+
+
Shares

सांसद कुँवरको प्रश्न– रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप नपाइने तर निजी क्लिनिकमा महँगो मूल्यमा सजिलै उपलब्ध हुने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • क्यान्सर रोगका औषधिहरूको अभाव कृत्रिम हो कि व्यवस्थापन कमजोरी भनी सांसद क्षेत्रीले सरकारसँग प्रश्न उठाउँदै तत्काल समाधानको माग गर्नुभएको छ ।
  • ग्यास सिलिण्डरका लागि नागरिकले दिनभर लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै उहाँले सेवा प्रवाहमा देखिएको ग्यापको गहिरो अध्ययन गरी जिम्मेवारीपूर्वक काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले रेबिजविरुद्धको खोप सरकारी अस्पतालमा नपाइने तर महँगो मूल्य तिरे निजी क्लिनिकमा पाइने भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।

उनले यो विषय प्रतिनिधिसभाको बैठकमा उठाएकी हुन् ।

‘मलाई एउटा कुरा अलि अचम्म पनि लाग्यो । सरकारी अस्पतालहरूमा रेबिज विरुद्धको खोपको हाहाकार छ तर त्यही खोप अलिकति महँगो मूल्य तिर्दा निजी क्लिनिकहरूमा सजिलै उपलब्ध छ,’ उनले भनिन् ।

त्यसैगरी क्यान्सर रोगका अति आवश्यक केही औषधिहरू पनि बजारमा अभाव रहेको गुनासो आइरहेको भनेर उनले भनिन्, ‘यसमा मेरो सरकारसँग सिधा प्रश्न छ– यो कृत्रिम अभाव हो कि सरकारले व्यवस्था गर्दा गर्दै पनि सम्बन्धित निकायले उचित व्यवस्थापन गर्न नसकेको हो ?’

साथै सरकार र निगमले नागरिकलाई पुग्ने गरी ग्यास मौज्जात रहेको बताइएको पनि उनले स्मरण गराइन् । कतिपय नागरिकहरूले आवश्यकता भन्दा बढी ग्यास सिलिण्डर खरिद गरेर घरमै भण्डारण गरेको पनि सुनिएको बताइन् ।

‘आम नागरिकले एउटा ग्यास सिलिण्डर पाउन पनि दिनभर लामो लाइन बस्नुपर्ने पीडादायी अवस्था छ । यसको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन्, ‘म अत्यन्त गम्भीरताका साथ भन्न चाहन्छु– सरकारले दिन खोजेको सेवा र नागरिकले पाउनु पर्ने सेवा बीच यत्रो ठूलो ग्याप किन भइरहेको छ ?’

यी कुनै पनि समस्या अहिले मात्र उत्पन्न भएका नयाँ समस्याहरू नभएको उल्लेख गर्दै थपिन्, ‘यस्तो अवस्था किन र कसरी सिर्जना भइरहेको छ ? यो विषयमा गहिरेर अध्ययन गर्दै जिम्मेवारीपूर्वक समाधानको पहल गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?