+

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

२०८३ असोज  ११ गते १९:०२ २०८३ असोज ११ गते १९:०२
Shares
मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा मिर्गौलाको बायोप्सी गर्ने हरेक ४ जनामध्ये १ जनामा आईजीए नेफ्रोप्याथी देखिएको छ ।
  • चिकित्सकको सल्लाहमा रक्तचाप नियन्त्रण, संक्रमणको उपचार, नुन कम र जथाभावी औषधि नखानु मिर्गौला जोगाउने उपाय हुन् ।

हामीले प्रायः मिर्गौला बिग्रनुका कारणहरू सुनेका छौं– मधुमेह, उच्च रक्तचाप, वा धेरै पेनकिलर खानु । तर, कहिलेकाहीँ मिर्गौला बिग्रनुको कारण यी भन्दा फरक हुन्छ ।

कहिलेकाहीँ हाम्रो शरीरको आफ्नै प्रतिरक्षा प्रणालीले नै मिर्गौलामा आक्रमण गर्छ । यस्तो अवस्थालाई चिकित्सा विज्ञानको भाषामा ग्लोमेरुलोनेफ्राइटिस भनिन्छ । र, यसैको एउटा प्रमुख प्रकार हो– आईजीए नेफ्रोप्याथी । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा मिर्गौलाको बायोप्सी गर्ने हरेक ४ जनामध्ये १ जना बिरामीमा यही रोग देखिएको छ । धेरैलाई थाहा नभएको यो एउटा ‘मौन महामारी’ हो ।

के हो ग्लोमेरुलोनेफ्राइटिस ?

मिर्गौलाभित्र लाखौं साना-साना फिल्टरहरू हुन्छन्, जसलाई ‘ग्लोमेरुली’ भनिन्छ । यी फिल्टरहरूको काम हो– रगतबाट फोहोर पदार्थ छानेर पिसाब बनाउनु र शरीरलाई चाहिने प्रोटिन जस्ता महत्त्वपूर्ण तत्त्वहरूलाई रगतमै रोक्नु हो । जब यी साना फिल्टरहरूमा सुन्निने समस्या हुन्छ वा तिनीहरू बिग्रन्छन्, तब त्यसलाई ‘ग्लोमेरुलोनेफ्राइटिस’ भनिन्छ ।

यसलाई एउटा उदाहरणबाट बुझ्न सकिन्छ:

कल्पना गर्नुहोस्, तपाईंको घरमा पानी छान्ने एउटा फिल्टर छ । यदि त्यो फिल्टरको जाली च्यातियो वा फोहोरले थुनियो भने, या त सफा पानीसँगै फोहोर पनि बाहिर निस्कन्छ, वा फिल्टरबाट पानी नै पास हुन पाउँदैन । ठीक त्यस्तै काम मिर्गौलाको ‘ग्लोमेरुली’मा हुन्छ । जब यो बिग्रिन्छ, रगतमा हुनुपर्ने प्रोटिन पिसाबबाट चुहिन्छ र शरीरमा रहनुपर्ने फोहोर रगतमै जम्मा हुन थाल्छ ।

के हो आईजीए नेफ्रोप्याथी ?

ग्लोमेरुलोनेफ्राइटिसका धेरै प्रकारहरूमध्ये आईजीए नेफ्रोप्याथी धेरैमा हुने आम समस्या हो । यसलाई ‘बर्जर डिजिज’ पनि भनिन्छ। हाम्रो शरीरमा ‘आईजीए’ नामक एउटा प्रोटिन हुन्छ, जसले रुघाखोकी, घाँटीको संक्रमण जस्ता रोगविरुद्ध लड्न मद्दत गर्छ ।

सामान्यतया यो प्रोटिन काम सकेपछि नष्ट हुन्छ । तर, आईजीए नेफ्रोप्याथी भएका व्यक्तिहरूमा यो आईजीए प्रोटिन ‘खराब’ रूपमा बन्छ र मिर्गौलाको फिल्टरमा आएर थुप्रिन थाल्छ । यसले मिर्गौला सुन्निने समस्या निम्त्याउँछ र बिस्तारै मिर्गौलाको क्षमता घटाउँदै लैजान्छ ।

यो रोग किन लाग्छ ?

वैज्ञानिकहरूले यो रोग कसरी लाग्छ भन्ने बुझ्न एउटा सिद्धान्त अघि सारेका छन्, जसलाई ४–हिट हाइपोथेसिस‘ अर्थात चार चरणको आक्रमण भनिन्छ ।

यसलाई सरल भाषामा यसरी बुझ्न सकिन्छ:

हिट–१ (पहिलो प्रहार) : हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले एउटा अस्वभाविक वा ‘खराब’ प्रकारको आईजीए प्रोटिन बनाउँछ । यसलाई एउटा कुनै कारखानाले बिग्रिएको सामान उत्पादन गरेको जस्तो मान्न सकिन्छ ।

हिट–२ (दोस्रो प्रहार) : हाम्रो शरीरकै अर्को प्रतिरक्षा प्रणालीले यो ‘खराब’ आईजीएलाई बाहिरी दुश्मन ठानेर त्यसमाथि आक्रमण गर्छ ।

हिट– ३ (तेस्रो प्रहार) : ती खराब आईजीए र तिनीहरूलाई आक्रमण गर्ने एन्टिबडीहरू आपसमा टाँसिएर रगतमा ठूलो गुच्छा बन्छन् ।

हिट– ३ (चौथो प्रहार) : यो फोहोरको गुच्छा रगतको माध्यमबाट मिर्गौलाको फिल्टरमा पुगेर अड्किन्छ । यसले मिर्गौलामा सुन्निने समस्या निम्त्याउँछ र फिल्टरहरू बिस्तारै फुट्न थाल्छन्।

कसरी चिन्ने यो रोगलाई ?

यो रोगको सुरुवाती चरणमा यसले कुनै पनि लक्षण देखाउँदैन । सबैभन्दा डरलाग्दो पक्ष नै यही हो । धेरैजसो मानिसमा मिर्गौलाको ठूलो क्षति भइसकेपछि मात्र यो रोगको पत्ता लाग्छ।

रोग बढ्दै जाँदा देखिन सक्ने लक्षणहरू

१.पिसाबमा रगत आउनु

पिसाबको रङ गाढा खैरो, रातो वा कोला जस्तै हुनु । यो प्रायः रुघाखोकी वा घाँटीको संक्रमण भएपछि अचानक देखिन सक्छ।

२.पिसाब धेरै फिज

पिसाबमा धेरै फिज आउनु । यसको अर्थ मिर्गौलाबाट शरीरको आवश्यक प्रोटिन पिसाबबाट चुहिनु हो ।

३.सुन्निने समस्या

हात, खुट्टा वा अनुहार, विशेषगरी आँखा वरिपरि सुन्निनु ।

४.उच्च रक्तचाप

अचानक रक्तचाप बढ्नु वा नियन्त्रण नहुनु ।

५.कसरी पत्ता लगाउने ?

यो रोगका लक्षणहरू अन्य मिर्गौला रोगसँग मिल्दोजुल्दो हुने भएकाले सही निदान गर्न विशेषज्ञको आवश्यकता पर्छ ।

१. पिसाब र रगत परीक्षण

पिसाबमा रगत वा प्रोटिन छ कि छैन र रगतमा क्रिएटिनिनको मात्रा कति छ भनेर जाँच गरिन्छ ।

२. मिर्गौला बायोप्सी

यो नै यस रोग पत्ता लगाउने सबैभन्दा भरपर्दो उपाय हो । मिर्गौलाबाट सुईमार्फत सानो टुक्रा लिएर माइक्रोस्कोपमा हेर्दा आईजीए प्रोटिन जम्मा भएको स्पष्ट देखिन्छ । धेरै मानिसहरू बायोप्सी गर्न डराउँछन्, तर यो एउटा सुरक्षित प्रक्रिया हो र यसले नै तपाईंको मिर्गौलामा कुन प्रकारको रोग छ भन्ने यकिन गर्छ ।

कसरी जोगाउने मिर्गौलालाई ?

आईजीए नेफ्रोप्याथीलाई पूरै निको पार्ने एउटै औषधि नभए पनि, सही समयमा ध्यान दिएमा मिर्गौलालाई लामो समयसम्म सुरक्षित राख्न सकिन्छ । यसको मुख्य उद्देश्य मिर्गौला बिग्रने गतिलाई रोक्नु र बिरामीको दैनिक जीवनयापन सहज बनाउनु हो ।

यसका लागि चिकित्सकको सल्लाहमा निम्न  उपायहरू अपनाइन्छ

१.रक्तचाप नियन्त्रण राख्ने

मिर्गौला जोगाउने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको उच्च रक्तचापलाई सधैं नियन्त्रणमा राख्नु हो । डाक्टरले दिएको प्रेसरको औषधि नियमित खाँदा मिर्गौलाको फिल्टरमा पर्ने चाप कम हुन्छ र पिसाबबाट प्रोटिन चुहिन रोकिन्छ ।

२.सुन्निने समस्या कम गर्नेु

शरीरमा पानी जमेर हातखुट्टा वा अनुहार सुन्निएको छ भने, चिकित्सकले पिसाब खुलाउने सामान्य औषधिहरू दिन्छन् । यसले शरीरमा जम्मा भएको अतिरिक्त पानी र नुन बाहिर निकाल्न मद्दत गर्छ ।

३.प्रतिरक्षा प्रणालीलाई शान्त राख्ने

कहिलेकाहीँ हाम्रो आफ्नै शरीरले मिर्गौलामा आक्रमण गरिरहेको हुन्छ । यस्तो अवस्थामा चिकित्सकले शरीरको प्रणालीलाई शान्त राख्न र मिर्गौला सुन्निन कम गर्न केही विशेष औषधिहरू चलाउन सक्छन् ।

४.कोलेस्टेरोल नियन्त्रण गर्ने

मिर्गौलाको समस्या हुँदा रगतमा कोलेस्टेरोल बढ्ने जोखिम हुन्छ । त्यसैले खानपानमा ध्यान दिएर वा आवश्यक परे सामान्य औषधिको मद्दतले यसलाई सन्तुलनमा राख्नुपर्छ ।

५.रुघाखोकी र संक्रमणको तुरुन्तै उपचार गर्ने

घाँटी दुख्ने, टन्सिल हुने वा रुघाखोकी जस्ता सामान्य संक्रमणले पनि यो रोगलाई अचानक बल्झाउन सक्छ । त्यसैले यस्ता समस्या देखिनासाथ हेलचेक्र्याइँ नगरी तुरुन्तै उपचार गरिहाल्नुपर्छ ।

दैनिक जीवनमा अपनाउनुपर्ने ५ उपाय

१. नुनको सेवन ह्वात्तै घटाउने

खानामा कम नुन खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ र मिर्गौलामा थप चाप पर्दैन । प्रशोधित खाना, अचार, र चाटपटे जस्ता खानेकुरा कम खाने ।

२. प्रोटिनको मत्रा सन्तुलित राख्ने

अत्यधिक प्रोटिन (मासु, अण्डा, प्रोटिन पाउडर) खाँदा मिर्गौलालाई फोहोर छान्न थप मेहनत गर्नुपर्ने हुन्छ । डाइटिसियनको सल्लाहमा मात्र प्रोटिनयुक्त खाना खानुहोस्।

३. धूमपान र मदिरा त्याग्ने

धूमपानले मिर्गौलाका साना रगतका नसाहरूलाई संकुचित गर्छ र रोग छिटो विकसित हुन मद्दत गर्छ ।अत्यधिक मदिरा सेवनले शरीरमा पानीको मात्रा कम हुन्छ । साथै उच्च रक्तचापका कारण पनि मिर्गौलामा असर गर्छ । नियमित रूपमा रक्सी पिउनाले मिर्गौला रोग लाग्ने वा मिर्गौला फेल हुने जोखिम दोब्बरभन्दा बढीले वृद्धि हुन्छ । त्यसैले धुम्रपान र मदिरा सेवन त्याग्नुपर्छ ।

४. शरीरको तौल सन्तुलनमा राख्ने

मोटोपनले मिर्गौलामा थप चाप पार्छ । शरीरको तौल सही आवश्यक छ । नियमित व्यायाम गर्ने । अतिरिक्त कार्बोहाइड्रेनयुक्त खानेकुरा नखाने गर्नाले तौल नियन्त्रणमा राख्न सजिलो हुन्छ ।

५. जथाभावी आफूखुसी औषधि नखाने

कुनै पनि पेनकिलर, आयुर्वेदिक वा झोले औषधिहरू चिकित्सकको सल्लाहबिना नखानुहोस् । केही औषधिहरूले मिर्गौलालाई प्रत्यक्ष असर गर्छन् ।

ग्लोमेरुलोनेफ्राइटिस फिल्टर मिर्गौला
डा. दीपक शर्मा
लेखक
डा. दीपक शर्मा
मिर्गौला रोग विशेषज्ञ

डा. दीपक शर्माले काठमाडौं विश्वविद्यालयबाट नेफ्रोलोजी डीएम गरेका छन् । उनी हाल धुलिखेल अस्पतालमा कन्सल्टेन्ट नेफ्रोलोजिस्टका रूपमा कार्यरत छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक