Comments Add Comment

‘नख्खु र बल्खु खोला बस्ती पसेको होइन, खोला मिचेर बस्ती बसेको हो’

२९ असार, काठमाडौं । लगातारको वर्षासँगै शुक्रबार दिउँसो काठमाडौंको कलंकी, कुलेश्वर तथा ललितपुरको नख्खु क्षेत्र डुवानमा प¥यो ।

कुलेश्वरमा ठूला अपार्टमेन्टहरु नै डुवानमा परेको दृश्य धेरैका लागि आश्चर्यको विषय थियो । आश्चर्यमा पर्नु यो स्वभाविक पनि हो । किनकी कोरिडोर सडक आसवासका बस्ती सुरक्षित मानिएको थियो ।

सरकारले नै नदी किनारहरुमा कोरिडोर सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ । अग्ला पर्खालहरु लगाइएको छ, सडकहरु बनाएको छ । तर त्यो सबैलाई पन्छिाउँदै बाढी बस्तीहरुमा पस्यो ।

किन खोला बस्तीमा पस्यो त ? बाग्मती सभ्यता एकीकृत विकास समितिका उप–आयोजना प्रमुख योगेन्द्र चित्रकारका अनुसार यो पटक नख्खु र बल्खु खोलामा आएको बाढी २०-३० वर्षमा एक पटक आउने बाढी हो । जबलाई नदीको दुबैतिर लगाएको पर्खालहरुले छेक्न सक्दैन । उनी भन्छन्, ‘नदीले धार परिर्वतन नगरोस्, वस्तीमा नपसोस् भनेर हामीले बनाएको पर्खाल २-३ वर्षका लागि हो ।’

उनले अघि भने, ‘यस्तो बाढी पोहोर अनुमन्ते खोलामा आएको थियो, यो नख्खु र बल्खुमा आयो ।’

तर २०-३० वर्षमा एक पटक आउने बाढी आएकै कारण मात्र बस्तीहरु डुबानमा परेको भने होइन ।

पछिल्ला वर्षहरुले अनेक नाममा नदी मिचेर संरचना बनाउने काम तीव्र गतिमा भयो । समान्य वर्षा र बाढी आउँदा नदी मानिसहरुले बनाइदिएको कृतिम धारमा बगेकै थियो । तर जब यस्तो ठूलो बाढी आउँछ, नदीले आफ्नो बहाव कायम गर्छ । यस पटक त्यस्तै भयो ।

बाग्मती सभ्यता एकीकृत विकास समितिका उप–आयोजना प्रमुख चित्रकारकाअनुसार सरकारले २०६५ सालमा नै नदीको दुबैतर्फ २०÷२० मिटर छाडेर मात्र पक्की संरचना बनाउन आग्रह गरेको थियो । तर नख्खु र बल्खु खोलामा मात्र होइन, कहिँ पनि यो पालना भएको छैन ।

नदी किनारसम्म घरहरु बनेका छन्, ठूलठूला संरचनाहरु ठ्याइएको छ । खोलालाई साँघुरो बनाइएको छ । सामान्य अवस्थामा पानी नै हुँदैन, त्यसैले मानिसले बनाइदिएको कृतिम बाटोमा खोला हिड्छ ।

तर जब पानीको बहाव उच्च हुन्छ, कृतिम बोटामा न अट्छ, न हिड्न सक्छ । त्यसैले घर होस् कि सडक केही नहेरी आफ्नो बहाव कायम गर्छ ।

नख्खु खोलामा त्यस्तै भएको छ । २०२१ सालमा नदीको बहाव जहाँ थियो, त्यतैतिर लैजाने भनेर नदीको धार परिर्वतन गर्ने काम भयो । २०२१ सालमा नदीको धार भएका धेरै ठाउँ त पक्की संरचनाहरु बनिसकेका थिए । त्यसैले मानिसहरुले आफ्नो अनुकुल धार कायम गरे ।

करिव ८० करोडमा ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले १३ मिटर खोला र दुबैतर्फ १२–१२ मिनेट बाटो कायम गरेर ढल तथा पर्खाल लगाउने काम पनि गरिरहेको थियो । तर यो पटक आएको बाढीले कृतिम धारलाई पन्छाएर आफ्नो अनुकुल बहाव कायम गरेको छ ।

जबकी २०२१ सालको धार कायम गर्ने नाममा भइरहेको काम स्थानीय जनप्रतिनिधिलाई समेत चित्त बुझेको छैन । ललितपुर महानगरपालिका १३ का वडा सदस्य सन्तोष खनाल भन्छन्, ‘सहयोग गरिदिनु भनेर वडालाई पत्र आएको थियो तर, नापी र ठेकदार मिलेर सबै काम गरेका छन् । हामीलाई सहभागी गराइएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment