+
+
Shares

हिमनदी, हिउँ र पर्माफ्रस्टको एकीकृत निगरानीका लागि इसिमोडको क्षेत्रीय रणनीति सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते ८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एकीकृत पर्वतीय विकास केन्द्रले हिन्दुकुश–हिमालय क्षेत्रको हिमनदी र हिउँको दिगो निगरानीका लागि क्षेत्रीय क्रायोस्फियर रणनीति सार्वजनिक गरेको छ ।
  • जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने क्रम बढेपछि विपद् जोखिम न्यूनीकरण र जल सुरक्षाका लागि एकीकृत अनुगमन आवश्यक देखिएको इसिमोडले जनाएको छ ।
  • रणनीतिले वैज्ञानिक तथ्यलाई नीतिगत निर्णयसँग जोड्दै क्षेत्रीय सहकार्य सुदृढ गर्ने लक्ष्य राखेको छ ।

१९ साउन, काठमाडौं । एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रको हिमनदी (ग्लेसियर), हिउँ र पर्माफ्रस्टको दिगो तथा एकीकृत निगरानीका लागि क्षेत्रीय क्रायोस्फियर रणनीति सार्वजनिक गरेको छ ।

रणनीतिले सम्पूर्ण हिन्दुकुश–हिमालय क्षेत्रमा हिमनदी, हिउँ र पर्माफ्रस्टको नियमित अनुगमन, तथ्यांक व्यवस्थापन र क्षेत्रीय सहकार्यलाई सुदृढ गर्ने रूपरेखा प्रस्तुत गरेको इसिमोडले जनाएको छ ।

इसिमोडका अनुसार हिन्दुकुश–हिमालय क्षेत्रमा ध्रुवीय क्षेत्रबाहिरको सबैभन्दा ठूलो हिम भण्डार रहेको छ । यही हिममण्डलले पर्वतीय पारिस्थितिक प्रणालीलाई टिकाइराख्नुका साथै हिमाली क्षेत्रमा बसोबास गर्ने २७ करोडभन्दा बढी र तल्लो तटीय क्षेत्रमा बस्ने दुई अर्बभन्दा बढी मानिसको पानीको आवश्यकतामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण यस क्षेत्रको हिममण्डल तीव्र रूपमा परिवर्तन भइरहेको छ । हिमनदीहरू द्रुत गतिमा पग्लिरहेका छन्, हिउँ पर्ने र जम्ने ढाँचा परिवर्तन हुँदै गएको छ, पर्माफ्रस्ट क्षय भइरहेको छ र नदीहरूको बहाव झन् अनिश्चित बन्दै गएको छ ।

यसका कारण हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीएलओएफ), हिमपहिरो, थर्मोकार्स्ट, माटो–ढुंगा बग्ने बहाव (डेब्रिस फ्लो) र पहिरोजस्ता प्राकृतिक विपद्का घटना बढ्दै गएका छन् । यस्ता घटनाले बस्ती, पूर्वाधार, जल तथा ऊर्जा सुरक्षा र खाद्य प्रणालीमा गम्भीर असर पारिरहेको रणनीतिमा उल्लेख छ ।

इसिमोडका अनुसार हिन्दुकुश–हिमालय क्षेत्रमा ६३ हजार ७ सयभन्दा बढी हिमनदीको अभिलेख भए पनि हाल नियमित निगरानीमा रहेका ३८ हिमनदीमध्ये केवल १८ प्रतिशतले मात्र विश्व हिमनदी निगरानी सेवा (डब्ल्यू.जी.एम.एस) ले तोकेको मापदण्ड पूरा गरेका छन् ।

हिमालयका धेरै हिमनदीयुक्त क्षेत्र अझै पनि पर्याप्त निगरानीको दायरामा आउन सकेका छैनन् । उपलब्ध तथ्यांकले पनि सम्पूर्ण क्षेत्रको हिममण्डलमा भइरहेको परिवर्तनको समग्र चित्र प्रस्तुत गर्न नसकेको संस्थाले जनाएको छ ।

यस अवस्थालाई सुधार गर्न रणनीतिले चार प्रमुख प्राथमिकता अघि सारेको छ । तीमध्ये मानकीकृत विधिबाट हिमनदी, हिउँ र पर्माफ्रस्टको एकीकृत निगरानी, क्षेत्रीय प्राविधिक तथा अनुसन्धान क्षमता अभिवृद्धि, गुणस्तर सुनिश्चित गर्दै तथ्यांक साझेदारीका लागि एचकेएच क्रायोहब स्थापना तथा वैज्ञानिक तथ्यलाई जल तथा ऊर्जा योजना, विपद् जोखिम न्यूनीकरण, पूर्वाधार संरक्षण र जलवायु अनुकूलनका नीतिगत निर्णयसँग जोड्ने व्यवस्था समावेश छन् ।

इसिमोडले यी प्रयासले विभिन्न देशमा छरिएर भइरहेको अनुगमनलाई एकीकृत गर्दै विश्वसनीय क्षेत्रीय तथ्यांक प्रणाली विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । यसबाट जल सुरक्षा, विपद् व्यवस्थापन र जलवायु अनुकूलनका नीति तथा योजनालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

संस्थाका अनुसार यो रणनीति हिन्दुकुश–हिमालय क्षेत्रमा हिममण्डलसम्बन्धी दशकौँको अध्ययन, अनुसन्धान र अनुभवका आधारमा तयार गरिएको हो । यसले हिमाली माथिल्लो क्षेत्र र तल्लो तटीय क्षेत्रबीचको अन्तरसम्बन्धलाई थप मजबुत बनाउँदै हिममण्डलमा भइरहेको परिवर्तन, जल सुरक्षा, प्राकृतिक विपद् र जलवायु अनुकूलनबीचको सम्बन्धलाई अझ स्पष्ट रूपमा बुझ्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?