Comments Add Comment

विप्लव समूह प्रहरीसँग आमने सामने भएको हो ?

सांसदको समर्थन गुम्यो, विप्लव समूहलाई राजनीतिक क्षति

३० असार, काठमाडौं । प्रतिवन्धित विप्लव समूहले अहिलेसम्म सरकारी सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गर्ने आफ्नो नीति नरहेको बताउँदै आएको छ । तथापि, गत बुधबार भोजपुरमा भएको झडपमा एक प्रहरीको मृत्यु भएको घटनाले प्रश्न उब्जाएको छ- के अब विप्लव समूहले प्रहरीमाथि भौतिक हमला थालेको हो ?

एकातिर विप्लव समूहले सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति नभएको दाबी गर्दै आएको छ भने अर्कातिर प्रहरी जवानकै हत्या भएपछि सुरक्षा अधिकृतहरु झस्किएका छन् ।

यद्यपि अहिलेसम्म सरकार र विप्लव दुवै पक्षले युद्धको अवस्था सिर्जना भएको घोषणा गरिहालेका छैनन् ।

केन्द्रीय नेतृत्व मौन

प्रहरी जवान सञ्जिव राईको हत्यापछि प्रश्न उठेको छ, विप्लव समूहले सुरक्षा निकायप्रतिको नीति परिवर्तन गरेको हो ? वा, राईको मृत्युमा विप्लवका नेतासँगको जम्काभेटबाट उत्पन्न परिस्थितिले मात्रै भूमिका खेलेको थियो ? यो चासोको विषय बनेको छ ।

तर, विप्लव समूहको केन्द्रीय नेतृत्वले अहिलेसम्म भोजपुरमा प्रहरी जवानको मृत्युको विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । गत बिहीबार सगरमाथा ब्युरोले जारी गरेको विज्ञप्तिमा ७ जेठमा भोजपुरमा पार्टी नेता तीर्थराज घिमिरेको ‘हत्या गर्ने’ जवान राईसँग मुठभेड हुँदा पार्टी नेता निरकुमार राईले सहादत प्राप्त गरेको उल्लेख छ ।

विप्लव समूहका नेताहरु भोजपुर घटनाबारे अझै अनुसन्धान भइरहेको बताउँछन् । पार्टीको केन्द्रीय कमाण्डबाट पनि अर्को विज्ञप्ति निकाल्ने तयारी भइरहेको स्रोतको भनाइ छ ।

जवान सञ्जीव राईलाई ७ जेठमा भोजपुरको टेम्केमयुम गाउँपालिका-२, दलसिंगेमा मुठभेडमा मारिएका विप्लव नेता तीर्थराज घिमिरेको ‘हत्यारा’ भएको दाबी विप्लव समूहले गरेको छ । र, यही कारण उनीमाथि निशाना बनाइएको हुन सक्ने सुरक्षा अधिकृतको विश्लेषण छ ।

त्यसो त घिमिरे मारिएलगत्तै विप्लव समूहतर्फबाट जारी गरिएको विज्ञप्तिमा सादा पोशाकमा खटिएका सुराकी प्रहरीलाई गतिविधि बन्द गर्न चेतावनी दिइएको थियो । राई सादा पोशाकका घुमुवा प्रहरी थिए ।
यो पनि पढ्नुहोस भोजपुरमा विप्लव समूहबारे विशेष सूचना राख्थे प्रहरी जवान राई

सरकारी पक्षको विश्लेषण के छ ?

विप्लव समूहले सरकारी सुरक्षाकर्मीमाथि आक्रमणको थालनी गरेको र अब आमने-सामने युद्ध चाहेको स्वयं सरकारी सुरक्षाकर्मीलाई पनि विश्वास छैन । भोजपुर घटनालाई लिएर यस्तो निश्कर्ष निकाल्न नसकिने उनीहरु बताउँछन् ।

प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोका एक अधिकृत विप्लव समूहको भोजपुर घटना नियतवस नभई मुठभेड भएकाले नीति वा अन्य केही कुरासँग यसलाई जोड्न नमिल्ने बताउँछन् ।

द्वन्द्वको समयमा एक सुरक्षा संयन्त्रको नेतृत्व गरेका ती पूर्वसुरक्षा अधिकृतका अनुसार अहिले मौका पर्दा कसले कसलाई कति क्षति पुर्‍याउने भन्ने रणनीतिमा दुवै पक्ष रहेको देखिन्छ । तर, यति हुँदाहुँदै पनि दुवै पक्ष आमने-सामने लडाइँको मनस्थितिमा नरहेको उनको विश्लेषण छ ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राई सरकारले द्वन्द्व नचाहेको बताउँछन् । उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘कोही पनि नेपालको संविधानलाई मानेर शान्तिपूर्ण आन्दोलनमा आउँछ भने हामी स्वागत गर्छौं ।’

तर, हिंसात्मक क्रियाकलाप गरिए राज्यले सधैँ नियन्त्रण लिने राई बताउँछन् । ‘हिंसात्मक गतिविधि गर्नेलाई नियन्त्रणमा लिने सदा राज्यको सिद्धान्त नै हो’, गृहसचिव राईले भने, ‘समूहको भोलि हुने अवतरणका विषयमा भोजपुरमा भएका यस्ता घटनाले बाधा गर्छ जस्तो लाग्दैन ।’

तर, भोजपुरमा प्रहरी जवान मारिएको विषयलाई प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयले पनि ‘भवितव्य’ माने पनि कार्यक्षेत्रमा खटिएका अधिकृत भने यसलाई ‘माथिको निर्देशन’ मान्ने मनस्थितिमा छैनन् ।

साथी मारिएका कारण प्रहरी अधिकृतको मनोविज्ञानमा असुरक्षाको भावना पैदा भएको छ । अब माओवादी देख्नेवित्तिकै प्रहरी पनि डराउने अवस्था आउने एक सुरक्षा अधिकृतले बताए ।

यो पनि पढ्नुहोस विप्लव समूह: ‘माओवादी समस्या’ को दोस्रो संस्करण !

‘यस्तो स्थितिमा सामान्य गस्तीमा जाँदा दुई/चार जना विप्लवका नेता/कार्यकर्ता देख्नेवित्तिकै दुवै पक्षबाट गोली चल्ने अवस्था आउन सक्छ’, ती अधिकृतले अनलाइनखबरसँग भने, ‘यसले भिडन्तको अवस्थालाई झन् बढाउन सक्छ  ।’

पूर्वी पहाडी जिल्लामा कार्यरत् एक प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्छन्, ‘माथिबाट जे निर्देशन आए पनि फिल्डमा कस्तो परिस्थिति हुन्छ भन्ने हामीलाई मात्र थाहा छ, यस्तो अवस्थामा निर्देशनभन्दा पनि तत्काल दिमागले काम गर्ने हो ।’

उनले भोजपुर घटनापछि जतिसुकै बेला हतियार तयार राखेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको बताए । गस्तीदेखि कार्यालयभित्रै बस्दासम्म उच्च सतर्कता अपनाउनुपर्ने स्थिति रहेको ती अधिकृतले बताए ।

मुलुकको गुप्तचरी संयन्त्र राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतले भने ‘केही भिडन्तजस्ता देखिने’ घटना भए पनि विप्लव समूहको रणनीति सकेसम्म सुरक्षा निकायलाई नजिस्क्याउने नै रहेको दाबी गरे ।

त्यसअनुसार नै विभिन्न घटनामा ढुंगामुढा, आगजनी विप्लव समूहले गर्दै आएको ती अधिकृतले दाबी गरे । उनले भने, ‘सरकारलाई गलत देखाउन सकिने स-साना कुरामा हात हालेर जनतालाई उत्तेजित बनाएर व्यवस्थाप्रति निराशा सिर्जना गर्ने उसको रणनीति हो । जनतासँग सरोकार राख्ने विषयमा कालोमोसो दल्ने जस्ता गतिविधि गरेर उसले जनभावना आफूतिर तान्ने प्रयत्न गरिरहेको छ ।’

यदि यही प्रकृतिको दोहोरो भिडन्तका घटना बढ्दै गए भने बदलाको भावना वृद्धि भएर जाने देखिन्छ । त्यसले अन्ततः देशलाई द्वन्द्वतिर धकेल्न सक्छ । त्यसैले समयमै विप्लव समूहसँग वार्ता गरेर यो समस्यालाई समाधान गर्नु आवश्यक रहेको विज्ञ बताउँछन् ।

यो पनि पढ्नुहोस ओली–विप्लव आमनेसामने ! दुबैलाई जोखिम

बाँदरको पुच्छर, लौरो न हतियार !

विप्लव समूहसँग हतियारै नभएको चाहिँ होइन । तर, उसँग रहेका हतियारहरु अहिलेसम्म ‘बाँदरको पुच्छर लौरो न हतियार’ भनेजस्तै अवस्थामा छन् । बरु यसवीचमा प्रहरीले उनीहरुको धेरै हतियारहरु खोसिसकेको दाबी गरेको छ ।

०५२ सालमा तत्कालीन माओवादीले विद्रोह थाल्दा खुकुरी, भरुवा बन्दुक मात्र होइन, पटकासमेत प्रयोग भएका थिए । प्रहरी चौकीमाथि धावा बोलेर क्रमशः हतियार कब्जा गरेको तत्कालीन विद्रोही माओवादी ‘पटका’ हुँदै एलएमजी (लाइट मेसिन गन) प्रयोग गर्ने हैसियतसम्म पुगेको थियो ।

तर, अहिले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहसँग प्रारम्भमै प्रशस्त एलएमजीसमेत रहेको प्रहरीको विश्लेषण छ । विगतको द्वन्द्वमा लुकाइएका अधिकांश हतियार समूहको हातमा पुगेको सुरक्षा संयन्त्रले दाबी गर्दै आएको छ ।

विप्लव समूहको पकड क्षेत्र पश्चिमको कालिकोट, कपिलवस्तु लगायत भए पनि पछिल्लो समय विप्लवले पूर्वी पहाडी क्षेत्रमा सैन्य शक्ति केन्द्रीय गरेको देखिन्छ ।

तर, द्वन्द्वका समयमा लुकाइएका ती हतियार बाहिर निकालेर सुरक्षित साथ आफ्नो प्रभाव क्षेत्रमा ओसार्न खोज्दा विप्लव समूह असफल बनेको प्रहरी अधिकारीहरु बताउँछन् ।

किनकि, द्वन्द्वका बेला लुकाइएका हतियार, एलएमजी, राइफल १/१ वटा, ३०३ राइफल ३ वटा, एसएमजी दुई वटा, ४१७ राउण्ड गोली लगायत नेपाल प्रहरीले  बरामद गरिसकेको छ ।

यो पनि पढ्नुहोस विप्लवसँग लुकामारी ! प्रहरी समात्ने, अदालत छाड्ने

सरकारले नेत्रविक्रम विप्लव समूहमाथि २८ फागुनमा प्रतिबन्ध लगाएपछि मात्रै प्रहरीले ५७९ जना नेता कार्यकर्तालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा विप्लव तेस्रो वरियताका नेता हेमन्तप्रकाश ओली उर्फ सुदर्शनसमेत छन् ।

यो अवधिमा विप्लव समूहतर्फ तीनजना मारिएका छन् भने पहिलोपटक गत बुधबार भोजपुर भिडन्तमा प्रहरी जवान सञ्जिव राई मारिएका छन् । अर्का एक प्रहरी घाइते भएका छन् । त्यसक्रममा विप्लव माओवादीका ओखलढुंगा इञ्चार्ज नीरकुमार राई पनि मारिएका छन्  ।

मुलुकको गुप्तचरी संयन्त्रको रिपोर्टअनुसार विप्लव समूहसँग हतियार भए पनि प्रयोगका लागि तालिमप्राप्त जनशक्ति भने छैनन् । पार्टीले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्याको दिन १२ जेठमा काठमाडौंको अनामनगर र सुकेधारामा भएको विष्फोटमा समूहकै ४ नेताको मृत्यु हुनुले पनि यो कुराको पुष्ट्याइँ गर्छ ।

तर, गृहमन्त्री रामबहादुर थापा बादलले भने विप्लव समूहसँग तीन कम्पनी सेना रहेको दाबी संसदमै गरेपछि राजनीतिक नेतृत्व र सुरक्षा निकायको विश्लेषणमा विरोधाभाष देखिएको छ ।

ध्वंसात्मक गतिविधि नियन्त्रण गर्छौं – प्रहरी

प्रहरी प्रधान कार्यालयको महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रमेश थापा भने प्रहरीले अहिलेसम्म ध्वंसात्मक गतिविधि गर्नेलाई नियन्त्रणमा लिइराखेको बताउँछन् ।

‘प्रहरीले हालसम्म जति पनि व्यक्तिलाई समातेको छ, उनीहरु कानून विपरितका गतिविधिमा संलग्न छन्’, थापा भन्छन्, ‘कानून विपरीतका गतिविधिको नियन्त्रण, हतियार बरामद, आतंकित पार्ने व्यक्ति लगायतलाई निस्तेज पार्ने हाम्रो कामै हो ।’

प्रहरीले एलएमजी, एसएमजी, राइफल लगायतका हतियार बोकेका व्यक्तिलाई पनि सकुशल कानूनी कारबाहीको दायरामा ल्याएको स्मरण गराउँदै थापाले नेपाल प्रहरी आक्रामक बनेको आरोपको खण्डन गरे । ‘हाम्रो काम कानूनी कारवाही गर्ने नै हो’, उनले थपे, ‘त्यसका लागि भोजपुर घटना वा अन्य कुनै घटनाले कुनै फरक पार्दैन ।’

प्रहरीहरु जस्तोसुकै चुनौति आए पनि सामना गर्न तयार रहनुपर्छ भन्ने विषयमा मानसिकरुपमा सधैँ तत्पर रहने उनले दाबी गरे ।

यो पनि पढ्नुहोस विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

विप्लव समूहलाई राजनीतिक क्षति

भोजपुरमा प्रहरीमाथि भएको गोली प्रहारको घटनाले विप्लव समूहलाई राजनीति क्षति पुगेको छ । भीडन्तमा आफ्ना कार्यकर्ता गुमाएको घाटा त उसलाई छँदैछ, यो घटनाले सिंहदरबार र संसद भवनमै आफूले पाउन थालेको सहानुभूतिसमेत विप्लव समूहले एकाएक गुमाएको छ ।

सर्लाहीमा प्रहरीको गोलीबाट विप्लव समूहका नेता कुमार पौडेलको गैरन्यायिक हत्या भएको भन्दै संसदीय समितिमा कांग्रेस र राजपाका नेताहरुले आवाज उठाइरहेका बेला भोजपुरमा प्रहरीको हत्या भयो ।

कांग्रेस, राजपा र कतिपय सत्तारुढ नेकपाकै सांसदहरुले समेत विप्लव समूहमाथि  प्रहरीबाट भएको हिंसाको विरोध गरिरहेका बेला प्रहरी जवानकै हत्या भएपछि सरकारका प्रवक्ताले कांग्रेसलाई ‘दिउँसो वीपी, राति विप्लव ?’ भन्दै प्रश्न उठाउने मौका पाए । यसले गर्दा विप्लव समूहले संसदसम्म पाएको सहानूभूति गुमायो । र, यो परिघटना विप्लव समूहका लागि ‘भोजपुर भीडन्तको दुःखान्त’ बन्न पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment