२६ असोज, शान्तिबजार (गोरखा) । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का बुद्धिप्रसाद ढकाल (६०) आइतबार बिहान भैंसी दुहुदै थिए । बिहान एक्कासी गुडुडुडु आवाज सुने । मोबाइल हेरे । मोबाइलमा बूढीगण्डकीमा बाढी आएकाले सतर्क रहनु भन्ने एसएमएस थियो ।
लगत्तै घर छेउको अग्लो डिलमा उक्लिएर बूढीगण्डकी नदीतिर हेरे । त्यहाँ बाढी आएको थियो । हेर्दाहेर्दै उनको घर भएभन्दा पल्लोतिर पर्ने गोर्खाको शान्तिबजार तहसनहस भयो ।
त्यो क्षण सोमबार बिहान उनले अनलाइनखबरसँग साटे– ‘भैँसी दुहुने बेला गुडुडुडु गर्दै गंगा (बूढीगण्डकी) सुसायो । ठ्याक्कै भोटेकोशी जस्तो बाढी थियो । बिहान आठ बजेतिर विध्वंश पार्यो ।’ उनका अनुसार बाढीको पहिलो लहरले खासै क्षति गरेन । तर दोस्रोपटक आएको बाढीमा घर–टहरा बगे ।
बूढीगण्डकी नदी किनारमा सधैं शान्त दैनिकीमा रहने शान्ति बजारको शान्ति आइतबार बिहान आएको लेदोसहितको आकस्मिक बाढीले बिथोल्यो । त्यहाँका बासिन्दाले भागेर ज्यान जोगाए । तर वस्तुभाउ जोगाउन सकेनन् ।
अहिले उनीहरू माथिल्लो क्षेत्रमा उक्लिएर खेतका गह्रामा अस्थायी टहरा बनाएर बसेका छन् । अनलाइनखबर टोली सोमबार बिहान सो क्षेत्रमा पुग्दा गह्रा सम्याएर उनीहरूका लागि अस्थायी टहरा बनाइँदै थियो ।
स्थानीयले अनलाइनखबरलाई बताएअनुसार बूढीगण्डकीको उपल्लो क्षेत्रका बासिन्दाले ठूलो बाढी आएको सूचना दिएपछि उनीहरु घर छाडेर भागेका थिए । त्यहाँ पालिकाको सहयोगमा राहत वितरणको काम जारी थियो ।
स्थानीयका अनुसार शान्ति बजारमा करिब ३०–४० घरटहरा थिए । ती सबै लेदो माटोमा पुरिएका छन्, कतिपय बाढीमा बगेका छन् । हाल शान्ति बजारमा एक–दुईवटा घरमात्र सग्ला देखिन्छन् ।
शान्ति बजारको नजिक पर्ने धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का बुद्धिप्रसाद ढकालका अनुसार करिब तीन दशक अघिसम्म यो ठाउँ खुला चौर थियो । पछि माथिल्लो भेगबाट झरेकाहरूले घर बनाएर बस्न थाले । अनि त्यसको नाम ‘शान्ति बजार’ राखियो ।
यो ठाउँ २०७२ को गोरखा भूकम्पबाट पनि प्रभावित भएको थियो । स्थानीयले बनिबुतो गरी पुन: घर बनाएर बस्न थाले । त्यसलाई पनि बूढीगण्डकीले क्षतविक्षत बनाएको छ । उनका अनुसार अहिले नदीको धार पनि फेरिएको छ ।
हेर्नुहोस् शान्तिबजार क्षेत्रको अवस्था–

प्रतिक्रिया 4