+
+
Shares

तिहारका झिलिमिली सम्झना

गाउँको तिहार त धेरै भयो छुटेको । न उतिबेलाको देउसी भैलो, न त्यस समयको तास जुवा । समयले कता कता धकेलेर लग्यो । उमेरले डाँडो काट्दै गयो ।

झलक सुवेदी झलक सुवेदी
२०८२ कात्तिक ६ गते ९:००

१. यो मौसमको हावै मत्याइलो

हाम्रो घर पूर्व–उत्तर ढल्केको पाखोमा समुद्री सतहबाट झण्डै ९०० मिटर जतिको उचाइमा छ । मकैखोलाको काउरे टोलका सुवेदीहरूको पाँचौं पुस्तामा म जन्मेको हुँ । हामी हुर्कंदा गाउँमा २४ घर जति सुवेदीहरू र दुई घर क्षेत्रीका थिए ।

चारपाखे घरमा पूर्र्वोत्तर फर्केको र तीनतिर मात्र गाह्रो छेकबार भएको खुला बार्दलीमा हामी दाजुभाइ सुत्ने ओछ्यान थियो । कात्तिकमा पर्ने तिहारको मौसम प्राय: घमाइलो हुन्थ्यो ।

जेठमा भट्टेडाँडाबाट उदाउने घाम दक्षिणतिर सर्दैै छापाडाँडाबाट पनि ओरालो लागिसकेको हुन्थ्यो । छापडाँडा र गिलुङको चुचुरोको कापबाट तिरिरी सूर्यका राता किरणहरू सिधै बार्दलीसम्म आउँथे । सिरकमा गुटुमुट भएर सुतिरहन मन लाग्थ्यो तर आमाले घाम झुल्केपछि सुत्न हुन्न भन्ने कुरा बारम्बार सुनाउने र उठाउन पनि आइहाल्ने हुँदा हामी झुल्के घामको दृश्य हेर्र्दैै उठिसकेका हुन्थ्यौं ।

कात्तिकको दोस्रो सातासम्म घरबाट ठिक पारिपट्टि तासे, हिले, ठाडो हिले, रयाले, तकौली, कयारे, मकागी, भट्टेगामतिर पहेंलै पाकेको धानखेतहरू देखिन्थे । पात्ले, ठिमाहा र आँगा जस्ता धान काटिसकिएको हुन्थ्यो । हाम्रो बेसीतिर भने पाखे जर्नेली, मधिसे, मानामुरी र मन्सरा या गुर्दी धान छ भने कहिले काटिएको हुन्थ्यो र कहिले काट्ने समय आइरहेको । अलि तल कुलो लाग्ने खेततिर जेठोबुढो, गौरिया, थुम्सीकोटे गौरीया, मार्सी, रातो र सेतो अनदी, विरम्फुल, जर्नेली, थापाचिनी, एक्ले जस्ता धान कात्तिकको २० देखि मंसिरको एक दुई गतेसम्ममा काट्ने गरिन्थ्यो । तिहार कहिले पर्छ त्यसका आधारमा या त धान काटिएको या काट्दै गरेको या तिहार सकेर धान काट्ने तरखर गरिएको समय पर्थ्यो ।

बारीका कान्लाहरूमा हरियो घाँस र गराहरूमा पसाउँदै गरेको कोदोबारी शीतले लछप्पै भिजेको र घामका कलिला किरण परेपछि टल्केको दृश्यले मोहित बनाउँथ्यो । आँगन र बारीका डिलहरूमा सयपत्री, भुजुरी, मंगले, तिहारे र मखमली फूलहरू असरल्ल फुलेका हुन्थे । बारीका कान्लामा बेलौंतीका केही पाक्दै गरेका बोट र आँगनका डिलतिर छिप्पिदै गएका सुन्तला र कतै कतै निबुवा पेल्ने बेलाका हुन्थे । हाम्रो आँगन मुनिको गरामा भने या त आलु लगाइएको हुन्थ्यो भर्खर या त बाले काँचापात या लामपाते सुर्तीको खेती सपारिरहेका दृश्य हुन्थे ।

पारिपट्टिका गाउँमा धान पाकेसँगै कान्लाका घाँस पनि रातो खैरो देखिन थाल्थे । हाम्रो पाखो अलि सेपिलो हुनाले बारीका कान्लामा हरियो र छोटो बन्सो घाँस हुन्थ्यो । अलि हतार भयो र बन्सो काट्न भ्याइएन भने कान्लामा हुर्केका कुट्मिरो झारेपछि काम चल्थ्यो । सुन्नुभएकै होला नि :

घर.. भैंसी भोकै,

कुट्मिराको काइनाले,

बोलाउँ के को साइनाले ?

छिटो परेको तिहार छ भने वनमा पर्याप्त कटुस पाइन्थ्यो । ढिलो परेको छ भने पनि वनले आफ्नो पोल्टामा हाम्रा लागि केही न केही खानेकुरा जतन गरेर राखेको हुन्थ्यो । गाईबाख्रा चराउन त तिहारको टिको होस् कि दशैंको कोही न कोही नगइहुन्नथ्यो । गाउँको पूर्व दक्षिणतिरको पाखोमा उपल्लो खाडी, तलेत्रो र तल्लो खाडीका पहिरो भएका भागहरूसँगै पाताल, तिजुको गहिरो, बसेरी, एकहातेको पाखो जस्ता गाई चराउने वनपाखोमा यतिबेला गोल्यानु, गोवानु, भकिम्लो जस्ता फलफूल लटरम्म हुन्थे ।

भ्याकुर पाक्थ्यो र कतै कतै अर्चल बाँकी रहन्थ्यो । उता हल्लुँडेको पहिरो या पँधेराको खोलातिर गयो भने चैं झरेर पनि सुकेका कटुससँगै वनसिलाम पाकिरहेको हुन्थ्यो । सिलमका बाला हातमा माड्यो, फुकेर भुस उडायो र मुखमा हाल्यो झ्वाम्मै मिठो लाग्थ्यो । दहीचाम्ले त यतिबेला जताको वनमा पनि पाइने भइहाल्यो । सालघारीतिरको वनमा गएको छ भने राफिलो हुन्थ्यो, एकलास र झ्याउँकिरीको एकोहोरो आवाजले मन उदास बन्थ्यो एकतमासले ।

देउसीबाट उठेको सुका मोहर भाग लगाएर आफ्नो भागमा पर्ने दुईचार पैसाले सत्र खेल्थ्यौं । त्यो पैसा एकैछिनमा सकिन्थ्यो अनि अरूले खेलेको हेर्न या फुको तास खेल्न थाल्थ्यौं । गोठालो जाँदा सिकेको तास खेल्ने बानी निकै पछिसम्म रह्यो ।

धान छाडेर लप्सी भन्ने उखान त उता पनि छ । तर लप्सी हाम्रो गाउँ वरपर थिएन, गोर्जेतिर या भट्टेडाँडा, तोगीतिर पुग्नुपर्थ्यो त्यहाँसम्म पुग्न कसैलाई फुर्सद मिल्दैनथ्यो । रयालेको खोल्सामा एउटा दमौराको अग्लो बोट थियो । हामी हात गल्ने गरी झटारो हानेर दमौरा झार्ने असफल प्रयास गर्दै निराश हुन्थ्यौं । दुई चारवटा खसिहाले भने त्यसैले सन्तुष्ट भएर फर्कन्थ्यौं ।

खोला किनार र बगरतिर फुलेको काँसले प्रकृतिलाई नै रंगाइरहेको हुन्थ्यो । बर्खाभरि मात्तिएर धमिलो बग्ने बुम्ले र मौरी खोला भेलबाढीको उत्तेजना निख्रेपछि शान्त र कलकल गरेर मायालाग्दो गरी बगिरहन्थे ।

मकैखोलाको सुसाइले वातावरणलाई चकमन्न बनाउन र आफ्नै मनको अन्तरमा चियाउन सहयोग गर्थे । भञ्ज्याङदेखि डाँडाचौतारीसम्म जाँदा तल टाढाबाट आउने मादीको सुसाइले जीवनका कहिल्यै पूरा नहुने सपनाहरू देख्न, नदेखिएका ठाउँमा पुग्ने रहर गर्न र पूरा हुन सक्ने नसक्ने सम्भावनामा जीवन खोज्न प्रेरित गर्थ्यो ।

फूल मात्र होइन, घाँस र काँसदेखि मासभट्ट, टाँकी, धान र कोदोसम्म फुल्ने पाक्ने यो मौसम । जाडो नआइसकेको न त गर्मी नै बाँकी रहेको यो मौसम । वातावरणमा फैलने फूलहरूको गन्धले कतै न कतै मनलाई काउकुती लगाइरहन्थे । उल्लास र खुशीका लागि यो आफैं काफी थियो । समग्रमा तिहार शान्त प्रकृतिको सुन्दरतासँगै गाउँमा प्रवेश गर्थ्यो ।

२. पर्वतमारा कि आसामारा

कैले पर्वत मारा,

कैले चुरोट पान्मारा,

सक्छौ भने मेखमार ….।

जति काम भए पनि, दिनभर धान काट्न या बिटा बाँध्न र कुन्युँ लगाउन परे पनि, मासभट्ट समेलेर बोक्नु परे पनि या सानोतिनो दाइँ नै गर्नुपरे पनि राति र टीकाको दिनभर चैं तास जुवा खेल्नैपर्छ भन्ने जस्तो मान्यता, परम्परा थियो । बा, हजुरबा पुस्ताकाहरू बाँकटे भोटो या आस्कोट (इस्टकोट) को खल्तीमा पट्याएर राखेका केही रूपैयाँ लिएर तासको या कौडाको खालमा बस्थे । उमेर र गच्छे अनुसारका खालमै सबै मगनमस्त ।

कौडामा भने खेल्ने, च्याँखे थाप्ने र रमिते गरेर तीनथरीले मनोरञ्जन लिन्थे । हामीले थाहा पाउँदा गोकर्ण स्यानाबा (काका) को धन्सारमा तास जुवाको खाल जम्थ्यो, कौडा भने आँगनमा खेल्थे । लाल्टिनको उज्यालोमा स्यानाबा खालेहरूको छेउमा केही पेटी चुरोट राखेर बस्थे । यस्तो चुरोट पर्वत मारा र आसामारामध्ये कुनै एउटा हुन्थ्यो ।

जुवामा पैसा हैन चुरोटको बट्टा राख्ने र खेल्ने गरिन्थ्यो खासगरी सत्र खेल्दा (मैले कहिल्यै थाहा पाइनँ कि तास जुवामा चुरोटको प्रयोग किन गरिन्थ्यो) । पेटीका पेटी चुरोट जुवा खेलेर जित–हार हुन्थ्यो । कौडामा भने पैसा नै राखेको देखिन्थ्यो । दाउ लागेर डब्लाउँदै पैसा थापेकाहरूलाई जिल्याउँदै पैसा सोहोरेको देख्दा अलिअलि लोभ र रहर लाग्थ्यो । थोरैले मनोरञ्जनका लागि मात्र खेल्थे केही चैं जित्नकै लागि भनेर कस्सिन्थे । किन हो थोरैले मात्र जित्थे र धेरैले हारिरहेका हुन्थे ।

हामी चैं देउसीबाट उठेको सुका मोहर भाग लगाएर आफ्नो भागमा पर्ने दुईचार पैसाले सत्र खेल्थ्यौं । त्यो पैसा एकैछिनमा सकिन्थ्यो अनि अरूले खेलेको हेर्न या फुको तास खेल्न थाल्थ्यौं । गोठालो जाँदा सिकेको तास खेल्ने बानी निकै पछिसम्म रह्यो ।

१६ वर्षको उमेरपछि राजनीतिको चस्का लाग्यो र तास खेल्न हुन्न भनेर मैले खेल्न छाडें । स्कूले भइन्जेल त जुनेली रातमा आँगन, परालका भारी, गोठमा ढोड बालेर र गाउँ डुलेर पनि फुक्लो दहरमारा खुब खेलियो । पित्री दाइ यसमा रौसे थिए रमाइलो गरिरहन खेल्नुपर्ने ।

सत्तरी कटे पनि उनको बानी उस्तै छ । सत्रबाट सुरु गरेर जुटपत्ती, साइटन, दहलमारा, ट्वान्टी नाइन, रमी, पप्लुसम्म खेल्न सिकियो । तास खेल्न छाडेको बीसौं वर्षपछि कहिलेकाहीं भाइहरूसँग म्यारिजको खालमा पनि बसियो तर खेल्ने खासै ढंग आएन । अहिले खेल्ने रहर र जाँगर दुवै लाग्दैन ।

तास जुवा खेल्ने पेशेवरहरू पनि थिए । मकैखोलाको स्कूलमा शिक्षकहरू र गाउँमा अलि फुर्सदिला पुरुषहरू जहिले पनि स्कूल समयपछि त्यतै वरपर बसेर तास खेलिरहेका हुन्थे । प्राय: पुरुषहरू मात्रै तास खेलेर दिन बिताउँथे । त्यसमा सामेल हुने एक जना महिला मैयाँ भनिने हेम कुमारी हुनुहुन्थ्यो । सक्रिय सामाजिक कार्यकर्ता र प्रगतिशील विचारधाराकी महिला । कोही भने रातभर अरुले तास खेलेको हेरर अथवा उ लघुशंका गर्न गयो भने उसका तास हेरिदिएर अनिदो बस्ने पनि हुन्थे ।

तिहार र एकादशीमा जुवा तास खेलेर फलानोले यति ऋण बोक्यो भन्ने खबर सुनिन्थे । जुवाले टाट पल्टन्थे । जुवा हारेकैले जीवनको लय भत्केर तिनका सन्तानसम्म दुर्दशा तन्केको पनि देखिन्थ्यो । तैपनि मानिसहरू त्यसमा लोभिएकै हुन्थे ।

तिहारको जुवा फूलतार्ने एकादशीसम्म चल्थ्यो । एकादशीको बजार लाग्थ्यो थुम्सीकोटमा । मादीको उत्तरी किनारामा लामो चौर थियो । वार्दी र मादीको दोभानमा एकादशीमा फूल तारिन्छ । गाउँमा कसै न कसैले एकादशीको चौमासे व्रत लिएको हुन्छ ।

फूलको लामो लट्ठो बाटेर बाजागाजा सहित फूल तार्छन् । फूल तार्ने चलन त अहिले पनि चलिरहेकै छ तर एकादशीको बजार जुन लाग्थ्यो त्यो चैं चालीस वर्ष अगाडि गुण्डागर्दी र दादागिरीको शिकार भएर बन्द भयो ।

देउसी खेलेर जम्मा गरेको पैसाले बनेको विद्यालय र पालिएका शिक्षकले पढाएर हामी पढेका हौं ।

बन्द हुनु अगाडि यो बजार त्यस भेगको चर्चित एकादशी मेलामा पर्थ्यो (विस्तारमा हेर्न मेरो उपन्यास आधा जून पढ्न नबिर्सनुस् है) । काठमाडौं, भैरहवा, बन्दीपुर, नारायणगढदेखि स्याङ्जा, पोखरा र थाकखोलाबाट समेत जुवाडेहरू (यो ठाउँ हामीले थाहा पाउँदा लमजुङमा पर्थ्यो), जुवामा ऋण लगानी गर्नेहरू र ऋण लिएर भए पनि जुवा खेल्नेहरू आउँथे । सात दिनसम्म पनि जुवाका खाल चल्थे ।

हामी भने सुका मोहर पपिटनमा दाउ लगाएर हारेपछि जात्रा हेर्दै डुल्थ्यौं, दोहोरी गीत या रोइला गाएको सुन्थ्यौं अथवा कौडाका खालमा पुगेर जुवाडेको हातबाट कौडा खस्ने वित्तिकै कसरी दाउ चिन्ने र मिलाउने भन्ने माथापच्ची गरेर रमाउँथ्यौं । उज्यालो हुनु अगाडि चिसोमा काम्दै सालघारीको बाटो उकालो लाग्थ्यौं ।

भोलिपल्ट अनिंदो र थकित शरीर लिएर धान काट्न, कुन्युँ हाल्ने बिटा ओसार्न या गाई चराउन जानु त छँदै थियो ।

३. देउसी, भैलो र वाचनालय

देउसी हाम्रो संस्कृतिको मौलिक विशेषता भएको रमाइलो पाटो हो । सामाजिक कार्यहरूका लागि, विद्यालय या मन्दिर या बाटोघाटो बनाउन अथवा साँघु हाल्न पनि देउसी खेलेर रकम जम्मा गर्ने चलन थियो । अझै छ । देउसी खेलेर जम्मा गरेको पैसाले बनेको विद्यालय र पालिएका शिक्षकले पढाएर हामी पढेका हौं ।

पैसा उठाएर वनभोज गर्नेदेखि खेलकुदका सामान किन्ने या संगीतका सामग्री जोड्ने युवा युवतीहरू पनि हुन्छन् । यसै चन्दा माग्दा नदिनेले पनि देउसी भैलोमा मागेपछि केही न केही दिइपठाउँछन् । खेल्ने उद्देश्यमा र दिनेहरूमा पनि अनेक आडम्बर र विकृति नभएका हैनन् । मलाई साना साना नानीहरू दुई चार जना मिलेर, एक्लै पनि भैलो र देउसी भन्दै आएको देख्दा आफ्नै बाल्यकालको याद आउँछ ।

एकपटक देउसी खेल्दै हिंड्यौं गाउँभरि । धेरै दिनेले त पाँचदेखि दश पैसासम्म दिंदा हुन् । दुईपैसा एकपैसा पनि चल्थ्यो । ४८ पैसा जम्मा भएछ । कति जना थियौं बाँड्यौं र तास खेल्न बस्यौं । कान्छी हजुरआमा (आँवै) कहाँ खेल्न जाँदा उठ्दै उठ्नुभएन । पछि के ठानेर हो हामी तास खेलिरहेको ठाउँमै आएर चार पैसा दिएर जानुभो । त्यो पनि तासै खेल्यौं । कसले जित्यो त सम्झन्न तर रमाइलो त्यसको पनि लिइयो । कम्तीमा ५६ वर्ष पहिलेको कुरा हो । अहिले सम्झँदा पनि रमाइलो नै लाग्छ ।

ती भैलो देउसी खेलेका घर या त अब अस्तित्वमा छैनन् या मान्छे छैनन् । हामीले भैलो देउसी खेल्दाका हजुरआमा पुस्ताका त सबै सकिए आमा–बा पुस्ताका पनि अब तीन चार जना मात्र जीवित छन् । गाउँमा त माइलीआमा मात्र हुनुहुन्छ त्यो पुस्ताको ।

गाउँ उराठलाग्दो गरी रित्तिंदै छ । कोही मधेश झरे कोही पोखरा या विदेशतिर पुगे । हामी केही यता काठमाडौंमा पनि आइपुग्यौं । अहिले जो गाउँमा हुर्कंदै छन् एकाध जना, तिनको बालापनका खुुशीहरू के केमा समेटेर तिनीहरू हुर्कंदै होलान् भन्ने सम्झेर गम खान्छु ।

अर्को एउटा सम्झना छ, २०४३ सालको तिहारको । म सैमराङको राष्ट्रज्योति निमाविमा पढाउँथें र अनि विदा र साँझरात पार्टी राजनीति गर्थें । शिक्षक संगठन, पार्टी, विद्यार्थी संगठन लगायत सबै कामको त्यस इलाकाको काम गर्नुपर्थ्यो । त्यसै वर्ष भएको निर्वाचनमा सोमनाथ अधिकारी प्यासीलाई कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित गरिएको थियो ।

हाम्रो प्रभाव कास्कीका गाउँ–गाउँमा फैलिइरहेको थियो । हाम्रो ध्याउन्न नै कसरी पार्टी बलियो बनाउने र पञ्चायतसँग लड्ने भन्ने मात्र हुन्थ्यो । तर एकोहोरो राजनीतिका कुराले जनमत ढल्काउन सजिलो थिएन । त्यसका लागि गाउँमा एउटा वाचनालय बनाउने र नियमित रूपमा पत्रपत्रिका पढ्ने एउटा केन्द्र बनाउनुपर्छ भन्ने लाग्यो । त्यसका लागि स्रोत जुटाउने उपाय पनि देउसी भैलो नै हुन्थ्यो । हरिभक्त, लोकनाथ, बद्री र मेराबीच भैलो खेल्नेबारे सल्लाह भयो (खेल्न साथ दिने सबै भाइहरूको नाम अहिले सम्झनामा छैन, सम्झेका नाम मात्र राख्दा नाम नपर्नेहरूले दु:ख मान्लान भन्ने पिर भएकोले कसैको पनि राखिएन) । कयरे, मकैखोला, कम्दी, तासे र काउरेका भाइहरू सामेल भए । ब्याकअपमा जशबहादुर दाइ थिए आनन्द भाइ शायद जेलमा पुगिसकेको थियो ।

तीन दिन हामीले लगातार भैलो देउसी खेल्यौं । मकैखोला, कम्दी, कयारे, ढोडेनी, तासे र काउरेमा भैलो खेलियो । चिनेका घरपरिवार हुन्थे । हामी सबै उनीहरूका भाइ–भतिजा सरह थियौं । दिन गाह्रो माने पनि या सहज माने पनि हामी जाने ठाउँ तिनै थिए । यो केवल स्रोतका लागि मात्र पनि थिएन राजनीतिक प्रचार गर्नु थियो । त्यसलाई जनवादी गीतहरू र भैलोमा भट्याउने भनाइहरूका माध्यमबाट घरघरमा लगियो । संकल्प परिवारका गीतहरू धेरै सुनाइयो । यिनीहरू राजनीतिक व्यक्तिहरू हुन्, गलत उद्देश्यले आएका हैनन् भन्ने सन्देश दियौं ।

म अव्यावहारिक मान्छे हुँ कि जस्तो पनि लाग्छ । त्यतिको भैलो खेलेका साथीभाइलाई एक पटक सँगै बसेर चिया खाजा खुवाउने होश पनि आएन । त्यस्तो घटना पछि २०४६ सालको तिहारमा पनि भयो । पोखरामा अनेरास्ववियुको व्यानरमा भैलो देउसी खेलियो– बाटुलेचौरदेखि वैदामसम्म चिनेजानेका साथीभाइहरूकहाँ पुगेर । टीकाको दिन केही साथीहरू टीका लगाउने सल्लाह गर्दै थिए । किन किन त्यो रमाइलो गर्न मेरो ध्यान पुगेन । सामुहिक टीको कार्यक्रम गरेको भए कति रमाइलो सम्झना बिर्सना हुने थियो । मैले मन मारें र त्यो कार्यक्रम भएन । अहिले पनि थक्कथक्क लाग्छ ।

गाउँको भैलोको क्रममा एक जना गाउँकै सज्जन व्यक्तिकहाँ पुगेका थियौं । सबैकहाँ जाँदा त्यो घर छाड्न मिल्दैनथ्यो । तर उनी उठेनन् । हामी एकछिन चिच्यायौं र हिंड्यौं । त्यतिबेलासम्म पहिलेको सुका मोहर या रूपैयाँ दिनेहरू दश बीस रूपैयाँ दिने भएका थिए । हामीले आफ्नो उद्देश्य पनि आधा मात्र खुलाएका थियौं । भैलोबाट उठाएको पैसाको हिसाब पार्टीमा दिनुपर्थ्यो । पार्टीसँग मैले आधा मात्र पार्टीमा बुझाउने र आधाबाट वाचनालय खोल्ने अनुमति लिएको थिएँ ।

अघिल्लो दिन देउसीमा जाँदा पैसा नदिने ती सज्जन भोलिपल्ट मलाई खोज्दै आए र एक रूपैयाँ दिए । उनी हाम्रो राजनीतिक झुकावका बारेमा असहमत थिए । तर भैलोमा अलिअलि दानदक्षिणा या सहयोग दिनु सामान्य शिष्टाचार जस्तो पनि हुन्छ । गाउँमा कसैले केही भन्यो होला । उनलाई के लाग्यो र भोलिपल्ट त्यसरी पुर्‍याउन आएका थिए । तर उनले दिन लागेको एक रूपैयाँ हाम्रो अपमान जस्तो हो भन्ने लाग्यो मैले लिन मानिनँ ।

उठेको पैसा आधा पार्टीलाई बुझाएपछि बाँकी पैसाले पोखरा पुगेर हाम्रो वाचनालयका लागि त्यतिबेलाका साप्ताहिक पत्रिका दृष्टि/प्रकाश र विमर्श पत्रिकाको ग्राहक बनें । केही अरू पत्रिका पनि किनें । हुलाक मार्फत आउने बनाइयो । हाईस्कूलको एउटा भवनको खाली कोठामा टेबुल र बेञ्च राखेर वाचनालय बनाइयो । पत्रपत्रिका ढिलो गरेर भए पनि आउन थाले । प्राय: म आफैं जान्थें र पत्रिका टेबुलसम्म पुग्ने निश्चित गर्थें । हुलाकी हरिकृष्ण दाइ र भाउजु सहयोगी खालकै थिए । उनीहरूले पत्रिका जतन गरिदिन्थे पनि ।

तर ६ महिनाको अनुभव पछि मलाई लाग्यो यो प्रयासले कुनै उपति दिनेवाला छैन । पाठक एकदम थोरै थिए । नियमित स्कूलमा आउने माविका शिक्षकहरू पनि प्राय: पढ्दैनथे । यसो पाना पल्टाइहाले भने पनि कहिल्यै पूरा पत्रिका पढेको र त्यहाँ भएका विषयमा छलफल गरेको थाहा पाइनँ । अर्को वर्षको लागि ग्राहक बन्ने पैसा थिएन ।

म आफैं पनि बन्न सक्थें होला तर लगानी गरेर फाइदा होला झैं लागेन । मलाई चाहिएका पत्रिका त म पोखरा गएर पनि ल्याइरहेकै हुन्थें । २०४४ मंसीरबाट त म फेरि विद्यार्थी आन्दोलनमा सहभागी हुन पृथ्वीनारायण क्याम्पसतिर पुगिहालें । अनि त्यो वाचनालयको सपना सधंैको लागि हरायो । शायद अहिले स्मार्ट फोनको जमाना आएपछि चैं सबैले आफ्नो हातमा आएका पत्रिकाबाटै वाचनालयको उपभोग पनि गर्दै होलान् ।

४. टीका र सम्झना

तिहारका सम्झना आउने केही बिम्बहरू स्मृतिमा छन् । काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइटीका । गाई तिहार या औंसीका दिन विशेष रमाइलो हुन्थ्यो । बिहानै हामी आमाले बाटेका हत्यौरीमा वरपरबाट पीपल र बरका पात, फूलपाती र फुलहरू जम्मा पारेर उन्थ्यौं । घरको तगारोमा लामो तोरण बनाएर टाँस्थ्यौं ।

गाईहरूलाई पनि माला लगाउने, टीका लगाइदिने चलन थियो । भिजाएको चामलको पिठोमा ठेकीको बिर्को चोपलेर गाई भैंसी र गोरुको निधार र शरीरका विभिन्न भागमा ढ्याप ढ्याप पार्दै टीका लगाउने गरिन्थ्यो । गाईहरूलाई रोटा खान दिने गरिन्थ्यो । गाईको पुच्छरले अभिषेक गर्दै बाले पानी छ्याप्नुहुन्थ्यो । घरका सबै मान्छे जम्मा भएर यी सबै काम गर्दाका रमाइला सम्झना छन् ।

साँझ माटाका पाला या तामाको दियोमा तोरीको तेल राखेर आफूले कातेका बत्ती बाल्नुहुन्थ्यो आमाले । हामीले घरको दैलो, आँटी, पिंढी, तुलसीको मठ र गोठमा पनि लगेर राख्थ्यौं । केही बेर घर झिलिमिली हुन्थ्यो । त्यसले एउटा उत्साह भनौं खुशी दिएर जान्थ्यो ।

हामी चार दाजुभाइ मात्र भयौं दिदीबहिनी थिएनन् । तर हुर्कंदादेखि नै माइलाबा (बावुबा) की छोरी शुभद्रा दिदीसँग टीका लगाइयो । कस्तो भने शुभद्रा दिदी ठुलाबाकी छोरी हुन् र हामी दिदीबहिनी नभएकाले टीका लाउन गएका हौं भन्ने कहिल्यै फिल भएन । धेरै पछि बुझ्ने भएर मात्र थाहा भयो । त्यसमाथि जेठाबातिर पनि छोरी रहेनछन् ।

जेठाबातिरका दुवै दाजुहरू, हामी चार भाइ, माइलाबातिरको एउटा भाइ र फुपू आएको बेला बाहरू दुई भाइ गरी ९ जना आँगनमा बसेर टीका लगाउँदा रमाइलो लाग्थ्यो । पछि अनुकूलता प्रतिकूलताले जता जो भेटियो उतै धेरै बहिनीसँग (सरला, सीता, राधिका, वेदकुमारी (कापm्ले), गीता, विमला (अधिकारी) लगायतसँग) टीका लगाइयो । अहिले पनि शुभद्रा दिदीसँग टीका लगाउँदा नै तिहार जस्तो फिल हुन्छ । अब त ठुलाबातिरका दुवै दाजुहरू बिते । हामी पनि यताउता छरियौं । फुपूहरू र बाहरू सबै बित्नुभयो । र धेरै अघि छुटे घाँस, गाईभैंसी अनि एकाते र बसेरीका पाखाहरू ।

गाउँको तिहार त धेरै भयो छुटेको । न उतिबेलाको देउसी भैलो, न त्यस समयको तास जुवा । समयले कता कता धकेलेर लग्यो । उमेरले डाँडो काट्दै गयो । तिहारको पुरानो रमाइलो खोजेर कहाँ पाउनु ?

उहिलेकालाई उहिलेकै रमाइलो अहिलेकालाई अहिलेकै !

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?