केही दिनअघि १९ वर्षीय एक युवक रेबिज विरुद्धको खोप लगाउन अस्पताल आइपुगे । उनले नियमितजसो देखिइरहने र कहिलेकाहीँ खानेकुरासमेत दिने एउटा सडक कुकुर बिरामी परेपछि त्यसलाई भेटेरिनरी क्लिनिकमा लगेका रहेछन् ।
कुकुर शान्त नै थियो । तर उसलाई श्वासप्रश्वासमा समस्या देखियो र बान्ता पनि भयो । उपचारकै क्रममा कुकुरको मृत्यु भयो । मृत्युको कारण खोज्दा रेबिज भाइरस पोजेटिभ देखिएपछि ती युवकलाई पनि रेबिजविरुद्धको खोप लगाउन सुझाव दिइयो ।
त्यसै दिन २८ वर्षीय अर्का युवक पनि आफ्नै घरमा पालेको कुकुरको मृत्यु भएपछि रेबिजविरुद्धको खोप लगाउन टेकु अस्पताल आइपुगे । कुकुरको आँखा रातो भएको थियो, श्वासप्रश्वासमा समस्या थियो र घाँटीमा केही अड्किए जस्तो देखिन्थ्यो । घरकै मानिसलाई समेत पटक–पटक झम्टिने र टोक्ने प्रयास गरेपछि पशु चिकित्सकको सल्लाहमा उनी खोप लगाउन अस्पताल आएका थिए ।
११ असोजमा एक कृषकको गाई मरेपछि पनि पशु चिकित्सकको विश्लेषणका आधारमा रेबिजविरुद्धको खोप लगाउन सुझाव दिइयो । उनी पनि खोप लगाउन अस्पताल आइपुगे ।
यी तीन घटना काठमाडौंभित्रैका प्रतिनिधि घटना हुन् ।
समुदायमा रहने कुकुरमा रेबिज सम्भवतः अर्को संक्रमित कुकुरको टोकाइबाट सरेको देखिन्छ । तर त्यो कुकुर रेबिज लागेको जनावरमा देखिने जस्तो उग्र वा ‘बहुला’ अवस्थामा भने थिएन ।

घरमा पालिएको कुकुरमा रेबिज संक्रमणको स्रोत भने स्पष्ट थिएन । कुकुरका मालिकका अनुसार घरमा चमेरा आइरहने भएकाले त्यसको सम्पर्कबाट संक्रमण सरेको हुनसक्ने अनुमान गरिएको थियो । यद्यपि, नेपालमा चमेराबाट रेबिज भाइरस सरेको आधिकारिक पुष्टि वा तथ्यांक छैन ।
अमेरिका तथा युरोपमा भने चमेराबाट मानिसमा रेबिज सर्ने घटना देखिएका छन् । नेपालमा चमेरामै रेबिज भाइरसको संक्रमण छ वा छैन भन्नेबारे पनि पर्याप्त आधिकारिक तथ्यांक उपलब्ध छैन ।
गाई वा भैँसीमा भने काठमाडौंमा बेलाबेलामा रेबिज देखिने गरेको पाइन्छ । यस्ता जनावरमा समुदायमा रहने संक्रमित कुकुर वा कहिलेकाहीँ स्याल जस्ता जंगली जनावरको टोकाइबाट रेबिज सर्ने गरेको देखिन्छ ।
यी सबै अवस्थालाई हेर्दा काठमाडौंमा रेबिजको जोखिमलाई सामान्य रूपमा लिन मिल्दैन । काठमाडौंमा रेबिज ‘टिकिङ बम’ (कुनै पनि बेला विस्फोट हुनसक्ने) को अवस्थामा रहेको देखिन्छ ।
नेपालमा रेबिज किन निरन्तर देखिइरहेको छ ?
यो गम्भीर प्रश्नको उत्तर खोज्ने क्रममा मैले वर्षौँदेखि दर्जनौँ रेबिजका बिरामीसँग अन्तर्क्रिया गरेको छु । दुर्भाग्यवश, रेबिजका लक्षण देखिइसकेका तीमध्ये अधिकांश बिरामीको अन्तर्वार्ता लिएको केही दिनमै मृत्यु भयो । उनीहरूमा बालबालिकादेखि ७० वर्षभन्दा माथिका वृद्धसम्म थिए ।
उनीहरूको अनुभव सुन्दा एउटा कुरा समान देखिन्थ्यो– रेबिजबारे धेरैलाई थाहा थियो । वयस्कमध्ये अधिकांशले रेबिजबारे सुनेका थिए र खोप उपलब्ध हुन्छ भन्ने जानकारी पनि थियो । तर जानकारी हुँदाहुँदै पनि नेपालमा रेबिज ‘साइलेन्ट किलर’का रूपमा निरन्तर देखिनु दुःखद् छ ।
दशकौँअघि रेबिजको खोप सहज रूपमा उपलब्ध थिएन । त्यसबेला समयमा खोप लगाउन नपाउनु नै रेबिजबाट मृत्युको प्रमुख कारण हुन सक्थ्यो । अहिले भने सरकारले सरकारी स्वास्थ्य संस्थाबाट रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । कहिलेकाहीँ अभाव देखिए पनि खोपको उपलब्धता विगतको तुलनामा सहज छ ।
तर, मेरो वर्षौँको अनुभव र अध्ययनले नेपालमा रेबिजका घटना निरन्तर देखिनुमा केही प्रमुख कारण रहेको देखाउँछ ।
१. औषधि पसलबाट गलत परामर्श
जनावरले टोकेपछि सुरुमा नजिकैको औषधि पसलमा जाने प्रचलन छ । विशेषगरी गाउँघरमा जनावरले टोकेपछि रेबिजविरुद्धको खोप कहिले लगाउने वा नलगाउने भन्ने विषयमा गलत परामर्श पाउने गरेको देखिन्छ ।
झन्डै एक वर्षअघि रेबिजका लक्षण देखिइसकेपछि एक युवक टेकु अस्पताल आएका थिए । अस्पतालको ओपीडीमा प्रवेश गर्नेबित्तिकै उनले पंखा बन्द गर्न आग्रह गरे । यसबाट उनलाई ‘एरोफोबिया’ अर्थात् हावादेखि डर लाग्ने समस्या स्पष्ट देखिन्थ्यो । पानी दिँदा पनि डराउने ‘हाइड्रोफोबिया’को लक्षण देखियो । अर्थात्, रेबिजका शास्त्रीय लक्षणहरू उनीमा देखिइसकेका थिए ।

उनलाई करिब पाँच महिनाअघि दशैंमा गाउँ गएको बेला बाटोमा डुलिरहेको एउटा कुकुरले टोकेको रहेछ । कुकुरले टोकेपछि उनी तुरुन्तै नजिकैको औषधि पसलमा पुगेका थिए । तर त्यहाँ कुकुरलाई आफूले सधैँ देखिरहने भएकाले आत्तिनु नपर्ने र टिटानसको सुई लगाए मात्र पुग्ने सल्लाह दिइएको रहेछ । त्यसैले उनले रेबिजविरुद्धको खोप लगाएनन् ।
पछि उक्त कुकुर रेबिज संक्रमित रहेको पुष्टि भयो । युवकमा पनि रेबिज संक्रमण भयो र अन्ततः उनको मृत्यु भयो ।
यस्ता अरू धेरै घटना पनि सही सूचना र परामर्शको अभावका कारण हुने गरेका छन् ।
२. ‘घाउ सानो छ, खोप चाहिँदैन’ भन्ने भ्रम
काठमाडौंमा १७ वर्षीया एक युवती बहिनीसँग बाटोमा हिँडिरहेका बेला अचानक कुकुरको टोकाइमा परिन् । घाउ सानो थियो र धेरै रगत पनि आएको थिएन । त्यसैले रेबिजविरुद्धको खोप लगाउन आवश्यक छैन भन्ने ठानियो । तर पछि ती युवतीको रेबिजका कारण मृत्यु भयो ।
अहिले पनि हाम्रो समाजमा ‘घाउ सानो छ’, ‘रगत आएको छैन’ वा ‘सामान्य चोट मात्र हो’ भने खोप लगाउनु पर्दैन भन्ने गलत धारणा बलियो छ ।
ठूलो घाउ हुँदा डरका कारण मानिसहरू तुरुन्त अस्पताल पुग्छन् । तर सानो घाउलाई बेवास्ता गर्ने प्रवृत्ति छ । पछिल्लो समय रेबिजका कारण मृत्यु हुनेमध्ये यस्ता घटनासमेत देखिन्छन् ।
जनावरले टोकेको अवस्थामा घाउ ठूलो होस् वा सानो, जोखिमको मूल्यांकन गराएर रेबिजविरुद्धको खोपका लागि तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ ।
३. ‘छाउराले टोकेको हो, खोप चाहिँदैन’ भन्ने भ्रम
कुकुरको सानो छाउराले टोकेका कारण रेबिजको जोखिम हुँदैन भन्ने भ्रम पनि छ । यही सोचका कारण कतिपय मानिस रेबिजको जोखिममा पर्ने गरेका छन् ।
कुकुर सानो होस् वा ठूलो, त्यसको स्वास्थ्य अवस्था र खोपको इतिहासबारे यकिन जानकारी छैन भने टोकाइपछि रेबिजको जोखिमलाई गम्भीर रूपमा लिनुपर्छ । विशेषगरी समुदायमा रहने कुकुरका छाउरालाई अन्य संक्रमित कुकुरले टोक्ने सम्भावना हुने भएकाले तिनको टोकाइलाई पनि बेवास्ता गर्नु हुँदैन ।
४. बालबालिकाले अभिभावकलाई टोकाइबारे नभन्नु
केही वर्षअघि एक ८ वर्षीय बालकको रेबिजका कारण मृत्यु भयो । उनलाई घरमै खाने र सुत्ने तर दिउँसो गाउँतिर डुल्ने एउटा कुकुरले टोकेको रहेछ । बाहिर डुलिरहने भएकाले उक्त कुकुर रेबिज संक्रमित भएको थियो ।
तर, कुकुरले टोकेको कुरा घरमा भने अभिभावकबाट कुटाइ खाने डरले बालकले घटना लुकाए । पछि रेबिजका लक्षण देखिए र अन्ततः उनको मृत्यु भयो ।
बालबालिका स्वभावैले चञ्चल हुन्छन् । जनावरले टोकेको कुरा अभिभावकलाई भन्दा पिटाइ खाने डरले लुकाउने घटना हुने गरेको अस्पतालमा आउने अभिभावकहरूको अनुभवबाट पनि देखिन्छ ।
त्यसैले, बालबालिकालाई जनावरले टोकेमा लुकाउनु हुँदैन भन्नेबारे सिकाउनुपर्छ । अभिभावक पनि बालबालिकाका गतिविधिप्रति विशेष रूपमा सचेत हुन आवश्यक छ ।

५. खोप लगाउन आफैँले गरेको बेवास्ता
अन्तर्क्रियाका क्रममा रेबिजका बिरामीलाई ‘रेबिजविरुद्धको खोपबारे थाहा छ ?’ भनेर सोध्दा अधिकांशले सुनेको वा जानकारी भएको बताएका थिए ।
तर, जानकारी भएर मात्र पुग्दैन । खोप लगाउन ढिला गर्दा रेबिज लागेर मृत्यु हुने गरेको छ ।
कतिपयले ‘भोलि जान्छु’, ‘पर्सि जान्छु’ भन्दै टोकाइको घाउ निको भएपछि अस्पताल जानै नपर्ने ठानेका थिए । कतिपय जनावरले टोकेपछि अस्पताल जानुको सट्टा धामीझाँक्रीकहाँ पुगे । अस्पताल आइपुग्दा ढिला भइसकेको थियो ।
रेबिजलाई विश्वमै उपेक्षित रोगका रूपमा लिइन्छ । तर नेपालमा समस्या अर्को पनि छ– जनावरले टोकेपछि स्वयंले नै रोगलाई उपेक्षा गर्ने प्रवृत्ति ।
त्यसैले, रेबिज रोगबारे जानकारी दिनु मात्र पर्याप्त छैन । जनावरले टोकेपछि समयमै खोप लगाउनुको महत्त्वबारे पनि व्यापक रूपमा जनचेतना फैलाउन आवश्यक छ ।
धामीझाँक्रीलाई समेत रेबिजबारे आधारभूत जानकारी र तालिम दिन सकिए उनीहरूले पनि जनावरले टोकेका मानिसलाई समयमै खोप लगाउन स्वास्थ्य संस्थामा पठाउन सक्छन् । यसबाट रेबिजका कारण हुने धेरै मृत्यु रोक्न सकिन्छ ।
काठमाडौंमा कति ठूलो छ रेबिजको जोखिम ?
अस्पतालको तथ्यांक हेर्दा रेबिजका धेरै बिरामी काठमाडौं बाहिरका जिल्लाबाट आएको देखिन्छ । तर काठमाडौंमै पनि रेबिज भाइरसको जोखिम व्यापक रहेको माथि उल्लेखित समुदायमा रहने कुकुर, घरपालुवा कुकुर र गाई–भैँसीका घटनाले संकेत गर्छन् ।
काठमाडौंमा रेबिजको वास्तविक जोखिम कति छ भन्नेबारे विस्तृत र पर्याप्त खोज तथा अनुसन्धान भएको देखिँदैन । तर दैनिकजसो रेबिजविरुद्धको खोप लगाउन आउने घाइते तथा पशु चिकित्सकहरूसँगको अनौपचारिक कुराकानीबाट काठमाडौंमा रेबिजको जोखिमलाई सामान्य रूपमा लिन नसकिने देखिन्छ ।
रेबिज नियन्त्रणका लागि खोप मात्र पर्याप्त हुँदैन । खोपको महत्त्व, जनावरले टोकेपछि तत्काल स्वास्थ्य संस्थामा जानुपर्ने आवश्यकता र गलत धारणाविरुद्धको जनचेतना पनि उत्तिकै आवश्यक छ ।
काठमाडौंका अधिकांश औषधि पसलमा रेबिजविरुद्धको खोप उपलब्ध हुनु र थप परामर्शका लागि तत्काल वा भोलिपल्टै टेकु अस्पताल पुग्न सकिने अवस्थाले जोखिम घटाउन सहयोग गरेको देखिन्छ ।
तर, माथि उल्लेखित कारणहरू काठमाडौंमा पनि बढ्दै गए भने रेबिजका कारण ठूलो मानवीय क्षति हुन सक्ने जोखिमलाई बेवास्ता गर्न सकिँदैन ।
(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)
प्रतिक्रिया 4