+
+
Shares
टिप्पणी :

‘म झोले’ अभियानलाई यसरी पनि हेर्ने कि ?

विगतमा पनि थियो ‘झोले’ अभियान, अहिलेको सन्दर्भ बेग्लै छ ।

झलक सुवेदी झलक सुवेदी
२०८२ जेठ २० गते २२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई झोले घोषणा गरेपछि पार्टीभित्र र सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेका छन्।
  • झोलेको अर्थ राजनीतिक कार्यकर्ता वा पार्टीको विचार र निर्णयको समर्थन गर्ने व्यक्तिहरूलाई जनाइन्छ, जसले पार्टीको इतिहासमा महत्वपूर्ण भूमिका खेलेको छ।
  • ओलीको झोले घोषणा र अभियानले पार्टीको कार्यकर्तालाई गर्व गर्न र आफ्नो भूमिका प्रति सम्मान प्रकट गर्न प्रेरित गर्न सक्छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई म झोले हुँ भन्दै सगर्व सामाजिक सञ्जालबाट घोषणा गरेपछि त्यसबारे थरीथरीका प्रतिक्रियाहरू आइरहेका छन् । एमालेका उपाध्यक्ष र महासचिव लगायत नेताहरूले आफ्ना अध्यक्षको अभियानको समर्थनमा आफूहरूलाई पनि झोले घोषणा गर्न थालिसकेका छन् ।

सम्भवतः यो लेख प्रकाशित हुनु अगाडि एमाले वृत्तमा देशव्यापी रूपमा झोले घोषणा गर्ने अभियान चल्नेछ । वास्तविक झोले र कतिपय नक्कली झोलेहरूले समेत आफूलाई झोले घोषणा गर्नेछन् । यो अभियानको लहरो कता गएर कसरी थामिन्छ भन्ने अहिले अनुमान गर्नु हतार मात्र हुनेछ ।

तर यसबारे सञ्जालहरूमा केही नकारात्मक प्रतिक्रिया हेरेपछि मलाई चैं झोले अभियान किन सही छ भनेर लेख्न मन लाग्यो । लेखको शीर्षकै म पनि झोले अभियानको पक्षमा भनेर राखेको भए राम्रो सुनिंदो हो । तर झोले अभियानमा लाग्नु र झोलेका पक्षमा लेख्नु उस्तै कुरा हुन् जस्तो लागेन ।

यति स्पष्टीकरण पछि आउनोस् नेपालमा प्रचलित झोलेका अर्थ, हामीले झोलेका रूपमा बुझेको राजनीतिक पक्ष र अहिलेको अभियानका बारेमा चर्चा गरौं ।

मैले पहिला त च्याट जीपीटीलाई नेपालमा प्रचलनमा रहेको झोले शब्दको अर्थ के हो भनेर सोधें । उसले तीन वटा अर्थ खुल्ने गरी तत्काल जवाफ पठायो । त्यसमध्येको दोस्रो नम्वरको उत्तर हाम्रो सन्दर्भमा केही हदसम्म मिल्न आयो । ऊ भन्छ ः राजनीतिक कार्यकर्ता/कर्ताहरू खासगरी दलको झोला बोकेर पछिपछि हिंड्ने, विना पद वा जिम्मेवारी पार्टीका नेताहरूको पछिलाग्ने कार्यकर्ताहरूलाई व्यंग्यमा झोले कार्यकर्ता भनिन्छ ।

यता बृहत् नेपाली शब्दाकोशले चैं अर्काको झोला बोक्ने, झोला भिरेर हिंड्नेलाई झोले भन्छन् भनेर लेखेको रहेछ । तर नेपाली राजनीतिका वर्तमान सन्दर्भमा पछिल्ला वर्षहरूमा यसको अर्थ निकै साँघुरो हुँदै गएको छ । प्रचलित भाष्यमा कुनै व्यक्ति राजनीतिक दलको कार्यकर्ता छ, ऊ पार्टीका जे–जस्ता सुकै निर्णयका पक्षमा बोल्छ, प्रचार गर्छ, अरू दल र विचारका प्रति आग्रहपूर्ण रूपमा विरोधका स्वर उराल्छ, आफ्नो नेतृत्वका गलत कार्यकलाप र निर्णयहरूका विषयमा आलोचनात्मक धारणा राख्दैन भने त्यसलाई झोले भन्ने गरिएको सुुनिन्छ, पढिन्छ ।

यस्तो विशेषण एउटा दलकाले अर्को दलका कार्यकर्तालाई त भिराउँछन् नै पछिल्लो समय खासगरी मुख्य राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताहरूमाथि यी दल भन्दा बाहिरका या रास्वपा र अरू नयाँ दलमा लाग्नेहरूले अथवा कुनै खास दलमा सक्रिय नरहेकाहरूले भिराउने गर्छन् ।

यसले स्पष्टसँग दुई वटा लक्ष्य राख्छः पहिलो हो कुनै पनि राजनीतिक दलको कार्यकर्ता हुनु र आफ्नो दलको नेतृत्व र विचार तथा निर्णयहरूको बचाउ गर्नु झोले हुनु हो भन्दै दलका कार्यकर्ताको मानमर्दन गर्ने, हतोत्साही बनाउने र समाजमा दलको कार्यकर्ता हुनु लज्जाको विषय हो भन्ने स्थापित गर्नु ।

कोही मान्छे यदि कुनै पार्टीको सदस्य छ र पार्टी सदस्य हुनुमा गर्व गर्दैन, कार्यकर्ता छ तर कार्यकर्ता हुनुमा मजा मान्दैन, लाज मान्दछ, पार्टीको बचाउ गर्न हिम्मत गर्दैन अर्थात् झोले हुन स्वीकार गर्दैन भने चैं उसले पार्टीमा बस्ने होइन

दोस्रो, यसरी कुनै दललाई कमजोर बनाएर समाजमा आफ्नो बचाउ गर्न नसक्ने बनाएपछि रिक्त रहेको स्थानमा आफ्नो दल या विचारलाई स्थापित गर्नु । पछिल्लो समय राजनीतिक दलको मुख्य नेतृत्वप्रति असन्तोष व्यक्त गर्नेहरू पनि दलका कार्यकर्तालाई झोले भन्दै आलोचना गरेर आफूलाई सही सावित गर्ने आत्मरतिमा रमाउने गरेका सुनिन्छन् । मैले यहाँ प्रवृत्तिको मात्र कुरा गर्न चाहेको हो, यसको भ्यालु जजमेन्ट गर्न चाहेको होइन ।

ओली अघि सरेर किन झोले बने

माथि नै भनियो वर्तमान राजनीतिक व्यवस्थाका मुख्य सञ्चालक या संस्थापक दलहरूलाई सरकारबाट मात्र होइन संसदीय बहुमतबाट विस्थापित नगरी अर्को नयाँ दलले सरकार चलाउने बहुमत हासिल गर्न सक्दैन । त्यसैले नयाँ भनिएका दलहरू सबै र यो व्यवस्था र वर्तमान सरकार र संसद्को नेतृत्वका प्रति असन्तुष्टहरूको मुख्य आक्रमणमा पुराना राजनीतिक दल परेका छन् ।

पुराना राजनीतिक दल भन्नाले मुख्यतया तीन वटा पार्टी पर्छन् । नेपाली कांग्रेस र नेकपा एमाले २०४७ यताका राजनीतिक व्यवस्थाको स्थापना र सञ्चालनको अग्रदस्तामा पर्छन् । २०६३ पछिको व्यवस्थाको रचना र खासगरी गणतन्त्रको स्थापनाका सन्दर्भमा नेकपा माओवादी अग्रदस्तामा पर्छ ।

२०७२ को संविधानको निर्माणका सन्दर्भमा मुख्य खेलाडी कांग्रेस र एमाले हुन् भने माओवादी त्यसको मुख्य सहायक खेलाडी हो । यो व्यवस्था मन नपराउनेहरू (जसमा मुख्यतः राजावादी र हिन्दू अतिवादीहरू पर्छन्) वर्तमान संविधानको खारेजी चाहन्छन् । तिनका लागि पनि उपरोक्त तीन दल र त्यसको नेतृत्व मुख्य निशाना छ । यसैगरी रास्वपा या अरू साना नयाँ दलहरू र कुनै दलमा सामेल नभएको नागरिकहरूको जमात पनि छ जसको अहिलेको उद्देश्य दल र नेतृत्वलाई कमजोर बनाएर उत्पन्न हुने खाली ठाउँमा आफ्ना लागि स्पेस बनाउनु हो । तिनले पनि झोले भन्दै मुख्य तीन राजनीतिक दलका विरुद्ध धावा बोलेका छन् । उनीहरूको निशानामा पनि हाँगा छिमल्ने उद्देश्यका दृष्टिले कार्यकर्ताहरू पर्छन् । जब कुनै राजनीतिक दलका कार्यकर्ताहरू आफ्नो नेतृत्व र उसका निर्णयको बचाउ गर्न तम्सिंदैन र मुन्टो लुकाउन थाल्छ तब नेतृत्व कमजोर बन्छ र उसलाई ढाल्न सहज हुन्छ ।

सम्भवतः पछिल्ला दिनहरूमा प्रधानमन्त्री र एमाले अध्यक्षका रूपमा केपी शर्मा ओलीलाई कार्यकर्ता पंक्तिले समाजमा आफ्ना नीतिहरूको बचाउ गर्न र एमालेका विचारको पक्षमा जनमत बनाउन असफल हुँदै गएको अथवा सक्रिय नभएको आभास भएको हुनुपर्छ । कार्यकर्ताको मनोबल उकास्न र दलका कार्यकर्ता हुनु लाचारी र लज्जाको होइन बरु गर्वको विषय हो भन्ने मनोविज्ञान निर्माण गर्नुपर्ने भएकोले ओली आफैं अगाडि सरेर म पनि झोले हुँ भन्ने अभियान पोष्टरै सहित शुरू गरेको हुनुपर्छ ।

उनले पोष्टर शेयर गर्दै थप भनेका पनि छन्, “सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ ।” यो स्टाटसले नै उनी हरेक कार्यकर्तामा पार्टीका पक्षमा उभिन हौसला प्रदान गरिरहेका छन् भन्ने बुझ्न सकिन्छ । एमाले पार्टीकै औपचारिक धारणा भनेर बुझ्न सकिने ओलीले शेयर गरेको पोष्टरमा भने “म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिंड्नु कैयौं गुणा उत्तम चरित्र हो ।”

यो भनाइ पनि आफ्नो इतिहास र वर्तमान प्रति गर्व गर्न कार्यकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यप्रति लक्षित छ । ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा’ भन्ने वाक्यांशले चैं उनी राजावादीहरूको अहिलेको आन्दोलनबाट दबाब महसुस गर्दैछन् भन्ने अर्थ लगाउन सकिन्छ । यो खास विचारका विपक्षमा पार्टी पंक्तिलाई तयार पार्ने प्रयासको अंग हुनुपर्छ ।

यसरी ओलीले आफूलाई झोले दाबी गरेको देखेपछि मलाई भने उहिले पार्टी निर्माणमा लाग्दाको समय याद आयो ।

मैले चिने–देखेका झोले

ओलीका अरू निर्णय, कार्यशैली र राज्य सञ्चालन सम्बन्धी दृष्टिकोणमा अनेक प्रश्न र असहमति हुन सक्छन् तर झोले अभियान भने मलाई उनको एउटा सकारात्मक पहल लागेको छ । कोही पनि झोले नहुन सक्छ, नहुन पाउँछ तर अर्कोले झोले हुँ भनेर गरेको दावी र स्वीकारोक्तिलाई गलत भन्न चैं मिल्दैन

मैले पहिलो पटक भेटेका झोले चैं कमरेड विमल उर्फ वामदेव गौतम हुन् । उनी २०३६ साउनमा पोखराको बगरस्थित हाम्रो कोठामा एक साँझ काँधमा एउटा झोला बोकेर आइपुगेका थिए । कोठामा म समेत बर्दघाटका बृहस्पति अधिकारी र गोर्जेका होमनाथ सुवेदी तीन जना बस्थ्यौं । हामीलाई रेडगार्ड अर्गनाइजेशनमा संगठित गर्न वामदेव गौतम कमरेड विमलका नामले आइपुगेका थिए ।

उनको झोला त हामीले स्कूल पढ्दा बोक्ने जस्तो कपडाको काँधमा भिर्ने खालको नै थियो । त्यसभित्र चैं उनका एकसरो कपडा र कागजपत्रहरू हुँदा हुन् । पछि नेकपा मालेमा भूमिगत रूपमा काम गर्ने अरू कमरेडहरू आउन थाले । विस्तारै थाहा भयो उनीहरूसँग प्रायः एउटा सानो व्याग हुन्थ्यो । त्यसमा कमसेकम सानो कापी, कलम, स्ट्याप्लर, टुथपेष्ट र ब्रस, केही औषधिहरू, पार्टीका सर्कुलर, एउटा लुंगी, अन्डरगार्मेन्ट र अरू सामग्री हुन्थे । उनीहरू नेकपा मालेको राजनीति फैलाउन घरपरिवार र आफ्नो निजी करिअर छाडेर पूर्णकालीन भएकाहरू पनि हुनसक्थे । या कुनै पेशामा लागेर या विद्यार्थीका रूपमा पूर्ण या अर्ध पेशेवर राजनीतिक कार्यकर्ताका रूपमा सक्रिय जनसंगठनका नेता कार्यकर्ता पनि हुनसक्थे ।

पोखरामा जीवराज आश्रित, किरण गुरुङ, त्रिलोचन ढकाल, धर्मदत्त पोखरेल, केशवलाल श्रेष्ठ, शारदा सुवेदी, धर्मदत्त देवकोटा लगायतले भूमिगत रूपमा पेशेवर काम गरेर पार्टी बनाउन महत्वपूर्ण योगदान गरेका थिए । यी सबै वास्तवमा त्यतिबेलाका झोलेहरू नै थिए । र यस्तै झोलेहरूको सक्रियताका कारण राजतन्त्रविरोधी आन्दोलनले उँचाइ लिएको थियो र पञ्चायत ढाल्न महत्वपूर्ण योगदान पुगेको थियो ।

पार्टी बनाउन रातदिन खट्ने र आन्दोलन परिचालित गर्ने तर खुला जीवनमा रहेका विद्यार्थी, मजदुर र शिक्षक नेताहरू पनि वास्तवमा पार्टीका झोलेहरू नै थिए । उनीहरूले झोलामा एउटा विचार बोक्थे, आन्दोलन परिचालनको खाका बोक्थे, क्रान्तिका खजाना बोक्थे, देशको सपना बोक्थे । यसरी झोला बोक्ने धेरैजसो कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूसँग मेरो संगत हुँदै गयो । पुष्पलाल, मनमोहन लगायत समूहका नेताहरू पनि भिन्न प्रकारले झोलेहरू थिए । मशालको र मालेको कार्यशैली चैं लगभग मिल्दोजुल्दो थियो । त्यस्तै झोले मध्येका हुन् मोहनविक्रम, चित्रबहादुर केसी, रामसिंह श्रीस, प्रचण्ड या मोहन वैद्य । मलाई थाहा छ अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल या तारानाथ रानाभाट, सुशील कोइराला, रामहरि जोशी, शेरबहादुर देउवा, विमलेन्द्र निधि, पूर्णबहादुर खड्काहरू सबै कुनै समयका झोलेहरू नै हुन् ।

रामचन्द्र पौडेल झोला बोक्दै राजनीतिमा हिंडेको र उनको परिवारले पाएको दुःखका सन्दर्भका पुराना कहानी अहिले पनि तनहुँतिर सुनिन्छन् । आजको नेपाली राजनीतिको शीर्ष पुस्ताका सबैजसो नेताहरू झोले नै हुन् । पक्राउ पर्नु अगाडि र जेलबाट रिहा भएपछिका भूमिगतकालीन समयको सन्दर्भमा अहिलेका प्रधानमन्त्री ओली पनि झोले नै हुन् । मोदनाथ प्रश्रित, झलनाथ खनाल, राधाकृष्ण र सीपी मैनाली, अमृत बोहरा, माधवकुमार नेपाल, ईश्वर पोखरेल, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, राधा ज्ञवाली, पम्फा भुषाल सबै झोले नै हुन् । र पूर्व राष्ट्रपति विद्या भण्डारी पनि झोले बनेरै काम गरेर हुर्केकी हुन् ।

यसैले झोले हुनु कुनै हिसाबले पनि खराब र हुनै नहुने कुरा होइन । झोलेहरूले नै निर्माण गरेको हो हाम्रो वि.सं. १९९० दशक यताको राजनीतिको यात्रा । झोलेहरूले नै हो हामीकहाँ प्रजातन्त्र या गणतन्त्रको जग बसालेको, त्यसलाई हुर्काएको र हामीलाई स्वतन्त्रता र अधिकारहरूको सहज उपलब्ध हुने व्यवस्थामा लेराएको । झोलेहरूले नै हो समानुपातिक तथा समावेशी प्रतिनिधित्वको व्यवस्था ल्याएको । झोलेहरू नै हुन् नेपाललाई आधुनिक राज्य व्यवस्थाका सिद्धान्त अनुकूल कानूनी र संवैधानिक शासन व्यवस्थामा लैजाने । देशलाई खुला समाजतिर डोर्‍याउने ।

यसैले म ढुक्कले भन्छु कि झोले हुनु गलत कुरा होइन । ओलीले आफूलाई झोले भन्दै गरेको दाबी इतिहासमा झोलेहरूले खेलेको भूमिका प्रतिको हकदाबी पनि हो । वर्तमानमा झोलेहरूको भूमिकाको स्थानमा दाबी हो भने यसलाई म अन्यथा ठान्दिनँ । ठान्नु पनि पर्दैन ।

पार्टी र झोलेहरू

अब रह्यो झोलेको अर्को अर्थ र सन्दर्भ । झोलेको अर्को अर्थ हुन्छ पार्टीमा वैचारिक बहस नगर्ने, अरूले गर्न चाहे पनि रोक्न खोज्ने र नेतृत्वका जुनसुकै आदेश र निर्णयहरूलाई विना प्रश्न स्वीकार गर्ने कार्यकर्ता । यदि कुनै दलविशेषमा त्यस्तो प्रवृत्ति छ र त्यस्तो प्रवृत्तिलाई प्रोत्साहित गर्ने कार्यकर्ता छन् भने त्यसप्रकारका झोलेहरू चाहिँ पत्रु झोले हुन् । यस्ताले संकटको समयमा पार्टी र त्यसका उपलब्धि बचाउँदैनन् बरु किनारामा रमिता हेर्न पुग्छन् ।

तर यहाँनिर अर्को प्रश्न पनि आउँछ । जब कोही आफ्ना निजी स्वार्थहरूलाई समूह या दलको मातहत राख्न र समूहको शक्ति मार्फत आफ्ना आकांक्षा सहित सामूहिक आकांक्षा पूरा गर्न प्रतिबद्ध भएर पार्टीभित्र बस्छ भने त्यसका केही अनुशासनका सीमा अवश्य हुन्छन् ।

पार्टी स्वतन्त्र मान्छेहरूको भीड या शिवरात्रिको जात्रा होइन । पार्र्टीमा बस्दा केही आफ्नो निजी स्वतन्त्रता बन्धक बन्नु अनिवार्य छ । वैचारिक बहस, नीतिगत बहस, असहमत विचारहरूको खण्डन र आलोचना, गुटहरूको निर्माण र शक्ति आर्जन सबै कुरा पार्टीका अनिवार्य हिस्सा हुन् ।

ती सबै बीचका अन्तरसंघर्षले नै पार्टीलाई गतिशील र जीवन्त बनाउँछ । तर पार्टीको निर्णय भने पार्टीमा बसुञ्जेल स्वीकार गर्नुपर्छ । यसको अर्थ प्रश्न उठाउन हुन्न भन्ने लाग्दैन । प्रश्न उठाए पनि निर्णय पालन गर्न जरूरी छ ।

कोही मान्छे यदि कुनै पार्टीको सदस्य छ र पार्टी सदस्य हुनुमा गर्व गर्दैन, कार्यकर्ता छ तर कार्यकर्ता हुनुमा मजा मान्दैन, लाज मान्दछ, पार्टीको बचाउ गर्न हिम्मत गर्दैन अर्थात् झोले हुन स्वीकार गर्दैन भने चैं उसले पार्टीमा बस्ने होइन । पार्टी बाहिर बस्ने हो, प्रश्न गर्ने हो । आलोचना र विरोध गर्ने हो । त्यसो गर्नु सुन्दर हुन्छ । तर पार्टीका मान्छेले आन्तरिक फोरममा प्रश्न गर्दै, खास विषयमा असहमति देखाउँदै भए पनि सम्पूर्णमा भने झोले हुनुमा गर्व गरेको सुन्दर देखिन्छ । ओलीले म झोले भनेर व्यक्त गरेको गर्वाेक्ति त्यस अर्थमा राम्रो पक्ष हो ।

जुन पार्टीको नेताले आफूलाई उक्त पार्टीको झोले हुनुमा गर्व गर्दैन, गर्न सक्दैन उसले कार्यकर्तालाई पार्टीप्रति गर्व गर्ने बनाउन कसरी सक्छ ?

ओलीका अरू निर्णय, कार्यशैली र राज्य सञ्चालन सम्बन्धी दृष्टिकोणमा अनेक प्रश्न र असहमति हुन सक्छन् तर झोले अभियान भने मलाई उनको एउटा सकारात्मक पहल लागेको छ । कोही पनि झोले नहुन सक्छ, नहुन पाउँछ तर अर्कोले झोले हुँ भनेर गरेको दावी र स्वीकारोक्तिलाई गलत भन्न चैं मिल्दैन । ओलीको झोले अभियानले अरू दलका कार्यकर्तालाई पनि आफू रहेको दलको झोले भन्नुमा गर्व गर्न प्रेरित गरोस् ।

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?