२६ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गोरखाको चुम्चेत नजिक पहिरोले बूढीगण्डकी नदीको बहाव अस्थायी रूपमा थुनिएपछि त्यसको अवरोध फुटेर विनाशकारी बाढी आएको हुन सक्ने प्रारम्भिक आकलन गरेको छ ।
इसिमोडले आइतबार बिहान करिब ४ बजे सुरु भएको बाढीको प्रारम्भिक विवरण विश्लेषण गर्दै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुटेको हुन सक्ने जनाएको हो ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरले पनि नेपाली सेनाको रिपोर्टिङका आधारमा यस्तै अनुमान गरेको थियो ।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीतिक नेतृत्वकर्ता छियाङगङ झाङले पनि आइतबार बूढीगण्डकीमा आएको बाढीको प्रारम्भिक विश्लेषणले पहिरोबाट बनेको अस्थायी अवरोध फुटेर गेग्रानयुक्त बाढी आएको हुनसक्ने देखाएको बताएका छन् ।
उनका अनुसार इसिमोडको यो विश्लेषण नेपाली समयअनुसार आइतबार बिहान ११:३० बजेसम्म सार्वजनिक रूपमा उपलब्ध सूचनामा आधारित छ । उद्धार तथा अनुसन्धानका काम जारी रहेकाले घटनासम्बन्धी तथ्यांक र क्षतिको विवरण परिवर्तन हुन सक्ने उनले बताए ।
विनाशकारी बाढीले केही व्यक्ति बेपत्ता भएको, घरहरू बगेको, जलविद्युत् आयोजना तथा पुलहरूमा क्षति पुगेको विवरणहरू आएका छन् । गोरखाको सेल्लेरीस्थित ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनास्थलमा पनि गम्भीर क्षति पुगेको प्रारम्भिक विवरण छ ।
बाढीले भौतिक क्षति धेरै भए पनि मानवीय क्षति भने पुष्टि नभएको प्राधिकरणले जनाएको छ । तर, क्षतिको यकिन विवरण आउन बाँकी छ ।
बाढीले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा कालो माटोसहितको गेग्रान र विभिन्न प्रकारका अवशेष बगाएर तल्लो तटीय क्षेत्रमा पुर्याएको थियो । पानीको सतहमा उतारचढाव र जोखिम बढेपछि बूढीगण्डकी, त्रिशूली र नारायणी नदी प्रणाली आसपासका समुदायलाई सतर्क गराइएको थियो ।
सुरक्षा अंगहरू प्रभावित क्षेत्रमा खोज तथा उद्धार, विस्थापितको स्थानान्तरण र बसोबासको प्रबन्ध मिलाउने काममा सक्रिय छन् ।
पहिरोदेखि बाढीसम्मको शृंखलाबद्ध जोखिम
रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीको घटनाको केही समयपछि बूढीगण्डकीमा अर्को विनाशकारी बाढी आएको हो । इसिमोडका अनुसार बूढीगण्डकीमा आएको बाढीले हिमाली क्षेत्रमा एउटा प्राकृतिक प्रक्रियाले अर्को विपद् निम्त्याउन सक्ने र त्यसबाट जनधन तथा पूर्वाधारमा हुने क्षति थप बढ्न सक्ने जोखिमलाई उजागर गरेको छ ।
इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले यी घटनाले हिमाली समुदाय र नदी करिडोरहरू अचानक उत्पन्न हुने तथा एकपछि अर्को विपद् निम्त्याउने प्राकृतिक जोखिमको उच्च जोखिममा रहेको देखाएको बताएका छन् ।
उनका अनुसार तत्काल उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने भए पनि बाढीको कारण पहिचान गर्नु भविष्यमा यस्ता जोखिम न्यूनीकरण गर्न र समुदायको उत्थानशीलता बढाउन महत्त्वपूर्ण हुनेछ ।
बूढीगण्डकीमा २०२४ मा पनि आएको थियो विनाशकारी बाढी
इसिमोडका अनुसार बूढीगण्डकीमा सन् २०२४ को अप्रिलमा पनि ठूलो बाढीजन्य घटना भएको थियो । त्यसबेला मनास्लु हिमनदीको अग्रभागबाट विशाल हिमपहिरो खसेर वीरेन्द्र तालमा पुगेपछि तालको पानी अचानक बाहिर निस्किएको थियो । त्यसले बूढीगण्डकी नदीमा आकस्मिक बाढी निम्त्याएको थियो ।
इसिमोडको नेतृत्वमा गरिएको विस्तृत अध्ययनले उक्त घटना हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–ग्लोफ) नभई हिमपहिरोका कारण तालको पानी विस्थापित भएर बाहिर निस्कँदा भएको निष्कर्ष निकालेको थियो ।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीतिक नेतृत्वकर्ता छियाङगङ झाङका अनुसार भिरालो हिमाली क्षेत्रमा पहिरोको जोखिम भएका क्षेत्र र नदी प्रणालीको एकीकृत निगरानी तथा मूल्यांकन आवश्यक छ । किनभने यस्ता क्षेत्रमा प्राकृतिक प्रक्रिया तीव्र रूपमा विकसित हुन सक्छन् र त्यसको असर घटनास्थलभन्दा धेरै टाढासम्म पनि पुग्न सक्छ ।
इसिमोडले आगामी दिनमा जोखिम मूल्यांकन, पूर्वाधार योजना र पुन:स्थापनाका काम गर्दा विभिन्न प्राकृतिक जोखिम, तिनलाई उत्पन्न गराउने कारण र तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावलाई एकसाथ विचार गर्नुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया 4