२७ असोज, काठमाडौं । काठमाडौँ विश्वविद्यालय र नेपाल तामाङ घेदुङको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा तामयीग भाषा शिक्षासम्बन्धी प्रादेशिक सम्मेलन–२०८३ सुरु भएको छ।
सम्मेलनमा तामयीग भाषा, शिक्षा र पहिचानको संरक्षण तथा प्रवर्द्धनका विषयमा छलफल भइरहेको छ।
सम्मेलनको पहिलो दिन मातृभाषाको शैक्षिक विकास, पुस्तान्तरण, संस्थागत विस्तार तथा सूचना प्रविधिको प्रयोगमा जोड दिइएको छ।
सम्मेलनमा बागमती प्रदेशका बिना विभागीय मन्त्री ज्ञानबहादुर तामाङले तामयीग भाषा अध्ययन सुरु भएकोमा खुसी व्यक्त गर्दै सम्मेलनले भाषाको शैक्षिक विकास, पुस्तान्तरण र संस्थागत विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
मातृभाषाको प्रयोग र सम्मानलाई व्यवहारमै स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले तामयीग भाषाको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
सम्मेलनमा नेपाल तामाङ घेदुङका सहअध्यक्ष तथा कार्यक्रमका अध्यक्ष सरोजमोहन मोक्तानले मातृभाषाको संरक्षण, विकास र शैक्षिक विस्तारका लागि सम्मेलन महत्त्वपूर्ण रहेको बताए।
नेपाल तामाङ घेदुङका भाषा समन्वय प्रमुख बिलाम मुक्तानका अनुसार सम्मेलनमा तामयीग भाषा शिक्षा, मातृभाषाको अध्ययन–अध्यापन, भाषिक अनुसन्धान, संरक्षण तथा प्रवर्द्धनका विषयमा छलफल हुनेछ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले गाउँपालिकाभित्र रहेका १७ वटा गुम्बासहित स्थानीय तहले तामाङ भाषा, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले सम्मेलनको व्यवस्थापनमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
काठमाडौँ विश्वविद्यालयका डा. टीकाराम पौडेलले विदेशी भाषाको अध्ययनसँगै मातृभाषा ओझेलमा पर्न नदिन आफ्नै भाषाको अध्ययन, अनुसन्धान र प्रवर्द्धन आवश्यक रहेको बताए। यही उद्देश्यले विश्वविद्यालयमा तामयीग भाषा अध्ययन सुरु गरिएको उनको भनाइ थियो।
सम्मेलनले तामयीग भाषाको शैक्षिक विकास, पुस्तान्तरण र संस्थागत विस्तारका लागि ठोस आधार तयार गर्ने अपेक्षा गरिएको छ
सोमबारदेखि सुरु भएको सम्मेलन २८ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया 4