+
+
Shares

सिड्नीमा गोल्ड स्टार जुत्ताको ब्यापार सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३१ गते ९:२१

सिड्नी । यसै सप्ताहान्तमा सिड्नीमा खुलेको नेपाली गोल्ड स्टार जुत्ताले शनिबार र आइतबार राम्रो ब्यापार गरेको छ । बिदाका दुई दिन ग्राहकहरुको भिड भएको र स्टोरमा  आउने नेपाली र अस्ट्रेलियन दुवै ग्राहकले नेपाली जुत्ता मन पराएको सञ्चालक प्रदीप शाह सुडीले बताए ।

शनिबार बिहान नेपाली मुलका अस्ट्रेलियन युवक प्रमेज श्रेष्ठले नेपालीको बाक्लो बस्ती भएको रक्देलमा रिबन काटेर गोल्ड स्टार जुत्ताको स्टोर उदघाटन गरेका थिए । नेपाली ब्राण्ड अस्ट्रेलियामा प्रतिस्पर्धी भएर आउनु निकै खुशीको कुरा भएको भन्दै ब्यापारमा नेपालीहरुको  प्रगतिको कामना गरे । ‘नेपालीहरु नेपालका राम्रा ब्राण्ड यहाँ ल्याएर नेपाल चिनाइ रहेका छन्,’ प्रमेजले भने । प्रमेज संघीय संसदको हालै भएको चुनावका पहिलो नेपाली उम्मेदवार हुन् ।

कार्यक्रममा अस्ट्रेलियाको पहिलो पुस्ताका नेपाली डा. नारायण प्रधानले आफूले ४० वर्षअघि अर्को नेपाली भेट्न दुई वर्ष लागेको पुरानो स्मरण गर्दै अहिले यहाँ नेपालीको संख्या बढेकोमा खुशी व्यक्त गरे ।

अर्डर अफ अस्टे्रलिया पाउने पहिलो नेपाली इन्द्रा वनले दशकौं वर्षअघि यहाँको राजनीतिमा नेपाली अघि आउने सपना मात्रै देखेकोमा अहिले संघीय चुनावको उम्मेदवार बन्नेसम्ममा  नेपाली पुगेको स्मरण गर्दै सबै क्षेत्रमा नेपाली अघि आउने विश्वास व्यक्त गरिन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष नन्दु गुरुङले अस्ट्रेलियामा नेपाली उत्पादन आइपुग्नु खुशीको कुरा भन्दै सबै युवाले उद्यमशीलतामा ध्यान दिनुपर्ने बताए ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियामा सचिव देव गुरुङले नेपाली युवाहरुको उद्यमशीलता विकासमा एनआरएनले सहयोग गर्ने बताए ।

गोर्खाज हार्ली ग्रुप नामक अस्ट्रेलियाका नेपाली मोटरसाइकल चालकहरुको टीमका सदस्य सहिल शाहीले नेपाली युवा हरेक क्षेत्रमा अघि बढिरहेकोमा गौरव गर्नुपर्ने बताए ।

कार्यक्रममा अस्ट्रेलियन नेपाली पत्रकार संघले अन्तर्रास्टि्रय खेलकुद पत्रकार दिवस जुलाई २ को अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलका सहभागी ५ जनालाई उपहार स्वरुप गोल्ड स्टार जुत्ता प्रदान गरिएको थियो । जुत्ता प्राप्त गर्नेहरुमा नारायण प्रधान, म्यारिकभिल कलबकासुमन गुरुङ र गोपाल श्रेष्ठ तथा पत्रकारको तर्फबाट फुटबल खेल्ने सहिल कार्की  र राज खनाल थिए ।

उदघाटन कार्यक्रममा उपस्थित नेपाली तथा अस्ट्रेलियनहरुलाई धन्यवाद दिँदै गोल्ड स्टार अस्ट्रेलियाका तीनजना डाइरेक्टरहरुका तर्फबाट प्रदीप शाह सुडीले भने, ‘अस्ट्रेलियामा  नेपाली उत्पादन तथा स्थापित ब्रान्डलाई अन्तर्राष्ट्रियकरण गर्ने, नेपालको निर्यात ब्यापारलाई सानै भएपनि योगदान गर्ने, अस्ट्रेलियाको नेपाली समाजसँग हातेमालो गर्ने र मुख्यतया नेपाललाई नबिर्सने अनि नेपाली उद्योगलाई अन्तर्राष्ट्रिय बजारबाट उदाहरण सहित टेवा पुर्याउने हाम्रो लक्ष हो ।’

उनले भने, ‘अहिले हामीसँग महिला, पुरुष र बालबालिकाका लागि जम्मा २९.९९ अस्ट्रेलियन डलरदेखि ५९.९९ अस्ट्रेलियन डलरसम्मका बिभिन्न साइज र स्टाइलका जुत्ता छन् । भबिष्यमा  खेलाडीहरुलाई पनि लक्षित गरी स्पोर्ट्स सुज पनि आयात गरिने छ भने हाम्रो समाज र हाम्रो मातृभूमिप्रतिको दायित्वलाई समेत बुझेर भिजिट नेपाल २०२० लाई प्रवर्द्धन गर्न ‘हाइकिंग नेपाल अभियान’ पनि सञ्चालन गर्ने छौं ।

उद्योग स्थापनाको झन्डै आधा शताव्दी र गोल्ड स्टार ब्राण्ड उत्पादनको तीन दशकपछि गोल्ड स्टार अस्ट्रेलिया आइपुगेको छ । नेपाल तथा भारतका करोडौं मानिसको जीबन शैलीसँग जोडिएको गोल्ड स्टार जुत्ता अब शनिबारदेखि अस्ट्रलियाली जनताको पनि जीवन शैलीको एक अंग बनेको छ ।

नेपालमा करिब तीन हजार जनशक्तिले प्रतिदिन ७५ हजार जोर गोल्ड स्टार जुत्ताको उत्पादन गर्दछन् । अहिले झन्डै पच्चीस हजार जोर जुत्ता अस्ट्रेलिया ल्याइएको छ । यो हिसाबले नेपालको एक हजार जनशक्तिलाई एक दिनको रोजगारी दिन अस्ट्रेलियामा खुलेको स्टोर सफल भएको छ । तर अस्ट्रेलियामा झन्डै एक लाख नेपाली छन् र लाखौं अस्ट्रेलियन नेपाली ब्रान्डका उत्पादनहरुलाई माया गर्छन् ।

स्टोर सञ्चालक प्रदीपले भने- गोल्ड स्टार जुत्ताको अस्ट्रेलियामा भविष्य गोल्डेन छ ।

उदघाटन सत्र सकिएपछि गोर्खाज हार्ली नामक नेपाली मोटर साइकल चालकहरुको एक दर्जनको समूहले नेपाली राष्ट्रिय झण्डा र गोल्ड स्टारको ब्यानरसहित रक्देल, कोग्रा, हर्सभिल लगाएतका स्थानहरुमा मोटरसाइकल र्‍याली निकालेका थिए ।

गत शुक्रबार हिन्दु परम्परा अनुसार पूजाआजा गरेको गोल्ड स्टार अस्ट्रेलियाले शनिबार शो रूम उदघाटन र आइतबारदेखि आफ्नो अनलाइन बिक्री पनि सुरु गरेको छ ।

नेपालबाट गोल्ड स्टारको कन्टेनर प्रशान्त महासागरको यात्रा पार गर्दै जुन १७ मा सिड्नी आइपुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?