Comments Add Comment

कुमार रानालाई स्वदेश फर्काउन संकलित रकममध्ये १५ लाख बचत

१८ कात्तिक, काठमाडौं । साउदी अरबको जेलबाट गोरखाका कुमार राना मगरलाई उद्दारका लागि सञ्चालित आर्थिक संकलन अभियानबाट १५ लाख ८ हजार रुपैयाँ बचत भएको छ । कुमार रानालाई जेलमुक्त गर्न आवश्यक रकम तिरेर सो रकम वचत रहेको हो ।

कुमारले चलाउने गाडीको ठक्करबाट साउदी अरबका नागरिक घाइते भएपछि उनले माग गरेको २ लाख ९४ हजार साउदी रियाल अर्थात् करिब ८३ लाख नेपाली रुपैयाँ संकलनका लागि २०७५ वैशाख १ देखि रकम संकलन अभियान सञ्चालन गरिएको थियो ।

अभियान सञ्चालनकै क्रममा घाइतेले ४४ हजार साउदी रियाल र कुमार कार्यरत कम्पनीले ५० हजार साउदी रियाल सहयोग गरेपछि नेपालबाट २ लाख रियाल अर्थात् ६२ लाख ७४ हजार रुपैयाँ पठाइएको थियो ।

त्यस्तै कुमार राना रिहा भएपछि उनलाई नेपाल ल्याउन हवाइ टिकटवापत ५४ हजार २ सय ५० रुपैयाँ पनि अभियानकै क्रममा संकलित रकमबाट व्यहोरिएको कुमार राना उद्दार अभियानका संयोजक कृष्णप्रसाद ढकालले बताए ।

तर रकम संकलन अभियानका क्रममा ७८ लाख ३६ हजार ८ सय २६ रुपैयाँ संकलन भएको थियो ।

कुमार राना उद्दार अभियानले शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरी उक्त अभियानका क्रममा संकलन र खर्च भएको सबै खर्च विवरण सार्वजनिक गरेको थियो । अभियानका संयोजक ढकालका अनुसार वचत रहेको रकम कुमार रानाजस्तै विदेशको जेलमा रहेका नेपालीलाई रिहाइका लागि सहयोग गर्ने निर्णय भएको छ ।

‘कुमार रानालाई छुटाउन देश तथा विदेशमा रहेका धेरै नेपालीले सहयोग गर्नुभयो, त्यस क्रममा हामीलाई चाहिने भन्दा करिब १५ लाख रुपैयाँ बढी रकम संकलन हुन पुग्यो, सहयोग गर्नेहरुको भावना अनुसार नै हामी कुमारजस्तै समस्यामा परेकाहरुलाई स्वदेश फर्काउनका लागि यो रकम खर्च गर्छौं’ उनले भने ।

कुमार राना उद्दार अभियानका लागि संकलित सबै रकम प्रभु बैंक कलंकी शाखाको खातामा राखिएको छ । अभियान सञ्चालनका लागि आवश्यक रकम पनि अभियान मूल समितिका सदस्यहरुले व्यहोरेका छन् । बैंकमा संकलित रकम कुमारलाई रिहा गर्ने क्रममा साउदीस्थित नेपाली दूतावासमा पठाउनका लागि र कुमारलाई हवाइ टिकट खरिदका लागि मात्र झिकिएको संयोजक ढकालले बताए ।

शनिबार आयोजित कार्यक्रममा कुमार रानालाई नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ गोरखाको भीमसेन गाउँपालिका ७ का वडाअध्यक्ष नारायण श्रेष्ठ, नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरलगायतले स्वागत गरेका थिए ।

कार्यक्रममा जेलमुक्त भइ आएका कुमार रानाले आफू अब विदेश नजाने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment