+
+
Shares

विषादी र बाढीको बाहनामा तरकारीको मूल्य बढ्यो

उपभोक्ता अधिकारकर्मी भन्छन्– बिचौलियाले मौका छोपे

रोयल आचार्य रोयल आचार्य
२०७६ असार ३१ गते ४:०८

३० असार, काठमाडौं । पछिल्लो साता काठमाडौंमा तरकारीको मूल्य अत्यधिक बढेको छ । असारको पहिलो सातादेखि बढ्न थालेको तरकारीको भाऊ असार ३० सम्म आइपुग्दा थप आकाशिएको छ ।

असार १ देखि ३० गतेसम्मको मूल्यसूचीको तुलना गर्दा तरकारीको मूल्य ७० प्रतिशतसम्म बढेको छ ।

तरकारीको भाऊ के कारणले चुलियो भन्ने स्पष्ट हुन सकेको छैन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कुरा पत्याउने हो भने वर्षात्का कारण तरकारीको मूल्य आकासिएको हो । तर, कतिपय व्यवसायीचाहिँ सीमानामा भारतीय तरकारी र फलफूलको विषादी परीक्षण हुन थालेपछि तरकारी कम आयात हुन थालेको र भाऊ बढेको तर्क गर्छन् ।

आखिर जे कारणले तरकारीको भाऊ बढे पनि आम सर्वसाधारणको भान्सामा पाक्ने तरकारीको मूल्यवृद्धिले निम्न आय भएका नागरिकहरुको जीवन असहज बनेको छ । आकासिँदो मूल्यवृद्धिलाई रोक्न र जनजीवनलाई सहज बनाउन जिम्मेवार निकाय जुनरुपमा गम्भीर हुनुपर्ने हो, त्यो नहुँदा कालाबजारियाहरु सल्बलाएको उपभोक्ता अधिकारकर्मीको दाबी छ ।

आकाशिँदो मूल्य

असार १ गते औसतमा १५५ रुपैयाँ प्रतिकेजी रहेको हरियो प्याज असार ३० गतेसम्म आइपुग्दा बढेर २२५ रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । यसको मूल्य वृद्धिदर ३० दिनमा करिब ६९ प्रतिशत देखिएको छ ।

त्यसैगरी भिण्डी, घिउ सिमी, गाजर, गोलभेडा लगायतको मूल्य पनि आकासिएको छ । असार १ गते भिण्डी न्यूनतम ६० रुपैयाँ थियो भने अधिकतम ७० रुपैयाँ थियो । अहिले भिण्डीको अधिकतम १२० रुपैयाँ पुगेको छ भने न्यूनतम ११० रुपैयाँ ।

घिउसिमीको मूल्य पनि आकासिएको छ । असार १ गते औसतमा १०५ रुपैयाँ रहेको लोकल घिउँसिमी असार ३० मा आइपुग्दा १५५ रुपैयाँ पुगेको छ । असार १ मा औसतमा ११५ रुपैयाँ प्रतिकेजी रहेको हाइब्रिड घिउसिमी असार ३० मा आइपुग्दा १५५ रुपैयाँ पुगेको छ ।

गोलभेडाको मूल्य पनि आकासिएको छ । ठूलो नेपाली गोलभेडाको मूल्य असार १ गते कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले औसतमा ९५ रुपैयाँ तोकेको थियो । असार ३० सम्म आइपुग्दा यसको मूल्य १२५ रुपैयाँ पुगेको छ ।

सानो गोलभेडाको मूल्य असार १ मा औसत प्रतिकेजी ५५ रुपैयाँ थियो जुन बढेर अहिले प्रतिकेजी १२५ रुपैयाँ पुगेको छ ।

गाजरको मूल्य असार १ मा औसत प्रतिकेजी ८५ रुपैयाँ थियो । अहिले लोकल गाजरको मूल्य प्रतिकेजी ११० रुपैयाँ पुगेको छ ।

समिति भन्छ– वर्षातले गर्दा महंगियो

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारीको मूल्य बढ्नुको कारण बर्षात भएको बताएको छ ।

समितिका उप कार्यकारी निर्देशक विनय श्रेष्ठले बर्षातका कारण तरकारी पर्याप्त मात्रामा नआउँदा मूल्य अस्वाभाविकरुपमा बढ्दै गएको बताए । उनले वर्षातको समयमा सधैं मूल्य बढ्ने गरेको बताए ।

केही दिनअघि बजार आवागमन धेरै घटेको जानकारी दिँदै अहिले क्रमिकरुपमा सुधार हुँदै आएको श्रेष्ठले बताए । बजार आवागमन सुधार हुँदै गएपछि तरकारीको मूल्य पनि स्वतः घट्दै जाने उप कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

अहिले भारतबाट आउने तरकारीभन्दा पनि नेपालमै धेरै उत्पादन हुने तरकारीहरुको मूल्य बढेको श्रेष्ठ बताउँछन् । उनका अनुसार भारतबाट आउने आलु, ब्याज लगायतका तरकारीहरु निर्वाधरुपमा आइरहेका छन् । तर, नेपालमै उत्पादन हुने तरकारीहरु बजारमा कम आउँदा भाउ बढेको हो । ‘काभ्रे, धादिङ, नुवाकोटका साथै पूर्वी तराईबाट समेत पर्याप्त तरकारी काठमाडौं आएको छैन, यसको कारण वर्षात नै हो’ श्रेष्ठ भन्छन्, ‘असार २५, २६ र २७ गते तरकारी आवागमन अत्यन्तै कम थियो, त्यही कारण मूल्य बढ्यो । तर, अब सुधारिएको छ, आशा गरौं क्रमशः घट्नेछ ।’

वर्षात बढ्दै जाँदा उत्पादन पनि कम हुने र बजारमा तरकारी पु¥याउन समस्या हुने हुँदा किसानले नै बढी मूल्य खोज्ने गरेको श्रेष्ठले बताए । वर्षातका कारण बढेको मूल्यलाई स्वभाविक रुपमा लिनुपर्ने उनको जिकिर छ ।

व्यवसायी भन्छन्– विषादी परीक्षणले पनि प्रभाव पार्यो

तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको व्यवसायीहरु स्वीकार्छन् । तर, उनीहरु भारतबाट आउने तरकारीको विषदी परीक्षणले पनि मूल्यमा प्रभाव पारेको दाबी गर्छन् ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी माहासंघका अध्यक्ष खोम घिमिरेले विषादी परीक्षणको प्रभाव तरकारीको मूल्यमा पनि देखिएको दाबी गरे ।

यद्यपि, तरकारीको मूल्य अस्वाभाविकरुपमा बढ्नुको कारण विषादी परीक्षणमात्रै भने नभएको घिमिरेले बताए । तराई क्षेत्रमा डुबान भएका कारण उत्पादित तरकारी बजारमा आउन समस्या परेका कारण पनि मूल्य बढेको उनले बताए । ‘अहिले भारतबाट आउने तरकारी पनि कम भएको छ, नेपालको उत्पादन पनि न्यून छ’ घिमिरेले भने, ‘दुबैतर्फको तरकारी नआएका कारण मूल्यमा अस्वाभाविक तरिकाले बढेको छ ।’

अहिले भारतबाट आउने विभिन्न नाकाहरुका ८ स्थानबाट परीक्षण हुने भएकाले व्यवसायीहरुले तरकारी कम माग गरेको उनी बताउँछन् । वर्षात रोकिएपछि उत्पादन पनि बढ्ने र बिग्रिएका बाटोहरु बनेपछि तरकारी सहजरुपमा तरकारी काठमाडौं आउने तर्क गर्दै घिमिरेले भने, ‘तरकारी बजारमा आउनै छाडेको छ, भाऊ घट्न केही दिन त लाग्छ नै, तर अब यसरी अप्रत्यासित तरिकाले मूल्य बढ्दैन ।’

सरकारले राजपत्रमा असार २ गते सूचना प्रकाशित गर्दै भारतबाट आउने तरकारी विषादी परीक्षण गरेपछि मात्रै नेपाल भित्र्याउने उल्लेख गरेको थियो । राजपत्रमा सूचना प्रकाशित गरेको भोलिपल्टदेखि यो व्यवस्था कार्यान्वयनमा आएको थियो । विषादी परीक्षण गर्न थालिएपछि भारतबाट नेपाल भित्रिन लागेका तरकारी तथा फलफूल बोकेका ट्रक तथा कन्टेरनरको भन्सार जाँच पास केही दिन रोकिएको थियो ।

नेपालले विषादी परीक्षण गर्न थालेपछि भारतले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै क्याबिनेटको निर्णयलाई चुनौति दिएको थियो । भारतको पत्रपछि नेपाल सरकारले १९ असारमा राजपत्रमा प्रकाशित आदेशमा संशोधन गरेको थियो । तर, सरकारको पछिल्लो निर्णयको चर्को आलोचना भयो । लगत्तै सर्वोच्च अदालतले समेत भारतबाट आउने विषादी परीक्षण नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गर्यो ।

असार २५ मा सर्वोच्चले भारतबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न अन्तरिम आदेश दिएको थियोे ।

भारतीय तरकारीको विषादी परीक्षणसम्बन्धी यही लफडाकै वीचमा तरकारी व्यवसायीहरुले एकाएक मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको उपभोक्ता अधिकारकर्मीहरुको गुनासो छ ।

उपभोक्ता अधिकारकर्मी भन्छन्– विचौलियाले मौका छोपे

तरकारीको भाऊ बढ्नुमा भारतीय तरकारीको विाषदी परीक्षण वा नेपालमा आएको बाढीलाई व्यापारीहरुले बाहना मात्र बनाएको उपभोक्ता अधिकारकर्मीको आरोप छ । व्यापारीहरुले बाहनाबाजी गरेर उपभोक्तामाथि अन्याय गरेको उनीहरु बताउँछन् ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ वर्षातको बहाना बनाएर मौका छोपिएको बताए । वर्षातमा कम उत्पादन हुनु स्वाभाविकै भए पनि अहिले बढिरहेको मूल्य अस्वाभाविक भएको भन्दै उनले तरकारीका विचौलियाहरुले मौका छोपेको बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँले विषादी परीक्षण वा वर्षातको बाहनामा व्यापारीहरुले मौका छोप्ने अवसर पाएको बताए । तरकारीको मूल्य यसरी आकाशिँदा पनि सरकार चुपचाप बस्नु दुखद् भएको उनले बताए । मन्त्रीले उपभोक्ता हितका लागि काम गर्न नसकेको समेत उनले आरोप लगाए । बानियाँले भने, ‘मन्त्रीले उपभोक्ताको हित हुने काम नै गरेका छैनन्, मन्त्री नै काम नलाग्ने भएपछि के गर्नु ।’

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?