
जागेको जेनजी पुस्ताले नेपाली राजनीतिक आन्दोलनको इतिहासमा एउटा नयाँ अध्याय लेख्दै गरेको देख्दा मलाई रोमाञ्चित अनुभव भएको छ ।
जब–जब युवाहरू सडकमा निस्केर शासन सत्तालाई ललकारेको देख्छु जहिले पनि म खुशी हुन्छु । उनीहरू इतिहासले आफूलाई ठग्दै गरेको देख्दा पनि मौन बसेनन् आफ्नो दायित्व निर्वाह गरे भन्ने ठान्छु र तिनलाई सम्मान गर्न मन लाग्छ ।
हामी नेपालको जयतु संस्कृतम्, चीनको मे ४ र सन् १९६८ को फ्रेन्च विद्यार्थी आन्दोलनको इतिहास पढेर रोमाञ्चित हुँदै हुर्केको पुस्ता हौं । हामीले थाइल्याण्ड, कोरिया र तियानमेन चोकको विद्यार्थी प्रदर्शन नजिकबाट नियाल्यौं ।
२०३६ सालमा सोह्र वर्ष पूरा हुँदै गर्दा म सडक आन्दोलनमा सामेल भएको थिएँ । अहिले त्यही उमेर समूह सडकमा आक्रोश व्यक्त गर्न सामेल हुनु एउटा दु:खद् हो । उनीहरू पढ्ने–सिक्ने, सिर्जनात्मक काममा लाग्ने, कमाउने, श्रम गर्ने, साथीसंगीहरूसँग रमाउने र वयसुलभ प्रेममा डुब्ने बेलामा सडकमा आउनु अवश्य पनि राम्रो होइन ।
तर देशमा जुन तहको बेथिति मौलाएको छ त्यसलाई टुलुटुलु हेरेर यिनीहरू बसेनन् । यिनले आफूलाई चिने, आफ्नो कर्तव्य बुझे । अब यिनीहरूलाई देशको जिम्मा लगाएर ढुक्क हुन सकिन्छ । यही हो सुखद् र सन्तोषको विषय ।
यस अगाडि नेपालको सत्ताविरोधी राजनीतिको नेतृत्व गर्नेहरूले लोकतन्त्र त ल्याए तर त्यो कसका लागि थियो भन्ने प्रश्न अहिले जबर्जस्त उठेको छ । यस्तो प्रश्न उठ्नका लागि उनीहरू आफैं जिम्मेवार छन् ।
२०४७ यताका यति लामो अवधिमा नेपालको अर्थ–सामाजिक व्यवस्थामा कुनै गम्भीर परिवर्तन गर्न नसकेको अपजस मुख्य रूपमा नेपाली कांग्रेस, नेकपा एमाले (माधव, झलनाथ र वामदेवहरू समेतको) र माओवादीलाई जान्छ । नेतृत्वका दृष्टिले ओली, देउवा र प्रचण्डलाई ।
अहिले स्थिति भड्काउनमा भने मूलत: केपी ओली र नेकपा एमाले जिम्मेवार छ जसले एकातिर सामाजिक सञ्जाल बन्द गरे अर्कोतिर आन्दोलनकारीलाई गोदावरीबाट ललकार्दै दमन व्यहोर्न चुनौती दिए ।
२०४६ सालको जनआन्दोलन भन्दा केही अगाडिका घटनाहरू सम्झना हुन्छ । १९८९ को पतझड आउने बेला पूर्वी युरोपका साम्यवादी सत्ताहरू एकपछि अर्को ढल्दैथिए । शासकहरूमध्ये सबैभन्दा बढी बद्नाम भए निकालोइ चाउसेस्कु । रोमानियाका राष्ट्रपति चाउसेस्कु र उनको आवासमा प्रदर्शनकारीले नियन्त्रण गरिसकेपछि उनकी पत्नी एलिनाका श्रृंगार सामग्रीको भण्डारको चर्चा चुलिएको थियो ।
यता केही महिना अगाडि मात्र चाउसेस्कुुले उनको विरुद्ध आन्दोलनमा उत्रिएका युवाहरूलाई ललकार्दै भनेका थिए : पीपलको रूखमा स्याउ फल्दैन । तर डिसेम्बर आखिरीमा राजधानी बुखारेष्ट आन्दोलनकारीको कब्जामा गयो । उनी हेलिकोप्टरबाट भाग्दै गर्दा सेनाले नियन्त्रण गरेको थियो र पति–पत्नी दुवैलाई फाँसी दिइएको थियो । अर्थात् पीपलको रूखमा स्याउ फलेको थियो ।
कम्युनिष्ट राजनीति गरिरहेका हामीलाई चाउसेस्कुको पतन लज्जास्पद त थियो तर उनको जस्तो शासन बचोस् भन्न पनि त सकिन्नथ्यो । चाउसेस्कुको समय भन्दा तीन वर्ष पहिले फिलिपिन्सबाट भागेका तानाशाह मार्कोसकी पत्नी इमेल्दाका हजारौं जोर जुत्ता–चप्पल र गरगहनाको चर्चा गरिएको थियो । हामी आन्दोलनका समयमा दरबारतिर लक्षित गर्र्दै यी उदाहरण दिन्थ्यौं र मासलाई उत्तेजित पार्थ्यौं ।
समय कस्तो आयो भने जेनजीले वर्तमान सत्तारुढ दलका नेता र तिनको परिवारको जीवनशैलीमाथि प्रश्न उठाएका छन् । जसरी हामीले अधिकराजकुमार धीरेन्द्र र ज्ञानेन्द्रहरूको मोजमस्ती, युवराज दीपेन्द्रको इटन कलेजको वान्ता र तत्कालीन महारानीको शृंगारलाई प्रश्न गरेका थियौं । समयको यो परीक्षा हाम्रो पुस्ताका लागि निकै कठिन क्षण हो ।
सन् २०२२ मा श्रीलंकाका सडकहरू यस्तै युवाहरूको नियन्त्रणमा पुगे । राष्ट्रपतिले देश छाडेर भागेको, राष्ट्रपति कार्यालय र निवासमा प्रदर्शनकारीले नियन्त्रण गरेका दृश्यहरू फैलिए । गत वर्ष यसै समयतिर बंगलादेशमा त्यही दृश्य दोहोरियो । विद्यार्थीले राजनीतिलाई आफ्नो नियन्त्रणमा लिए । प्रधानमन्त्री भागेर भारतमा शरण लिन पुगिन् ।
यतिवेला केही सातादेखि इन्डोनेशिया त्यही अवस्थामा छ । हाम्रा युवाहरूले त्यहाँबाट सिके र शासकहरूलाई ललकार्दै सडकमा निस्केका छन् ।
केही दिनको अपिलमै जम्मा भएका युवा र किशोर–किशोरीहरूको आक्रोशलाई सरकारले बेलैमा व्यवस्थापन गर्न नसक्दा सडक हिंसात्मक भिडन्तस्थलमा बदलिएको छ । यो लेख तयार गर्दै गर्दा १९ जना युवाहरूको प्रहरीको गोली लागेर मृत्यु भएको छ । सयभन्दा बढी घाइते भएका छन् । आन्दोलन देशका विभिन्न शहरमा फैलिएको छ । प्रधानमन्त्री र सत्तारुढ गठबन्धनले यो प्रदर्शनको अर्थ–राजनीतिलाई सही रूपमा ठम्याउन सकेन भने ठूलो राजनीतिक उथलपुथलको सम्भावना छ जसको पहिलो शिकार प्रधानमन्त्री आफैं र सत्तारुढ दलहरू र ठूला पार्टीका नेताहरू हुनुपर्नेछ । माओवादी युद्धमा बाहेक एकैदिनको प्रदर्शनमा यति धेरै मान्छे मारिएका थिएनन् ।
हामी चुप थिएनौं । केही वर्षयता हामी निरन्तर बोल्दै आएका छौं, लेख्दै आएका छौं कि शासन ठिकठाक चलिरहेको छैन । निर्वाचित भएका नभएका नेताहरूले राज्यकोष र राज्यशक्तिलाई निजी सम्पत्ति जस्तो उपयोग–उपभोग गरे । कानूनी शासनका मूल्य पालन गरिएन । संसद्लाई खेलौना बनाइयो । पार्टीलाई एक–दुई जनाको निजी भेडा फार्म बनाइयो । न उद्योग खुले न रोजगारी बढ्यो । आसेपासे पोस्ने अर्थनीति, बिचौलियासँग साँठगाँठ गरिरहेको राजनीतिक नेतृत्व र नोकरशाही संयन्त्र । कानून, संविधान, विधि, विधान, प्रणालीका मूल्य सबै नेताहरूको कुर्सी स्वार्थका मातहत राखियो । हेर्दाहेर्दै हामीले आशा राखेका, आस्था र विश्वास गरेका नेताहरू पतनको बाटोमा गए । हामी हेरेको हेर्यै भयौं ।
नेताहरूले हामीलाई पुतलीको सपनाका कथा भन्दै उडाए । अब यसको परिणाम पनि उनीहरूले नै भोग्नुपर्नेछ ।
१९८० बाट आरम्भ भएर आर्थिक विकासको जडीबुटीका रूपमा विकासोन्मुख देशलाई खान बाध्य पारिएको नवउदारवादी अर्थनीति २००८ बाटै असफल भएको हो । यद्यपि अन्य सूचक र आधारहरू बलियो र राजनीतिक नेतृत्व सक्षम भएका देशहरूमा नवउदारवादका कतिपय नीति अवलम्बन गरेर आर्थिक वृद्धि नभएका होइनन् । तर मूलभूत रूपमा नवउदारवादले तेस्रो विश्वको स्रोत, साधन, पैसा र श्रम सबै विकसित शहर र महानगरतिर खिचेर लग्यो ।
यता विकासोन्मुख देशको अर्थतन्त्रमा गाउँको स्रोतसाधन र श्रममाथि नगर, महानगरले अनि महानगरको पनि आयस्तामाथि सीमित क्रोनी क्यापिटालिष्ट वर्ग र त्यसलाई संरक्षण गर्ने सत्तालम्पट राजनीतिक नेतृत्व र ब्यूरोक्रेसीले नियन्त्रण गर्न पुग्यो । शोषण र वर्चस्वको यो चक्र कुनै दिन टुट्ने नै थियो । श्रीलंका र बंगलादेशले त्यसको संकेत दिएकै थिए । इन्डोनेशिया त्यही असफलताको पछिल्लो कडी हो । नेपालमा पनि यस्तो असफलता पन्पेकै थियो ।
यो असफलताले सिकाएको अर्को पाठ के हो भने अहिलेको संकटका लागि जिम्मेवार मुख्य नेतृत्व रहुञ्जेल, उनैले आलोपालो सत्ता चलाउञ्जेल न आर्थिक नीतिहरू जनमुखी बन्नेछन् न नवउदारवादबाट फरक अर्थनीति अँगाल्न सकिनेछ । यो संकटबाट मुक्तिको पहिलो शर्त नै सत्ता परिवर्तन हो । सत्तासीनहरूबाट सरकारको तालाचाबी नयाँ पुस्तामा हस्तान्तरण ।
त्यसका लागि पहिलो शर्त प्रधानमन्त्रीले वर्तमान हिंसा र जनधनको व्यापक क्षतिप्रति जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ । कांग्रेस र एमाले सहमति गरेर मध्यावधि घोषणा गर्नु र अन्तरिम सरकारलाई बाटो खुला गर्नुपर्छ । दीर्घकालीन समाधानका लागि कमसेकम ७० माथिका सबै दलका सबै नेताले राजीनामा दिउन् र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरुन् । अन्यथा नयाँ पुस्ताले यी मुख्य राजनीतिक दललाई विस्थापित गर्नेछन् ।
म राजनीतिको एउटा संयोगले कम्युनिष्ट पार्टीमा सामेल भएँ । अहिले पनि म आफ्ना विचारहरूप्रति प्रतिबद्ध छु । तर समस्या के भयो भने यतिबेला जेनजी पुस्ताले विस्थापित गर्न खोजिरहेको मुख्य राजनीतिक शक्ति र व्यक्तित्व कम्युनिष्ट पार्टीका छन् । अध्यक्ष केपी शर्मा ओली लगायत एमाले नेताहरू, प्रचण्ड लगायतका माओवादी नेता, माधव झलनाथ र वामदेव लगायतकाहरू पनि । जसलाई स्थापित गर्न आन्दोलन गरियो उसैलाई विस्थापित गर्न सडकमा अरूले रगत बगाइरहेको दृश्य मर्ममै चोट लाग्ने खालको हुँदोरहेछ ।
तर बचाउनुपर्ने देश हो, सम्हाल्नुपर्ने नयाँ पुस्ताको भविष्य हो । त्यसका लागि यो नेतृत्व बाधक भएको छ । पटक–पटक परीक्षित यो नेतृत्वको विस्थापन र नेतृत्वमा नयाँ अनुहारको प्रवेश विना यी दलहरूलाई मात्र होइन कम्युनिष्ट राजनीतिलाई पनि बचाउन सकिने छैन । जति माया लागे पनि मृत आफन्तको शरीर मझेरीमा राखेर घर बसिरहन सकिन्न ।
फेरि दोहोर्याएर भन्छु प्रधानमन्त्रीजी राजीनामा दिनोस् तपाईंको समय सकियो । झेल गरेर पार्टी सत्ता कब्जा गरिरहन सक्नुहोला, केही समय राज्यसत्ता पनि भोग गर्नुहोला तर तपाईंको अन्त्य सुखद् हुनेछैन । थप दु:खान्तको प्रतीक्षामा युवाहरूलाई सडक–सडकमा गोलीले नढाल्नोस् । तिनको रगतले तपाईंलाई चैनको सास फेर्न दिनेछैन ।
फेरि सम्झाउँछु, नेपालको इतिहासमा सडक प्रदर्शनमा यति धेरै मान्छे एकैदिन कहिल्यै मारिएका थिएनन् । त्यो रेकर्ड पनि तपाईंले नै राख्नुभयो । देशको सेवा मनग्य गर्नुभयो अब अरूलाई पालो दिनुस् । सेवा गर्न पहिले देश चाहिन्छ । युवाहरू मरिरहेको देश कसरी देश भन्न सकिन्छ ?
प्रतिक्रिया 4