Comments Add Comment

समलिंगी हत्याकाण्ड, जसले सिंगो अमेरिकालाई हल्लायो

दुई दशकअघि योमिङ क्षेत्रमा म्याथ्यु सेपार्ड नामका एक समलिंगी विद्यार्थीलाई झुण्ड्याएर चरम यातना दिइ हत्या गरिएपछि पूरै अमेरिका हल्लियो । मिडियाले यो घटनालाई निकै जोडतोडले कभरेज गरे । २० वर्षपछि उनै सेपार्डको अस्तु देशको महत्वपूर्ण आध्यात्मिक गृहमा राखिँदा धेरै भावुक बनेका छन् ।
०००

उनको दाँतमा बाँधिएको ब्रेसबाट मात्रै जुडी र डेनिस सेपार्डले हस्पिटलको बेडमा रहेका व्यक्ति आफ्नै छोरा हुन् भनेर चिन्न सकेका थिए । जुडी भन्छिन्, ‘टाउको र अनुहारभरी ब्यान्डेज लगाइएको थियो । निर्ममतापूर्वक हिर्काइँदा मस्तिष्कको नली क्षतविक्षत भएको थियो । हात र खुट्टाका औंलाहरु बांगिएका थिए । उ कोमामा पुगिसकेको थियो । शरीरलाई जिँउदो राख्न ट्युब लगाइएको थियो ।’

‘उसको आँखा पूरै निलो भएको थियो र एउटा आँखा थोरै खुलेको थियो । मुखमा ट्युब राखिएको थियो । ब्रेस देख्न सकिन्थ्यो, त्यसैले उ म्याथु नै थियो । अनुहार सुन्निएको थियो, नजिकैबाट एकछिन् नियालेर नहेरेसम्म चिन्न मुस्किल पर्थ्यो ।’

त्यो क्रुर हत्या

सन् १९९८ को अक्टोबर ६ मा म्याथ्यु सेपार्ड एक्लै लारामाईमा रहेको डाइभ बारमा गएका थिए । समलिंगीको रुपमा खुलेका युनिभर्सिटी अफ् योमिङका विद्यार्थी सेपार्डले साथीहरुसँग भेटघाट गरेर शहरको क्याम्पसमा एक सातासम्म समलिंगीका विषयमा जनचेतना कार्यक्रम चलाउने योजना बनाएका थिए । तर, उनले साथीहरुलाई बियर पिउन बारमा जान मनाउन सकेनन् ।

२१ वर्षे म्याथ्युले फायर साइड लाउन्जमा आफूजस्तै उमेरका छाना बनाउने दुई कामदार रसेल हेन्डरसन र आरोन म्याकिन्नसँग कुराकानी गरे । यो जोडीले पाँच फिट दुई इन्च मात्रै अग्ला सानो कदका विद्यार्थीलाई सजिलो ‘शिकार’ देखे ।

घटना छानबिनको नेतृत्व गरेका अल्बानी काउन्टीका सेरिफ डेभ ओमेल्ली भन्छन्, ‘म्याकिन्नेको बयानमा भनेको छ कि उ र रसेल फायरसाइड बारको बाथरुममा गएर म्याथ्युको विश्वास जित्नका लागि समलिंगी जस्तो व्यवहार देखाउने योजना बनाए ।’

हत्याराहरुले लुटपाटको योजनाका साथ सेपार्डलाई म्याकिन्नेको पिकअप ट्रकमा चढेर जान फकाए । गाडीमा चढ्नासाथ म्याकिन्नेले बन्दुक निकालेर देखाए अनि सेपार्डलाई निर्ममतापूर्वक पिट्दै उनको पर्स खोसे, जसमा २० डलर मात्र थियो ।

बजारबाट बाहिर निस्केर एक किलोमिटरजति कच्ची बाटोतर्फ लागे, जुन झाडी र घाँसेमैदान हुँदै चट्टानी इलाकामा पुग्थ्यो । त्यसपछि हेन्डरसनले सेपार्डलाई कपडाले काठको बारमा बाँधे र म्याकिन्नले पेस्तोलको पछाडिको भागले टाउकोमा हान्न थाले ।

सेरिफ ओमेल्ली भन्छन्, ‘उनलाई अनुहार र टाउकोको बीचमा मात्रै २०-२१ पटक ठूलो स्मिथ र वेस्सन रिभल्भरको पछाडिको भागले निर्ममतापूर्वक प्रहार गरिएको थियो । यस्तो विभत्नस चोट मैले तीव्र गतिको सवारी दुर्घटनामा परेको मानिसमा मात्रै देखेको थिएँ । उसको टाउकोमा धेरै डरलाग्दा फ्याक्चरहरु भएका थिए ।’

म्याकिन्ने र हेन्डरसन

म्याकिन्ने र हेन्डरसनले सेपार्डलाई बन्धक बनाएर उनको छालाको जुत्ता चोरे र त्यत्तिकै छोडिदिए ।

मरणासन्न हुनेगरी पिटिएका सेपार्ड कठ्याङ्ग्रिदो चिसोमा १८ घन्टासम्म किलामा बाँधिएर रहे ।

भोलिपल्ट बेलुकीपख एक किशोर त्यहि बाटो हुँदै जाँदा साइकलबाट लडे र उनले नजिकै बारमा बाँधिएको अवस्थामा सेपार्डलाई देखे । सुरुमा त उनले बुख्याँचा वा हलोविनको कपडा होला भनेर वास्ता गरेनन् । केहीबेरपछि उनले मान्छे हो भन्ने महसुस गरे ।

म्याथ्यूलाई यो अवस्थामा देख्नेमा महिला प्रहरी रेगी फ्लुटी पनि थिइन् । उक्त दृश्यलाई उनलेउ अझै पनि बिर्सेकी छैनन् । त्यसै ठाउँमा बसेर उनले सम्झिइन्, ‘म्याथुको हात पछाडि लगेर बाँधिएको थियो । उसको अलिअलि मात्रै धुकधुकी चलेको थियो ।’

म्याथु सेपार्डको स्वास्प्रश्वासका लागि उनले मुख खुलाउने असफल प्रयास गरिन् । ‘बाबु, म यहाँ छु, तिमीलाई ठीक हुन्छ । हरेस नखाउ तिमीले सक्छौ’ सेपार्डलाई होसमा ल्याउन आफूले गरेको प्रयत्न सम्झिँदै उनी भन्छिन् ।

५७ वर्षकी फ्लुटी अहिले रिटायर्ड भइसकिन् । अहिले सेपार्डलाई झुण्ड्याइएको उक्त काठको बार मक्किइसकेको छ ।

सिँउडी र मृगको भुत्लाले भरिएको खाली चउर अहिले शान्त छ । पहिले जघन्य अपराध भएको त्यहाँ अमेरिका नै हल्लाएको घटनाको कुनै निशान देखिँदैन ।

म्याथु सेपार्डलाई झुण्ड्याएको स्थान

म्याकिन्नेको हिर्काइले सेपार्डको मस्तिस्कको मुख्य नली नै चुँडिएको थियो र खप्परमा चार ठाउँमा फ्याक्चर भएको थियो ।

उनका आमा-बुबा साउदी अरबमा बस्थे । घटनाको विषयमा सुनेपछि उनीहरु हुन्मुनिँदै अमेरिकाको कोलोराडो अस्पतालमा पुगेका थिए । तर, म्याथु अचेत थिए । उनको होस कहिल्यै फर्किएन । आक्रमण भएको पाँच दिनपछि उनको मृत्यु भयो ।

हत्यापछि पुरै देश स्तब्ध

म्याथ्यु सेपार्डको हत्याको प्रकृतिलाई द न्यूयोर्क टाइम्सले बिनाअनुमति प्रवेश गर्नेहरुलाई तर्साउन ब्वाँसोलाई मारेर बारमा झुण्ड्याइने चलनसँग दाँजेपछि त्यसले देशभर आक्रोश निम्त्यायो । राजनीतिज्ञ र सेलिब्रेटीहरुले आँखाभरी आँशु बनाउँदै अमेरिकाको क्यापिटल भवन अगाडि हजारौंको भीडलाई सम्बोधन गरे । राष्ट्रपति बिल क्लिन्टनले आक्रमणकारीलाई ‘घृणित र कायर’को उपमा दिए । देशभरी मैनबत्ति बालेर उनलाई श्रद्धाञ्जली दिइयो ।

म्याथ्यु सेपार्डको मृत्यु कलिलै उमेरमा भएकाले कसैले उनले परमसुख पाएको पनि बताए ।

यो घटना सह्रशाब्दीको नजिकै भएको थियो ।

डायलअप इन्टरनेटको आँधी भर्खरभर्खरै अमेरिकाभरिका घरहरुमा पुग्दै थियो । राष्ट्रपतिले हृवाइटहाउसको इन्टर्न युवतीसँग आफ्नो अनैतिक सम्बन्ध भएको स्वीकारेका थिए ।

जिसस क्राइस्टविरोधी स्वघोषित सुपरस्टार मेरिलिन मनसुन भर्खरै एल्बम चार्टमा अग्रस्थानमा आएका थिए । त्यस्तै कोलम्बिन स्कूलको हत्याकाण्ड सात महिना पहिले मात्रै भएको थियो । म्याथु सेपार्डका आमाबुबाले कल्पना गरेका थिए, मानिसहरुले धेरै पछिसम्म पनि उनको छोराबारे कुरा गर्नेछन् ।

हालसालै सेपार्डका परिवारले उनको व्यक्तिगत सामानहरु दान गरेपछि अमेरिकी राजधानीस्थित स्मिथोसोनियन इन्स्टिच्युसनको नेशनल म्युजियम अफ अमेरिकन हिस्ट्रीमा प्रदर्शनीमा राखिएको छ । उनले स्कूलमा गरेका कामहरु, नाटकका स्क्रिप्ट, केही तस्वीर र चप्पल प्रदर्शनीमा राखिएका सामानहरु त्यहाँ छन् ।

सबैभन्दा ठूलो सम्मान

शुक्रबार सेपार्डको अस्तु अमेरिकाको महत्वपूर्ण आध्यात्मिक गृह वासिङ्टन नेशनल क्याथरडलमा राखिँदा हजारौं मानिसहरु सहभागी थिए । सेपार्डको समाधि नवगोथिक भवनको बेसमेन्टमा छ । उनको साथैमा पूर्वअमेरिकी राष्ट्रपति वुडरो विल्सन, हेलेन केलर र १९ औं शताब्दीका चर्चित नेभी अधिकृत जर्ज डेवे छन् ।

यो सबैभन्दा ठूलो सम्मान हो । १९७८ मा हत्या गरिएका अर्का महत्वपूर्ण समलिंगी शहिद सानफ्रान्सिस्कोका राजनीतिज्ञ हार्भे मिल्कले समेत यो सम्मान पाएका छैनन् ।

जुडीले शुक्रबारको समारोह म्याथ्युको अन्त्योष्टीभन्दा पनि धेरै भावनात्मक रहेको बताइन् ।

सन् १९९८ अक्टोबर १६ मा परिवारको गृहनगर कास्पर योमिङमा हिम आँधीकाबीच अन्त्येष्टिको तयारी गर्दा उनीहरुको घर कान्सासका समलिंगी विरोधी धर्मगुरुले घेरेका थिए । वेस्टबोरो बाप्टिस्ट चर्चका धर्मगुरु फ्रेड  फेल्पसको समूहले समलिंगी विरोधी नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए । सेपार्डको मृत्युमा शोकाकुल भएका मानिसहरुको अगाडि मृतक म्याथु सेपार्ड नर्कमा आगोमा जलिरहेको भन्दै उनीहरु चिच्याएका थिए ।

म्याथु सेपार्डको श्रद्धाञ्जलीमा शोकाकुल समर्थक

अहिले ६९ वर्ष भएका डेनिस सेपार्ड सम्झिन्छन्, ‘इपिस्कोपल चर्चबाट बाहिरिँदा मलाई बुलेट प्रुफ भेस्ट लगाउन लगाइएको थियो र बम सुँघ्न सक्ने कुकुरहरुले मेरो सुरक्षा गरेका थिए । प्रहरीका सार्पसुटरहरु वरिपरिको भवनभर छरिएका थिए ।’

उक्त जोडीले अझैसम्म पनि आफ्नो छोराको अस्तुको भाँडो घरमै राखेका थिए । उनीहरुलाई बाहिर लैजान डर लागेको थियो । जुडी भन्छिन्, ‘यसले हामीलाई उनी सुरक्षित र सदाको लागि संरक्षित छन् भन्ने कुराको महसुस गराउँछ ।’

यौनिक अल्पसंख्यकका आदर्श

सानोमा म्याथुले सँधै आमालाई सोध्ने गर्थे, ‘के लाग्छ कि म कुनै दिन प्रसिद्ध हुन्छु ?’

जिवित छँदा प्रसिद्ध हुन नसकेपछि मृत्युपछि भने उनी प्रख्यात भएका छन् । यौनिक अल्पसंख्यकहरुको आइकन भएका छन् ।

जब म्याथ्यु सेपार्ड टिनएजर गेको रुपमा बाहिर आए, त्यतिबेला बाबुआमा स्तब्ध बनेका थिए । हुन त उनीहरुले पहिलेदेखि नै अलिअलि शंका त गरेका थिए ।

जुडी सम्झिन्छिन्, ‘हाइस्कूलको मोरक्को यात्रामा उमाथि यौन दुव्यवहार भएको थियो । सेपार्डलाई केही स्थानीयले सामूहिक बलात्कार गरेका थिए । आक्रमण भएको समयमा उ आफ्नो अतितलाई बिर्सेर आफ्नो जीवनलाई सामान्य बनाउँदै थियो ।’

सेपार्ड पोलिटिकल साइन्स पढिरहेका थिए । अमेरिकाको विदेश मन्त्रालयमा कूटनीतिज्ञको रुपमा काम गर्ने उनको सपना थियो ।

युवाअवस्थामा म्याथु सेपार्ड

परिवारमा सेपार्डको बारेमा मिश्रति भावनाहरु छन् । उनलाई कुनै प्रकारको आइकनको रुपमा मान्दा आफूहरुलाई असहज हुने बाबुआमाको भनाइ छ । जुडी भन्छिन्, ‘हाम्रो छोरालाई बारमा जिसस क्राइस्टलाई झैं क्रसमा बाँधेर मारिएको थिएन ।’

दुर्गम संरक्षित क्षेत्र योमिङलाई विभिन्न प्रकारका मृगहरुको वासस्थानको रुपमा लिइन्छ । तर, सेपार्डको निर्मम हत्यापछि काउब्वाइहरुको देश र फ्लाइओभर राज्यलाई समलिंगीहरुको लागि खतरनाक क्षेत्रकोे रुपमा लिइन थालियो ।

म्याकिन्नेका पक्षबाट बहस गरेका वकिल डियोन कस्टिसले लुटपाटको क्रममा परिस्थिति बिग्रिएर मृत्यु भएको बताएका थिए । तर, उनी पनि यो मान्छन् कि यौनिकता पनि एक मुख्य कारण थियो । ‘उनीहरु दुई बिग्रेका केटाहरु थिए,’ उनी भन्छन्, ‘उनीहरुले दैनिक लागुऔषध लिन थालेका थिए । घातक मेथका प्रयोगकर्ताहरुले राम्रोसँग सोच्ने शक्ति गुमाउँछन् र उनीहरुमा मानसिक समस्या हुन्छ ।’

यद्यपि म्याकिन्नेले बयानमा समलिंगी विरोधी कुरा गरेका थिए । प्रहरीसँगको बयानमा उनले सेपार्डले गाडीमा आफ्नो तिघ्रामा हात राखेको कारणले आक्रमण गरेको दावी गरेका थिए । उनले सेपार्डलाई भनेका थिए, ‘हामी गे होइनौं, हामी तँलाई झुण्डाइदिने छौं ।’

प्रहरीसँगको अर्को बयानमा भने सेपार्डले म्याकिन्नेको शरीरमा छामछुम गरेको बताएका छन् । अदालतमा म्याकिन्नेका वकिलहरुले आफ्नो क्लइन्टलाई सेपार्डले अन्धाधुन्ध छोएकाले रिस उठाएको बताएका थिए । तर, न्यायाधीशले समलिंगीसँग त्रसित भएर आक्रमण गरेको दाबीलाई अस्विकार गरिदिए ।

म्याथु सेपार्ड फाउन्डेसन खोलेका सेपार्डका परिवार

सेरिफ ओमेल्ली भने हत्यामा समलिंगी विरोधी तत्वको भूमिका नभएको दावीलाई अस्विकार गर्छन् । ‘सुरुवाती उद्देश्य लुटपाट भएपनि हामीले त्यसलाई छुट दिएनौं’, उनी भन्छन्, ‘लुटपाटको उद्देश्य उक्त घटनामा पहिले नै सकिएको थियो । मेरो विचारमा त्यो ‘हेट क्राइम’ थियो ।’

दुवै हत्याराले जन्मकैदको सजायँ भोगिरहेका छन् ।

योमिङ डिपार्टमेन्ट अफ करेक्सनका अनुसार उनीहरुले कसैलाई पनि अन्तवार्ता दिन पाउँदैनन् ।

सेपार्डको मृत्युमाथि विभिन्न नाटक, संगीत र कविताहरु रचिए । एल्टोन जोनले ‘अमेरिकन ट्रायङगल’ गीत रचना गरे, जसमा दुई ब्वाँसाले एक मृगलाई मारेको वर्णन गरिएको छ ।

सेपार्डको परिवारले ‘म्याथ्यु सेपार्ड फाउन्डेसन’ स्थापना गरेका छन्, जसले यौनिकता, लैगिंकता र अपांगताको कारण हुने अपराधलाई समेट्नको लागि ‘फेडेरल हेट क्राइम कानुन’ बनाउन सहयोग गर्‍यो ।

तत्कालीन राष्ट्रपति बाराक ओबामाले सन् २००९ मा ‘म्याथ्यु सेपार्ड एण्ड जेम्स ब्राइ जेआर हेट क्राइम पि्रभेन्सन एक्ट’मा हस्ताक्षर गर्दा जुडी र डेनिससँगै थिए ।

(बीबीसीमा प्रकाशित जुड सिरिनको आलेखको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment