
News Summary
Generated by OK AI. Editorially reviewed.- लेखिकाले आफ्नो सन्तानको जन्म, स्तनपान र फर्मुला दूधको प्रयोगका अनुभवहरू व्यक्त गरेकी छन्।
- उहाँले महिलाको निर्णय, शारीरिक र मानसिक स्वास्थ्य, र सामाजिक परिप्रेक्ष्यमा स्तनपानको महत्व व्याख्या गर्नुभयो।
- लेखिकाले आफ्ना पीडा र संघर्षहरू साझा गर्दै, सन्तानको उचित पोषण र स्वास्थ्यको लागि आवश्यक सावधानीहरूमा जोड दिनुभएको छ।
फागुनको महिना। नानी जन्मेको दुई महिना भएको थियो। मगर संस्कार अनुसार हजुरबुवाको मृत्युपछिको चिनोचौपाटी बनाउनुपर्ने भएकाले रोल्पादेखि दाङ झर्दै थियौं।
नगरपालिकाभित्रै परे पनि रोल्पा मुख्य बजार लिबाङदेखि केही टाढा छ हाम्रो घर। गाउँबाट लिबाङको लागि बिहानै जीप छुट्ने तर त्यहाँबाट दाङको लागि गाडीको समय भइसकेको थिएन। त्यही मौकामा छोरीको पोषण भत्ताको लागि बैंक खाता खोल्नुपर्ने भएकाले मेरो नागरिकताको फोटोकपी गर्न एउटा पसलमा छिरें।
नानीलाई बोत्तलबाट फर्मुला दूध खुवाइराखेको देखेर त्यहाँकी साहुनीले सोधिन्, ‘यो तपाईंको बच्चा होइन ?’
नसोचेको प्रश्न थियो त्यो। झसंग हुँदै सोधें, ‘किन ?’
उनले उत्तर दिइन्, ‘अनि आफ्नो दूध नखुवाएर किन पाउडर दूध खुवाएको त ?’
म त अचम्म परें। आमा हुनलाई के के मापदण्ड पूरा गर्नुपर्ने हो रहेछ ? ९ महिना कोखमा राख्यो त्यो बेलाको भावनात्मक/शारीरिक उतारचढाव सह्यो। प्रसव वेदना सहेर जन्माएर मात्रै पनि त आमा नभइँदो रहेछ। आफ्नो बच्चालाई स्तनपान पनि गराउन सक्नुपर्ने रहेछ।
यताउता जाँदा घरमा कोही आउँदा नानीलाई फर्मुला दुध खुवाएको देखेर चिन्ने/नचिन्ने सबैको पहिलो प्रतिक्रिया नै त्यही हुन्छ। कसैले भन्न पनि थाल्छन्, ‘६ महिनासम्म त आमाको दूध मात्रै खुवाउने हो त। पाउडर दूधले त बच्चा कमजोर हुन्छ किन पाउडर दूध खुवाएको ?’
खोइ उनीहरू किन त्यो आमालाई त्यसरी प्रश्न गर्छन् ? जसले पूरा समय दिएर बच्चाको ख्याल राख्न सकिंदैन कि भनेर आफ्नो पढाइ पूरा नगर्दासम्म बच्चाको योजना बनाएन। जसले आफ्नो स्वास्थ्यमा कुनै समस्या छ भने पछि आउनेवाला बच्चालाई केही समस्या हुन्छ कि भनेर सबै मेडिकल चेकअप गरेर तीन महिना अगाडिबाट फोलिक एसिड खाएर मात्रै बच्चा ‘कन्सिभ’ गरेको थियो। जसले नर्मल डेलिभरी भएको बच्चा अलि बलियो हुने सम्भावना हुन्छ भन्ने सुनेर नर्मल डेलिभरीको लागि हरसम्भव प्रयास गरेको थियो।
जाडोयाममा न्यानो ओछ्यान छोडेर चिसो गल्लीहरूमा एक्लै मर्निङ-इभिनिङ वाक् गरेको थियो। जसले गर्भवती हुँदा के-के कुरामा र डाइटमा ख्याल गरेको थियो। जसले पूरा ९ महिना मात्र होइन अगाडिबाट नै अस्वस्थकर खाना र जीवनशैली परहेज गरेको थियो। त्यही आमालाई सोधिन्छ, ‘यो तिम्रो बच्चा होइन ? ६ महिनासम्म त आमाको दूध मात्रै खान दिने हो पाउडर दूधले त राम्रो गर्दैन।’
०००
परिवारमा नयाँ सदस्य थपिनु खुशीको कुरा हो। तर त्यो खुशीमा परिवार खुशी अर्थात् बुवा-आमा खुशी हुनुपर्छ। सन्तानको योजना दम्पतीको नितान्त निजी निर्णय हुनुपर्छ त्यसमा पनि अझ महिलाको निर्णयको कदर गर्नुपर्छ। किनभने ९ महिना गर्भमा बोक्ने र त्यो बेलाको शारीरिक कठिनाइ, भावनात्मक उतारचढाव मात्र होइन, प्रसव वेदना पछिको स्तनपान, अनिंदा रातहरू, सानो बच्चाको हेरचाह सबै महिलाले नै गर्नुपर्छ अरूले त यसो सहयोग मात्र गर्ने न हुन्।
‘मैले बच्चा पाउँछु अरूले पालिदिन्छ या तिमी बच्चा पाऊ म पालिदिन्छु’ भन्नु एउटा झुट हो। किनभने बच्चा आफ्नो हो यसैले सबै जिम्मेवारी पनि आफ्नो हो। अरूले स्याहार, हेरचाह गरिदिए या नगरिदिए पनि त्यो उनीहरूको व्यक्तिगत स्वतन्त्रताको कुरा हो। तर, अभिभावकका लागि एउटा जिम्मेवारी र कर्तव्य पनि हो।
अहिलेको आधुनिक पुस्तामा हुर्किरहेका महिलालाई त झन् आफ्नो समग्र करिअर नै त्याग गर्नुपर्छ। करिअर नछोडे दोहोरो जिम्मेवारीको भार थेग्न सक्नुपर्छ।
यसैले पनि कुनै महिला शारीरिक, मानसिकका साथै आर्थिक रूपमा सक्षम (विलासी होइन तर अत्यावश्यक आवश्यकता पूरा गर्ने सकिने) नहुँदासम्म सन्तानको योजना नबनाएकै राम्रो !
बिहे हुँदा भर्खर मास्टर्स डिग्रीमा भर्ना भएकी थिएँ। म शहरमा एक्लै कोठा लिएर बसिरहेकी थिएँ। पसल पनि चलाउनुपर्थ्यो। पढ्नलाई कलेज पनि जानुपर्थ्यो। त्यो बेला भावी सन्तानलाई पूरा समय दिन सकिंदैन कि भनेर आफ्नो पढाइ पूरा नहुँदासम्म सन्तानको योजनालाई पछि सारेका थियौं। फेरि हामी हाम्रो बच्चालाई पारिवारिक माहोलमा हुर्काउन थाहन्थ्यौं ताकि उसले समाज बुझोस्/परिवार बुझोस्/हामीले टेकेको माटो बुझोस्/उभिएको जरा बुझोस्।
हामी सन्तानको आफ्नै योजनामा थियौं। तर, यता घरमा मेरो बोबो-फुबु(सासू-ससुरा)लाई सोध्दारहेछन्, ‘तिम्रो बुहारीको बच्चा नहुने हो ? कि गर्भपतन गराउँछन् ?’
हरेक पटक म घर आउँदा मलाई पहिला नियालेर हेरिन्थ्यो अनि भनिन्थ्यो, ‘रित्तो नै रहेछस् त अझै पनि !’
खोइ कोही किन यसरी हेर्छन् ? जस्तो कि कोही महिलाले बच्चा पाएन भने ऊ महिला नै होइन। जस्तो कि बच्चा पाउनु मात्रै बिहे गर्नुको एकमात्र उद्देश्य हो।
हाम्रो योजना अनुसार नै जन्माइएको बच्चा हो। मेरो अन्तिम सेमेस्टर चलिराखेको बेलाको योजना थियो। तर ठिक त्यहीबेला मलाई घरज्वाइँ फिल्मसँग जोडिनुपर्ने भएकाले केही ढिला योजना सार्यौं।
सबै राम्रै भइराखेको थियो। मेरो प्रेग्नेन्सी एकदमै स्वस्थ रहेको थियो शुरूबाटै। गर्भको साइड इफेक्ट मध्ये नाक बन्द हुनु पनि एक रहेछ त्यसले साह्रै दु:ख दियो। औषधि लिन नमिल्ने। कन्सिभ भएको महिनाबाट ७ महिनासम्म दिनु दु:ख दियो। पछि बुबाआमाको घर गएर आगोमा खाना बनाउने गरेपछि मात्रै सञ्चो भयो।
म गर्भवती भए पनि एक्लै थिएँ, सक्रिय थिएँ। अस्पताल नजिक छ। केही भयो भने बुबाआमाको घर पनि नजिक छ, घरबाट कोही न कोही आइहाल्नुहुन्छ भन्ने लागेर म ढुक्क थिएँ। काम नगरी बस्न मनले मानेन यसैले डाक्टरसँगको परामर्शमै मैले काम पनि गरिराखेकी थिएँ।
०००
मेरो डेलिभरीको डेट माघको ६ गते थियो। श्रीमान् पुस २६ गते एकै पटक माघेसङ्क्रान्ति र सुत्केरी स्याहार बिदा लिएर आउने त्यसपछि माघेसङ्क्रान्ति सकिने बित्तिकै फुबु पनि आउने पारिवारिक योजना भएको थियो। डेलिभरी डेटभन्दा दुईदिन अघि दिदी आउनुभएको थियो सँगै बस्न।
पुसको २५ गते नियमित सबै काम गरेर सुत्ने बेला राति ८ बजेतिर पो मेरो वाटर ब्रेक भयो। त्यही क्षेत्रका केही अनुभवीसँग सोधखोजपछि अस्पताल पुग्यौं। भर्ना भएँ। मलाई भने बेथाको केही दुखाइ महसुस भइरहेको थिएन। डाक्टरहरूले बिहानसम्म बेथा लागेन भने औषधि चढाउनु पर्छ भन्नुभयो। राति १२ बजेबाट अलिअलि दुखाइ महसुस हुन लाग्यो। बिहान ४ बजेतिर दुखाइको गति तीव्र भइसकेको थियो।
राति सुत्न नसकेर निद्रा अनि भोकले हैरान भइरहेकी थिएँ। डेलिभरीमा कुनै समस्या देखिए तत्काल सिजरियन सेक्सनमा जानुपर्छ भनेर कालो चिया र झोल पदार्थ मात्रै खान दिइने रहेछ। म एकदमै धेरै खाने मान्छे त्यसले केही भोक मेटिंदैनथ्यो। बिहानको ९ बजे बेथा बढाउने औषधि चढाइयो। त्यसपछिको दुखाइको त म व्याख्या गर्नै सक्दिनँ। पेट खाली थियो। निद्रा र थकानले आँखा बन्द थिए तर पीडाले निदाउन दिएको थिएन।
अघिल्लो दिन साँझबाट बेथा लागेर भोलिपल्ट दिउँसो ३ बजे नानी जन्मियो। हो, नानी जन्मिने बित्तिकैबाटै मैले स्तनपान गराएकी थिएँ। उसलाई त्यो बेला फर्मुला दूध खुवाएको थिइनँ।
घर रोल्पा यो अवस्थामा जान गाह्रो हुने भएकाले माइतीमै बस्ने सल्लाह भयो। तर माइतीमा न्वारान नगर्दासम्म जान नमिल्ने चलन भएको हुनाले घरबेटी दिदीको अनुमति लिएर हामीले ३ दिनमा डेरामै न्वारान गरेर बुबाआमाको घर गयौं। यतिबेलासम्म त सबै सामान्य थियो थियो। एपिजियोटोमी गरेको टाँका दुख्नु त सामान्य नै हो। घरमा सबै थिए। रातमा गाह्रो भए पनि दिनमा अरूले हेरिदिन्थे। मैले आराम गर्न पाउँथें।
तर, करिब एक हप्तापछि नानी रोएको रोयै गर्न थाली। मेरो दूध खुल्दै आउनुपर्नेमा त्यस्तो भएन। मेरो ‘रेक्ट्याक्टेड निप्पल’ रहेछ। आफूलाई परेपछि थाहा पाएँ, इन्भेर्टेड अनि रेक्ट्याक्टेड निप्पलको पहिले नै उपचार गर्नुपर्ने रहेछ। स्तनपान पनि बेग्लै विज्ञान रहेछ। जसको बारेमा हामीले जान्नुपर्ने हो तर जानकार रहेनछौं।
हुनत नानीले दूध चुस्न नसकेपछि डाक्टरलाई सोध्न गएकी पनि थिएँ तर ‘नानीलाई चुसाइराख्नु आफैं बाहिर आउँछ’ भनेको भएर मैले सामान्य रूपले नै लिएँ। तर त्यसो भएन। त्यसपछि निप्पल क्र्याक भएर घाउ भयो।
मैले त ‘आमाको दूध राम्रो हो, पाउडरको दूध त विष समान हुन्छ’ भन्ने सुनेको/पढेको थिएँ। त्यसैले पनि शुरुमै फर्मुला दूध खुवाउनतिर लागिनँ। तर, नानी रोएको रोयै थिई। दूधले नअघाएर दूध चुसेको चुस्यै गर्दा मलाई झन् पीडामाथि पीडा भइराखेको थियो।
हद भएपछि फेरि अस्पताल गएँ। डाक्टरले मल्हम अनि ट्याब्लेट दिए। त्यसले पनि दूध खुलेन। आयुर्वेदिक औषधि पनि खाएँ, अहँ आएन। डाक्टर फेरियो। दिदीले दूध खुलाउने डाइट खाना नै बनाइदिनुहुन्थ्यो तैपनि खुलेन।
सबैले त्यही भन्थे, ‘यो सामान्य हो प्राय: सबैलाई हुन्छ। एक–दुई हप्तामा सञ्चो हुन्छ। दूध पनि खुल्छ। आउँछ। ढुक्क हुनुस्। यो–यो खानेकुरा खानुस्। बरु दुखे पनि दूध चुसाउन नछोड्नुस् बच्चाले ल्याच गर्यो भने आउँछ। ल्याच गर्न छोड्यो भने दूध सुक्छ। फर्मुला दूध नदिनुस्। दिए पनि चम्चाले दिनुस्। दुखे पनि आँखा चिम्म गरेर दूध नै खुवाउनुस्। बच्चाहरूको पेट सानै हुन्छ। रुने त बानी नै हुन्छ प्यानिक नहुनुस्।’ तर, वास्तविक पीडा त मलाई मात्र थाहा थियो।
०००
करिब आधा महिनापछि हामी रोल्पा आयौं। चलन अनुसार घरमा गर्नुपर्ने रितहरू बाँकी नै थियो। नयाँ ठाउँ, साथीभाइ कोही छैन, न बिजुली न इन्टरनेट। श्रीमान् पनि छुट्टी सकेर काममा फर्किहाले। जाडोयाम पहाडको चिसो। बिहे गरेपछि घर बसेकै थिइनँ। धेरै दिन बसेको भनेको त्यही हप्ता दिन थियो त्यो पनि श्रीमान्सँग। घर आएर बस्न मलाई मानसिक रूपमा सजिलो थिएन।
दूधले नअघाएर नानी रोएको रोयै गर्ने। मेरो स्तनको मुन्टामा घाउ भएर रगत बगेर पाकेर पनि खाल्टो भइसक्यो। नानी दूधले नअघाएर दूध मात्रै चुसिराख्ने म त्यो घाउको दुखाइ सहन नसकेर रुन थाल्थें। नानी दूधले नअघाएर रुन्थी। म स्तन दुखेर चुसाउन नसकेर रुन्थें।
स्तनमा घाउ भएर रगत बग्न थालेपछि/घाउ भएर चोक्टा नै निस्केर गएपछि हो मैले नानीलाई फर्मुला दिन थालेको।
पहिलो पटक फर्मुला दिने बेला मेरा हात थरर्र काँपेका थिएँ। मैले मेरो बच्चालाई दूध चुसाउन नसकेर फर्मुला दिनु परेको ममा आत्मग्लानिको राप थियो। कुन आमाले सोचेको हुँदो हो, ‘आफ्नै दूध बच्चालाई अपुग हुनेछ र बजारिया दूध खुवाउनुपर्ला ?’
पछि मैले रिसर्चहरू गर्न थालें। आखिर दूध नआउने म मात्रै त होइन रहेछु। कति बच्चाहरूलाई देखें–भेटें जो आमाको दूध खाएका छैनन्। राम्रै छन् स्वस्थ नै छन्। अझ गाईभैंसीको दूध खानेहरू पनि छन्।
मेरी छोरी अहिले ५ महिना पुग्न लागेकी छ। उसले फर्मुला खाए पनि आमाको दूध पनि खान्छे। जन्मेपछि जन्डिस देखिनुबाहेक अरू केही बिरामी परेकी छैन। उसलाई सबै वातावरणको बानी लागोस्, पचाउन सक्ने होस् भनेर सबै हावापानीमा लिएर हिंड्छु। मज्जाले खान्छे, खेल्छे, सुत्छे। रुने, झगडा गर्ने गर्दिनँ।
शायद, कोही आमाहरूको रहर होइन, फर्मुला दूध खुवाउनु। तर, फर्मुला खुवाउने आमाहरूको कथा एकपटक बुझ्नु के बाध्यता छ ? कति पीडा छ त्यसको पछाडि ? अब मेरो छोरीलाई सोलिड शुरू गर्ने बेला हुन लागेको छ। अब उसको डाइट खानेकुरामा बढी ध्यान दिनेछु। ऊ पक्कै स्वस्थ हुनेछे ।
प्रतिक्रिया 4