News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्यान्डको भिसा प्रक्रिया तत्काल सुधार नभए पर्यटकीय प्याकेज बिक्री, प्रचारप्रसार र समूहगत भ्रमण स्थगित गर्ने नाट्टाले चेतावनी दिएको छ ।
- भिसा ढिलाइ, अस्वीकृति र अव्यावहारिक सर्तले नेपाली यात्रु तथा व्यवसायीको लाखौँ अमेरिकी डलर जोखिममा परेको भन्दै नाट्टाले निष्पक्ष छानबिन माग गरेको छ ।
- नाट्टाले रोयल थाई दूतावाससँग आपत्कालीन बैठकका लागि पत्राचार गर्दै नेपाल सरकार र सम्बन्धित निकायलाई कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।
२६ असोज, काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा सहजता नल्याए पर्यटकीय प्याकेज बन्द गर्ने भएको छ । भिसा ढिलाइ र अव्यावहारिक सर्तका कारण नेपाली यात्रु तथा पर्यटन व्यवसायी ठूलो आर्थिक जोखिममा परेक भन्दै नाट्टाले पर्यटकीय प्याकेज बन्द गर्ने चेतावनी दिएको हो ।
भिसा प्रक्रिया तत्काल सुधार नभए थाइल्यान्डका लागि पर्यटकीय प्याकेज बिक्री, प्रचारप्रसार तथा समूहगत भ्रमण सञ्चालन स्थगित गर्ने नाट्टाले चेतावनी दिएको छ ।
नाट्टाका अनुसार, थाइल्यान्डको भिसा प्राप्त हुने निश्चित नहुँदा यात्रुले अग्रिम रूपमा हवाई टिकट र होटल बुकिङ पेस गर्नुपर्ने बाध्यता छ ।
भिसा अस्वीकृत भएमा वा यात्राको निर्धारित मिति सकिएपछि मात्रै निर्णय आएमा अग्रिम भुक्तानी गरेको रकम फिर्ता नपाउने जोखिम रहेको नाट्टाले जनाएको छ ।
कम मूल्यका हवाई टिकटमा रकम फिर्ता नहुने वा रद्द गर्दा ठूलो शुल्क तिर्नुपर्ने व्यवस्थाले यात्रु र पर्यटन व्यवसायीको आर्थिक जोखिम थप बढाएको नाट्टाको भनाइ छ ।
सम्पूर्ण कागजात पूरा गरेर आवेदन दिँदासमेत भिसा अस्वीकृत हुने वा समयमा निर्णय नआउने घटनाले नेपाली यात्रु तथा व्यवसायीको लाखौँ अमेरिकी डलर बराबरको रकम जोखिममा परेको नाट्टाले जनाएको छ ।
अनलाइन बुकिङ माध्यम तथा व्यावसायिक आरक्षण प्रणालीमार्फत गरिएको होटल बुकिङलाई पर्याप्त नभगको भन्दै होटलबाटै छुट्टै पुष्टि पत्र माग्ने व्यवस्थाले भिसा प्रक्रिया थप जटिल बनाएको नाट्टाको आरोप छ ।
भिसा स्वीकृत हुने सुनिश्चितता नहुँदै अग्रिम भुक्तानी गर्नुपर्ने, बुकिङमा थप सर्तहरू पूरा गर्नुपर्ने र अन्तत: भिसा अस्वीकृत हुँदा वा ढिलो निर्णय आउँदा आर्थिक क्षति बेहोर्नुपर्ने अवस्थाले नेपाली यात्रु तथा व्यवसायी अन्यायमा परेको नाट्टाको ठहर छ ।
नाट्टाले आर्थिक शोषणको सम्भावनासमेत औँल्याउँदै निष्पक्ष छानबिनको माग गरेको छ । भिसा प्रक्रियासँग सम्बन्धित आर्थिक जोखिम नेपाली यात्रु र व्यवसायीमाथि मात्रै थोपर्ने व्यवस्था स्वीकार्य नहुने नाट्टाको भनाइ छ ।
भिसा नीति तथा सार्वभौम अधिकारको सम्मान गरिए पनि भिसा निर्णयमा हुने ढिलाइका कारण यात्रुले अनावश्यक आर्थिक भार बेहोर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने नाट्टाले जनाएको छ ।
थाइल्यान्डको भिसा प्रक्रियालाई पारदर्शी, व्यावहारिक, समयबद्ध र आर्थिक रूपमा न्यायोचित बनाउन माग गर्दै नाट्टाले रोयल थाई दूतावाससँग तत्काल उच्चस्तरीय आपत्कालीन बैठकका लागि पत्राचार गरेको जनाएको छ ।
चाडपर्वका समयमा समेत भिसा प्रक्रियामा सुधार नभए यात्रुहरूको आर्थिक क्षति थप बढ्न सक्ने भन्दै नाट्टाले चिन्ता व्यक्त गरेको छ ।
समस्या समाधान नभए थाइल्यान्डलाई नेपाली पर्यटकका लागि प्रवर्द्धन गरिने गन्तव्यको सूचीबाट हटाउने र त्यहाँको पर्यटन प्रवर्द्धन स्थगित गर्ने नाट्टाले चेतावनी दिएको छ ।
नाट्टाले थाइल्यान्डका नयाँ पर्यटकीय प्याकेज बिक्री तथा वितरण रोक्ने, विज्ञापन र प्रचारप्रसार बन्द गर्ने, नयाँ समूहगत भ्रमण तथा नियमित भ्रमण शृङ्खला सञ्चालन नगर्ने उल्लेख गरेको छ ।
नेपाली यात्रुलाई सहज तथा सुरक्षित वैकल्पिक अन्तर्राष्ट्रिय गन्तव्य रोज्न प्रोत्साहित गर्ने नाट्टाले जनाएको छ । नाट्टाले यो कदम नेपाली पर्यटन व्यवसायीको लगानी र उपभोक्ताको हित संरक्षणका लागि चाल्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने स्पष्ट पारेको छ ।
नेपाली ट्राभल एजेन्सीहरूले थाइल्यान्डलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै त्यहाँको पर्यटन उद्योगमा योगदान पुर्याउँदै आएका छन् । यस्तो अवस्थामा नेपाली यात्रुले सम्मानजनक, समयमै टुङ्गो लाग्ने र न्यायोचित भिसा प्रक्रिया पाउनुपर्ने नाट्टाको माग छ ।
नाट्टाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बन्धित कूटनीतिक निकायलाई तत्काल सक्रिय हुन आग्रह गरेको छ ।
थाई सरकार तथा रोयल थाई दूतावाससँग उच्चस्तरीय कूटनीतिक पहल गरी भिसा प्रक्रियामा देखिएका समस्याको वास्तविक अवस्था स्पष्ट पार्न माग गरेको छ ।
आवश्यक छानबिन गर्न र नेपाली यात्रु तथा व्यवसायीलाई थप आर्थिक क्षतिबाट जोगाउन नाट्टाले माग गरेको छ ।
भिसा प्रक्रियामा हुने अनिश्चितताका कारण नेपाली यात्रु र पर्यटन व्यवसायीले निरन्तर आर्थिक जोखिम बेहोर्नुपरेको नाट्टाले जनाएको छ । थाइल्यान्डको पर्यटन प्रवर्द्धनसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्न बाध्य हुने नाट्टाले जनाएको छ ।

प्रतिक्रिया 4