Comments Add Comment

प्रधानमन्त्रीज्यू, नेतृत्व नीलकण्ठ हुन सक्नुपर्छ

नेताको कार्यकुशलताको सम्बन्धमा चर्चा गर्दा प्रोफेसर वारेन बेनिसको प्रशिद्ध भनाइको सम्झना हुन्छ । उनी भन्छन्- ‘नेतृत्व भनेको त्यो क्षमता हो, जसले सपनालाई यथार्थमा परिणत गर्छ ।’

त्यसरी नै जर्ज प्याटोनको अर्काे एउटा भनाइ छ- ‘मलाई नेतृत्व गर, मेरो अनुसरण गर र मेरो बाटो अवरोध नगर ।’

जनताको माग, अपेक्षा एवं आदेश कस्तो जटिल हुन्छ । कस्तो अप्ठ्यारो कुरा ? वास्तवमा जनताको इच्छाविपरीत नगई आफूले देखाएको सपनालाई यथार्थमा परिणत गर्न सक्नु नै नेतृत्वको कुशलता हो ।

नेतृत्वले जनतासँग भावना, अभियान, गन्तव्य र पाइलाहरु सबै मिलाउन सक्नुपर्छ । युगको चुनौति र अवसरलाई पहिचान गर्न सक्नुपर्छ । जनताको अपेक्षा र मुलुकको आवश्यकतालाई बुझ्न सक्नुपर्छ । मित्र र बिरोधीलाई छुट्याउन सक्नुपर्छ । यो कुरा नेतृत्वले राम्ररी मनन गर्न र त्यही अनुसार आफुलाई योग्य बनाउन सक्नुपर्छ ।

अपि|mकाको समस्या भनेको श्रोत र साधनको होइन, नेतृत्वको हो । प्राकृतिक साधन र श्रोतको पर्याप्तता हुँदा हुँदै पनि अपि|mकाका धेरै देशहरु द्वन्द्वबाट गुजि्ररहनु परिरहेको छ ।सोमालिया, नाइजेरिया, दक्षिण सुडान, उगान्डा, प्रजातान्त्रिक गणतन्त्र कंगो, सेन्ट्रल अपि|mकन रिपब्लिक, लिबिया, रुवाण्डा र बुरुण्डीजस्ता धेरै देशहरु यसका उदाहरण हुन् ।

जब कि अपि|mकाकै सेसेलिज, मौरीसस, ट्युनिसिया, दक्षिण अफ्रिका, अल्जेरिया जस्ता देशहरु विकसित मुलुकका रुपमा स्थापित हुँदै गएका छन् । जापान, दक्षिण कोरिया, हङकङ, ताइवान, सिंगापुर, स्वीट्जरल्याण्ड आदिलाई प्रकृतिले ठगे पनि मानव मस्तिस्कको प्रयोग र नेतृत्वको कुशलताले संसारका प्रमुख निर्यातकर्ता विकसित मुलुक भएका छन् ।

जुन देशले सहि नेतृत्व पाएका छन्, तिनीहरुले आफ्नो अवस्थालाई सुधार्दै लगेका छन् । एसियाका सिरिया, अफगानिस्तान पनि नेतृत्वका अयोग्यताका अर्का उदाहरण हुन् । यसमा शक्तिराष्ट्रहरुको खेल वा झेल पनि थपिएको भन्न सकिन्छ । तर, जे भए पनि यसबाट बच्न नसक्नु त्यहाँको नेतृत्वको कमजोरी नै हो ।

हाम्रो समस्या भनेको पनि श्रोत र साधनको समस्या होइन, नेतृत्वकै समस्या हो । संसारको सर्वाेच्च शिखर सगरमाथा, बुद्धको जन्मभूमि र वीर जाति भनेर दुनियाँमा धेरै अघि परिचय बनाइसकेका हामीलाई कुशल नेतृत्वकै अभाव देखिन्छ ।

साम्राज्यवादी शासकहरुलाई संसारभर साम्राज्य खडा गरिदिन र उनीहरुको साम्राज्य रखवारी गरिदिन सक्ने नेपाली जाति आफ्नै देश बनाउन किन सफल भइरहेका छैनन् ? एउटै कुरा हो- कुशल नेतृत्वको अभाव ।

छिमेकी चीन र भारत त्यसै रातारात राजनीतिक गफ र वादविवादले बनिएका होइनन् । देश बनाउनका लागि मानव श्रम, प्रविधि, सीप र कलालाई नेतृत्वले आफ्नो मुलुक निर्माणका लागि संश्लेषण गर्न र उपयोग गर्न सक्नुुपर्छ । जनताका भावनालाई संगठित गर्न सक्नुपर्छ ।

तर, त्यो क्षमता हामीले अझै पनि संसारका अन्य मुलुक बनाइदिनमै खर्च गरिरहेका छौं । आफ्ना प्राथमिकता र शक्तिराष्ट्रहरुका स्वार्थ र गोटी चलाइको भिन्नतालाई बुझ्न सकिरहेका छैनाौं। सक्रमणकालीन अवस्था र हाम्रो संवेदनशील भूगोलले पनि हामीलाई लट्पट्याइरहेको छ । हाम्रो नयाँ नेतृत्वले यो कुरालाई आत्मसात गर्नुपर्छ ।

यतिबेला दुईतिहाई नजिकको सुविधाप्राप्त नेकपाको सरकारले सत्ता सञ्चालन गरिरहेको छ । धेरै किसिमका बाचाबन्धन जनतासमक्ष गरेर विजयी बनेको सरकारसँग स्वभाविकरुपमा जनताका अनगिन्ती अपेक्षाहरु हुन्छन् ।

अझ युगौंदेखि दुःख र पीडाबाट पिल्सिएका जनता अहिले आफैंले चुनावमा भोट हालेर जिताएको कम्युनिष्ट पार्टी सत्तामा पुग्दा संसारै जितेजस्तो र सबै दुखः हरण भैहाल्ने सपना देखिरहेका छन् । आफैं मन्त्री, आफैं प्रधानमन्त्री भैरहेको, आफैंले सिंगो देश बनाउने जिम्मेवारी पाएकोजस्तो र यही ५ वर्षभित्र, अझ भनौं दुई/चार महिनाभित्रै कायाकल्प गराउनुपर्छ भनेजस्तो ढंगले उद्वेलित भैरहेका छन् ।

यतिबेला सत्तामा सानोतिनो कमजोरी देखिँदा पनि जनता झसङ्ग हुनु वा पीर पर्नु स्वाभाविक छ । तर, सत्ता अझै पनि राजनीति र कुटनीतिको बुद्धिबिलासमा अल्मलिरहेको जस्तो देखिन्छ । हामी सबैले देखे भोगेको कुरा हो, सत्ता पक्ष र प्रतिपक्षका नेताहरु पालैपालो सत्तामा पुगिरहेका छन् । भविष्यमा पनि फेरबदल भएर पुगिरहलान् ।

अहिले सत्ता पक्ष कतिबेला कुन-कुन कुरामा चुक्छ, के गल्ती गर्छ र हाम्रो पालो आउँला भनेर प्रतिपक्ष मौका कुरेर बसिरहेको छ । सत्ता पक्षका नेताहरु दुईतिहाई छ भनेर मख्ख छन् र क्यै गरी खुट्टा चिप्लिहालेछन् भने फेरि पालो आइहाल्छ नि भनेर एक ढंगले ढुक्कै होलान् । तर, जनतालाई यो कुरासँग कुनै लिनुदिनु छैन । सत्तामा जो पुग्छ, उसबाट पलपलमा योग्यतासाथ काम भएको जनता हेर्न चाहन्छन् । उनीहरु कुराको आश्वासन होइन, कामको परिणाम चाहन्छन् । जनताले नेतृत्वको निरन्तर रखबारी र खबरदारी गरिरहेका छन् ।

अहिले हर हालतमा यो सरकारलाई सफल बनाउनुपर्छ भन्ने शुभचिन्तकहरुबाटै पनि आलोचना शुरु भएको छ । सरकारको लोकपृयताको डिग्री खस्किँदै गएको कुरा यसबाट बुझ्नुपर्छ । अहिले स्वयं सत्तारुढ दलकै नेता माधव नेपाल र अन्य केही नेताहरुले पनि सरकारको काम गराइ चित्तबुझ्दो नभएको र नेतृत्वको कार्यशैली ठीक भएन भनेर आलोचना र गुनासो गर्न थालेका छन् ।

विपक्षीबाट त धेरै अघिदेखि आलोचना भैरहेकै हो । जनस्तरमा पनि अपेक्षाअनुसार सामान्य व्यवस्थापनबाट गर्न सकिने कामहरु पनि हुन नसकेको भन्ने गुनासो आइरहेको छ । अहिले भैरहेका यी आलोचनालाई विपक्षीहरुको बिजनेस भनेर वेवास्ता गरियो भने गम्भीर भुल हुनेछ ।

नेपाली जनतालाई थाहा छ, संक्रमणकालको लामो अभ्यासले सत्तामा सबै दलहरुबीच शक्तिको भागबण्डा गर्ने अपसंस्कृति बनेको थियो । यसलाई थितिमा ल्याउन अझै अलि समय लाग्नेछ । निर्वाचन गराउन गठित कामचलाउ सरकारले संस्कारहीन ढंगले नियुक्त गरेका व्यक्तिहरु पछिसम्म भागबण्डा नछोडेर कतिपय ठाउँमा समस्या बनेर खडा थिए । उनीहरुले सत्ताको स्टेयरिङ्गलाई उल्टोतर्फ घुमाउने प्रयत्न गरिरहे । अहिले नियुक्त गरेका कतिपय व्यक्तिहरु पनि विवादास्पद भएका छन् ।

विपक्षी कांग्रेस अहिले पनि पुरानै किसिमको भागबण्डा कायम गर्न खोज्दैछ । कांग्रेस सत्तापक्षलाई सकेसम्म काम गर्नै नदिई अयोग्य साबित गर्न खोज्दैछ र आफ्नो धोती सम्हाल्न छोडेेर अरुलाई पनि नंग्याउने कोशिसमा छ । तर, कांग्रेसलाई देखाएर सत्ता पक्षले आफ्नो अयोग्यता छोप्न पनि मिल्दैन ।

एकीकृत हुँदै गरेको सत्तारुढ दल अझै व्यवस्थित र संगठित भैसकेको छैन । त्यसको प्रतिछायाँ सत्ता सञ्चालनमा पर्न सक्ने त्रास कायम छ । दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरणलाई जनताको विभाजित उर्जाको एकीकरण र त्यही उर्जा मुलुकलाई सशक्त बनाउने मार्गनिर्धारण गरिन लागिएको हो भन्ने ठानिएको हो । तर, अपेक्षा गरिएअनुसार यो एकतामा तिब्रता नभएकाले उर्जाको क्षयीकरण मात्र भैरहेको छ ।

पार्टी एकीकरणमा अहिलेको चुनौति भनेको दुई छुट्टाछुट्टै भंगालाबाट आएका नेता कार्यकर्तालाई चित्त बुझाउँदै केन्द्रदेखि स्थानीय तह वडा र टोल-टोलसम्म देशैभरि पार्टीका विभिन्न संरचनाहरु निर्माण गर्ने र त्यसलाई एकमना गराउँदै राष्ट्र निर्माणमा जुटाउनु रहेको छ । त्यसभित्र पनि विभिन्न गुट-उपगुट आदिका आकांक्षालाई समेट्दै योग्यता र क्षमता अनुसार जिम्मेवारीहरु दिने र त्यसका पाइलाहरु मिलाउनु अहिलेको मुख्य चुनौति हो र यसैमा वर्तमान नेतृत्वको सफलता देखिन्छ ।

पार्टीको एकीकरण होस् वा देशको एकीकरण नेतृत्वले सबैलाई समेट्ने फराकिलो छाती बनाउनुपर्छ । पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियानलाई सफल बनाउन आफ्ना सबै दाजुभाइहरुलाई समेटे । बिसे नगर्चीबाट समेत उर्जा र प्राबिधिक ज्ञान लिए ।

उनले सबै सानाठूला राजा रजौटाहरुसँग विभिन्न ढंगले सम्बन्ध कायम गरे । कतिपयलाई उनीहरुको आफ्नो क्षेत्रको अधिकार र जिम्मेवारी पनि उनीहरु स्वयंलाई सुम्पिएर केन्द्रप्रति नरम बनाएको देखिन्छ । शक्तिशाली सेनबंश, विदेशी शक्तिशाली राज्य बनारसलाई आफ्नो पक्षमा पार्न ससुराली नै बनाए ।

भक्तपुरमा मितेरी सम्बन्ध जोडे भने जहाँ-जहाँ जित्छन्, त्यहाँको जनशक्तिलाई पनि विभिन्न ढंगले आफ्नो साथ लिन सफल भए । पाण्डे, बस्नेत, बिष्ट भाइ भारदारलाई मनाए । मुलुकलाई नै चारजात ३६ वर्णको फूलबारी भनेर सबैको स्थान सुरक्षित गरिदिए । शिक्षा, ज्ञान र शिप जोबाट पाइन्छ, लिनसक्दा मुलुक र नेतृत्वलाई फाइदै हुन्छ । भावनाले मात्र हुँदैन, रणनैतिक योजना र युद्धकला बिनाको सिपाही युद्धमा कहिल्यै बिजयी हुँदैन ।

पार्टी एकीकरण र सत्ता सञ्चालन पनि एउटा युद्धकला नै हो । हाम्रा प्रधानमन्त्री केपी ओली कहिलेकाहिँ द्विग्विजयी कृष्णै हुन् किजस्तो लाग्छ, तर कहिलेकाहिँ चक्रव्युहमा फसेर बाहिर निस्कनै नसक्ने अभिमन्यु पो रहेछन् भन्नेजस्तो पनि लाग्छ ।

त्यत्रो भारतीय नाकाबन्दीलाई चुनौती गर्ने व्यक्ति मोदीको जनकपुर भ्रमणमा लुते देखिए । केही दिन अघि सुन तस्करलाई तह लगाउँछु भनेर ३३ केजी सुन तस्करी र हत्याको अनुसन्धान भयो । तर, यो बीचैमा कता तुहियो कता । गाडीहरुको सिण्डिकेट हटाउने एउटा महत्वपूर्ण निर्णय भयो, जनताले वाहीवाही गरे, सरकारको जयजयकार गरे । तर, बीचैमा यसको चर्चा सेलायो । विभागीय मन्त्री नै यस अभियानलाई तुहाउन चाहन्छन् भनिँदैछ । त्यो कदम अहिले कहाँ आइपुगेर रोकिएको छ, थाहा छैन ।

ठेकेदारहरुलाई कारबाहीको कुरा आयो, त्यो पनि त्यसै सेलायो । पछिल्लो समय निर्मला पन्त हत्याकाण्डका दोषी पत्ता लगाउने विषयले तीन महिनादेखि जनतालाई निराश र विपक्षीलाई मसला दिइरहेको छ । सपना देख्छन्, योजना बनाउँछन् । तर, कार्यान्वयनको तहमा केले अल्झाउँछ, केले ।

प्रधानमन्त्री आफ्नो प्रशंसा गर्नेहरुलाई स्वागत गर्ने र आलोचनात्मक दृष्टिकोण राख्नेलाई अलि टाढै राख्ने गर्दछन् भनेर उनलाई मनपराउनेहरु नै भन्दछन् । उनका धेरै कुराहरु राम्रा हुँदाहुँदै पनि सबैभन्दा ठूलो कमजोरी आफ्नो आलोचनाहरु धैर्यतासाथ सुन्न र आत्मसात गर्न नसक्नु हो भन्ने धेरैको बुझाइ छ ।

प्रधानमन्त्री ओलीले गल्ती भएर सार्वजनिकरुपमा माफी मागेको पनि कहिल्यै सुनिएको छैन । यसको पनि यस्तो उत्तर आउन सक्छ, गल्ती गरेको भए पो माफी माग्नु ? ठाडो जवाफ दिँदा कहिले काँहि फाइदा होला । तर, यस्तो प्रतिक्रियात्मक जवाफले उनलाई तत्काल आत्मगौरब भए पनि दीर्घकालमा सल्लाह सुझाव आउने सबै बाटाहरु बन्द हुन सक्छन् र स्तुतिगान गाउनेहरुले अन्धकारमा फसाउन सक्छन् ।

बेलाबेलामा कमजोरी औंल्याइदिने शुभचिन्तक, सल्लाहकार, विशेषज्ञ र सहयोगीहरु पनि प्रधानमन्त्रीको यस्तो व्यवहारले आफू अपि्रय हुन मुख खोल्न चाहँदैनन् । बरु कतिपय अवस्थामा निस्कृय र निराश हुन्छन् । पार्टीलाई राम्रो बनाउन, उनको कार्यकाल राम्रो बनाउन निर्विवाद र सन्तुलनकारी विशेष भूमिका खेल्ने र उनका पाइला पाइलामा सहयोग पुर्‍याउने आलोचनात्मक चेत भएका धेरै व्यक्तिहरु छन् । त्यसमध्येका उनका सहयोगी एकजना योग्य व्यक्ति योगेश भट्टराई पनि हुन् । तर, किन हो, उनी यी व्यक्तिलाई आफ्नो कोर टिममा राख्न चाहँदैनन् ।

उनको टिममा तुरुन्तै अरिंगाल जस्तै चिलिहाल्ने सल्लाहकार बिष्णु रिमाल र सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाहरु दायाँ-वायाँ खडा छन् (यद्यपि तुरुन्तै चिलिहाल्ने बाहेक उनीहरुका धेरै कुराहरु राम्रा नै छन् ) । उनीहरु गुणको मुखैमा खडा छन् र कसलाई चिल्ने कसलाई नचिल्ने थाहा पाउँदैनन् र छेउछाउमा आउने आफ्नै मान्छेलाई पनि मुख चिलायो भनेर बराबर चिलिरहन्छन् । प्रधानमन्त्री कहिलेकाहिँ यस्तो लाग्छ, उनी आफैं पनि अरिंगालको रानो नै हुन् । थाहै नपाई मित्रहरुलाई पनि चिल्न बेर लाउँदैनन् र निको गराउन लामो समय लाग्छ ।

देशमा केही गरौं भन्ने भावना भएर पनि निश्पक्ष भूमिका खेल्न र राम्रो टिम बनाउन उनलाई यस्तै-यस्तै कुराहरुले अवरोध गरिरहेका छन् भन्ने लाग्छ । उनी त सिंगो देशको अभिभावक हुन् । अभिभावकले आफ्ना सन्तानप्रतिको रोड्याइँ झगडा गर्छ वा को चुपचाप भनेको मान्छ भनेर काखा र पाखा गर्न वा आग्रह पूर्वाग्रहले हेर्न मिल्दैन ।

अभिभावकले पन्पच्चे गर्‍यो भने सन्तानहरु पनि कालान्तरमा असहयोगी हुन पुग्छन् । जतिसुकै ठूलो युद्ध जित्न सक्ने मानिस पनि अन्तिममा आफ्नै आदतसँग पराजित हुन्छ भनिन्छ । मृत्युलाई जित्ने हाम्रा प्रधानमन्त्रीले आफ्ना समय समयका कमजोरीको आत्मसमीक्षा गर्न सके उनलाई सिंगो समय, परिवेश र देश सहयोगीमा रुपान्तरित हुन सक्थ्यो ।

नेपाली जनता त्यति बच्चा वा कच्चा छैनन् कि सात महिनामै देशमा सबैथोक भएन भनेर उफ्रिउन् । तर, यो अवधिमा नेता मन्त्रीहरुले राम्रो काम गर्दैछन् कि छैनन् भनेर चाहिँ हेरिरहेका छन् । उनीहरु ठुल्ठुला सपना र योजनाहरु सुनाउने भन्दा विनालगानी गर्न सकिने सैयौं कामहरुतर्फ सरकारको ध्यान जाओस् भन्ने चाहन्छन् ।

त्यसतर्फ सिंगो पार्टीलाई परिचालन किन नगराउने ? हिजो स्थानीय तहको अवस्था जस्तै आज स्थानीय तहहरुका पार्टीका संगठनहरु निर्माण नभएकाले गर्दा सरकारको अभियानलाई असंगठित व्यक्तिहरुले कसरी सहयोग पुर्‍याउन सक्छन् ? सरकारले गरेका कामको कसले प्रशंसा गर्छ, कसले ताली ठोक्छ ? कसले आफ्नो घर भत्काएर लथालिंग बनाएको छ, सन्तानहरु कहाँ बस्छन्, के गर्छन् कसको छहारीमा पुगेका छन् थाहा छ ?

विपक्षीहरु सबैका घर छन् । उनीहरुको एउटै चुलोमा भात पाक्छ । झगडा गर्दै गर्दै पनि एउटै भान्सो खाँदैछन् ? आफ्ना सन्तान कहाँ-कहाँ छन् थाहा छ ? यस्तो अवस्थामा बलियो हुने के आधार छ ? खुला आकाशमुनि सन्तान विचलित छन्, असमयको सन्हाई बजाएर नृत्य गरेर फाइदा हुँदैन ।

केही समयअघि काठमाडौं ७ का रामवीर मानन्धरलाई राजीनामा गराएर बामदेव गौतमलाई त्यहाँबाट निर्वाचित गराउने भन्ने असमयको उटपट्याँग कुरा आयो । यस्तो कुराले जनतालाई निराश मात्र बनाउँछ । जतिसुकै शक्तिशाली व्यक्ति भए पनि यस्ता अलोकतान्त्रिक हरकतलाई जनताले धुलो चटाउने छन् भन्ने हेक्का समयमै राख्नुपर्छ ।

एक समय काठमाडौंका लोकपृय नेता कृष्णगोपाल श्रेष्ठ काठमाडौ ७ बाट पराजित भए । तात्तातै उनलाई काठमाडौं २ को उपनिर्वाचनमा उमेद्वार बनाइयो । यसरी उठाउनु जनताको अपमान हुन्छ र लोकतन्त्रको पनि मर्यादा रहँदैन भन्ने कार्यकर्ता र जनताको बहुमूल्य सुझावलाई बेवास्ता गरियो । परिणाम सबैलाई थाहा छ, कृष्णगोपालले नराम्रो गरी पराजित हुनुपर्‍यो ।

नर्वाचनमा सहभागी भैसकेपछि जनताको जनादेशलाई शिरोधार्य गर्नुपर्छ, अपमान गर्नुहुँदैन । भर्खरैको निर्वाचनबाट पराजित वामदेवलाई काठमाडौं ७ बाट उठाउनु भनेको लोकतन्त्रको खिल्ली उडाउनु हो । यो काम सिंगो नेकपालाई बद्नाम गराउनु जस्तो हुन जान्छ ।

नेतृत्वको तर्क पनि कस्तो फित्तलो हो ? हार्नलाई उठाउने होइन रे ! यस्तो उट्पट्याङ्ग कुरा गर्दै गलत बाटो रोज्नु कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको लागि पनि आत्मघाती हुनेछ । नेतृत्वले अब सधैंभरि हाम्रै सरकार चल्छ भनेर भाषण गर्दै हिँड्ने र आत्मरतिमा रमाउने होइन । राम्रो काम गर्न नसके एक मिनेट पनि सत्तामा बस्दैनौं भन्ने उच्च नैतिक साहस देखाउन सक्नुपर्छ । असल र उदाहरणीय काम गरेर जनताको मन जित्नतर्फ लाग्नुपर्छ ।

प्रचण्डको भूमिका

प्रचण्ड नेकपाका अर्का अध्यक्ष हुन् । तर, उनको भूमिका अहिले प्रष्ट देखिएको छैन । देश भत्काउनमा उनको भूमिका जति प्रभावकारी रह्यो, अहिले बनाउनमा बिल्कुलै देखिएको छैन । उनले मौनता साँधेर समस्यालाई पकाउने काम गर्दैछन् जस्तो देखिन्छ । यसले कसैको पनि भलो गर्दैन ।

नजिकका प्रतिस्पर्धी नेताहरुलाई लागेको होला, केपी असफल भए हाम्रो पालो आउने छ । यो भ्रम दिमागबाट हटाए हुन्छ । अहिलेको सरकार असफल हुनु भनेको प्रचण्ड, माधव, झलनाथ र वामदेव सबै एकैचोटि असफल हुनु हो ।

हिजो आज कतिपय मान्छेको चासो राम्रो कामलाई प्रोत्साहित गर्ने होइन, कहाँनेर गल्ती गर्छ र त्यहीँनेर निचोरौं भनेर ढुकेर बस्ने पनि हुन्छ । त्यस्ता छिद्रान्वेसीबाट कुनै राम्रो काम हुन सक्दैन र समाजले पनि कुनै आशा गरेको हुँदैन । तिमीहरुसँग जनताले धेरै आशा गरेको छ । निर्धक्क काम गर । घोडा चड्ने लड्छ । कमजोरीलाई नलुकाउ, बरु हटाउनेतर्फ लाग ।

काम गर्दा कमजोरी कसका हुँदैनन् र ? धेरै काम गर्दा धेरै कमजोरी । थोरै काम गर्दा थोरै कमजोरी । कमजोरी बढी होलान् भन्ने डरले कामलाई नघटाउ । धेरै काम गर । धेरै कमजोरी देखिउन् । तर, सच्याउन संकोच नमान । कमजोरी आत्मसात गर, सकारात्मक आलोचना शीरोधार्य गर । सिंगो देश र जनता तिमीहरुका साथमा छन् । लोभ पापबाट जोगिऊ ।

कम्युनिष्ट नेताहरुले लोभी र स्वार्थी होइन, त्यागी, असल र संस्कारयुक्त राजनीतिक परिपाटी स्थापित गर्न सक्नुपर्छ । अहिले नयाँ उपनिर्वाचनको पुच्छर समात्ने होइन, लोकतन्त्रको जग बलियो बनाउनतर्फ लाग । बाटो बिराएकाहरुलाई पनि नेपाली लोकतन्त्रमाथि विश्वास पलाओस् । राम्रो काम गर्न नसक्ने मन्त्रीहरु हटाएर तुरुन्त योग्य व्यक्तिहरुको टिम बनाउ र जनअपेक्षा पूरा गर्नतर्फ लाग ।

नेतृत्वले अमृत खोजेर अमर बन्ने वा धतुरो खाएर रिल्याक्स गर्न खोज्ने होइन, कालकुट बिष पिएर नीलकण्ठ बन्न तयार हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment