Comments Add Comment

सरकारलाई एक मिनेट पनि सत्तामा बस्ने नैतिकता छैनः कोइराला

१८ कात्तिक, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउँदै सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् । उनले सरकारले जनताको जिउ–धनको रक्षा गर्न नसकेको भन्दै सत्तामा रहने नैतिकता वर्तमान सरकारले गुमाएको दाबीसमेत गरे ।

‘न्यायपालिका, आर्थिक संरचना, सेना र सञ्चार जगतलाई कमजोर बनाउने खेलमा सरकार अहिले लागिरहेको छ’, डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने ।

उनले सम्पत्ति शुद्धीकरणलगायतका महत्त्वपूर्ण निकाय प्रधानमन्त्रीले आफू मातहत ल्याएर भ्रष्टाचारलाई प्रश्रय दिने काम गरेको आरोप लगाए । ‘न्यायपालिका निरीह छ, मिडियामाथि पनि हस्तक्षेप भइसकेको छ । सम्पत्ति शुद्धीकरण आफू मातहत ल्याउने काम भएको छ’, कोइरालाले भने, ‘अब नेपाली सेनालाई पनि कमजोर बनाउने खेलमा सरकार लागि परेको छ ।’ तर, उनले सरकारले सेनालाई कसरी कमजोर बनायो भन्नेबारे भने केही खुलाएनन् ।

कोइरालाले न्यायलयमा दलीय छाया परिसकेको उल्लेख गर्दै यसकै कारण पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास घटेको बताए ।

फरक प्रसंगमा नेता कोइरालाले सर्लाही रामनगरमा मारिएका कांग्रेस कार्यकर्ता रामविलास महत्तोको हत्यारालाई उन्मुत्ति दिन राज्य नै लागिपरेको आरोप लगाए  ।  उनले दलको सदस्य भएकै कारण अपराधीले उन्मुक्ति पाउन नहुने भन्दै हत्यारा पत्ता नलागेसम्म शव नउठ्ने प्रष्ट पारे ।

‘कुनै दल विशेषको सदस्य भएकै आधारमा हत्यारा बचाउन पाइँदैन’, कोइरालाले भने, ‘नागरिकको जिउ–धनको सुरक्षा गर्न नसक्ने सरकारलाई एक मिनेट पनि सत्तामा बस्ने नैतिकता छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment