Comments Add Comment

तिलोत्तमाका किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान

१३ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । मंगलबार बसेको कार्यपालिकाको ४७ औं बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान दिने निर्णय गरेको हो ।

अनुदानका सन्दर्भमा कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन वडा नंं १४ का अध्यक्ष सोहनप्रसाद थारुको संयोजकत्वमा समिति गठन गरिएको छ ।

नगरपालिकाभित्र रहेका सहकारी संस्थाहरुसँग समन्वय गरेर सिफारिस गरिएको उन्नत जातको गहुँ बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

यो सन्देश देशभर जाओस् र अरु स्थानीय तहहरुले पनि किसानलाई बिउमा अनुदान दिन नैतिक दवाव परोस् भन्ने उद्देश्यले आफूहरुले शुरुवात गरेको नगरप्रमुख घिमिरेले अनलाइनखबरलाई बताए ।

नगरपालिकाको कृषि विकास समितिले किसानलाई अनुदानमा गहुँको बिउ उपलब्ध गराउन सिफारिस गरेको थियो ।

तिलोत्तमा नगरपालिकामा झण्डै सात सय क्विन्टल गहुँको बीउ आवश्यक पर्ने अनुमान गरिएको छ । अनुदानको बीउ सबै किसानले प्राप्त गर्नेगरी व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।

मंगलबारको कार्यपालिका बैठकले विभिन्न कार्यविधिलगायतका विषयमा समेत निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाका मेयर घिमिरेले आफ्नो ५ वर्षको पारिश्रमिक पुरै सरकारी विद्यालयका ४८ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गर्ने घोषणा गरेर कार्यान्वयन गरिसकेका छन् ।

नगरपालिकाले सरकारी विद्यालयमा दिवा खाजा कार्यक्रम पनि सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment