Comments Add Comment

प्रदेश १ सरकारले एकै वर्षमा किन्यो २६ करोडको गाडी

३० असार, विराटनगर । प्रदेश १ सरकारले मुख्यमन्त्री, मन्त्री र मन्त्रालय प्रयोजनका लागि भन्दै चालु आर्थिक बर्षको ११ महिनामा २६ करोड २० लाख २३ हजार रुपैयाँको सवारी साधन खरिद गरेको छ ।

प्रदेश १ सरकारमा सात मन्त्रालय र कुल पाँच मन्त्री छन् । प्रदेशका मन्त्रालय, मन्त्रीबाहेक विशिष्ट पाहुनादेखि व्यवस्थापिका र मुख्य न्यायाधीवक्ताको कार्यालयसम्मका लागि पनि गाडी किनेको सरकारको भनाइ छ । प्रदेश १ सरकारले मुख्यमन्त्रीका स्वकीय सचिव र प्रेस सल्लाकारलाई समेत गाडी सुविधा दिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव एवं प्रवक्ता हरिहर पौडेलले नयाँ संरचनामा आवश्यक सवारी साधन नभएकोले प्रदेश सरकारले जीप, कार, मोटरसाइकल र स्कुटरदेखि साइकलसम्मका सवारी साधन किनेको बताए ।

‘मुख्यमन्त्रीज्यूको सवारीका लागि छुटाइएको दुई करोड र एम्बुलेन्स खरिदका लागि छुट्याइएको सात करोड रुपैयाँ भने खर्च भएको छैन’, पौडेलले भने ।

मुख्यमन्त्री शेरधन राईले सुनसरी–मोरङ सिञ्चाई अयोजनाको गाडी प्रयोग गर्ने गरेका छन् । प्रदेश १ सरकारले स्थानीय तहहरुका लागि ७० वटा एम्बुलेन्स किन्न भनेर सात करोड बजेट विनियोजन गरेको थियो ।

सरकारले चालु आर्थिक वर्ष (२०७५/०७६) का लागि सवारी साधन खरिद शीर्षकमा ३० करोड ३५ लाख २३ हजार रुपैया विनियोजन गरेको थियो । सवारी साधनमा आन्तरिक मामिला मन्त्रालयले सबभन्दा बढी १८ करोड ९४ लाख ४५ हजार ९ सय ९७ रुपैयाँ खर्च गरेको छ ।

आन्तरिक मामिला मन्त्रालयपछि प्रदेश व्यवस्थापिकाले सबभन्दा धेरै आठ करोड ५० लाख २५ हजार रुपैयामा १३ वटा गाडी किनेको छ । प्रदेश व्यवस्थापिकाका लागि सवारी साधन खरिद शीर्षकमा दुई करोड ७५ लाख २५ हजार रुपैया विनियोजन गरिएकोमा थप पाँच करोड ७५ लाख रकमान्तर गरिएको हो । सभामुख, संसदीय समितिका सभापति, प्रमुख सचेतक, सचिव सबैका लागि गाडी किनिएको छ ।

त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयले चार करोड २० लाख, कृषि तथा भूमि ब्यवस्था मन्त्रालयले तीन करोड ५१ लाख र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई करोड ४५ लाख रुपैयाँको सवारी साधान खरिद गरे । त्यस्तै, सामाजिक विकास मन्त्रालयले एक करोड ९८ लाख ५० हजार रुपैयाँको सवारी साधान किनेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सवारी साधन गरिदमा प्रदेश सरकार निकै हौसिएको बताए । उनले भने, ‘सुख सुविधा, कमिसन र राजनीतिक अभिष्टसमेतको लोभले यति धेरै रकमको गाडी किनमेलमा मरिहत्ते गरेको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment