News Summary
Generated by OK AI. Editorially reviewed.- बूढीगण्डकी बाढीले क्षति पुर्याएको आरूघाट–माछीखोला सडकखण्डको छेपारेभीर र सोती क्षेत्रमा मर्मत सुरु भएको छ।
- गोरखा सडक योजनाका अनुसार छेपारेभीरमा दुई र सोतीमा एउटा मेसिनले लेदो हटाइरहेका छन्।
- बाढीले बगाएको आरुघाट–धादिङ पक्की पुलमा बेलिब्रिज राख्न सडक डिभिजन कार्यालय हेटौडाबाट सामग्री पठाइएको छ।
२६ असोज, गोरखा । बूढीगण्डकी बाढीले क्षति पुर्याएको आरूघाट–माछीखोला सडकखण्ड मर्मतको काम सुरु भएको छ । पहिरोले अवरुद्ध छेपारेभीर र सोती क्षेत्रमा मेसिन लगाएर मर्मतको काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।
‘छेपारेभीरमा दुई वटा मेसिनले काम गरिरहेको छ,’ कार्यालय प्रमुख बिनोद पुनले भने, ‘सोतीमा एउटा मेसिन लगाइएको छ ।’ यी दुई क्षेत्रमा सडक ‘क्लिअर’ भएसँगै माछीखोलासम्म सडक संचालन हुने उनले बताए । उनका अनुसार मंगलवारसम्म सडक संचालनमा आउने सम्भावना रहेको छ ।
आइतवारको बूढीगण्डकी बाढीसँगै आएको लेदोले यी दुई क्षेत्रको सडक पुरेको छ । लेदो हटाएसँगै सडक संचालनमा आउने बताइएको छ । ‘सडक बगाएको छैन, बाढीसँगै आएको लेदोले पुरेको हो, त्यो हटाएपछि गाडी संचालन गर्न मिल्छ,’ कार्यालय प्रमुख पुनले भने ।
यता बाढीले बगाएको गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुलमा बेलिब्रिज राख्नका सडक डिभिजन कार्यालय हेटौडाबाट सामाग्री पठाइएको छ । मंगलबारसम्म सामान आइपुग्ने बताइएको छ । बेलिब्रिज निर्माणका लागि नेपाली सेनासँग छलफल भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।
प्रतिक्रिया 4