Comments Add Comment

प्रदेश गृहमन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै इप्रकामा उजुरी

१८ कात्तिक, काठमाडौं । प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध झापाको गौरादह इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । मन्त्री कार्कीले फोनमार्फत ज्यान मार्ने धम्की दिएको भन्दै गौरादह २ का टंक खनालले मन्त्री कार्कीविरुद्ध उजुरी दिएका हुन् ।

गौरादह नगरपालिकाको गौरादह बजारबाट नगरकै वार्ड नं ९ जोड्ने बाटो निर्माणमा ठेकेदारले बदमासी भन्दै स्थानीयवासी आन्दोलित बनेका थिए । ठेकेदारलाई दवाव दिन आफूहरुले निर्माण कार्य अवरुद्ध बनाएपछि मन्त्रीले धम्की दिएको खनालको दावी छ ।

‘हिजो बिहान ९ः३३ बजे यसै प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्रीसमेत रहेका गौरादह नगरपालिका–३ मा बसोबास गर्ने हिक्मत कार्कीले एक्कासी फोन गरी तेरो बाउको बाटो हो ? बाटो छेक्ने अधिकार कसले दियो ? तँलाई आएर सिध्याइदिन्छु भनी ज्यान मार्ने धम्की दिएको हुँदा निजलाई कानूनको कठघरामा उभ्याइपाउँ,’ उजुरीमा निवेदकले भनेका छन् ।

तर, उजुरी लिएर आएका खनाललाई इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी सहायक निरिक्षक खड्गबहादुर खड्काले उल्टै हप्काइ दप्काई गरेका थिए । पछि प्रहरी नायव निरिक्षक सुरेन्द्र श्रेष्ठले उजुरी लिए तर दर्ता नगरी गोजीमा हालेका छन् ।

यसअघि बुधबार २ देखि ३ बजेसम्म टेम्पो चालक सचेन कार्कीको नेतृत्वमा आधा दर्जन व्यक्तिले खनालको घर घेरेका थिए । आफूलाई प्रदेशमन्त्री कार्कीको संरक्षण रहेको भन्दै उनीहरुले धम्की दिएको खनालले बताएका छन् ।

यस्तो छ विवादको चुरो

प्रदेश १ का मन्त्री कार्की गौरादह नगरपालिकाका स्थायी बासिन्दा पनि हुन् । बाटो निर्माणको ठेक्का पाएको निर्माण कम्पनी नागार्जुन विष्णु जेभीले गत जेठ महिनामा सम्झौताबमोजिम वेस ग्राभेल नगरी पिच गर्न खोजेको स्थानीयवासीको आरोप छ । उनीहरुले गिटी र ग्राभेल नहाली बाटो पिच गर्न नदिने अडान लिएपछि गौरादह नगरपालिकाका मेयर रोहित साहको रोहबरमा माटो हालेर बेस बनाइएको बाटो भत्काएर हाल गिटी हालिएको छ । स्थानीयले कात्तिक ११ गते गौरादह नगरपालिकाको डिपु चोकमा राँके जुलुससहित विरोध प्रदर्शन गरेका थिए ।

पिच गर्न लागेको बाटो स्थानीयको दबाबमा भत्काउनु पर्दा घाटा लाग्ने भन्दै ठेकेदारले गुनासो गरेका थिए । अहिले ठेकेदारले बाटो अलपत्र छोडेर हिँडेका छन् । ठेकेदारलाई कारवाही वा ठेक्का रद्द गर्नुपर्ने स्थानीय जनताको माग छ । तर, सडक डिभिजन कार्यालय दमकले ठेकेदारलाई कारबाही गर्न सकेको छैन ।

१९ महिनाअगाडि गरिएको सम्झौता बमोजिम सो सडक निर्माण आउँदो चैत्र महिनामा सम्पन्न हुनु पर्ने छ । साढे सात किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न गर्न सरकारले ५ करोड ७२ लाख ४२ हजार ८ सय रुपयाँ बजेट बिनियोजन समेत गरिसकेको छ ।

सडक निर्माण योजना रोकिएपछि स्थानीयहरु आक्रोसित बनेको गौरादह वार्ड नं २ का टोल विकास समितिका अध्यक्ष राजन खनालले बताए ।

स्तरोन्नति गर्न लागिएको सो सडक अर्थमन्त्री डा. युवराज खतिवडाको गृह नगरमा पर्छ । तर, खतिवडाले भने यसमा कुनै चासो नदेखाई प्रदेश मन्त्री कार्कीकै भर परेको अर्थ मन्त्रालय स्रोतले बतायो ।

मन्त्री कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम सडक स्तरोन्नति हुने आश्वासन दिएका छन् तर, ठेकेदारको लापरवाहीको विषयमा बोलेका छैनन् । यस विवादका विषयमा मन्त्री कार्कीसँग बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

कार्कीविरुद्ध इप्रकामा परेको उजुरी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment