहिलो कुरा आउँछ, ‘अब बाँचिँदैन !’

समाजमा क्यान्सरलाई लिएर रहेको डर र गलत धारणाका कारण यस्तो सोच बन्ने गर्छ । तर क्यान्सर हुनु भनेको जीवनको अन्त्य होइन । यसको प्रकार, अवस्था र समयमै भएको उपचारअनुसार धेरै क्यान्सरको प्रभावकारी उपचार सम्भव छ ।

क्यान्सरबारे समाजमा फैलिएका यस्तै केही भ्रम र त्यसपछाडिको वास्तविकता जानौं ।

१. भ्रम : क्यान्सर संक्रामक हुन्छ ।

सत्य : क्यान्सर संक्रामक रोग होइन । त्यसकारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना पनि रहँदैन । तर केही संक्रमणले पछि क्यान्सरको जोखिम बढाउन सक्छन् । उदाहरणका लागि, हेपाटाइटिस बी र सी भाइरसले कलेजोको क्यान्सरको जोखिम बढाउन सक्छन् भने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) ले पाठेघरको मुखको क्यान्सरसहित केही अन्य क्यान्सरको जोखिम बढाउन सक्छ । यी संक्रमण भने एक व्यक्तिबाट अर्कोमा सर्न सक्छन् ।

२. भ्रम : परिवारमा कसैलाई क्यान्सर भएको छैन भने आफूलाई पनि हुँदैन ।

सत्य : क्यान्सर जोकोहीलाई हुन सक्छ । परिवारमा क्यान्सरको इतिहास नहुँदैमा क्यान्सर हुँदैन भन्ने हुँदैन । क्यान्सरको विकासमा उमेर, जीवनशैली, वातावरण, संक्रमण तथा शरीरका कोषमा हुने आनुवंशिक परिवर्तनलगायत विभिन्न कारणले भूमिका खेल्न सक्छन् । केही क्यान्सरमा वंशाणुगत जोखिम पनि हुन्छ, तर सबै क्यान्सर वंशाणुगत हुँदैनन् ।

३. भ्रम : क्यान्सर देखिएपछि छिट्टै मृत्यु हुन्छ ।

तथ्य : क्यान्सर हुनु भनेको मृत्यु निश्चित हुनु होइन । क्यान्सरको प्रकार, अवस्था र कुन चरणमा पत्ता लाग्यो भन्ने कुराले उपचार र परिणाममा ठूलो फरक पार्छ । केही क्यान्सर सुरुवाती चरणमै पत्ता लागेमा उपचारबाट निको हुन पनि सक्छन् । उपचारपछि लामो समयसम्म सामान्य जीवन बिताइरहेका क्यान्सरबाट बचेकाहरू पनि धेरै छन् । त्यसैले, सबै क्यान्सरलाई एउटै रूपमा बुझ्नु उचित हुँदैन ।

४. भ्रम : क्यान्सरको उपचार आफैं खतरनाक हुन्छ ।

तथ्य : क्यान्सरको उपचारमा केही साइड इफेक्ट देखिन सक्छन्, तर उपचारका फाइदा र जोखिम चिकित्सकले मूल्यांकन गर्छन् ।केमोथेरापी, विकिरण उपचार, शल्यक्रिया वा अन्य उपचारका क्रममा थकान, वाकवाकी, कपाल झर्ने, छालामा परिवर्तनजस्ता असर देखिन सक्छन् । तर सबै बिरामीमा एउटै असर देखिँदैन । उपचारका क्रममा देखिने धेरै साइड इफेक्टलाई औषधि तथा अन्य उपायबाट व्यवस्थापन गर्न सकिन्छ ।

५. भ्रम : क्यान्सरको उपचार गराइरहेका व्यक्तिले दैनिक काम गर्न सक्दैनन् ।

तथ्य : उपचारको प्रभाव व्यक्ति र उपचारको प्रकारअनुसार फरक हुन्छ । धेरै क्यान्सरको उपचार नियमित फलोअप गर्ने पनि गरिन्छ, जसमा बिरामीलाई लामो समय अस्पताल बस्न नपर्न सक्छ । स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहअनुसार धेरै बिरामीले उपचारकै क्रममा आफ्नो काम, परिवार र सामाजिक गतिविधिलाई निरन्तरता दिन सक्छन् । तर अत्यधिक थकान वा अन्य साइड इफेक्ट भएमा आरामलाई प्राथमिकता दिनुपर्छ ।

६. भ्रम : क्यान्सर सधैं अत्यन्तै पीडादायी हुन्छ ।

तथ्य : सबै क्यान्सरमा सुरुदेखि नै दुखाइ हुन्छ भन्ने छैन । क्यान्सरको प्रकार र अवस्थाअनुसार लक्षण फरक हुन्छन् । केही क्यान्सर प्रारम्भिक चरणमा कुनै स्पष्ट लक्षण वा दुखाइबिनै पनि हुन सक्छन् । रोग बढ्दै जाँदा वा शरीरका अन्य भागमा फैलिँदा दुखाइ हुन सक्छ ।

क्यान्सरका कारण दुखाइ भएमा त्यसलाई सहेर बस्नुपर्ने होइन । चिकित्सकको सल्लाहमा औषधि तथा अन्य उपचारबाट दुखाइ व्यवस्थापन गर्न सकिन्छ ।

८. भ्रम : वृद्धवृद्धालाई क्यान्सर भए उपचार गर्न सकिँदैन ।

तथ्य : उमेर बढ्दैमा क्यान्सरको उपचार असम्भव हुँदैन । वृद्ध उमेरमा उपचारको निर्णय गर्दा उमेरसँगै व्यक्तिको समग्र स्वास्थ्य, अन्य रोग, शारीरिक अवस्था, क्यान्सरको प्रकार र अवस्था आदिलाई हेर्ने गरिन्छ ।त्यसैले ‘उमेर धेरै भयो, उपचार हुँदैन’ भनेर उपचारबाट टाढा रहनु उचित हुँदैन ।

९. भ्रम : जडीबुटी वा आयुर्वेदिक औषधिले क्यान्सर निको पार्छ ।

तथ्य : जडीबुटी वा वैकल्पिक उपचारले क्यान्सर पूर्ण रूपमा निको पार्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाण छैन ।केही पूरक उपचारले उपचारका क्रममा देखिने केही लक्षण व्यवस्थापन गर्न सहयोग गर्न सक्छन् । तर यस्ता उपचारलाई प्रमाणित क्यान्सर उपचारको विकल्पका रूपमा प्रयोग गर्नु जोखिमपूर्ण हुन सक्छ ।कुनै पनि जडीबुटी, आयुर्वेदिक औषधि वा पूरक उपचार प्रयोग गर्नुअघि चिकित्सकसँग परामर्श गर्नु आवश्यक हुन्छ, किनकि केही पदार्थले क्यान्सरको औषधिसँग अन्तरक्रिया गर्न सक्छन् ।

१०. भ्रम : मोबाइल फोन प्रयोग गर्दा वा सिरानीनजिक राखेर सुत्दा क्यान्सर हुन्छ ।

तथ्य : मोबाइल फोनको प्रयोगले क्यान्सर गराउँछ भन्ने ठोस प्रमाण अहिलेसम्म स्थापित भएको छैन । मोबाइल फोनले रेडियोफ्रिक्वेन्सी ऊर्जा उत्सर्जन गर्छ, जुन आयोनाइजिङ विकिरणभन्दा फरक हुन्छ । हालसम्म मोबाइल फोनको प्रयोग र क्यान्सरबीच प्रत्यक्ष कारण–परिणाम सम्बन्ध प्रमाणित भएको छैन ।

तर मोबाइल अत्यधिक प्रयोग गर्दा निद्रामा असर, आँखामा थकान वा शारीरिक निष्क्रियताजस्ता अन्य समस्या हुन सक्छन् ।

क्यान्सर क्यान्सर रोग मिथक
डा. समिम अख्तर
लेखक
डा. समिम अख्तर
क्यान्सररोग विशेषज्ञ

डा. अख्तर हाल ललितपुरको किष्ट मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रुपमा कार्यरत छन् । क्यान्सर रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरबारे सुनिने १० भ्रम र त्यसको सत्य

क्यान्सरबारे सुनिने १० भ्रम र त्यसको सत्य

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक